रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

  स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ । बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा ‘अफ्रिकन स्वाईन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाका प्राविधिक प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो ।       जिल्लाको पुतलीबजार नगरपालिकाको १४ लगायतका विभिन्न वडामा किसानले पालेका बङ्गुरमा रोग देखा परेपछि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा प्रयोगशालाले उक्त रोग भएको पुष्टि गरेको हो । “बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ”, उहाँले भन्नुभयो, “त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ ।”     पुतलीबजारका विभिन्न स्थानमा किसानले पालेका बङ्गुरमा एक महिना अघिदेखि यो रोगको सङ्क्रमण फैलिएको हो । “यसको कुनै उपचारविधि तथा भ्याक्सिन छैन”,उहाँले भन्नुभयो, “सङ्क्रमण फैलिएको स्थानमा आवातजावत गर्दा चुना र ‘भिरकोन’ छर्किने, मरेका बङ्गुरलाई खाडल खनेर गाड्नुपर्छ ।” सङ्क्रमण फैलिएका ठाउँमा कार्यालयबाट चुना र ‘भिरकोन’ उपलब्ध गराइएको र व्यवसायीलाई प्राविधिक ज्ञान तथा परामर्श दिइएको उहाँले बताउनुभयो ।      यो सरुवा रोग भएकाले सङ्क्रमित बङ्गुरलाई छुट्टै राख्ने, होटलमा फालिएका खानेकुरालाई राम्रोसँग पकाएर खुवाउनुपर्ने सुझाव उहाँको छ । स्याङ्जाको पुतलीबजार १४ र सोही पालिकाको अन्य दुई ठाउँमा देखिएको सङ्क्रमणबाट हालसम्म तीनसय बढी बङ्गुर तथा पाठापाठी मरिसकेको विवरण प्राप्त भएको भेटेरिनरी तथा पशु विज्ञकेन्द्र स्याङ्जाले जनाएको छ ।

  काठमाडौँ:  नेपाल विद्युत् प्राधिकरणले पोलमा टाँगिएका, लत्रिएका अनावश्यक तार हटाउन इन्टरनेट, केवल टीभी तथा दूरसञ्चार संचालकहरुलाई ४५ दिने अल्टिमेटम दिएको छ । सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले ४५ दिनभित्र अनावश्यक तार हटाउन र नहटाएमा प्राधिकरणले नै हटाइदिने चेतावनी दिएको छ ।   पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएका तारले शहरलाई नै कुरुप बनाएको, आगलागीजस्ता दुर्घटना समेत बढ्दै गएको भन्दै प्राधिकरणले यसतर्फ ध्यानाकर्षण भएको जनाएको छ । आवश्यक तारहरुलाई भने क्लिप वा रिङ प्रयोग गरी व्यवस्थित गर्न, सडकमा नझर्नेगरी व्यवस्थापन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । सडक वरपर टुटेका तारहरु पनि हटाउन आग्रह गर्दै प्राधिकरणले ४५ दिनभित्र सुधार कार्य नगरेमा सेवा प्रदायकको केवल लगायतका उपकरण प्राधिकरण आफैले हटाइदिने चेतावनी दिएको हो ।

  काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौँ भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ । मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य वस्तुदेखि नभए पनि हुने र आयात गर्नु नै नपर्ने तासजस्ता वस्तु पनि निर्वाध रुपमा देशभित्र भित्रिइरहेका छन् । अनावश्यक वस्तुको आयातमा बाहिर जाने रकमले मुलुकको सञ्चितिमा असर पारेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा यस्ता सामानको आयातमा मोटो रकम बाहिरिएको छ ।   चालू आवको असोज मसान्तसम्म नेपालमा विभिन्न मुलुकबाट आयात भएको तासको भुक्तानीका लागि मात्रै रु तीन करोड ५९ लाख १० हजार बराबरको रकम बाहिरिएको देखिन्छ । कूल  १६ लाख ९६ हजार दुई सय १२ थान तास आयातबाट सरकारले रु दुई करोड २३ लाख ५६ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।  यस अवधिमा भारतबाट मात्रै रु तीन करोड २५ लाख ५९ हजार मूल्यमा कूल १६ लाख ५६ हजार ३० थान तास आयात भएको छ  । त्यस्तै रु ३३ लाख ५१ हजार मूल्य बराबरको कूल ४० हजार एक सय ८२ थान तास चीनबाट आयात भएको छ । त्यस्तै विभागले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो तीन महिनामा रु तीन लाख ५२ हजार मूल्य बराबरको भिडियो गेमका लागि आवश्यक पर्ने सामान आयात भएको छ । यस अवधिमा रु ३४ करोड १७ लाख बराबरको कलम तथा मार्कर आयात भएका छन् । डाइपर र प्याड आयातमा करोडौँ बाहिरिँदै        उद्यमशीलताको विकास गरेर थोरै लगानीमा स्वदेशमै उत्पादन गर्न सकिने बस्तुसमेत करोडौँ रकम खर्चेर आयात गर्नुपर्ने अवस्थामा मुलुक पुगेको छ । डाइपर तथा सामान्य कागजबाट बन्नसक्ने न्यापकिन लगायतको आयातका लागि ठूलो रकम मुलुकबाट बाहिरिरहेको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो तीन महिनामा रु एकाउन्न करोड एक्काइस लाख २१ हजार मूल्य बराबरका डाइपर आयात भएको छ ।    त्यस्तै रु तीस करोड साठी लाख ३४ हजारका सेनिटरि प्याड पनि सोही अवधिमा आयात भएको छ । त्यस्ता वस्तुको उत्पादनमा प्रोत्साहन गर्दै गुणस्तरीय वस्तु उत्पादन गरी आयात निरुत्साहन गर्न सकेमात्रै मुलुकको आर्थिक अवस्था सवल हुनेसक्ने अवस्था छ ।    सरकारले बजारमा महिलाका लागि अति आवश्यक मानिएको प्याडको मूल्य सर्वसुलभ होस् भन्ने अभिप्रायले चालू आवको बजेटमार्फत करको दर हेरफेर गरी भन्सार दरमा ९० प्रतिशतसम्मको छुट दिएको थियो । 

  काठमाडौं । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ ।   ती सवारी साधन मंगलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे । भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए । भारतीय दूतावासका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहार दिएको छ ।

  बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान  गर्नुहुन्छ । गाउँमै बाटो भएपछि त मानिस ओहोरदोहोर गर्दा उहाँलाई एक दुई जना दानी मानिस (दाता)को आशा नलाग्ने कुरै भएन । उहाँ दिनहुँ आशा देखाउनेको बाटो हेर्दैमा दिन बितेको पत्तै पाउनुहुन्न । हुन पनि एक वर्षको बीचमा खाती परिवारलाई राहतको कुरा तीन दर्जन बढी मानिसले सुनाइसके । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने । तर महिना बित्यो, वर्ष बित्यो राहत आएन । “बाढी आएको एक वर्षभन्दा बढी भइसक्यो । हामी त्यो बेलादेखि राहतकै पर्खाइमा छौँ”, उहाँले भन्नुभयो, “आश्वासन दिने ३०–३५ जना आइसके, तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।” गत वर्ष कात्तिक २ गते आएको बाढीले खातीगाउँवासीले सर्वश्व गुमाए । दुई परिवारले त रित्तो ज्यानबाहेक सबै गुमाए । अर्काका छानोमा बसेका दुई परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । “सहयोगप्राप्त गरेको रकम तथा अन्नले दुई महिनालाई खान पुग्यो”, बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले पाँच हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गर्नुभएको थियो । ज्ञानदेवी खातीले भन्नुभयो, “बाढी आएको साढे १३ महिना हुन लागिसक्यो । सर्वश्व गुमाएका हामीहरू अझै भोक मेटाइको पर्खाइमै छौँ । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।” उहाँले भोको पेटले आश्वासन थेग्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भोको पेटले आश्वासन थेग्न सक्दैन रहेछ । धेरै निकायले दिगो व्यवस्था गर्छौँ भनेर आश्वासन बाँडे । तर, हामीलाई भने कसरी भोक मेटाउने चिन्ता लागिरहन्छ । जाने कतै ठाउँ छैन न त खाने गास नै ।” ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उहाँले बताउनुभयो । “गाउँघरमा कतै योजना आएमा काम गर्न त हुन्थ्यो, गाउँ खोला नजिक भएको हुँदा योजना पनि आउँदैन । सहर पस्नलाई सहरबारे जानकारी नै छैन”, उहाँले भन्नुभयो । अहिले प्रेमबहादुर बसेको छानोमा दाताले दिएको चामलको आधा बोरा जति छ । प्रेमबहादुरले भन्नुभयो, “एक जनाले चामल दिनुभएको थियो । जोगाएर खाँदा पनि सकिनै लाग्यो । त्यसपछि कसलाई माग्ने ? के गर्ने ? कसरी छाक टार्ने होला भनेर चिन्ता लागिरहेको छ ।” खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै उहाँले भन्नुभयो, “घरमा छ जना छौँ । आफू बूढो भइसकेँ, छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी) । नाति–नातिना सानै छन् । भएको सम्पत्ति सबै बाढी निल्यो”, उहाँ टोलाउनुहुन्छ । खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन । “अहिलेसम्म घरको सास त जोगिएकै छ”, धन्धुरी खातीले भन्नुभयो, “अहिले बस्नलाई घर त छ । तर खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन् ।” बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन् । “राहतका लागि गाउँपालिका गयौँ । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो”, धन्धरीले भन्नुभयो, “राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाउनुभयो ।” केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उहाँले बताउनुभयो । “अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्सनुभयो ?” उहाँले भन्नुभयो । अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् । धन्दरीले भन्नुभयो, “झरी परे निकै डर लाग्छ । फेरि कात्तिकको महिना । गत वर्ष कात्तिकमै आएको बाढीले नमिटिने छाप बसाएको छ । दिउँसो भए त दौडधुप गर्न सकिन्छ । राति पानी परे त जाग्राम बस्नु नियमितजस्तै भइसक्यो ।” बाढीले पु¥याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्याएको छ । खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् । वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् ।   वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउनुभयो । “बाढीपीडितलाई निकै समस्या छ । तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन । यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ”, उहाँले भन्नुभयो ।   खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाउनुहुन्छ । “खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन् । उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन । अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ ।” आफूसँग पर्याप्त बजेट नभएको भन्दै उहाँले भन्नुभयो, “हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन । गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गयौँ, तर कतैबाट सुनुवाइ भएन ।”

  चितवन । जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार कारागार कार्यालय चितवन र नागरिक उड्डयन प्राधिकरण भरतपुरको सुरक्षाको जिम्मा सेनाले लिएको हो । उहाँले भन्नुभयो, “महत्वपूर्ण प्रतिष्ठान र संवेदनशील क्षेत्रमा सेनाले सुरक्षाको जिम्मा लिएको छ ।” केन्द्रीय सुरक्षा रणनीतिअनुसार जिल्लाका तीन निर्वाचन क्षेत्र सेनाले गस्ती बढाएको उहाँले जानकारी दिनुभयो । नियमितरूपमा निर्वाचन सुरक्षा रणनीतिअनुसार गस्ती बढाएको भन्दै उहाँले सेनाले आफ्नो नीतिअनुसार काम गरेको बताउनुभयो । निर्वाचनको सुरक्षाका लागि जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइरहेको उहाँको भनाइ छ । मङ्सिर १० गतेसम्म संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा सेनाले लिने उहाँले बताउनुभयो ।   

  काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको छ । यसका लागि कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ । यस्तै निर्वाचनमा एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिनेछ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुने जिल्ला निवार्चन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।  यसपटक एकैचरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदा धेरै कर्मचारी खटाउनुपर्ने भएकाले निजामती कर्मचारीको अलावा माध्यमिक तहमा कार्यरत शिक्षक कर्मचारीलाईसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी दिइने गरी तयारी भइरहेको प्रजिअ हुमकला पाण्डेले बताउनुभयो । मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एक रहने जनाइएको छ ।  यसपटक कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले समेत समानुपातिकतर्फ प्रदेशअन्तर्गत र प्रतिनिधिसभातर्फ मतदातामा सूचीकृत भएकाले मतदान गर्न पाउने भएपछि जिल्लामा चार अस्थायी मतदान केन्द्र ब्यवस्थापन गरिने भएको छ ।  जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका छन् । तीमध्ये एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला तथा अन्य दुई मतदाता हुन् ।  जिल्लामा तीन सय ८९  मतदान केन्द्र ब्यवस्थापन हुने जनाइएको छ । काभ्रेमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल जिल्लामा ३१ दल क्रियाशील छन् ।

  सिन्धुपाल्चोक । आधारभूत तहमा अध्ययनरत बालबालिका कक्षाकोठामा टाउको दुख्यो भनेर टोलाउँदा शिक्षकले अनेक जुक्ति लगाउँदासमेत समस्या सुल्झिएन ।  सीमान्तकृत माझी र दनुवार समुदाय रहेको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भीमटारस्थित भीमेश्वरी माविका विद्यार्थीमा यो समस्या रोकथाम हुनुभन्दा झनै बढेर आउन थालेको थियो । कारण पहिल्याउन नसकेर हैरानीमा परेका शिक्षकले अहिले भने विद्यार्थीको समस्याबाट उन्मुक्ति पाएका छन् । बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमको अवधारणा ल्याई कार्यान्वयन गरेपछि नर्सको परामर्शका कारण समस्याबाट मुक्ति मिलेको हो । “विद्यार्थी झुम्म भएर एकोहोरो हुने गर्दथे”, कार्यक्रमअन्तर्गत विद्यालयमा खटिएकी विद्यालय नर्स शोभा गिरीले भन्नुभयो, “उनीहरुको अवस्था र रोगको प्रकृतिबारे परामर्श गर्दा विद्यार्थीले मदिरा सेवन गर्ने गरेको भेटियो ।” समस्या समाधानका लागि विद्यालय नर्स गिरीले विद्यार्थीको मनोभावना बुझ्नुभयो । अनि आफूलाई के–के हुन्छ भनेर पनि सोध्नुभयो । विद्यार्थीको जवाफअनुसार मदिरा सेवन गर्ने गरेको पाइएपछि त्यसको रोकथामका लागि परामर्श दिएको उहाँको भनाइ छ । “यहाँको संस्कृति नै यस्तै रहेछ, बाबुआमाले नै मदिरा खुवाउने गरेको पाइयो”, उहाँले भन्नुभयो, “समस्या सुल्झाउनका लागि कक्षा–कक्षाका मदिरा सेवन गर्दा हुने बेफाइदाबारे चेतना प्रवाह गर्दै स्वास्थ्य शिक्षा प्रदान गरेपछि अहिले यो समस्या रोकिएको छ ।” स्वास्थ्य शिक्षापछि विद्यार्थी अहिले ढाँट्दैनन् । उहाँले अहिले विद्यार्थीमा यस्तो नदेखिएको दाबी गर्नुभयो । विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ । “आठ–नौ कक्षा पढ्दै गर्दा यहाँका बालबालिका विवाहबन्धनमा बाँधिने गरेका थिए”,  प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “विद्यालय नर्सले सानै उमेरमा विवाह र बच्चा पाएपछिको समस्याबारे परामर्श दिएपछि अहिले रोकिएको छ ।” पछिल्लो वर्ष दिनमा यहाँका कुनै पनि बालबालिकाले विवाह नगरेको उहाँले बताउनुभयो । यहाँका बालबालिका विशेषगरी अनुत्तीर्ण भएपछि सिधै विवाह गर्ने गरेका थिए । उनुत्तीर्ण भएपछि साथीले हेप्ने, आफूलाई लाज हुने हुँदा विवाह गरेर जाने गरेका हुन् । विद्यालयमा नर्स कार्यक्रमपछि प्रजनन स्वास्थ्य, सरसफाइबारे चेतना जगाएपछि बालबालिकाले सानै उमेरमा विवाह गर्ने सोच बिर्सँदै गएको उहाँको भनाइ थियो ।  गाउँमा वर्ष दिनमा आठ–दश बालिकाले उमेर नपुगी विवाह गर्ने गर्दथे । पछिल्लो वर्ष सानै उमेरमा विवाह गरेको भन्ने नसुनिएको र सबै बालिका विद्यालयमा नियमित भएको उहाँले जानकारी दिनुभयो । भीमेश्वरीमा मासिक हरेक कक्षामा स्वास्थ्य शिक्षा दिइन्छ । विद्यालयमा नर्सको व्यवस्थाभएपछि स्वास्थ्यबारे बालबालिका सचेतसमेत भएका छन् । “अहिले विद्यालयको चौरलगायत कक्षाकोठा हामी नियमित सरसफाइ गर्छौँ”, कक्षा १० मा अध्ययनरत अञ्जना दनुवारले भन्नभयो, “पहिला स्वास्थ्यलाई हामीले हेलचेक्रयाइँ गरेका रहेछौँ, बल्ल स्वास्थ्यप्रति सचेत भएका छौँ ।” उहाँले विद्यालयमा नर्स आएपछि आफूले उपचार पाएको बताउनुभयो । “कक्षामा पढ्दापढ्दै खुट्टा दुख्ने, पेट दुख्ने हुन थाल्यो”, उहाँले भन्नुभयो, “स्वास्थ्य कक्षमा गएर उपचार गराएपछि फेरि कक्षामा फर्कन सकेँ ।” नर्स गिरीका अनुसार अञ्जनालाई सामान्य उपचारका साथै हटवाटर ब्यागले पेटमा सेकाएपछि केही समय आराम गरेर कक्षाकोठामा फर्कन सक्ने बनाइएको हो । यसअघि यस्ता समस्या हुँदा बीचमै पढाइ छाडेर घर जाने गरेको अञ्जना बताउनुहुन्छ । यो साता कक्षा ५ मा अध्ययनरत अनिशा दनुवारलाई कक्षा ३ मा अध्ययनरत एक विद्यार्थीले रडले हानेर टाउकामा दुई ठाउँ घाउसमेत बनाइदिए । कक्षाकोठामा रगत बग्यो । तत्काल नर्स पुगेर रगत थमाइएपछि स्वास्थ्य कक्षमा ल्याइ उपचार गरिएको थियो । “रगत धेरै बगेको थियो, रोक्न निकै गाह्रो भयो”, नर्स गिरीले भन्नुभयो “पछि सफा गरेर ड्रेसिङ गराएँ, अनि केही समय आराम गराएर पुनः कक्षाकोठामा फर्काइयो ।” विद्यालयमा नर्स कार्यक्रम नभएको भए उहाँलाई अस्पताल , स्वास्थ्यचौकी लैजानुपर्ने शोभा बताउनुहुन्छ । भीमेश्वरीको स्वास्थ्य कक्षमा बिरामीका लागि दुईवटा शय्या छ । प्रदेश सरकारले उपलब्ध गराएको औषधि केही सकिएपछि नजिक रहेको स्वास्थ्यचौकीबाट पनि ल्याइने जनाइएको छ । औषधिको भण्डारण सुरक्षित दराजमा गरिएकाले बिग्रन सक्ने अवस्था छैन । गर्मी ठाउँ भएकाले दैनिक २० सम्म बालबालिकालाई उपचार गराइएको नर्सको भनाइ छ । कार्यक्रम लागू भएयता हालसम्म नौ सय ४७ ले उपचार गराइसकेका छन् । “गर्मीमा अलि बढी समस्या हुन्छ”, विद्यालय नर्स गिरीले भन्नुभयो “पखाला लाग्ने, टाउको दुख्ने, उच्च रक्तचापका समस्या आउने गर्दछ ।” उहाँका अनुसार छात्राहरू महिनावारी हुने बेलाको समस्या प्रमुख छ । पहिले छात्रा महिनावारी भएको बेला विद्यालय आउने गर्दैनथे, अरुले गिज्याउने र आफैँलाई पनि लाज हुने हुँदा छात्रा हप्ता दिनसम्म विद्यालय अनुपस्थित हुन्थे । अहिले महिनावारी भएको खण्डमा सेनिटरी प्याडको विद्यालयमै व्यवस्था भएपछि यो समस्या हटेको प्रधानाध्यापक कृष्णप्रसाद बताउँनुहुन्छ । “चेञ्ज गर्नका लागि शौचालयमा आवश्यक सामग्रीसहितको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पहिला यस्तो व्यवस्था नभएकै कारण छात्रामा विद्यालय छाड्ने क्रमसमेत रहेको थियो ।” अहिले छात्रामा शतप्रतिशत ड्रपआउट समस्या रोकिएको उहाँले दाबी गर्नुभयो ।  विद्यालयमा नर्स कार्यक्रमपछि जङ्कफुड रोकिएको छ । व्यक्तिगत र विद्यालयमा भएको सरसफाइले फड्को मारेको छ । पाँच सय ५० विद्यार्थी रहेका यो विद्यालयमा पहिला सामान्य पेट दुख्दासमेत विद्यार्थी घर जानुपर्ने अवस्था थियो । गत मङ्सिरबाट कार्यक्रम लागू भएपछि विद्यालयमै उपचार उपलब्ध भएपछि यो समस्या हल भएको छ । छात्रामा खुलेर भन्न सक्ने बानीको समेत विकास भएको प्रधानाध्यापक श्रेष्ठ बताउनुभयो । “नर्स भएपछि बालबालिकाले अभिभावक पाएको अनुभूति गरेका छन्”, उहाँले भन्नुभयो ।

नवलपुर : पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिनुभयो ।   उहाँका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको थियो ।   डुङ्गामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।