रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

  म्याग्दी । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताउनुभयो ।  “अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्”, उहाँले भन्नुभयो, “यसपालीको दसैँ तिहारमा हाम्रो समूहले रु सात लाख बराबरको झिनीया बिक्री गरेका छौँ ।” गौरासहित हुमादेवी फगामी, बुद्धीमाया रोका, कुशल शेरपुञ्जा र तारादेवी शेरपुञ्जाले सामूहिकरुपमा झिनीया उत्पादन गर्नुहुन्छ । घरायसी कामबाट बचेको समयमा झिनीया बनाउने गरेको कुशल शेरपुञ्जाले बताउनुभयो ।  “झिनीया आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “खेर जाने समय सदुपयोग भएको छ । घरखर्च चलाउने पैसा पनि यसैबाट जुटेको छ ।” बेनीका साथै म्याग्दीको ग्रामिण क्षेत्र, पर्वत, पोखरा, काठमाडौँ र बागलुङमा झिनीया बिक्री हुने गरेको छ । पहिले पहिले घरायसी उपभोगका लागि मात्र झिनीया बनाउने चलन थियो । पछिल्लो समय बजारमा माग बढेपछि व्यावसायिकरुपमा झिनीया उत्पादन गर्न थालेको बेनपा–८ अस्पतालचोककी भुलकुमारी रोकाले बताउनुभयो ।  उहाँले हाल रु ७० हजारमा झिनिया बनाउने विद्युत्बाट चल्ने आधुनिक मेसिन खरिद गर्नुभएको छ । तिहारका लागि मात्र पाँच बोराभन्दा बढी चामलको रु एक लाख पच्चिस हजार मूल्य बराबरको झिनीया बनाएर बेचेको रोकाले बताउनुभयो । चामललाई गिलो हुने गरी पकाएर मेसिनमा राखेर पेलेपछि निस्कने त्यान्द्रालाई गोलो आकारमा घाममा सुकाएपछि झिनीया तयार हुन्छ । एक दर्जन ९प्रति १२ गोटा० झिनियाँलाई आकारअनुसार रु १३० देखि २०० सम्ममा बिक्री हुन्छ ।  बेनी नगरपालिका–७ मङ्गलाघाटका झिनीया उत्पादक हरिकुमार श्रेष्ठले झिनीयाको माग धेरै भएको बताउनुभयो । बेनीमा झिनीया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या पचास जनाभन्दा धेरै छ । घरमा बनाउन झञ्जट हुने, बिग्रने डर, धेरै समयसम्म भण्डारण गरेर राख्न सकिने, आवश्यकताअनुसार फ्राई गरेर उपभोग गर्न सकिने भएकाले झिनीया प्रयोग बढेको बेनपा–२ खबराकी देवी शर्माले बताउनुभयो ।  हेर्दा आकर्षक, खानलाई स्वादीलो, सजिलो तथा तयारी खाजाको रुपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनीया रोटीको खपत धेरै हुने गर्छ । चामलको पिठो पकाएर त्यसलाई मेसीनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनीया घ्यू, तेलमा फ्राई गरेर खान योग्य हुन्छ । 

फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मङ्गलबार गाडीको छतमा सामग्री राख्दै हुनुहुन्थो । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दै गर्नुभएको हो । विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । लामो समयसम्म सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनले पर्यटन व्यवसायी उत्साहित भएको पर्यटन व्यवसायी शेर्पाले बताउनुभयो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ क्याप्ला, फले, घुन्सा, खाबाजेन तथा लोनाकजस्ता उच्च हिमाली बस्तीका समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय हो ।  कोभिड–१९ का कारण पर्यटक आगमन शून्य भएपछि पेसा परिवर्तन गर्ने सोचमा रहेका होटल सञ्चालक पेमा शेर्पा पर्यटक आगमनसँगै होटल व्यवसाय नछाड्ने सोचमा पुग्नुभएको छ । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमालको आधार शिविर जाने पदमार्गमा ५२ होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य होटल रु ८० लाखदेखि बढीको लगानीमा सञ्चालनमा छन् । लामो समय कोरोनाका कारण बन्द होटल अहिले भरिभराउ छन् ।  विस्तारै मौसम खुल्दै गएसँगै कञ्चनजङ्घा हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्यको आनन्द लिँदै जैविक विविधताको अवलोकन तथा चाँदीजस्तै टल्किने कञ्चनजङ्घा हिमालको नजिकैबाट दृश्यावलोकनले छुट्टै आनन्द मिल्ने गरेको पाँचथरबाट घुम्न आउनुभएका सन्दीप नेम्वाङले बताउनुभयो ।  कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्नका लागि दुईवटा पदर्माग प्रयोग हँुदै आएको छ । पाँचथरको गणेशचोक हँुदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका हुँदै पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्ने गर्दछन् । यो पदर्माग ९साउथ रुट०मा पर्दछ । गत सातामात्र साउथ रुट हुँदै फ्रान्सका सात, बेलायतका दुई र भारतका एक पर्यटक कञ्चनजङ्घा हिमाल क्षेत्र प्रवेश गरेको व्यवस्थापन परिषद्को याम्फुदीन कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताउनुभयो ।  उहाँले भन्नुभयो, “आज पनि १६ जनाको समुह आउँदै छ । चेक पोष्टमा आइपुगेर मात्र कुन–कुन देशको हो थाहा हुन्छ ।” साउथ रुट हुँदै आन्तरिक पर्यटक पनि कञ्चनजङ्घा हिमाल क्षेत्रको अवलोकनमा जाने क्रम जारी रहेको राईले बताउनुभयो । प्रदेश नं १ को राजधानी विराटनगर, धरान, दमक तथा सङ्घीय राजधनी काठमाडौँदेखि आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएका छन् । काठमाडौँदेखि हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म पुगेर फक्ताङलुङ गाउँपालिका हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविर पुगिन्छ । यो पदर्माग (नर्थ रुट)मा पर्दछ । नर्थ रुट हँुदै गत सातामात्र ६० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्रमा प्रवेश गरेको व्यवस्थापन परिषद्को तापेथोक कार्यालयका पर्यटन सहायक कल्पना ताम्मादेनले बताउनुभयो ।  कञ्चनजङ्घा क्षेत्र जाने पर्यटकको विवरण कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले राख्दै आएको छ ।  यातायातका साधन प्रयोग गर्ने पर्यटकको विवरण घुन्सा चेकपोष्टले राख्दै आएको छ । घुन्सा चेकपोष्टका पर्यटन साहयक टासी तेन्जिङका अनुसार गत साता विभिन्न देशका एक सय २० बाह्य पर्यटक घुन्सा प्रवेश गरेका छन् । स्पेन, फ्रान्स, अष्टे«लिया, जर्मनी, नेदरल्याण्ड, स्वीडेन, रोमानिया, अमेरिका, पोल्याण्ड, भारतलगायत बाह्य पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर प्रवेश गरेको घुन्सा चेकपोष्टले जनाएको छ ।  आर्थिक वर्ष २०७८÷७९ मा ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा तीन सय ५९ पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रभित्र प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकनका लागि दुई सय २२  विदेशी, ६३ सार्क देशका र ७४ स्वदेशी पर्यटक भित्रिएका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताउनुभयो । गएको आव २०७७÷७८ मा भने कोरोनाका कारण ६३ जनामात्र पर्यटक भित्रिएका थिए । संरक्षण क्षेत्रमा आउने पर्यटक ओलाङचुङगोला, दिकिछ्योलिङ गुम्बा, घुन्सा र कञ्चनजङ्घा हिमालको अध्ययन अवलोकन गर्न पुग्ने गरेका छन् । गत असोज १५ गतेदेखि कात्तिक र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु (लिम्बू)ले बताउनुभयो ।

  पर्वत । कृषिकर्म गरिरहेका कृषकलाई मेहेनत गरेअनुसार अन्नबाली उत्पादन भएको छ ? भनेर प्रश्न गर्ने हो भने अधिकांशको उत्तर आउँछ ‘कहाँको उत्पादन हुनु ? नगरी नभएर हो ।’  उनीहरूको जवाफ पनि सही हो । खेतबारीमा जति मेहेनत गरिएको हुन्छ, त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोजेका छन् त कतिले व्यावसायिकरूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेतीबाली लगाउनु भएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताउनुभयो । कृषकलाई व्यावसायिकरूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्थाअनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्र माटो परीक्षणका लागि ‘मिनी ल्याब’ स्थापना गरेको छ । गत वर्षको साउनदेखि हालसम्मका १३ महिनाको अवधिमा कुल २२ वटा नमूनाको मात्रै परीक्षण भएको छ । त्यो पनि कृषकले ल्याएको नभई ज्ञान केन्द्र आफैँले माटो ल्याएर । विगतका वर्षमा जस्तो माटो परीक्षणका लागि पोखरा नै जानुपर्ने अवस्था रहेको भए ती २२ वटा नमूना पनि आउने थिएनन् । तर जिल्लामै परीक्षण हुने भएकाले कार्यालयको सक्रियतामा जिल्लामा मोटोको अवस्थाका बारेमा थाहा पाउन सजिलो भएको छ ।      माटो परीक्षणको क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्वको अवस्थाबारे पत्ता लगाइन्छ । ठूला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्वको परीक्षण गरिने भए पनि कृषकलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ । यसबाहेकका अन्य दुई प्रकारका खाद्य तत्वलाई पनि अवस्थाअनुसार परीक्षण गरिन्छ ।  माटोमा रहेका पाँच प्रकारका तत्वको परीक्षण गर्दा खास लाग्ने शुल्क रु पाँच सय हो । तर कृषि ज्ञान केन्द्रले कृषकलाई रु एक सयमा नै परीक्षण गर्दै आएको छ । विद्यार्थी वा अन्य प्रयोजनको अनुसन्धान गर्न माटो परीक्षण गर्नेले भने रु तीन सय तिर्नुपर्छ ।  निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकामा आफ्नै ढङ्गले खेती गरिरहेका छन् । जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताउनुभयो ।  “माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन । अन्न फल्नै छाडे त के भयो भनेर खोजी हुने थियो होला”, उहाँले भन्नुभयो, “बरु अब एकचोटी लगेर देखाउन पर्ला । यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न ।” वरिष्ठ कृषि विकास अधिकृत थापाले यसमा कृषकको चासो निकै कम भएको बताउनुहुन्छ । गाउँमा रहेका कृषि फार्म तथा विभिन्न अनुगमनका लागि जाने बेलामा परीक्षणका लागि आउन भनिए पनि कृषक नआएको उहाँको अनुभव छ । बिरामी परेको मान्छेलाई अस्पताल नलगी घरमै राखेर ‘एक–दुई दिन विचार गरौँ न १’ भन्ने मानसिकता रहेको बेलामा माटोको खोजी गर्नु परको कुरा भएको उहाँको भनाइ छ ।  “मान्छे नै बिरामी परे पनि एक–दुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता अझै पनि भेटिन्छ । मान्छेलाई त समयमा उपचार नगर्ने अवस्थामा माटोको उपचार गर्न कसलाई पो चासो लागोस ?” उहाँले भन्नुभयो, “तर जब कुरा बुझ्नुहुन्छ, त्यसपछि कृषक आफैँले माटो बोकेर आउनुहुने छ । यसको फाइदाका बारेमा जानकार नभएर पनि चासो नभएको होला ।” कृषकहरू यसमा आकर्षित नहुनुको कारण ज्ञान केन्द्रको सक्रियता यो भन्दा पनि बढी आवश्यक भएको हुनसक्ने अहिलेसम्म आफूहरूले सकेसम्म प्रचार–प्रसार गरिरहेको उहाँको भनाइ छ । कृषकले परीक्षणका लागि माटो नल्याएको भए पनि कृषि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएको बेलामा फरक–फरक ठाउँबाट माटोको नमूना ल्याएर परीक्षण गर्ने गरेको छ । त्यो नतिजालाई हेर्दा नेपालभर रहेको अवस्थाभन्दा पर्वतको माटो झनै बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नेपालको माटोको पिएच हेर्दा राष्ट्रियरूपमा ६० प्रतिशत छ । यो आफैँमा माटोको कमजोर अवस्था हो । जबकि पर्वतको माटोमा त्यही पिएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ । २२ वटा नमूनाको परीक्षणबाट यो अवस्था देखिएको र यसले कृषि उत्पादनलाई विस्तारै कमजोर पार्दै लगेको थापाको भनाइ छ । माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुने भए पनि पर्वतको माटोको अवस्था मध्यम देखिएको छ ।  माटोको गुज्रिएको अवस्थाका कारण नै माटोको शक्ति जोगाउन सबै कृषकलाई कार्यालयमा आएर यसबारेमा आह्वान गरिएको उहाँले बताउनुभयो । माटोको अवस्था यही गतिमा खस्किँदै जाने हो भने केही वर्षपछि उत्पादन शून्य अवस्था आउन सक्ने र भोकमरीको अवस्था आउन सक्ने थापाले बताउनुभयो । 

  म्याग्दी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ ।  कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उहाँले भन्नुभयो, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नियन्त्रणका लागि जिल्लाव्यापी अभियानको तयारीमा छौँ ।” सिग्देलका अनुसार स्केल रोग म्याग्दीको सुन्तला बगैँचामा देखिएको नयाँ समस्या हो । फल टिपेपछि प्रति एक लिटर पानीमा १० मिलीलिटरका दरले सर्वो आयल मिसाएर सुन्तलाको बोटमा छर्केपछि यो समस्या समाधान गर्न सकिने सिग्देलले बताउनुभयो ।  यसैबीच यसअघिका वर्षमा म्याग्दीको सुन्तला बगैँचामा फैलिएको फ्रुट फ्लाइका कारण दाना झर्ने समस्या यसपालि कम भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झरेका दानालाई पलाष्टिकको थैलोमा राखेर व्यवस्थापन गरिएपछि यसपालि समस्या कम भएको हो ।  आगामी वर्ष पनि यस्तो समस्या आउन नदिनका लागि कृषकलाई पलाष्टिकको थैलो वितरण गर्न लागिएको छ । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।  सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष तीन सय ५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

  म्याग्दी । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खेबाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । आग्र्यानिक तरकारीमात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो । माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएपछि आग्र्यानिक रैथाने कृषि उत्पादन अब तीव्ररूपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौँदेखि गर्दै आएको ‘खेती गरौँ कि छाडौँ’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो । “मैले सुरुदेखि नै आग्र्यानिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भन्नुभयो, “विगत पाँच–छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने बीउबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उहाँले भन्नुभयो । “अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुखै छैन”, कार्कीले भन्नुभयो । कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूलहरु ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन किग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको छ । कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन, जताततै देखिन थालेका छन् । उहाँ भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउहरू त लोप पनि भइसकेका छन् ।” कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ छ । किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला–पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् ।   कृषि प्राविधिक जगत बानियाँ अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ तथा स्वाद पनि बदलिएको बताउनुहुन्छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको छ । बालीनालीमा मात्रै होइन, पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् । 

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । आज काठमाडौँ उपत्यकाका आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  आज काठमाडौँको अधिकतम तापक्रम ११ र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस छ ।

  कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ ।  टीकापुरका पुराना फूल  व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना रित्तै फर्किनुभयो ।” चार वर्षअघि १० कठ्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिकरुपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन् ।  जानकी गाउँपालिका–४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आउनुभयो । मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किनुभयो । “मखमली फूलका माला लगाउने हाम्रो चलन हो, बजारमा पाइन्छ भनेर ढुक्क भएँ, यहाँ त सकिएको रहेछ”, उहाँले भन्नुभयो, “फूलको नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु, के गर्नु यसअघि प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।” टीकापुर–३ की रमिता विकले पनि बजारमा माला पाउनुभएन । उहाँ पनि माला किन्न बजारसम्म पुग्नुभएको थियो । “माला नपाएपछि गाउँमै फूल खोज्न थालेकी छु”, उहाँले भन्नुभयो, “विगतमा गाउँमा फालाफाल फूल हुन्थे, घरघरमा फूल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फूल पाउन कठिन छ ।” कैलालीमा फूलखेतीका लागि जग्गा अभाव छैन । घर वरिपरि जग्गा हुँदा पनि फूल रोप्ने गरेको पाइँदैन । घरमै फूल रोपेको भए फूलको अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताउनुहुन्छ । “हाम्रा पालामा घर वरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन”, उहाँ भन्नुहुन्छ, “हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।” तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घरआँगन रङ्ग्याउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ । बजारमा माला र फूल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फूलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका किन्न आएका बताउनुभयो ।   संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक व्यक्तिले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताउनुहुन्छ । “घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उहाँ भन्नुहुन्छ, “घर–घरमै दुई–चार बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फूल किन्ने हामी नेपालीको बानी अनौठो छ । यहाँका फूल सकिएपछि भारतबाट ल्याएर फूल बिक्री गरिँदैछ ।”

  काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको उहाँले सुनाउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । बिहान ८ः४२ बजेपछि चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने छन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहने छन् । तुलामा चन्द्रमा भएका बेला पनि सोहीअनुसार टीका लगाउन सकिने छ । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला दिदी–बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । खञ्जनेश्वर महादेवमा भक्तजन यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो । “विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदी–बहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी–बहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ”, उहाँले भन्नुभयो । विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विसं २०७७ सम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।     भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।

  दैलेख । लिङ्गे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो । पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए । स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले बताउनुभयो । जिल्लाभर पिङ हाल्ने र खेल्ने प्रचलन धेरै छ । पिङ खेल्दा सुरक्षा अपनाउन जिल्ला प्रशासन कार्यालय दैलेखले सबैलाई अनुरोध गरेको छ ।