रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौंरी  स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्नुहुन्छ ।    हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गर्नुभएको छ । यो समयमा उहाँको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्ताँैदेखि चौँरीपालन व्यवसाय गर्दै आउनुभएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।    चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उहाँले सुनाउनुभयो । “पढेको छैन, अरु सीप पनि छैन”, शेर्पा भन्नुहुन्छ, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”   वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ”, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्नुहुन्छ, “चाँैरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ”, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उहाँ बताउनुहुन्छ ।   खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।    छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउनुहुन्छ । “आफँै बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ”, शेर्पा भन्नुहुन्छ, “दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।” शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।   बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उहाँ चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सक्नुभएको छैन ।    “गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ”, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भन्नुभयो, “बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।”   साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चाँैरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो ।

  काठमाडौं । आसन्न निर्वाचनका लागि नेकपा (एमाले)ले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दूरावस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ ।   सो पार्टीले पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्ने, विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने जनाएको छ ।   यस्तै दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गर्ने र अपाङ्गता भएका विद्यार्थीलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गर्ने एमालेको प्रतिबद्धता रहेको छ ।

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर रु एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ मूल्यमा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र लघुवित्त उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबारको कारोबारपछि कूल बजार पुँजीकरण रु २७ खर्ब ७७ अर्ब ४७ करोड १९ लाख ५७ हजार एक सय ५४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ६५ लाख ६० हजार दुई सय १५ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ९२ लाख ७० हजार, शिवम् सिमेन्ट रु पाँच करोड १७ लाख ८४ हजार दुई सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड ३९ हजार दुई सय ९० र एभरेष्ट बैंक रु चार करोड ६८ लाख पाँच हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावर कम्पनी नौ, युनियन हाइड्रोपावर, आठ दशमलव ८२, माउण्टेन हाइड्रो नेपाल आठ दशमलव ७७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ६८ प्रतिशतले कमाएका छन् । त्यस्तै, एनसिसी बैंकको ऋणपत्र तीन दशमलव ९१, सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ७३, गरिमा विकास बैंकको ऋणपत्र दुई दशमलव ५८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव २७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले दुई दशमलव शून्य पाँच प्रतिशतले गुमाएका छन् । 

    काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन स् स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ । अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आगामी निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्न अपिल गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा मुलुकमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ । आगामी निर्वाचन विभिन्न सङ्कटको चक्रव्यूहबाट मुलुकलाई  मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।” गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको निर्वाचनको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, “हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।”  कोभिड महामारीको चुनौतीबीच पनि एमाले नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रहेको दाबी गर्दै छोटो अवधिमै संविधानको सफल कार्यान्वयन गरेको विषय घोषणापत्रमा समेटिएको छ ।   प्रदेश र स्थानीय सरकार गतिशील बनेको, संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै सङ्घीयताको सफल कार्यान्वयनको उदाहरण विश्वमै नौलो भएको, संविधानप्रति असन्तुष्ट दलसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनुलाई त्यस अवधिका उल्लेख्य उपलब्धिका रूपमा घोषणापत्रमा चित्रण गरिएको छ ।   सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर विदेश सम्बन्ध सदृढ गरिएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ “कतिपय नसुल्झेका समस्या सुल्झायौँ र नयाँ कामअघि बढाई सम्बन्धलाई नयाँ उचाइमा पुर्यायौँ ।”  घोषणापत्रमा नयाँ नक्सा प्रकाशनमा ल्याएको, अतिक्रमित भूमि फिर्ताका लागि कूटनीतिक संवाद सुरु गरेको, नेपालले बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास गरेको घटना स्मरण गरिएको छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरेको छ ।   एमाले नेतृत्वकालमा भूकम्पपछिको पुन:निर्माणमा अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको उदाहरणीय सफलताका रूपमा रहेको, सरकार निर्माणपछि लगातार सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको, बाह्य लगानीमा ठूलो परिमाणमा वृद्धि भएको घोषणापत्रमा दाबी गरिएको छ । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा प्राप्त उपलब्धिले जनतामा सुखद् भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बनाएको उल्लेख गरेको छ । घोषणापत्रमा आगामी निर्वाचनमार्फत गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

  काठमाडौँ । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान अति सुस्त देखिएको छ । सरकारले इम्बोस्ड नम्वर प्लेट जडान गर्न ठेक्का गरेको छ वर्ष नाघ्दा अहिलेसम्म दुई प्रतिशतभन्दा कम सवारीसाधनले मात्रै जडान गरेको पाइएको छ ।      सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म ३५ हजार सवारीसाधनले मात्रै नम्बर प्लेट जडान गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।     विभागले अहिले नागरिकलाई नम्बर प्लेट जडानका लागि अनुरोध मात्रै गरिरहेको विभागका प्रवक्ता ईश्वरिदत्त पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “विभाग कानुन कार्यान्वयन गराउने निकाय भएकाले सेवाग्राहीलाई त्यसको कार्यान्वयन गर्न अनुरोध गरिरहेको छ ।” कानुन बनेपछि मान्नुपर्ने सबैको कर्तव्य भएकाले इम्बोस्ड सबैले जोड्नुपर्ने प्रवक्ता पनेरुले बताउनुभयो ।      विभागले कानुन कार्यान्वयनका लागि नम्बर प्लेट जडान गराउन कार्यालयलाई अनुरोध गरिरहेको छ । नम्बर प्लेटको उत्पादन विभागले गर्ने र कार्यालयले त्यसलाई जडान गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो । कार्यालयले आफूलाई सजिलो हुने गरी नयाँ सवारीसाधन, नवीकरण वा नामसारी के गर्ने भन्ने योजना बनाएर लागू गर्नसक्ने व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो,“एकै पटक भीड नहोस् र व्यवस्थापन गर्न सजिलो होस् भनेर अहिलेका लागि मिलाइएको हो । पछि सबैमा गर्नुपर्छ ।”      अहिले विभागले कानुनका बिषयमा नागरिकलाई बुझाउने र जडानलाई अनुरोध गरिरहेको र अहिलेसम्म जरिवाना गर्ने गरी कानुन नबनेको उहाँले बताउनुभयो । थप भएको अवधि आगामी वर्ष मङ्सिरसम्म रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर जडान गर्ने बिषय कार्यालयले योजना र कार्यतालिका अनुसार गर्ने प्रवक्ता पनेरुले बताउनुभयो । त्यो अवधिसम्म जडान सकाउन गति बढाउनुपर्ने उहाँले बताउनुभयो । “कसरी गति बढाउन सकिन्छ भनी विभागमा पनि कुराकानी भइरहेको छ”, उहाँले भन्नुभयो, “लक्षित सङ्ख्या र अवधि सबैलाई जानकारी भए पनि गति बढाउन गर्नुपर्ने कामका विषयमा छलफल भइरहेको छ ।”      उहाँले अहिलेकै अवस्थामा नम्बर प्लेटमा नेपाली भाषामा बनाउने कुरामा छलफल नभएको समेत स्पष्ट पार्नुभयो । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान लामो समयसम्म कानुनी अवरोधका कारण वितरण कार्य अघि बढ्न सकेको थिएन । कानुनी अडचन समाधान भएपनि कहिले भाषागत विवाद त कहिले कोभिडका कारण बितरण कार्यले गति लिन सकेको छैन । गत वर्ष जेठमा यसको अवधि सकिएकाले पुनः साढे दुई वर्षका लागि म्याद थप गरिएको थियो ।      इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गर्दै अदालतमा दायर मुद्दामा दुई वर्ष अघि अदालतले इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने भाषा अङ्ग्रेजी भाषामै प्रयोग गर्न सकिने निर्णय गरेपनि भाषागत बिवाद अझै कायम रहेको छ । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्ग्रेजी भाषाको प्रयोग अनुपयुक्त नहुने ब्यख्या गरेको छ ।      विगत पाँच वर्षमा सङ्घीय संसद् र संसदीय समितिमा नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग सांसदहरुले पटक–पटक राखेका थिए ।      नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले पनि प्रधानमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्री भेटेर नम्बर प्लेटमा अन्तर्राष्ट्रिय भाषाको प्रयोग नगर्न सुझाएका थिए ।      विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी ९द कर्पोरेसन० सँग नम्बर प्लेट आपूर्ति र जडानगर्न सम्झौता गरेको थियो ।  प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ ।      विभागले सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधार निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट खरिदलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनलाई  कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रम सफ्टवेयर निर्माण गर्ने उल्लेख भए अनुरुप सञ्चालनमा छ ।     नम्बर प्लेट छपाइलाई प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भएकामा उपकरणसहित कारखाना चालू अवस्थामा छ । ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनलाई १० स्थानमा गेट निर्माण गर्न सडक विभागसँग समन्वय भइरहेको छ । काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यका बाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा निर्माण हुने छ ।        विभागले भने कम्पनीसँगको छलफलका आधारमा नेपाली भाषामा नम्बर प्लेट छाप्दा समय र लगानीको समस्या बताउँदै आएको छ । अहिलेको सम्झौता संशोधन भएमा प्लेटको आकार बढाउनुपर्दा त्यसको बजेट पनि बढ्न जाने विभागको तर्क रहेको छ । 

   बागलुङ । चार वर्षअघि सम्म लहलह पहेँलपुर धान झुल्ने बागलुङ नगरपालिका–८ सिगानाको पाल्तेखेतमा अहिले हरियाली देख्न सकिन्छ । सिगानाका निर्वतमान वडाध्यक्ष तथा पूर्वभारतीय सेना ४६ वर्षीय राजन जिसीले धान फल्ने खेतमा व्यावसायिक सुन्तला र कागती खेती सुरु गरेको चार वर्ष भयो । अहिले उहाँको सुन्तला बगानमा एक सय ३८ सुन्तलाका बोटमा फल लाग्न सुरु भएको छ भने ५२ वटा कागतीका बोट हुर्किरहेका छन् ।      राम्रो धान फल्ने खेतमा धमाधम सुन्तला खेती विरुवा लगाउदा धेरैले खेतीयोग्य जमिन मासेर रूख उमारेको भन्ने गरेका थिए । तर, व्यावसायिकरुपमा धान खेतीभन्दा धेरै गुणा बढी आम्दानी सुन्तला खेतीले दिने भएपछि जिसीले धान मासेर सुन्तला र कागती खेती गर्नुभएको हो । यस संगै उहाँले परीक्षणका लागि एक रोपनी जग्गामा बहुगुणी फलफूल किबी पनि रोप्नुभएको छ । १६ वर्ष भारतीय सेनामा सेवा गरेर अवकाश पछि गाउँमै उद्यम गर्ने सोचका साथ कृषिसँगै उद्योग सञ्चालनमा ल्याउनुभएका छ । जिसी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको कार्यकालमा सिगानामा सुन्तला खेतीको विस्तार भएको थियो ।     वडाध्यक्षको कार्यकालभरिमा सिगानाका जनतालाई ३५ हजार सुन्तलाका बिरुवा लगाउनका लागि अभियान नै चलाइएको थियो । “मेरै घरमा सुन्तला थिएन, यो बीचमा मैले सुन्तला खेतीका धेरै फाइदा बुझे, अहिले सात रोपनी जग्गामा सुन्तला र कागती खेती गरेको छु”, जिसीले भन्नुभयो, “धान खेती मासेर सुन्तला लगाउँदा तत्काललाई भन्दा पनि दीर्घकालीन रुपमा फाइदा पुग्छ, सुन्तलाकै बीचमा अन्य तरकारी खेतीसमेत गर्दै आएको छु, फर्निचर उद्योग र कृषि खेतीबाट आठजनालाई प्रत्यक्ष रोजगारी दिँदै आएको छु ।”     खड्काले अवकाशपछिको जीवन धेरैले आराम गरेर बिताउने गरे पनि आफूले भने कृषि, उद्यम र सामाजिक कामलाई सँगसँगै लगेको बताउनुभयो । जिसीले परीक्षणका लागि लगाउनुभएको किबी खेतीसमेत सफल भएको बताउँदै पहिलो वर्ष नै किबीले राम्रो उत्पादन दिएको बताउनुभयो ।  जिसीकी श्रीमती पुष्पा क्षेत्रीले सुन्तला र कृषि खेतीमा सघाउँदै आउनुभएको छ ।      सुन्तला जोन कार्यक्रममा समेटिएको सिगानामा वार्षिक रु दुई करोडभन्दा बढीको सुन्तला निर्यात हुने गरेको सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खड्काले बताउनु हुन्छ । आगामी पाँच वर्षभित्र सिगानाले सुन्तला बिक्रीबापत वार्षिक रु पाँच करोड भित्र्याउने लक्ष्यका साथ कृषि ज्ञान केन्द्र, बागलुङ नगरपालिका र सुन्तला जोनमार्फत अनुदानमा सुन्तलाका बिरुवा रोपण कार्य भइरहेको सिगानाका सुन्तला किसानहरुले बताएका छन् । सिगानामा सुन्तला भण्डारण गरी चैत वैशाखमा बिक्री गरेर दोब्बर आम्दानी लिन सक्ने गरी २० टन क्षमताको विद्युतीय शीत भण्डार गृहसमेत तीन वर्षदेखि सञ्चालनमा छ ।  

  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेका संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ ।  अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाँडामा सम्माएर वरपर रेलिङ राखी दृश्यावलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिनुभयो ।  मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उहाँले बताउनुभयो । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा रु २० लाख विनियोजन गरेको थियो ।   अनुदानबाहेक थप रु दुई लाख १९ हजार चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताउनुभयो । काभ्रे गाउँको बेनी–जोमसोम सडकबाट रुप्से झरना हुँदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिँढी चिनेर करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ चार सय मिटर रेलिङ राखिएको छ ।  पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गासम्म जाने बाटो साँघुरो र जोखिमयुक्त थियो । पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ ।  अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृतिअनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चार्यजनक छ ।  छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँबाट ३० मिनेट पैदल हिँडेपछि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजिक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समिपमै रहेकाले यस क्षेत्रको एकीकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताउनुभयो ।  धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजिकको दूरीमा छन् । तीनवटै पर्यटकीयस्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमूलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से सङ्गम युवा क्लबका अध्यक्ष सुनिल पाइजाले बताउनुभयो ।

  काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन तीन खम्बे नीति लिनुपर्ने बताउनुभएको छ । मातृ तथा बाल स्वास्थ्य क्लिनिकको आज यहाँ शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लामाले स्वास्थ्य सेवालाई गुण्स्तरीय बनाउनका लागि भौतिक पूर्वाधार, आधुनिक उपकरण र दक्ष जनशक्ति अत्यावश्यक रहेको बताउनुभयो ।     स्वास्थ्य क्षेत्रको विकासका लागि यी कुरा पूरा हुन आवश्यक रहेकाले प्रदेश सरकार सोही अनुरुप अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार तयार रहेको छ ।” प्रदेश सरकारले बिरामीको चाप र आवश्यकता अनुसार बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणपछि स्वास्थ्य क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको भन्दै उहाँले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेर सङ्घीयताको आभास दिलाउन कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।  प्रदेशका १३ जिल्लामा प्रदेशस्तरीय अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्र रहेको बताउँदै उहाँले प्रादेशिक अस्पताललाई आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासका लागि तीन तहको समन्वय आवश्यक छ ।”     कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाप्रमुख दीपक सुवेदीले जनताको सेवाका लागि स्वास्थ्य क्षेत्र महत्वपूर्ण रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा भएका समस्या हटाउनका लागि उहाँहरुले मन्त्रीसँग आग्रह गर्नुभयो । गुणस्तरीय सेवाका लागि जनशक्ति पर्याप्त हुन जरुरी रहेको उहाँहरुको भनाइ थियो ।     कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाइँले भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको मातृ तथा बाल स्वास्थ्य क्लिनिक प्रदेश सरकारले नीति तथा कार्यक्रममा ल्याएपछि पुन: कार्यालयले सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । यस अघि २७ वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयले क्लिनिक सञ्चालन गर्दै आएकामा २०७६ सालदेखि भरतपुर महानगरपालिकाले सञ्चालन गर्दै आएको छ । अहिले स्वास्थ्य कार्यालय चितवनको नेतृत्व एवं भरतपुर महानगरको सहकार्यमा सञ्चालनमा ल्याइएको चापागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालयका दुई र भरतपुर महानगरका दुईजना स्वास्थ्यकर्मीले क्लिनिकबाट सेवा दिनेछन् ।     यस कार्यालयबाट बाल खोप, वृद्धि अनुगमन, गर्भवती जाँच, टि.डी खोप, उत्तर प्रसूति जाँच, परिवार नियोजन सेवा, अस्थायी परिवार नियोजनका साधनहरु, कोभिड–१९ विरुद्धको खोप लगायतका सेवाहरु दिइने कार्यालयले जनाएको छ । 

बलेवा : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय छमध्ये ३५ प्रतिशत मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति बागलुङले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।       प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार १५ प्रतिशत मतदानस्थललाई संवेदनशील र ५० प्रतिशत मतदानस्थललाई सामान्यमा राखिएको छ । विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको हो ।    गृह मन्त्रालयले मतदानस्थलको सुरक्षा संवेदनशीलताको हिसाबले गरिएको वर्गीकरण सार्वजनिक नगर्न निर्देशन दिएकाले कुन कुन मतदानस्थल संवेदनशील छन् भन्ने बारेमा भने सार्वजनिक नगरिएको ढकालले बताउनुभयो ।    अतिसंवेदनशील र संवेदनशील क्षेत्रका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको ढकालले बताउनुभयो । सुरक्षाका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई परिचालन गरिनेछ । जिल्लामा कुल एक सय छ मतदानस्थल छन् । यसमा दुई सय ३१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।    स्थानीय तहको निर्वाचनपश्चात् मतदाताको सुविधालाई ध्यानमा राखेर बागलुङमा तीन मतदानस्थल परिवर्तन र तीन मतदानस्थल थप गरिएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मतदातालाई भएको असुविधालाई हटाउने उद्देश्यले मतदानस्थल थप तथा स्थानान्तरण गर्ने सहमति भएपछि परिवर्तन र थप भएको शर्माले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–६, ढोरपाटन नगरपालिका–२ र गलकोट नगरपालिका–१० मा एक÷एकवटा मतदानस्थल थप गरिएको छ ।    सबै मतदातालाई अपायक परेको बागलुङ नगरपालिका–३ बौद्ध विहारबाट, कालिका कन्या मावि, बागलुङ नगरपालिका–६ को वडा कार्यालयदेखि लहरेपीपल मावि र बडिगाड गाउँपालिका–८ सिद्धबारी प्राविबाट भृकुटी माविमा मतदानस्थल स्थानान्तरणको निर्णय गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।    स्थानीय तह निर्वाचनपछि जिल्लामा दुई हजार आठ सय नयाँ मतदाता थपिएका छन् । नयाँ थप भएका मतदाताले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनमा मत राख्न पाउने छन् । स्थानीयतहको निर्वाचनमा एक लाख ९३ हजार ६२४ मतदाता रहेकामा अहिले एक लाख ९६ हजार २९७ जना मतदाता पुगे । यसमध्ये एक लाख नौ हजार ४० महिला र ९५ हजार पाँच सय १७ महिला मतदाता रहेका छन् ।   असार १ देखि साउन १९ गतेसम्म जिल्ला प्रशासन, कार्यालय बागलुङ, इलाका प्रशासन कार्यालय बुर्तिवाङ र निर्वाचन कार्यालय, बागलुङमा मतदाता नामावली दर्ता गरिएको थियो । अन्तिम मतादाता नामावलीका लागि दाबी विरोध, मृत्यु भएकाको नामावली हटाउने, नाम परिवर्तन गर्ने विवाह गरी गएकाको दर्ता सार्ने गरी भदौ १२ देखि १५ सम्म स्थानीय तहको वडामा मतदाता नामावली पुगेको निर्वाचन कार्यालयको भनाइ छ ।