रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

  पोखरा । कास्की क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् ।   साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासँंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।  निर्माण व्यवसायीको ढिलासुस्तीको कारण समयमा सम्पन्न हुन सकेको फुस्रेखोला, रामदी, मट्टीखान, नुवाकोट सडक निर्माणले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै उनले सो सडक संघ सरकारवाट प्रदेशलाई हस्तान्तरण भईसकेको जानकारी गराईन् ।  उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न विबभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै उनले सडक सुविधाले बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । दुःखको परिस्थितिमा उपनिर्वाचनमा उम्मेदवार बन्दा उक्त क्षेत्रका मतदाताले पु¥याएको योगदानको उच्च कदर गर्दै नेत्री भट्टराईले नीति निर्माण तथा विकास निर्माणका साथै महिला अधिकारका सम्वन्धमा भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारिन् । निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटनेमा उनको जोड थियो । मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २१ का वडाअध्यक्ष दिपकप्रसाद सुवेदी, भिरस्वारा टोल विकास संस्थाका अध्यक्ष्ाँ राजेन्द्र पौडेल,मट्टीखान टोल विकास संस्थाका निर्वतमान अध्यक्ष जुद्धवहादुर क्षेत्री,ध्वाँकोट टोल विकास संस्थाका राजकुमार थापा, विजय पौडेल लगायतले सो क्षेत्रको विकास निर्माणसंगै समस्या र समाधानका बारेमा उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।   

  ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामीले बुवाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पुर्याउने प्रतिबद्धता गरेका थियौँ, कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो, केही ढिला भए पनि अहिले बुवाआमाको दुःख अन्त्य भएको छ ।” गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरणको थालिएको फक्ताङलुङ पञ्जिकरण शाखाले जनाएको छ ।  फक्ताङलुङ –२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागाईँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान हुने छ ।

  काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले आचारसंहिताविपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो ।   रिजालले कांग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ ।

  बागलुङ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६६ पुस ३ मा सोही ठाउँका मनप्रसाद विकको कुटपिटपछि मृत्यु भएको घटनामा सर्वोच्च अदालतले विसं २०६८ वैशाख १४ मा गरेको फैसलाअनुसार पिमबहादुर दोषी ठहरिएका थिए ।  सर्वोच्चबाट १२ वर्ष छ महिना कैद सजाय तोकिएपछि फरार रहेका पिमबहादुरलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियुक्त ६० वर्षीय पिमबहादुरलाई कैद भुक्तान प्रक्रियाका लागि जिल्ला अदालतमा पठाइएको जिप्रकाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार बागलुङ नगरपालिका–१३ का ५२ वर्षीय विष्णु गिरीलाई पनि पक्राउ गरेको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ का तार्कबहादुर कुँवरको जाहेरीपछि चेक बाउन्समा गिरी दोषी ठहरिएका थिए ।  उच्च अदालत पाटनले विसं २०७६ कात्तिक १ गतेको फैसलाबाट गिरीलाई २० दिन कैद र रु सात लाख ९६ हजार जरिवाना तोकेको थियो । गिरीलाई पनि घरमै लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  कानुनबमोजिम फक्राउ परेका दुवै फरार अभियुक्तलाई लगत कट्टाका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तको खोजीमा प्रहरी सक्रिय छ ।

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय थियो ।          त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

दमौली : सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् ।    मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिनुभयो । “यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।”   व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याएको बताउनुभयो । “सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ”, उहाँले भन्नुभयो, “हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हे¥यौँ ।”   केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताउनुभयो ।    चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला ।    पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ ।    मानुङकोटबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् ।   दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।    मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।   खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाड्नुभएकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आउनुभएको छ । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उहाँले बताउनुभयो । 

बलेवा : हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा गाजाको दह क्षेत्रलाई चिनिन्छ ।    बागलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल हो गाजाको दह । गाजाको दहमा शनिबारदेखि वैकुण्ठ चतुर्दशी मेला लागेको छ । गाजाको दहलाई चिनाउने यो एउटा नियमित परम्परा हो । जैमिनीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गाजाको दहमा हरेक वर्षझैँ यस वर्ष पनि वैकुण्ठ चतुर्दशीको अवसरमा तोरण तार्ने योजना युवाहरूले बनाएका छन् ।    सरोकारवालाको नजर कम पुगेको गाजाको दहमा युवाहरूले हरेक वर्ष गर्ने यो प्रयासले प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गर्छ । मेलाका अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ऐतिहासिक परम्परा र संस्कृतिको संरक्षण गर्न युवाहरूले गाजाको दह संरक्षण, सांकृतिक तथा खेलकुद विकास मञ्च लागेको छ । मञ्चका अध्यक्ष शेरबहादुर पुनका अनुसार गाजाको दह दक्षिण बागलुङको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर यहाँ राज्यका संयन्त्रको नजर कम पुग्ने गरेका कारण गाजाको प्रचार हुनसकेको छैन ।   गण्डकी प्रदेश सरकारले तयार गरेको पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । दुई हजार चार सय ८० मिटर उचाइमा रहेको गाजाले सजिलै पर्यटकलाई लोभ्याउँछ । तर प्रचार–प्रसार र संरचना निर्माणको अभावमा गाजाको दहमा अन्य पर्यटकीय क्षेत्रमा जस्तो पर्यटक पु¥याउन नसकिएको पुन बताउनुहुन्छ । “गाउँ, पाखा र वन हुँदै सवारी चढेरै गाजाको दह आउन सकिन्छ, बास बस्न आउनेका लागि यहाँ घरबासको पनि व्यवस्था छ”, उहाँले भन्नुभयो, “बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकको रेश, बरेङको धुल्लुबास्कोट र जैमिनी नगरपालिकाको दमेकको बाटो भएर यहाँ आउन सकिन्छ ।”  उहाँका अनुसार गाजा दहलाई पहिले–पहिले रुद्रताल पनि भनिन्थ्यो । सो दहको पुरानो स्वरुप खल्बलिएको छैन । सौन्दर्य बिग्रन नदिन संरक्षण गरिएको छ ।   हिउँदका घमाइला दिनमा दहमा छचल्किने हिमालका दृश्य कैद गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका भए पनि सन्तोषजनक नरहेको जैमिनी–३ का वडाध्यक्ष कृष्ण भुजेल बताउनुहुन्छ । “केही समय पहिला गाजाको विकासका लागि पहल भए, रोकिए, पछिल्लोपटक हामीले सीमा जोडिएका सबै वडासँगको समन्वयमा यहाँ पूर्वाधार विकास गर्ने भनेका छौँ”, उहाँ भन्नुहुन्छ,  “वैकुण्ठ चतुर्दशीमा मात्रै होइन यहाँ सधैँ मेला लागेजस्तै पर्यटक भित्र्याउने गरी काम गर्नुछ ।” त्यहाँबाट धवलागिरि, माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमशृङ्खलाको दृश्यावलोक गर्न सकिन्छ । दह परिसरमा बराह थान छ । गाउँलेको धार्मिक आस्था त्यसमा गाँसिएको छ ।    खेती किसानी गरेर जीविका चलाउँछन् गाजावासी । त्यहाँको मुख्य बाली आलु र भाँगो हो । पर्यटन गतिविधि हुन थालेपछि गाउँलेमा व्यावसायिक चेत पसेको छ ।    व्यवसायी मिलेर पर्यटकलक्षित ‘सिद्धबराह सामुदायिक होमस्टे’ खोलेका छन् । घरबासमा आउने पाहुनालाई उनीहरू स्थानीय परिकार चखाउँछन् । लेकाली परिवेशमा खानपान र बासको मेसो मिलाउँछन् । मौलिक संस्कृति पस्कन्छन् । अहिले तीन घरमा मात्र होमस्टे सेवा छ । पाहुना बढी हुँदा छरछिमेकमा व्यवस्था गर्ने गरिएको सञ्चालकहरू बताउँछन् । कोदो, मकै, भटमास, आलु, गुन्द्रुकलगायत स्थानीय परिकार घरबासका भान्छामा पाक्छन् । मासुमा गाउँकै रैथाने कुखुरा प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।   सडकको पहुँच, प्रचारप्रसार, घरबासलगायत सुविधा पाइन थालेपछि  गाजा दहमा बढ्न थालेको पर्यटकीय आकर्षण कोरोना महामारीपछि थला परेको छ । “पहिले थेगिनसक्नु भीड लाग्थ्यो, कोरोनापछि निकै घटेको छ”, उहाँले भन्नुभयो, “घुम्ने याममा आन्तरिक पर्यटक बाक्लै आउँथे, अहिले त्यस्तो छैन ।” गाजाको दह क्षेत्रमा पूर्वाधार विकास गर्नसके गाजामा उल्लेख्य पर्यटक भित्र्याउन सकिने उहाँले बताउनुभयो ।   पाँच वर्षअघि पर्यटन कार्यालय पोखराको सहयोगमा दह वरिपरि तारजाली र पर्खाल लगाउने काम भएको थियो । त्यसयता पूर्वाधारमा खास काम भएको छैन । घरबास कार्यक्रमका लागि प्रदेश सरकारबाट आएको रु १० लाख बजेटबाट सांस्कृतिक भवन बनाइएको छ । नगरपालिकाबाट आएको रु एक लाख पनि त्यहीँको फर्निचरमा खर्च भएको जनाइएको छ । गाजाको धुरी दहभन्दा तीन सय २० मिटर माथि पर्छ । गाजा क्षेत्रको जङ्गल जडीबुटीका लागिसमेत प्रख्यात छ । गाजा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बनाइए पनि त्यो कार्यान्वयनमा आएको छैन । गुरुयोजनामा ‘भ्यूटावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार बनाउने उल्लेख छ । 

  कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित अलैँची सुपरजोनको अनुगमन गरिएको छ । अलैँचीको सुपरजोन मानिने कोलेली र धितालको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।       प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अनुदानमा गरिएको अलैँची खेतीको अनुगमनका क्रममा प्रमुख पौडेल नगदे बाली मानिने अलैँची खेतीप्रति कृषकहरु आकर्षित भएर खेती विस्तारमा लागेको बताउनुभयो ।      “माछापुच्छ्रेवासीलाई अलैँची खेतीबाटै आत्मनिर्भर बनाउन सकिने सम्भावना प्रशस्त रहेछ”, उहाँले भन्नुभयो, “सेपिलो जग्गामा हुने अलैँची खेतीमा कृषकको उत्साह र मेहनत पनि राम्रो देखियो ।” खेर गएको जमिनलाई सदुपयोग गर्दै एकचोटिको मेहनतले लामो समय प्रतिफल लिन पाइने भएकाले अलैँची खेतीतर्फ स्थानीयको आकर्षण बढेको बताउनुभयो यस क्षेत्रलाई अलैँची गाउँका रुपमा विकास गरी कृषकका लागि थप कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ ।      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका परियोजना कार्यान्वय इकाइ कास्कीका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले कास्कीका माछापुच्छ्रे, अन्नपूर्ण र मादी गाउँपालिका विभिन्न वडाहरुमा अलैँची खेती अनुदान कार्यक्रम सञ्चालन गरिएको र यसबाट प्रतिफल पनि राम्रो पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “माछापुच्छ्ेको कोलेली, धिताल अलैँची जोनको अनुगमनमा कृषकहरु यसखेतीबाट लाभान्वित भएको पायौँ, व्यक्तिगत र समूहमा गरेर अलैँची खेती गर्नुभएको छ ।”      उहाँले अनुदानबाट सिँचाइमा ८५ प्रतिशत र  क्षेत्र विस्तार कार्यक्रम, चक्लाबन्दी, अलैँची सुकाउने आधुनिक भट्टी निर्माण, यन्त्र उपकरण, नर्सरी, अलैँचीको बेर्ना लगायतमा ५० प्रतिशत अनुदान दिने गरिएको जानकारी दिनुभयो । अनुगमनका क्रममा केही कृषकको माग सम्बोधन नभएको गुनासो, बिक्रीका लागि भारतीय बजारको भर पर्नु परेको, केही ठाउँमा छहारी व्यवस्थापन गर्नुपर्ने आवश्यता, अलैँची बाली कटान त्यस पूर्वका कार्यका लागि स्थानीय कामदारको अभावलगायत समस्याहरु कृषकले सुनाएका थिए । यस कार्यक्रमले कृषकहरुलाई अलैँची खेतीतर्फ आकर्षित गरेको उहाँको भनाइ छ ।      परियोजनाका सामाजिक विकास विज्ञ गोविन्द श्रेष्ठका अनुसार  कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ६, ७, ८ र मादी गाउँपालिका–  १, २, ३, ८, १० र ११ त्यसैगरी अन्नपूर्ण गाउँपालिका–१, ३, ४, ७, १० र  ११, पोखरा महानगर–१६ र १९ मा अलैँची जोनका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।         कोलेलीमा करिब ७० रोपनी जग्गामा अलैँची खेती गर्नुभएका ज्योति अग्र्यानिक कृषि फार्मका सञ्चालक नरेशराज लामिछानेले अहिले यस क्षेत्रका स्थानीय अलैँची खेतीबाट निकै उत्साहित र लाभान्वित भएको बताउनुभयो । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु हुने, खेर गएको जग्गामा खेती गर्न सकिने र नगदे बाली भएकाले आयआर्जनको राम्रो माध्यम बनेको उहाँको भनाइ छ ।        माछापुच्छे मर्दी अलैँची ब्लक क्षेत्र सञ्चालक समितिका अध्यक्ष दीपक पौडेलले उत्पादित अलैँची ब्लकको समन्वयनमा विर्तामोड केन्द्रमा लगेर बिक्री गरिने बताउनुभयो ।  उहाँले अघिल्लो वर्ष प्रतिकेजी रु एक हजार एक सयमा बिक्री गरिएकामा अहिले आठ सयप्रति केजी रहेको र कृषकले उचित मूल्य कुरेर बसेको बताउनुभयो । उहाँले अलैँचीको अन्तर्राष्ट्रिय बजार भएकाले यसको मूल्य सूची घटबढ भइरहने जानकारी दिनुभयो । पौडेललेका अनुसार उक्त क्षेत्रमा वार्षिक १५ ÷१६ हजार केजी अलैँची उत्पादन हुने र करिब डेढ करोडको अलैँचीबाट आम्दानी गर्न सकिने साथै बेर्नाबाट पनि थप आम्दानी हुने बताउनुभयो । 

  बागलुङ । लामो समयदेखि समस्याका रुपमा रहेको बागलुङ बजारको ढललाई व्यवस्थापन गरिने भएको छ ।   यसअघि दुई वटा स्थानमा ढल व्यवस्थापन गर्ने योजना भए पनि लागत कम लाग्ने भएकाले एकै स्थानमा ढल व्यवस्थापन गर्न लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागको भनाइ छ । तीन वर्षअघि नगरपालिकाले बागलुङ नगरपालिका ४ को ढोडेनी र वडा नं १ को ससे गरी दुई स्थानमा ढल व्यवस्थापन गर्न सकिने सुझाव दिएको थियो ।  विभागका महानिर्देशक रमाकान्त दुवाडीको नेतृत्वको प्राविधिक टोलीले स्थलगत अनुगमनपछि कोठेखोलास्थित ससेमा ढल व्यवस्थापन गर्ने निर्णय गरेको थियो । ढल व्यवस्थापनका लागि २० रोपनी जमिन र एक अर्ब १५ करोड बजेट आवश्यक विभागको भनाइ छ ।  ढल व्यवस्थापनका लागि रामरेखादेखि बाल उद्यान हुँदै पाइपलाइनबाट ससेसम्म लैजाने विभागको योजना छ । यसका लागि सामूदायिक वनको जमिन उपयोग गर्नका लागि सहमति आवश्यक पर्ने वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताउनुभयो ।