डोल्पा । विसं २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परी मरे । गोठमै हिउँ चितुवा पसेपछि च्याङ्ग्रा सबै मारिए । विसं २०७८ माघ २३ गते राति साल्दाङ्कै लुरी गाउँका अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्याङ्ग्रा हिउँ चितुवाको आक्रमण परेको थियो । वर्षेनी यहाँका किसानले पालेका भेडाच्याङ्ग्रा हिउँ चितुवाको सिकार बन्दै आएका छन् । करिव २५ हजारभन्दा बढी भेडाच्याङ्ग्रा रहेको उपल्लो डोल्पामा हिउँ शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएको हिउँ चितुवाले दुःख दिने गरेको पाइएको छ । सन् २०१७ देखि २०२२ सम्मा मात्र दुई हजारभन्दा बढी भेडाच्याङ्ग्रालाई खोरमै आएर हिउँ चितुवाले सिकार भएको निकुञ्जकै तथ्याङ्कमा उल्लेख छ । आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ । प्रतिघरमा ५० र अधिकतम ५ सयसम्म भेडाच्याङ्ग्रा पालन गरेर आर्थिकरुपमा सवल बन्न यहाँका स्थानीयवासीले भारी मेहनत गरिरहेका डब्लुडब्लुएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजङ्ग हमालले बताउनुभयो । हिउँ चितुवाको प्राकृतिक आहारामध्ये ४२ प्रतिशत घरपालुवा पशु चौपाया नै रहेको अधिकृत हमालले बताउनुभयो । निकुञ्जभित्रका गाउँ भएका कारण पनि यहाँका पशु चौपाय हिउँ चितुवाको सिकार बढी हुने गरेका छ । बुढो हिउँ चितुवाले वन्यजन्तुको सिकार गर्न नसकेपछि घर पालुवा जनावरलाई आहार बनाउँदै आएको अधिकृत हमालले जानकारी दिनुभयो । निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार स्थानीयवासीसँग मिलेर पशुचौपाय जोगाउनका लागि काम गरिरहेका बताउनुभयो । यो वर्ष पनि त्यो काम हुने उहाँले बताउनुभयो । मारिएका च्याङ्ग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन २०७५)अनुसार निकुञ्जद्वारा राहत दिँदै आएको छ । साना र असुरक्षित घोर भएकै कारण हिउँ चितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौँको क्षति पुग्दै आएको छ । खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्वोधन गरेमा यहाँका किसानलाई राहत पुग्ने हमालको भनाइ छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको स्थानीय किसान तेन्जिङ ग्लजेन लामाले बताउनुभयो । हिउँ चितुवा तीन र चार पटक खोरको छानामा आएर आक्रमण असफल भएको किसानले बताएका छन् । पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायलाई हिउँ चितुवाले आक्रमण गर्नसक्ने डरले रातमा राम्रोसँग सुत्न पनि नपाउने किसान अहिले सुधारिएको गोठका कारण ढुक्क भएर सुत्न पाएको उहाँले बताउनुभयो । निकुञ्जभित्र रहेका सबै गाउँमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके पशुको हानी कम गर्न सकिने राम्रो उपाय रहेको छ । अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षति वापत राहत बुझ्दै आएका छन् । बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ । समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दीगोरूपमा राहत हुने अधिकृत हमालले बताउनुभयो । अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रियिम ९बिमाङ्क रकम० तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन् । उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहतको दर वृद्धि गर्न पनि सक्छ । यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन् । उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन् । माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालिन प्रधानमन्त्री केपी ओली समक्ष जानकारी गराएका थिए । उपल्लो डोल्पामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित अर्थमन्त्री जर्नादन शर्मा भ्रमणमा जाँदा त्यहाँका स्थानीयवासीले पशु पालन व्यवसायलाई दिगो बनाउनका लागि पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाई व्यवसाहिकरुपमा लिन बजेटको व्यवस्था गरिएको छ । हिमाली सहरको अवधारणका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट बिनियोजन गरी काम सुरु गर्न लागिएको छ । निकुञ्जभित्र गाउँ भएका कारण यहाँ भारी क्षति हुँदै आएको छ । फोक्सुण्डोमा हिउँ चितुवाका लागि आहारा प्रर्याप्त शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँ चितुवाको सङ्ख्या बढेको पाइएको छ । सन् २००९ मा उच्च प्राविधिबाट गरिएको सर्वेक्षणअनुसार ११० देखि १३० को हाराहारीमा हिउँ चितुवा रहेको थियो । सन् २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजानिक गरिएको छैन । सर्वेक्षण गरिएको तथ्याङ्क सार्वजानिक नगरिए पनि कम्तिमा ७० वटाको सङ्ख्यामा बढेको हुन सक्ने आँकलन गरिएको छ । यस्तै हिउँ चितुवाको मुख्य आहारको रुपमा रहेको नाउर सङ्ख्यासमेत २०२१ को गणनाअनुसार चार हजार पाँच सय भन्दाबढी रहेको निकुञ्जले जनाएको छ । एक हिउँ चितुवाले वर्षमा ४० वटा जती नाउरको सिकार गर्ने गर्दछ । यो हिसाबले निकुञ्जमा भएका नाउरको सङ्ख्या मापन गर्दा हिउँ चितुवाको आहारा प्रर्याप्त भएको पाइएको छ । प्रत्येक वर्ष नाउरको गणना गरिँदै आएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । हिउँ चितुवाको उमेरको आधारमा नाउरको सङ्ख्या सिकार हुने भण्डारीले बताउनुभयो ।
पोखरा: नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो । खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाउनुभएको थियो । खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९ ओभरको पाचौँ बलमा सवै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो । एमसिसिका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहनुभयो । एमसिसिका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गर्नुभएका रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल हुनुभयो । रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिनुभएपछि एमसिसि नेपाली टोलीसँग पराजित हुन पुग्यो । खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो । नेपाल भ्रमणमा रहेको एमसिसिले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ । शनिबार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।
तनहुँ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाँडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधानलाई रोकेर कारबाही गरेको हो । दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाँडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिनुभयो । पोखराबाट विभिन्न स्थानका लागि छुटेका सवारीसाधानलाई रोकी कति भाँडा लिएको छ भनी यात्रुसँग सोध्दा बढी भाँडा लिएको बताएपछि तोकिएको भाँडाभन्दा बढी रकम फिर्ता गर्न लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार रु दुई सयदेखि रु चार हजार दुई सय तीससम्म एउटा गाडीबाट रकम फिर्ता गराइएको उहाँले जानकारी दिनुभयो । यात्रुसँग बढी भाँडा लिने सवारीसाधनलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था रहेको छ । यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम बढी भाँडा लिने सवारीसाधानलाई कारबाही स्वरुप जरिवाना गरिनेछ । उहाँले भन्नुभयो, “अहिले चौविस घण्टे पुर्जी दिएर यात्रुलाई गन्तव्यस्थलसम्म पु¥याउन पठाएको छौँ, कार्यालयमा आएर उनीहरूले जरिवाना बुझाउनुपर्छ ।” यात्रुसँग बढी भाँडा लिएर गाडी चलाएको व्यापक जनगुनासा आएपछि घट्नास्थलमा प्रहरी खटाएर सवारीसाधान चेकजाँच कार्य थालिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । चाडपर्वको समयमा यात्रु नठगिउन् तथा दुःख नपाउन् भनेर जिल्लाको मुख्य बजार क्षेत्रमा यात्रु सहायताकक्ष स्थापना गरेको उहाँले बताउनुभयो ।
काठमाडौं । प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । “प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।” जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणासहित घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको चुनावी घोषणापत्र छठ सकिएलगत्तै सार्वजनिक गरिने प्रवक्ता सुमनले बताउनुभयो । जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ । देशमा गरिबी बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र आधिकारको प्रत्याभूति गराउने, सामाजिक न्याय स्थापित गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै सामाजिक न्याय र सुशासनको प्रत्याभूतिसहितको जनमुखी प्रशासन कायम गर्ने, आदिवासी जनजाति एवं पिछडिएका वर्ग र समुदायको उत्थान प्रवद्र्धन गर्ने जनाइएको छ । जसपाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्दै सङ्घले बृहत्तर नीति निर्देशन तथा ठूला अन्तर–प्रादेशिक पूर्वाधारको मात्र जिम्मा लिने र अन्य सबै नीति योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालनको जिम्मा प्रदेश र प्रदेशमार्फत स्थानीय तहलाई दिने नीति लिएको छ । ठूला भौतिक पूर्वाधार, ऊर्जा, प्राविधिक शिक्षा आदिमा विशेष जोड र उद्योग÷पर्यटनलगायतलाई महत्व दिने जनाएको छ । ‘सङ्घीय समुन्नत समाजवाद’ को सैद्धान्तिक आलोकमा समावेशी विकास र समतामूलक समृद्धिको नीति कार्यक्रममार्फत ‘जनताको आवाज, अग्रणी परिवर्तनसहित समृद्ध समाज’ लाई सार्थक बनाउन प्रयास गरिने जसपाले उल्लेख गरेको छ । यस्तै, पहिचानसहितको सङ्घीयता संस्थागत गर्ने, समाजवादी अर्थ–राजनीतिक कार्यदिशा लागू गर्ने, सहभागितामूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारका माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने नीति अघि सारिएको छ । लोसपाको घोषणापत्र कहिले ? लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताउनुभयो । लोसपाले पनि प्रदेश सरकारलाई अधिकार सम्मपन्न बनाउँदै, समानुपातिक सहभागिता, पहिचान र अधिकारको सुनिश्चितता, उत्पीडित समुदायको पहिचान र अधिकारको सुनिश्चिततालगायत विषयलाई घोषणापत्रमा समेटेको छ । घोषणपत्रको तयारीसँगै चुनावी प्रचारप्रचारको दौरानमा दुवै पार्टीका शीर्ष नेताहरु निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा केन्द्रित रहेका छन् ।
जनकपुरधाम। जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएको राम युवा समिति अध्यक्ष परमेश्वर साहले बताउनुभयो । जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सजाएका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताउनुभयो । महासेठले छठ पर्वका अवसरमा जनकपुरमा व्यापारिक चलहपहलसमेत बढेको बताउनुभयो । कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । पहिलो दिन सूर्य देवतालाई अघ्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अघ्र्य’ भनिन्छ । साँझका समयमा सूर्य देवतालाई प्रसादका रुपमा दिइने अघ्र्य नै पुनःबिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा छ । छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ । सख्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर वर्तालुका साथै घरका अन्य सदस्यले ग्रहण गर्दछन् । जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अघ्र्य दिन्छन् । साँझका समयमा घण्टाँैसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अघ्र्य चढाउने गरिन्छ । उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायःरातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीपआदि रहन्छ ।
काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२:२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ । सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने गरिन्थ्यो । रानीपोखरीमा भूकम्पपछि पुन:निर्माणका क्रममा पानी नभएकाले केही वर्ष छठ मनाउन रोकिएको थियो । विसं २०७७ असोजमा रानीपोखरी पुन:निर्माण सकिएपछि पनि त्यहाँ छठ मनाउन थालिएको छैन । यस वर्ष रानीपोखरीमा छठ मनाउन माग भएकाले दिने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । व्रतको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका रमेश झाले बताउनुभयो । “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गर्छन्, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा पुग्ने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने गरिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताउनुभयो । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्यको पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पतिपत्नीको दीर्घायु एवम् अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकाथरीको मत छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकीले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरुआत भएको अर्काथरीको भनाइ छ । राजधानीको गुह्येश्वरीदेखि गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १३ गते बेलुकी राष्ट्रपतिले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको जनाइएको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीका दिन रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ ।
काठमाडौँ । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर प्रदान गर्नुभएको छ । गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो । मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ । रचनाकार ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’मार्फत भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा ‘झट्ट हेर्दा तिमीलाई माया गरौँ, गरौँ भो’, ‘पत्थरजस्तो दिल मेरो नरम नरम भो’, ‘छिनेको कम्मर तिम्रो, मच्किने चाला’, ‘वैँशालु नजर ठूलै मलाई हेर्दा खेरी’, ‘तिम्रो नजिक मलाई सरौँ सरौँ भो’, ‘भेट्न तिमीलाई बेँशीतिर झरौँ झरौँ भो’लगायत बोलका गीत समावेश गरिएको छ । विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आउनुभएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत हुनुहुन्छ । उहाँका दर्जनौँ गजल र कविता सार्वजनिक भएका छन् ।
काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।

