पर्वत : कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो । बिहीबार इजरायलदेखि आएका समूहलाई जलयात्रा गराउँदै र्याफ्टिङका लागि परीक्षणसमेत गरेको कम्पनीले छोटो दूरीमा जलयात्रा गर्न चाहनेले दुई घण्टा र लामो यात्राका लागि दुई देखि तीन दिनसम्मको यात्रा गराउने भएको छ । “अहिले कालीगण्डकी नदीमा र्याफ्टिङले निरन्तरता पाउन सकेको छैन । अब भने साउने बहरमा रहेको हार्नेस रिसोर्टदेखि ¥याफटिङ सुरु हुनेछ”, कम्पनीका सञ्चालक नरेन्द्र केसीले भन्नुभयो, “स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशय मिर्मीमा पुगेर यात्रा टुङ्गिन्छ ।” उक्त नदीमा पोखराका आधा दर्जन कम्पनीमार्फत र्याफ्टिङ सञ्चालन हुँदै आएको थियो । अब भने हार्नेस कम्पनीले कुश्माबाट नै र्याफ्टिङको सुविधा उपलब्ध गराउने सञ्चालक सुनिल बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार सफल परीक्षण सकिएको हुँदा हप्ता दिनभित्रै र्याफ्टिङका लागि बुकिङ खुल्ला गरिने छ । र्याफ्टिङका लागि इजरायल, अमेरिका, युरोपलगायत देशबाट पर्यटक आउने गरेका छन् । विदेशीसँगै स्वदेशी पर्यटकसमेत कालीगण्डकीमा र्याफ्टिङको मज्जा लिन आइपुग्छन् । र्याफ्टिङका लागि चैत, वैशाख, असोज, कात्तिक र मङ्सिर महिना उपयुक्त मानिन्छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकनका साथै प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।
रूपन्देही : रूपन्देहीको सम्मरीमाई-५ रोइनिहवामा भएको चुनावलक्षित टेलिभिजन बहस कार्यक्रममा फरकफरक दलका कार्यकर्ताहरूबीच विवाद हुँदा एक जना घाइते भएका छन्। निर्वाचनलाई लक्षित गरी सञ्चालित एक टिभी च्यानलको बहस कार्यक्रममा उपस्थित दलका कार्यकर्ताहरूबीच कार्यक्रम स्थलमै कुटाकुट भएको हो। बहसमा सहभागी उम्मेदवारले कार्यक्रम प्रस्तोता र सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा सहभागीहरूले एक्कासि होहल्ला गरेपछि विवाद उत्पन्न भएको थियो। रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रतिनिधि सभा सदस्यका चार जना उम्मेदवारसँग गरिएको उक्त बहसमा होहल्ला भएपछि कुर्सी हानाहान र ढुंगा प्रहार भएको थियो। ढुंगा प्रहारबाट कार्यक्रममा सहभागी स्थानीय लालविहारी माविका प्रधानाध्यापक मुरलीधर शुक्ला घाइते भएका हुन्। स्थानीय सन्दीप त्रिपाठीका अनुसार शुक्लाको ओठमा चोट लागेको छ। भैरहवास्थित भिम अस्पतालमा उनको उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पनि बहस चलिरहेको बखत सहभागीहरूबीच केहीबेर विवाद र कुर्सी हानाहान हुँदा एक जना सामान्य घाइते भएको पुष्टि गरे। विवादपछि केहीबेर स्थगित भएको कार्यक्रम पछि पुनः सुरू भएको समेत उनले जानकारी दिए। बहसमा सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका प्रमोद यादव, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का सर्वेन्द्रनाथ शुक्ला, जनमतका भोपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादव गुल्जारी सहभागी थिए। सेतोपाटीबाट
बागलुङ : दुई-दुई पटक जसले हराए उनै दलसँग मिलेर कांग्रेस नेता जीत शेरचन प्रदेशसभा सदस्य चुनावमा होमिनुभएको छ । वाम गठबन्धनको एक्लै सामना गर्नुभएका शेरचनले वि.स. २०७४ र वि.स. २०७६ को उपचुनावमा बागलुङ-२ (२) बाट हार्नुभएको थियो । ती दुई चुनावमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा एउटै मोर्चाबाट कांग्रेसविरुद्ध चुनाव लडेका थिए । अहिले वाम दल एक ठाउँ छैनन् । माके र राजमो कांग्रेससँगको गठबन्धनमा छन् । एमाले एक्लै चुनावी मैदानमा छ । बदलिएको चुनावी समीकरणबीच शेरचनलाई नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीको समेत साथ छ । पाँच दलीय गठबन्धनका आडमा बागलुङ–२ (१) बाट प्रदेशसभा छिर्ने दाउमा हुनुहुन्छ, शेरचन । अघिल्ला चुनावमा बागलुङ–२ (२) बाट चुनाव लड्नुभएका उहाँले यसपालि क्षेत्र (१) राज्नुभएको छ । विसं २०७४ को चुनावमा शेरचन वाम गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दिवङ्गत नेता टेकबहादुर घर्तीसँग तीन हजार दुई सय ६० मतान्तरले पराजित हुनुभएको थियो । घर्तीले ११ हजार आठ सय ८४ र शेरचनले आठ हजार ६ सय २४ मत ल्याउनुभएको थियो । निर्वाचित उम्मेदवार घर्तीको निधन भएपछि विसं २०७६ मङ्सिरमा भएको उपचुनावमा राष्ट्रिय जनमोर्चाकै खिमविक्रम शाहीले शेरचनलाई हराउनुभएको थियो । एमाले र माओवादी केन्द्रको एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा राजमोले शाहीलाई उम्मेदवार बनाएको थियो । उपचुनावमा भने शेरचनले पहिलेभन्दा मतान्तर केही घटाउनुभएको थियो । शाहीले ११ हजार दुई सय २५ मत ल्याएर विजयी बन्दा शेरचनले नौ हजार एक सय ३८ मत पाउनुभएको थियो । आसन्न मङ्सिर ४ को चुनावमा भने शेरचनको प्रतिस्पर्धा स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीसँग हुँदैछ । उक्त क्षेत्रमा एमालेले आफ्नै उम्मेदवार उठाउन सकेन । एमालेको समर्थनमा लालटिन चिह्न लिएर उम्मेदवार बन्नुभएका घर्ती र शेरचन मात्र सो क्षेत्रमा उम्मेदवार छन् । गत स्थानीय चुनावमा ताराखोला गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित बन्नुभएका घर्ती र तेस्रोपटकमा चुनाव जित्ने दाउमा रहनुभएका शेरचनबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ । विसं २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट ताराखोला गाउँपालिकाको अध्यक्ष बन्नुभएका घर्ती गत चुनावमा पार्टीले उम्मेदवार नबनाएपछि असन्तुष्ट हुनुहुन्थ्यो । प्रदेशसभा चुनावमा एमालेको साथ पाएपछि उहाँ फेरि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रनुभएको छ । दुईपटकसम्मको हारलाई जीतमा बदल्ने शेरचनको सपना यसपालि पूरा हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी छ । कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका शेरचन विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ । शेरचन नेपाल विद्यार्थी सङ्घका तर्फबाट विसं २०६२ मा काठमाडौँस्थित ताहचल क्याम्पसको स्ववियु सभापति हुनुभएको थियो । शेरचनले चुनाव लड्ने क्षेत्र बागलुङ–२ (१)मा ५४ हजार दुई ३४ मतदाता छन् । गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई सो क्षेत्रले समेटेको छ । विसं २०७४ को चुनावमा सो क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी बन्नुभएको थियो । गत स्थानीय चुनावमा भने यस क्षेत्रका तीनै स्थानीय तहमा सत्ता गठबन्धनले जितेको थियो । गलकोटको प्रमुख र बडिगाडको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका थिए भने ताराखोलाको अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । यस निर्वाचनका लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगि कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ । यसअन्तर्गत शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।
दार्चुला। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताउनुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामा पुगेर ओलीले भन्नुभयो, “हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनौँ ।” भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उहाँले सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गर्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्नुहुने भएको छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन उहाँ यही कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा जानुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानुहुनेछ । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नुहुने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनुहुनेछ । कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चारवटै सुरक्षा निकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित रुपमा सफल बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
मुस्ताङ: राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताउनुभएको छ । आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गर्नुभयो । उहाँले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताउनुभयो । “मूर्ति अनावरण तथा शिलान्यासमा सहभागी हुन पाएकामा खुसी व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसबाट हिन्दू र बौद्ध समुदायको साझा आस्थाको केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व अझ बढ्न जाने मैले विश्वास लिएकी छु ।” बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई पौराणिक ग्रन्थले ठूलो सम्मानका साथ उल्लेख गरेको उहाँको भनाइ थियो । राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक हिसाबले मुस्ताङ विशिष्ट रहेको बताउनुभयो । “मुस्ताङमा रहेका धार्मिक, सांस्कृतिक सम्पदा हाम्रा अमूल्य निधी हुन्, यिनीहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन हुनुपर्छ, यसबाट प्राप्त आर्थिक लाभ यहीँका जनताको सुख र समृद्धिका लागि सदुपयोग गरिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले मुस्ताङका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक तथा पूर्वाधार विकासमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वयकारी पहल लिनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले मित्रराष्ट्र चीनसँग व्यापारिक सम्पर्क स्थापित गर्न सहज हुने कोराला नाकाले मुस्ताङलाई अर्को परिचय दिएको बताउनुभयो । “हाम्रा उत्पादनका लागि सहज बजार हुने दुई देशका बीचमा स्थल मार्ग हुँदै व्यापार विस्तार गर्ने नयाँ सम्भावना कोराला नाकाले खोल्ने भएकाले स्थल मार्गबाट नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्दछ”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले शुक्रबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजासमेत गर्नुभएको थियो । मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो । राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन गर्नुभएको जनाइएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वउपाध्यक्ष एवं उद्यमी सोनाम लामाको निजी लगानीमा मुक्तिनाथमा गौतमबुद्धको मूर्ति निर्माण गरिएको थियो । भगवान् विष्णुको मूर्ति पनि उहाँकै लगानीमा बन्न लागेको हो ।
काठमाडौं । दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ । लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आउनु भएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताउनुभयो । “नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ”, उहाँले भन्नुभयो । भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताउनुभयो । गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् । दसैँ र तिहार मनाउन घर फर्किनु भएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा हुनुहुन्छ । “यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन”, उहाँले भन्नुभयो । सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् ।
महोत्तरी । महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका ३ का शिवराज श्रेष्ठसँग मिलेको छ । विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाकी वकिल रिंकु यादवले जानकारी दिइन्। शिवराजले नशालु पदार्थ पिलाएर बलात्कार गरेपछि गर्भ बसेको भन्दै निहारीकाले जाहेरी दिएकी थिइन्। तर शिवराजले भने ती बच्चा आफ्नो नरहेको दावी गर्दै आएका थिए। बच्चा शिवराजकै रहेको निहारीकाको दावीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुबैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो। त्यसपछि उच्च सरकारी वकिल कार्यालय जनकपुर मार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौंमा डिएनए परीक्षण भएको थियो। जिल्ला अदालत धनुषाले पनि ०७८ माघ २४ गते जबरजस्ती करणी नभएको फैसला सुनाएको थियो। ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन ११ गते ‘हक–अधिकार दिलाई पाऊँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निहारिकाको नामबाट निवेदन परेको थियो। निवेदनमा निहारिका र शिवराजबीच श्रीमान–श्रीमतीको समबन्ध उल्लेख थियो। सोही आधारमा जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरूद्ध जबरजस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए। जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन्। तर उच्च अदालत पनि प्रतिवादीसँग मिलेर पेसी नतोकेको र डिएनए जाँच गर्न समेत नभनेको भन्दै उनी काठमाडौंमा आमरण अनसन बसेकी थिइन्। दोस्रो पटक अनसनको क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि फास्ट ट्रयाकमा मुद्दाको सुनुवाइ अघि बढाइएको थियो। डिएनए परीक्षणको रिपोर्ट नआएकाले निहारिकाको मुद्दामा पेशी चढ्न सकेको थिएन। जिल्ला प्रहरी, सरकारी, वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो। शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

