काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभयो । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गर्नुभएको थियो । अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो । पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गर्नुभएको थियो । पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।
काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजिव गुरुङ (दीपक मनाङ्गे)लाई स्पष्टीकरण सोधेको छ। उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा आएसँगै स्पष्टीकरण सोधिएको हो। जुन अहिले निर्वाचन आयोगले ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
पर्वत । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् । “एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भन्नुभयो, “त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।” उहाँले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताउनुभयो । ् त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै हुनुहुन्थ्यो । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उहाँले बताउनुभयो । पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् । तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताउनुभयो । “कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उहाँले भन्नुभयो, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।” शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति रु पाँच सय तोकिएको छ । कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताउनुभयो । “म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उहाँले भन्नुभयो, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”
बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका(१ का थिर्तराम गुरुङको भनाइ छ । उहाँले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताउनुहुन्छ । “१२र१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १र२ वटा पनि भेट्याउन मुस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ । त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भन्नुभयो, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?” निसीखोला गाउँपालिका(६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउहुन्छ । यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उहाँको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उहाँको सुझाव छ । घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उहाँको भनाइ छ ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरु देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको उहाँले बताउनुभयो । वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उहाँले दाबी गर्नुभयो । उहाँले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उहाँको आग्रह थियो । नेपाली कांग्रेसकी नेत्री डा राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि राख्नुभयो । नेत्री डा राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो । यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ ।” नेत्री राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम आउनुभएको हो । उहाँले आज दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको ब्रत एवं आजापूजाको अवलोकन गर्ने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा नेत्री राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिनुभयो । –––
काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।
रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुग्नुभयो । उहाँले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै हुनुहुन्छ । उहाँले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिनुभयो । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उहाँको धोको भने कहिल्यै पूरा हुन सकेन । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको लिलिङका घर्तीमगरले गुनासो गर्नुभयो । “जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ ।” वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा नभएको घर्तीमगरले बताउनुभयो । लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामी पनि गाउँमा सडक नहुँदा नेताहरूप्रतिको विश्वास घट्दै गएको बताउनुहुन्छ । उहाँले पनि २०५६ देखि गत निर्वाचनसम्म चार पटक सांसद चुन्नुभयो । मङ्सिर ४ मा उहाँले पाँचौँपटक सांसद चुन्दै हुनुहुन्छ । उहाँले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताहरूले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गर्नुभयो । गाउँमा लामो समयदेखि नेताहरूले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यमबहादुरले गुनासो गर्नुभयो । “सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्”, उहाँले भन्नुभयो, “लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्र्याक खुले पनि एकझर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ ।” लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन् । उनीहरू यो समस्याबाट सधैँ ग्रसित बनिरहेका छन् । गत वर्ष सडकको ट्र्याक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनाएको छ । बागलुङको भीमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था बिजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो छ । यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन । मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकको माथिल्लो तहमा २० जना विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघर सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ । त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्र्याक खोल्दा घर जोखिममा परेको थियो । उहाँको समस्या अहिले पनि उस्तै रहेको छ । उहाँको घर जोखिममा परेपछि चुनावी कार्यक्रममा सधैँ गुनासो राख्नुभयो तर चुनावको समयमा आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उहाँले गुनासो गर्नुभयो । आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भीमबहादुरले बताउनुभयो । “मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ”, उहाँले भन्नुभयो, “आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक भने मतदान गर्न उत्साह नै छैन ।” मतका लागि जथाभावी सडक मालिका गाउँपालिका–२ दर्लिङका स्थानीय चुरामणि अर्यालले मतका लागि जथाभावी सडक विस्तार भएको बताउनुभयो । उहाँले एक मतका लागि पनि लामो दूरीमा सडक लैजाँदा बाढीपहिरोको जोखिम रहेको बताउनुभयो । “गाउँको मुख्य सडक बनाउने आश्वासन २० वर्षदेखि सुन्दै आएका छौँ”, अर्यालले भन्नुभयो, “सडकको अवस्था कहिल्यै सुध्रेन, टोलटोलमा खोलिएका सडकले बाढीपहिरोको जोखिम बढायो ।” उहाँले गाउँको मुख्य सडक ग्राभेल बनाउने आश्वासनमा पाँचौँ पटकसम्म मत दिए पनि पूरा नभएको बताउनुभयो । सडकका लागि मुख्य समस्या रहेको लिलिङको उदाहरण देखाउँदै अर्यालले चाहिँदोभन्दा नचाहिँदो विकासमा नेताले चासो दिने गरेको बताउनुहुन्छ । जथाभावीको सडक विस्तारभन्दा परिवारलाई मुख्य सडकको पहुँचमा ल्याउने र टोलटोलमा सडक नलैजान आग्रह गर्नुभयो । हिउँदमा डोजर लगाउने र बाटो बनाउने तर वर्षायाममा सधैँ उस्तै हुने समस्या रहेको पनि उहाँले प्रतिक्रिया दिनुभयो । यसको दीर्घकालीन समाधान कहिल्यै नखोज्ने तर क्षणिक विकास मात्र हुने उहाँले बताउनुभयो । यस क्षेत्रमा २०४६ सालपछिका आम निर्वाचनहरुमा विभिन्न राजनीतिक दलका गरी छ सांसद चुनिएका छन् । पहिलोपटक २०४८ सालमा नेपाली कांग्रेसका रुद्रमणि शर्मा भण्डारी, २०५१ सालमा नेकपा (एमाले)का टङ्क पोखरेल, २०५६ सालमा एमालेका गोकर्ण विष्ट, २०६४ सालमा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर केसी, २०७० र २०७४ सालमा एमालेका गोकर्ण विष्ट सांसद चुनिनुभयो । अहिले यस क्षेत्रमा मुख्य गरेर सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री र नेकपा (एमाले)का सचिव गोकर्ण बिष्ट चुनावी मैदानमा रहनुभएको छ । उहाँहरूलाई स्थानीयवासीले आश्वासन मात्र दिने र कहिल्यै पूरा नगर्ने भनेर प्रश्न गरिरहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले सो दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । पाल्पाबाट गोरखाको मनकामना जाँदै गरेको एक बस आज बिहान पाल्पाको रम्भा गाउँपालिकामा, हुँगीमा दुर्घटनाग्रस्त हुँदा पाँच जनाको ज्यान गएको छ भने ३० जना घाइते छन् ।
काठमाडौं : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगले मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गरिरहेको छ । निर्वाचनका लागि ५७ प्रकारका सबै सामग्री आयोगबाट नियमित ढुवानी भइरहेको छ । यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन केही सामग्री पठाइसकिएको आयोगले जनाएको छ । यद्यपि ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ ।

