काठमाडौं : हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनाबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपाई उठे जगत् उठ्छ”, भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पोखरा : नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य विजय नेपालीलाई समाचार संकलनको क्रममा प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले विरोध जनाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले माफी मागेको छ । प्रहरी जवानको कमजोर बुझाईका कारण पत्रकार नेपालीमाथि दुर्व्यवहार हुन पुगेको भन्दै आउँदा दिनमा प्रहरीबाट त्यस्तो व्यवहार नदोहोरिने जिप्रका कास्कीले प्रतिबद्धता जनाएको छ । विहिबार विहान म्यादी प्रहरीसम्बन्धि समाचार संकलन गर्न पोखरा नयाँबजारस्थित प्रदर्शनीकेन्द्र पुगेका नेपालीलाई त्यहाँ रहेका प्रहरी जवानले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारपश्चात पत्रकार नेपालीले आफुलाई प्रहरीले समाचार संकलनमा अवरोध गरेको कुरा पत्रकार महासंघलाई जानकारी दिएका थिए । विहिबार पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीसहितको पत्रकारको टोली प्रहरीले गरेको दुर्व्यवहारको घटनामा प्रहरी प्रशासन सच्चिन जरुरी भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसी समक्ष पुगेका थिए । दुर्व्यवहारमा परेका पत्रकार नेपाली सहित पुगेको पत्रकार महासंघ कास्कीको टोलीसमक्ष एसपी केसीले बुझाईको समस्याले घटना हुन पुगेको भन्दै नेतृत्वको हिसाबले आफूले माफी माग्ने बताए । उनले अबका दिनमा पत्रकारहरुलाई सहज र विधिमा रहेर रिपोर्टिंग गर्ने सवालमा आफू मातहतका सबै प्रहरीहरुलाई सम्झाईबुझाई गर्ने वचन दिए । नजिकिँदै गरेको चुनावलाई लक्षित गरेर हामीले धेरै कुराहरु गर्नुछ । र, प्रहरीले पत्रकारसँग सहकार्य गरेरै चुनावलाई अझै बढि परिस्कृत गराउन सकिन्छ भन्ने कुरामा म विश्वस्त छु ।, केसीले भने (प्रेस स्वतन्त्रताको सवालमा हामी सचेत छौँ र मातहतका सबै तहका प्रहरीहरुलाई हामीले त्यसबारेमा परामर्श पनि दिनेछौँ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रहरी प्रशासनले पत्रकारहरुलाई हेर्ने गलत नजरकै कारण यस्तो घटना हुने गरेको बताउँदै पत्रकारिताप्रति प्रहरीको सोँच फेरिन जरुरी रहेको बताईन् । साथै उनले कुनै पनि वहानामा पत्रकार माथिको धरपकड पत्रकार महासंघका लागि सह्य नभएको प्रस्ट पारिन् । चुनावको बेला छ । पत्रकारहरु पनि यो समयमा रिपोर्टिंगका लागि धेरै ठाऊँमा पुग्नुपर्ने हुन्छ । तर रिपोर्टिंगको बेलामा प्रशासनको व्यवहार रुखो हुँदै आएको विगतका ईतिहास पनि छन् । त्यसैले प्रहरी र प्रशासन यो सवालमा सच्चिन जरुरी छ । भण्डारीले भनिन् ,यदि प्रहरीले पत्रकारलाई पेशागत कारणले नै फरक व्यवहार देखाउने हो भने हामी पनि संगठित रुपमा फरक तरिकाले सोँच्नुपर्ने हुनसक्छ । दुर्व्यवहारमा परेका पत्रकार विजय नेपालीका अनुसार उनी रिपोर्टिंगको क्रममा म्यादी प्रहरीहरुको कार्यक्रममा पुगेर फोटो लिँदा त्यहाँ रहेका प्रहरीले उनलाई जबरजस्ती फोटो डिलिट गर्न लगाई जबरजस्ती कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए । म पत्रकार हुँ, मैले समाचारको लागि फोटो खिचेको हुँ भन्दा पनि मलाई रिसाइकल बिनबाट समेत जबरजस्ती फोटो हटाउन लगाईयो । नेपालीले भने , त्यसपछि मलाई दुर्व्यवहारपुर्ण तरिकाले कार्यक्रमस्थलबाट निकालियो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार महासंघको अगुवाईमा भएको छलफलपछि भने मलाई केही राहत महशुस भएको छ । पत्रकार महासंघलाई धन्यबाद दिँदै उनले आफूलाई दुर्व्यवहार गरेपनि यस्तै घटना अब दोहोरिन नहुने बताए । विहिबार भएको छलफलमा पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष बद्रिविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नं १ का विकास सिग्देलले स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय सुधार गर्ने बताएका छन् । बन्दिपुर गाउँपालिका ६ मा उनले प्रचार प्रसारको क्रममा उनले आफ्नो जित पछी स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय सुधारका काम गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणपत्र अनुसार प्रत्येक स्वास्थ्य चौकीमा डाक्टरको व्यवस्था गर्ने, एक्सले, ल्याप जस्ता समान्य काम स्वास्थ्य चौकिबाट नै लिने व्यवस्था लिने व्यवस्था सुनाए । ६० वर्ष पुगेको बृद्धलाई मोबाइल एम्बुलेन्स एपको मार्फत सेवा प्रदान गर्ने बताए । मुटुका र क्यानसरको बिरामीको लागि प्रदेश स्तरिय ठुला अस्पताल संचालन गर्ने बताए । युवालाई रोजगारीको योजना सुनाउदै उनले मत परिर्वतन गरे आफुले देश परिर्वतन गर्ने बताए । प्रचार प्रसारको लागि विभिन्न ठाउँमा पुग्दा ठुला पार्टीले काम नगरेको गुनासो गर्दै जनताले नयाँ पार्टीलाई मत दिने धारणा राखेका थिए । जनतासंग आफुले ढाट्न छल्न नभइ काम गर्नको लागि आएको बताएका छन् । यस अघि तनहुँ व्यास १ को भादगाउँ लगायतका विभिन्न ठाउँमा प्रचार प्रसार गरेका छन् । घरदैलो अभियानमा स्थानीयले रास्वपालाई नै मत दिने बताएका छन् । चुनावी प्रचारलाई तिव्रता दिने क्रममा स्थानीयले खुसी हुँदै विकासलाई जिताउने बताएका हुन् । सिग्देलले स्थानियको समस्या आफुले पुरा गर्ने वाचा गरेका छन् । साथै प्रचार प्रसार अभियानलाई तिव्रता दिदै लगातर अन्य वडामा पनि जाने सिग्देलले जानकारी दिए ।
पोखरा । पोखरामा संचालनमा रहेको ऋक्रियसनको पहिलो बार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १३ का दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पोखरा १३ आर्वामा रहेका अमरज्योति आधारभूत विद्यालय र सिमला आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । सिमला आधारभूत विद्यालयका ३५ जना र अमरज्योति आधारभूत विद्यालयका ४१ जना विद्यार्थीलाई टिर्सट, कपि, पेन्सि, इरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेको ऋक्रियसनका सञ्चालक रितेश पौडेलले जानकारी दिए । विद्यार्थीलाई पोखरा महागनरपालिकाका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल, सञ्चालक रितेश पौडेल, नारायण पौडेले लगाएतले शैक्षिक सामग्री वितरण गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष बरालले सरकारी विद्यालयमा अध्यन गर्ने बालबालिकाको शैक्षिक स्तर सुधार गर्न शैक्षिक सामग्री फलदाई हुने बताए । उनले ग्रामिण क्षेत्रमा रहेका विद्यालयलाई सबैको आर्थिक तथा शैक्षिक सामग्री सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा सिमला आधारभूत विद्यालय प्रधानध्यापक हरिमाया बराल, अमरज्योति आधारभूत विद्यालयका प्रधानध्यापक विमलबहादुर बरालले सहयोगले विद्यार्थीको शैक्षिक उन्नतीका लागि सहयोगी हुने बताए । ऋक्रियसनले विभिन्न काम गर्दै आएको छ भने ऋस्टोस मार्फत टिर्सटहरु बनाएर विक्रि गर्दै आएको छ ।
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मदेवार श्रीनाथ बरालले आफू इमान्दार एमाले नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताएका छन् । बिहीबार पोखरा ३३ को तल्लो पुँडिटारमा घरदैलो कार्यक्रम अगाडि आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस अगाडि पटक–पटक एमाले उम्मेदवार जिताउनका लागि आफै नेतृत्व गरेर जनतासंग मत मागेको तर मत पाएकाहरुले जनअपेक्षा अनुरुप काम नगरेको उनले बताए । त्यहि भएरएमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी बनाउनु परेको उनले तर्क गरे । ‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ, विगतमा मेरै नेतृत्वमा एमाले उम्मेदवारका लागि पटक पटक मत मागेको छु । निर्वाचित गराउन भुमिका खेलेको छु । तर, उहाँहरुले यहाँहरुको अपेक्षा अनुरुप काम गर्न सक्नुभएन । जनताको जीवनस्तर माथि उकास्न सक्नुभएन ।’ उनले भने, ‘त्यसैले अहिले एमालेबाट विद्रोह गरेर ५ दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट साझा उम्मेदवारको रुपमा खडा भएको छु । म इमान्दार एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार हुँ । जनताको अपेक्षा अनुरुप काम गर्नेछु ।’ उम्मेदवार बरालले पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको सहिढंगले व्यवस्थापन गर्ने, खानेपानी र मोटरबाटोको स्तरोन्नति र विस्तारमा आफूले जोड दिने बताए । उनले ‘निर्वाचित भएपछि फेरी अर्को निर्वाचनमा गफ दिएर होइन जनतासंग बसेर जनताको सुखदुखमा साथ दिएर, उनीहरुको जीवनस्तर उकास्ने अनि संसदमा जनताकै मुद्धा उठाएर उनीहरुको पक्षमा ऐन कानुन निर्माण गर्ने काम मैले गर्नेछु’ भनेका छन् । उम्मेदवार बरालले महानगर, प्रदेश र केन्द्र सरकारका बीचमा सन्तुलन कायम गर्दै जनताको आवश्यकता र प्रथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाए । ‘यहाँको महानगरपालिकाले घोषणा गरेको कामको प्रतिवता पुरा गर्न, प्रदेश सरकारले ल्याएका योजना पूर्वाधारका योजना पूर्ति गर्ने र यहाँको आवश्यकता अनूरुपको पूर्वाधार विकासमा मैले केन्द्रमा सिधै पहुँच पुर्याउने छु ।’ उनले भने, ‘केन्द्रीय राजनीति र स्रोतसाधनमा कास्की र पोखरावासीको पहुचलाई विकास र समृद्धिसंग जोड्ने कुरामा मेरो ध्यान केन्द्रित हुनेछ ।’ आफ्नो निर्वाचन क्षेत्रमा तीन खालको अवस्था रहेको उनले सुनाए । सबै क्षेत्र महानगर भएपनि पूर्वाधारका हिसावले धेरै पछडिएको क्षेत्र अनि कृषि र पर्यटनको हिसावले अत्यन्त सम्भवानायुक्त क्षेत्र रहेको उनले बताए । ति सबै क्षेत्रको समुचित विकासमा आफ्नो जोड रहने उनले जानकारी दिए । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(क)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरु प्रतिवद्धता जनाउने तर काम नगर्ने खालको उम्मेदवार नभएको बताए । ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ त्यो पुरा गर्छाैं, विगतमा प्रतिवद्धता जनाउने तर काम नगर्ने अनि गफ मात्र दिने प्रवृत्ति देखियो । अब त्यस्तो प्रवृत्तिलाई यहाँहरुले तोड्नुपर्छ । म प्रतिवद्धता जनाउँछु । जो बोल्छौं । त्यो पुरा गरेरै छाड्ने छौं’ उनले भने । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन काम गर्नेलाई जनताले चिन्नुपर्ने बताए । उनले निर्वाचन कुर्चीका लागि मात्र नभएको भन्दै जनताको काम गर्ने भन्दै गफ दिएर निर्वाचित भएपछि औषधी, माक्स र सेनिटाइजरमा समेत भ्रष्टाचार गर्नेहरुसंग सचेत बन्नुपर्ने धारणा राखे । नेकपा एमालेको नेतृत्वको सरकारले ठूलठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाए । गठबन्धनबाट जसले टिकट पाएपनि गठबन्धनबाट जितेका उम्मेदवारले विकास र समृद्धिलाई केन्द्रमा राख्ने हुँदा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो ।
बाँके । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगले मागगरे बमोजिम कारागारबाट सात सय २६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको जानकारी दिनुभयो । श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ । उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् । लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले अन्तिम नामावलीमा दुई जना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरुले अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने जानकारी दिनुभयो । उहाँले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार छ सय ३१ जनाले अस्थायी मतदाताका रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताउनुभयो ।
कञ्चनपुर । आगामी प्रतिनिधि र प्रदेशसभाको चुनाव आउन केही साता बाँकी रहँदा उम्मेदवार घरदैलामा पुगेर मतदाता रिझाउनमा व्यस्त छन् । उम्मेदवार घर–घरमा पुगेर आफ्ना एजेण्डा मतदातालाई सुनाउँदैछन् । मतदाता घरदैलोमा आउने उम्मेदवारसँग गाउँबस्तीका समस्या दर्साउँदैछन् । मतदाताले आगामी पाँच वर्षका लागि कस्ता व्यक्तिलाई जनप्रतिनिधि चुनेर पठाउने भनेर मनस्थिति बनाउँदैछन् । महाकाली पारी दोधारा चाँदनी नगरपालिका–१ स्थित पूर्णागिरी टोलकी हरिना धामीले यसपटक जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्ने उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो । “बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रातदिन जाग्राम बस्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ, सबैभन्दा बढी समस्याका रुपमा जङ्गली जनावरको आतङ्क छ ।” वर्षौदेखि जङ्गली जनावरको समस्या झेल्दै आएको हरिनाले बताउनुभयो । उहाँको जमिन नेपाल भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टी जङ्गल छ । “हाम्रो यो समस्या जसले सुनेर समाधानका लागि काम गर्छ, उसैलाई मतदान गर्छौंँ”, उहाँले भन्नुभयो । जङ्गलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश बस्तीका किसानले हात्ती, बाँदर, बँदेललगायत जनावरको समस्या भोग्नुपरेको छ । स्थानीयवासीलाई जङ्गली जनावरबाट बाली जोगाउन हम्मेहम्मे पर्ने गरेको छ । वर्षाँैदेखि जङ्गली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी–१ कै जग्गु धामीले गुनासो गर्नुभयो । “नेता चुनावका बेला आएर समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ”, उहाँले भन्नुभयो, “तर, चुनावपछि फर्किएर पनि हेर्दनन्, अर्को चुनावमा मत माग्न मात्रै आउँछन्, जङ्गली जनावरको समस्या ज्यूँका त्यूँ छ ।” दोधारा चाँदनी–३ की आशा राना क्षेत्री जङ्गलबाट आउने हात्तीले राति सुत्न नपाउने गरेको गुनासो गर्नुहुन्छ । “बालीनाली भएको बेला रातभरी सुत्न पाइँदैन”, उहाँले भन्नुभयो, “जङ्गली हात्तीले बितण्डा मच्चाउँछ, बाली त बचाउन सकिँदैन, भागेर ज्यान जोगाउनुपर्ने हुन्छ ।”
पोखरा । नेकपा (एमाले) केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबि गर्नुभएको छ । सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताउनुभयो । उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औल्याउनुभयो ।
‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ सहभागिता हुने
पोखरा : ‘भारतमा आयोजना हुने अन्तरराष्ट्रिय ज्वेलरी शो’ मा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सहभागिता हुने भएको छ । छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मन्त्रालय अन्तरगत जेम एण्ड ज्वेलरी एक्सपोर्ट प्रमोशन काउन्सीलका प्रतिनिधिमण्डल ‘भारत अन्तरराष्ट्रिय ज्वेलरी शो’को निमन्त्रण दिन बिहीबार काठमाडौं आएको थियो । काउन्सिलका तर्फबाट प्रतिनिधिका रुपमा आएका वरिष्ठ प्रर्दशनी प्रवन्धक अजय पुरोहितले नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा गरेका थिए । निमन्त्रणालाई स्वीकार्दै महासंघका अध्यक्ष श्रेष्ठले शोमा सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने बताए । उनका अनुसार उक्त शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बाई सहरमा हुनेछ । सोही अवसरमा अध्यक्ष श्रेष्ठले नेपाल - भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते महासंघ र काउन्सिललबीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि भएका सहमतिका बिषयमा छलफलसमेत गरेका छन् । ‘भारतमा आयोजना हुने शोमा वर्षेनी सहभागिता जनाउँदै आएका छौं’ उनले भने, ‘अन्तरराष्ट्रिय मेलामार्फत मौलिक गहनाको अन्तरराष्ट्रिय बजारीकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सृदृढ बनाउन यो निमन्त्रणा सार्थक रहेको छ ।’ २ हजार ५ सय वटा वुथ हुने शो मा सुन चाँदीका गरगहना, हिरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुट्टाछुट्टै प्याविलोन गरि १ हजार ३०० प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्नेछन् । साथै उक्त शोमा भारतका स्थानिय व्यापारीहरुसंग प्रत्यक्ष व्यवसायीक छलफलसमेत गर्ने अवसर मिल्ने बताइएको छ ।

