रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

  काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र्र)सार्वजनिक गरेको छ ।       कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमार्फत सो सङ्कल्पपत्र (घोषणापत्र) सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधार: नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारा रहेको छ ।       साथै समसामयिक राजनीति, निरन्तरतामा नवीनता, सम्मुन्नत नेपालको मार्गचित्रलगायतका विषयवस्तु समेटिएको छ । सङ्कल्पपत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बिपीकालीन दस्तावेजदेखि स्थानीय तहसम्म पार्टीका तर्फबाट घोषणा गरिएको विषयवस्तुका आधारमा घोषणापत्र तयार गरिएको बताउनुभयो ।

  काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका १० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् । स्थानीय कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए । बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका १०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ । पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ । ‘घटनाको बारेमा यो भन्दा बढी केही जानकारी आएको छैन, अनुसन्धान भइरहेको छ’ डीएसपी रिमालले भने ।

  ललितपुर । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौँको रानीपोखरी, बागमती नदी, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा गरिन्छ । सरकारले छठ पर्वका अवसरमा नेपालभर सार्वजनिक बिदा दिन्छ । दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न् । तर अहिले शहरमा बस्नेलाई समय, ठाउँ र समाज नमिलेर खेल्न छोडेको जिल्ला ललितपुर इमाडोलमा बस्ने निभा कर्ण भन्नुहुन्छ, “पहिला छठको सामग्री सबै पाउन गाह्रो थियो । सामान नपाउँदा तराईको घर छठ मनाउन जान बाध्य हुनुपथ्र्यो । अहिले भव्यताको साथ यहीँ पोखरीमा साथीसँग मिलेर छठ मनाउने गर्छु ।” यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्यदिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।          कल जोडी छठी माईके कैलौँ पुजनमा         छठी माई पुरैथिन सबके मनकामना          राम हमरा भेटथिन निक सजनिगे ।     भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुनःअघ्र्य दिइ पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । सनातन धर्म महासङ्घ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रियका अध्यक्ष तथा जिल्ला ललितपुर हात्तीवन काठमाडौा युनिभर्सिटी आर्टका प्राध्यापक डा निर्मलमणि अधिकारीका अनुसार सृष्टिको सुरूआतदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा लङ्काबाट श्री राम सीता माता फर्किंदा सीता माता गङ्गा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिकशुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्ने स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी, नहर र पोखरीको घाटमा बर्तालुले स्नान गरी बेलुकाका समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । बर्तालु भक्तजन राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । डा अधिकारीले भन्नुभयो, “शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले बर्तालुले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन् ।” षष्ठीको भोलिपल्ट सप्तमी तिथिको ब्रह्म मुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, ठेकुवा,  कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।  छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजनले भाकल गरेको हुन्छ, घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, सप्तमीको बिहान दन्तवन, दूध, फूल,  तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।  सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानव शरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ । व्रत गर्दा स्वास्थ्य ध्यानमा राखी व्रत गर्नुपर्छ । शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसन हुन जान्छ । कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी  र उपत्यकाका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो चाडमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ ।     त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिने हुँदा सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुईपटक चैत र कात्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धीमा अत्यन्तै ध्यान दिइन्छ ।   विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिसहरू भक्तिमा लिप्त भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा उखु, केराको बोट, पाकेको केरा बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ । सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै सूर्यको पूजा प्राथना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ । कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दसैँ र तिहारलगत्तै सुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू  नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ यस दिनमा बर्तालुले प्रण गर्दछन्, “म अब जथाभावी खाँदिन र तन मनले प्रभूको शरणमा बस्नेछु ।”  छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी) मा विधिवत्रूपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सख्खरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एकछाक मात्र भोजन गर्नुका कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिइ निराहार व्रतको पूर्वाभ्यास हो । छठको तेस्रो दिन अर्थात् छठ पर्वका दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देउतालाई चढाउँछन् । प्रातःकालीन अर्घका लागि केही बर्तालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर लोकगीत, भजनकीर्तन र नाचगान गरिन्छ । घाटलाई बेहुली झैँ सिँगारिएको हुन्छ ।  छठको चौथो दिन कात्तिक शुक्ल सप्तमीका दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादलाई अर्घ दिई अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाइ जस्ता प्रसाद छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् र लोक छठ पर्व समाप्त हुन्छ । 

  चितवन । खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ । आज बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीलाई खुकुरी प्रहार गरी हत्या गरिएकोे आशङ्कामा प्रहरीले गैँडाकोट नगरपालिका–७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजयराज पण्डितका अनुसार आज आफ्नै घरमा मृतावस्थामा भेटिएका  नेपालीको  टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो  ।   नेपालीको हत्या गरेको आशङ्कामा कुमाललाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

  बागलुङ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु १८ लाख ९७ हजार राजस्व सङ्कलन गरेको छ । गत साउन, भदौ र असोज महिनामा मात्रै ट्राफिक नियम उल्लङ्घन गरेका दुई हजार आठ सय ५० चालकबाट सो राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले बताउनुभयो ।     कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । उक्त  अवधिमा नौ सय ७९ मोटरसाइकलबाट रु ६ लाख ३९ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । तीन सय ८५ कार र जीपबाट रु तीन लाख ८८ हजार, तीन सय ४९ ट्रक तथा टिपरबाट रु दुई लाख ४० हजार, चार सय ९३ ट्र्याक्टरबाट रु तीन लाख ४२ हजार, चार सय १९ बसबाट रु दुई लाख ७४ हजार पाँच सय र अन्य २२ सवारीसाधनबाट १३ हजार गरी रु १८ लाख ९७ हजार राजस्व सङ्कलन भएको हो ।     पछिल्लो तीन महिनाको राजस्व अघिल्लो वर्षको तीन महिनाको तुलनामा झन्डै रु आठ लाखभन्दा बढी हो ।  ट्राफिक प्रहरी प्रमुख केसीले आफूहरुले बागलुङ बजारमा ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोे बताउनुभयो । ट्राफिक सेचतानासँगै कारबाही हाम्रो अभियान हो, अहिले यातयात व्यवस्था कार्यालयको परीक्षास्थलमै ट्राफिक सचेतना गरिएको छ”, उहाँले भन्नुभयो, “ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई विशेष कारबाही गरेका छौँ, नो पार्किङ, एकतर्फी पार्किङ तथा पार्किङ व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरणमा हाम्रो ध्यान छ ।”     ट्राफिक प्रहरी प्रमुख केसीले मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिलबुकबिना चलाउने, द्रुत गतिमा चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक सवारीलाई कारबाही गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा मापसे परीक्षणलाई बढी प्राथमिकता दिएको पनि जानकारी गराउनुभयो । 

  काठमाडौँ । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।     एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको  पक्षाघात   मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ ।  मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा  मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।  समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ ।     नेपाल पक्षघात सङ्घका अध्यक्ष डा राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउनुहुन्छ ।     उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँगसहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।     यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघात सम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।  देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ ।     ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा पौडेल पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको  भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुन्छ । “विश्वमा हरेक चारजनामा एक जनालाई र छ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ”, उहाँको भनाइ छ ।     नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा पौडेल जोड दिनुहुन्छ । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।     उहाँका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।     सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।     पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र  यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।     नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा पौडेल बताउनुहुन्छ ।     नेपाल पक्षघात सङ्घले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलगायत विभिन्न अस्पतालसँगको सहकार्यमा अक्टोबर १९ मा विभिन्न कार्यक्रम आयोजना गरी विश्व पक्षघात दिवस मनाइरहेको छ । यसै अवसरमा आजै काठमाडौँको महाराजगञ्ज चोकदेखि सामाखुसीसम्म पदयात्रा गरिएको थियो ।

  काठमाडौं । पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।     जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने  प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।     राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आइतबार देशका पहाडी भागहरूमा आंशिक बदली रही बाँकी भागमासामान्यतया मौसम सफा रहने छ भने  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।     महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव दुई डिग्री र जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

  बागलुङ । जन्मेको छ महिनामा बागलुङको बानपा–५ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा पोलियो । उपचार अभावमा खुट्टाका सबै औंला झरे । जन्मेको छ महिनामा अपाङ्गता हुनुभएका ७९ वर्षका खड्काको जीवन सङ्घर्षले भने अझै विश्राम लिएको छैन ।  अहिले पनि उहाँ लौरोको सहाराले बाख्रासँगै बनपाखामा भेटिनुहुन्छ । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आउनुभएको छ भने १० वर्षदेखि बाख्रा । पैंतालीस वर्षदेखि ब्याठे राँगो पाल्दै आउनुभएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा गर्न सफल हुनुभएको छ ।  “४५ वर्षअघि रु १० राँगोको शुल्क थियो, अहिले एक हजार पाँच सय पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरिद गरेर ल्याएको छु”, उहाँले भन्नुभयो, “अहिले वर्षमा एक सय २० भन्दाबढी गाउँका भैँसीलाई गर्भाधान मेरै राँगोबाट भएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ ।” खुट्टाको अपाङ्गता भए पनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ । उहाँले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्दै आउनुभएको छ । राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्का सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाउनुहुन्छ । “अपाङ्गता भए पनि त्यसबेला लाउन खान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालवापत कतिले रकम दिन्थे त कतिले अन्नपात”, उहाँले भन्नुभयो, “७० नपुगुन्जेल महिनाको पाँच सय अपाङ्गता भत्ता आउँथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ, तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन नसकेपछि हेरौँला ।” अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपाङ्गता भएर लौरोको सहायता लिनुपरेको उहाँको दुःखेसो छ । एक वर्षअघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भैँसी गर्भधारण गरेवापत एक लाख ८० हजार कमाएको खड्काको भनाइ छ ।  उहाँले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताउनुभयो । कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रुपमा रहेको बताउनुभयो ।  “राँगोलाई डोर्याउन पर्दैन, आफैँपछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैँसीको गोठसम्म पुर्याउने मात्रै हो”, खड्काले भन्नुभयो, “युवादेखि बुढेसकालसम्म राँगोकै सँगतले जीवन बित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएरसमेत कसैसँग हात थापेर खान परेन, खुसी लाग्छ ।” खड्काले तीन र चार वर्षमा उन्नत जातको राँगो फेर्दै आउनुभएको छ । 

नेपालगञ्ज । छठ पर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाई गर्दै यहाँका स्थानीयले आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटको सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् ।  छठ पर्वमा माटोका भाँडाको माग बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् ।  यस्ता पर्वमा भाँडा भने माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेशा फस्टाएको व्यापारी बताउछन् । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर्काभुर्की, जातो, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको अवधि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमालले बताउनुभयो ।  उहाँका अनुसार अहिले तिहार र छठ पर्वमा पूजापाठ गर्नका लागि माटाको भाँडाको विक्री वितरण बढछ भने छठ पर्व पछि आउने कात्तिक पूर्णमासी मेलाका लागि बालबालिकालाई खेल्न विभिन्न माटाका खेलैनासमेत तयार गरिन्छ । अहिले चाडपर्वका बेला माटाका भाँडाको राम्रो व्यापार हुने गर्दछ ।  नेपालगञ्जका आशाराम कुमालले माटोका भाँडा बिक्री गर्दै भन्नुभयो, “पहिले हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य स्टिलका भाँडाको प्रयोग बढेपछि हाम्रो पेशा सङ्कटमा पर्न थालेको छ ।” चाडपर्वमा कलश, गमला, दियोलगायतका माटाको भाँडा बढी बिक्रीवितरण हुने गरेकोमा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको आशाराम कुमालले बताउनुभयो । उहाँका अनुसार वर्षभरि रित्तो हात बस्ने र यो सिजनको समयमा मात्रै थोरबहुत आम्दानी हुने गर्दछ ।