नवलपरासी: नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश हुनुभएको छ । “नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन् जितेपछि देख्न पनि पाइँदैन”, गुरुङले भन्नुभयो, “सधैभरी विद्युत् ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।” विजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ । “हरेक निर्वाचनमा विजुली ल्याउने योजनाहरु सुनिन्छ तर भोट हाल्ने दिन आउँछ तर विजुली आउँदैन”, गुरुङले गुनासो गर्नुभयो । स्थानीय ५३ वर्षे चोलमाया गुरुङ सडक, शिक्षा, स्वास्थ्य र विद्युतका योजनाहरु चुनावी नारामै सीमित नहोस् भन्ने कामना गर्नुहुन्छ । त्यस्तै जिल्लाको हुप्सेकोट गाउँपालिका–६ जगदेउका ४५ वर्षीय झमबहादुर बयम्वुलाई अहिलेसम्म पाँचवटा निर्वाचनमा मतदान गरेको सम्झना छ । ५ वर्षअघिका सपना पूरा नगरेका उम्मेदवारलाई फेरि मतदान गर्नुपर्ने दिन नजिकिएको भन्दै झमबहादुरले भन्नुभयो, “राजनीतिलाई समाजसेवाका रुपमा लिनुपर्नेमा नेताहरुले पेसा बनाएका छन्, जसले गर्दा जति विकास हुनुपर्ने हो अझै हुन सकेको छैन, हाम्रो अवस्था उस्तै छ, नेताहरुको दिन फेरिएका छन् ।” यही जन्मे हुर्के तर यस क्षेत्रमा पहिले र अहिले खासै फरक नभएको स्मरण गर्दै बयम्बुले भन्नुभयो, “२०४८ सालदेखि एउटै पार्टीले जिते पनि न बाटो सुधार भयो न खानेपानीको समस्या नै समाधान भएको छ ।” जगदेउ गाउँमा ४० घरधुरी छन् । यहाँको मुख्य समस्या बाटो, खानेपानी र विद्युत् हो । बाह्रै महिना बाटो सञ्चालन भए त्यहाँ उत्पादनले बजार पाउने उनीहरुको आशा छ । भोट माग्न आउने नेताहरुले जनताको समस्या समाधानमा बेवास्ता गरेको ४५ वर्षीया तिलकुमारी सारुको बुझाइ छ । “चुनावी योजना सुन्दा सबै राम्रा लाग्छन् तर काम भने कसैले गर्दैनन्”, सारुले भन्नुभयो, “गिरुवारी खोलामा पुल निर्माण भए वर्षाको समयमा सहज रुपमा यात्रा गर्न पाइने थियो ।” दुई प्रतिनिधि र चार सङ्घीय निर्वाचन क्षेत्र रहेको नवलपुरमा यस जगदेउ गाउँ निर्वाचन क्षेत्र नं २ मा पर्दछ । नवलपुर २ अन्तर्गत नै पर्ने बौदीकाली गाउँपालिका–६ लाहापेका स्थानीयको समस्या पनि जगदेउका बासिन्दाको भन्दा फरक छैन । यता उम्मेदवारहरु भने केही नयाँ आफ्ना योजना त केही पुरानै योजना लिएर जनताका सबै समस्या समाधान गर्ने भन्दै आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । यस क्षेत्रमा २०७४ को निर्वाचनमा आमनेसामने भएका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट महत विजयी हुनुभएको थियो । यसपटकको निर्वाचनमा गठबन्धनको समीकरण भने फेरिएको छ । गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जित निकाल्ने कसरतमा महत हुनुहुन्छ । यस क्षेत्रमा विभिन्न राजनैतिक दलका र स्वतन्त्र गरी ३१ जना चुनावी मैदानमा छन् । जम्मा ४० वटा वडा रहेको नवलपुर २ मा गत स्थानीय तहको निर्वाचनमा एमालेले २२ वटा वडा जितेको थियो भने कांग्रेसले १६ वटा वडा, राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन् । एक लाख २९ हजार दुई सय ८० जना मतदाता रहेको यस क्षेत्रमा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहको छ ।
स्याङ्जा: महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ । गण्डकीका ३६ प्रदेश सभामा १४ महिलाले उम्मेदवारी रहेकोमा स्याङ्जाको क्षेत्र नं १ (क)मा नेकपा (एमाले)का सीता सुन्दास र सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का अमृता थापामगर शाक्यको भिडन्तले चर्चा लिएको छ । बाल्यकाल देखि नै राजनीतिमा खारिएका दुई नेतृ मध्ये माओवादी केन्द्रका थापा गण्डकीको प्रदेशसभामा पार्टीको उच्च तहको नेता स्थायी समिति सदस्य रहनुभएको छ भने एमाले नेतृ सुन्दास केन्द्रीय सदस्य रहनुभएको छ । बिरुवा गाउँपालिका–३ मा २०२९ सालमा जन्मनुभएकी अमृता २०५२ देखि माओवादी जनयुद्धमा भूमिगत हुनुभएकोमा उहाँले २०६४ र २०७४ मा प्रतिनिधिसभामा सांसद बन्नुभएको थियो । २०४६ मा अनेरास्ववियुको जिल्ला सचिव, गण्डकी सदस्य भएर राजनीति यात्रा सुरु गर्नु भएका थापा रेडियो नेपालकी पूर्व समाचार बाचिका समेत रहनु भएको छ । थापा अहिले अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । गाउँ“ बनाउने र जनताको अवस्था बदल्न म जन्मेको ठाउँ“मा चुनाव लडेको बताउँदै थापाले अन्य ठाउँमा टिकट पाउने भए पनि जन्मथलोको विकासमा चुनाव लड्न आएको बताउनुभयो । यस्तै, २०२४ साउन ५ गते पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा जन्मनुभएका सुन्दास २०३८ बाट अनेरास्ववियुबाट राजनीति यात्रा थाल्नुभएको हो । पार्टीका विभिन्न मोर्चामा रहँदै काम गरेका सुन्दास दलित अल्पसङ्ख्यक कोटामा नगर सदस्य हुँदै जिल्ला समन्वय समिति स्याङ्जाको निवर्तमान प्रमुख र जिल्ला समन्वय समिति महासङ्घकी निवर्तमान अध्यक्ष रहनुभएको छ । सुन्दास संविधानको मर्म र भावनाअनुरूप सङ्घ बलियो बनाउने प्रदेश बलियो बनाउने हेतुले चुनावी मैदानमा उत्रिएको बताउनुभयो । पाँच वर्ष पहिला वाम गठबन्धनमा माओवादी केन्द्रले जितेको प्रदेशमा स्थानीय तहको मतको आधारमा थापा एक हजार ९२२ मतले अगाडि रहनुभएको छ । साभार: गोरखापत्र अनलाइन
मकवानपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कानुन संशोधन गरी गाँजालाई वैधानिक गराउनुपर्ने बताएका छन्। मकवानपुरको हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गाँजालाई वैधानिक बनाएर सदुपयोग गर्नुपर्ने भन्दै राज्यले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। ‘नयाँ ढंगले सोच्नुपर्यो। नयाँ सोचका साथ अघि बढ्नुपर्यो। मकवानपुरको पश्चिमी क्षेत्रमा हेर्नुहोस् त, गाँजा कसरी फस्टाएको छ। त्यसलाई वैधानिक गराउनुपर्यो, सदुपयोग गर्नुपर्यो,’ उनले भने। नेपालमा उत्पादित गाँजालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके देशको अर्थतन्त्र बलियो हुने उनले दाबी गरे। जनताले राप्रपालाई सरकारको नेतृत्व सुम्पिएमा भ्रष्टाचार न्युनीकरण र बेरोजगारी समस्याको समाधान गरिछाड्ने उनले दाबी गरे।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका शेखर श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो । माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहनुभएका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई एक कार्यक्रमबीच एमालेमा नेता पोखरेलले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलसहित निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । श्रेष्ठसँगै स्थानीय कार्यकर्ताहरू शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गङ्गालाल श्रेष्ठ, विनोद गौतम, नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी, सुनिता विष्ट, विशाल कार्की, विमल मगर, दिपेश श्रेष्ठ, रुपेश महर्जन, सीता भण्डारी, विकास थापामगर लगायत २८ जना एमाले प्रवेश गर्नुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले चर्चा गर्नुभयो । स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये एमाले एक्लैले ११ वटा वडामा जित हासिल गरेको छ । बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३०ले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
पोखरा: नेकपा एमालेका केन्द्रिय सदस्य, होनहार सृजनशिल युवा नेता । गणतान्त्रिक आन्दोलनका योद्धा मानिने पहारीको राजनीतिक यात्रा विद्यार्थी जिवनबाटै शुरु भएको हो । २०५८ सालमा देशकै ठूलो पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि उनको राजनीतिक यात्रा निकै क्रियाशिल बन्यो । स्ववियु सदस्य, उपाध्क्ष हुदै नेतृत्वमा पुगेका पहारी देशकै नमुना स्ववियु सभापति घोषित भए । स्ववियु सभापति रहँदा गणतन्त्र प्राप्तिका लागि पिएन क्याम्पसबाट देशैभर ५ लाख हस्ताक्षर संकलन अभियान सफल पारे । २०५६ सालमा जलेर ध्वस्त भएको पिएन क्याम्पस प्रशासनिक भवन पुनःनिर्माण कार्य, क्याम्पस क्याम्पसको आम्दानी बृद्धीका लागि ५१ सटर निर्माण, सबै शंकाय जोड्ने पिच बाटो निर्माण लगायतका कार्यमा उनको भूमिंका अहम रहयो । २०६० सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य, सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख बनेका पहारीले २०६२÷०६३ को ऐतिहाँसिक जनआन्दोलनमा पश्चिमाञ्चल क्षेत्रबाट युवा विद्यार्थी जनआन्दोलन परिचालन कमिटिको संयोजक बनेर अग्रपंत्तिमा रहँदै जनआन्दोलनको नेतृत्व गरे । उनको राजनीतिक यात्रा झाँगिदै गर्दा उनले देशकै युवाहरुको ससक्त समुह युवा संघको नेतृत्व कुशल ढंगले सम्हालिसकेका छन् । भारतिय नाकाबन्दिदेखि चर्को मुल्य बृद्धि विरुद्धको आन्दोलनमा उनको स्वर बुलन्द बन्यो । तराईमा भड्किएको बिखण्डनकारी घटनामा सामाजिक सद्भाव कायम गर्न पहारीले अभियाननै छेंडे । र घटनालाई साम्य पार्न महत्वपूर्ण भूमिंका निर्वाह गरे । ७२ को विनाशकारी महाभूकम्पबाट क्षति भएका सिन्धुपाल्चोकका ५० विद्यालयको पुनःनिर्माण कार्यमा उनले पु¥याएको योगदान सम्झन लायक थियो । २०६६ देखि ०६८ सम्म नेकपा एमाले क्षेत्र नम्बर ३ को अध्यक्ष भई काम गरेका पहारीले त्यस अघि नेकपा एमाले कास्की सचिवालय सदस्य, विद्यार्थी फाँट प्रमुख तथा प्रचार विभाग प्रमुख रहि जिम्मेवारी सम्हाले । पहारीले अमेरिका, क्यानडा, जापान लगायत विभिन्न ५५ भन्दा बढि देशको विकासको अनुभव बटुलेका छन् । पार्टीका लागि यति धेरै योगदान पुर्याएका पहारीलाई २०७४ को संघिय निर्वाचनमा पार्टीले कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवारको रुपमा अगाडी सा¥यो । जनताको मन जितिसकेका पहारीलाई चुनाव जित्न त्यहि गाह्रो थिएन । उनी अत्याधिक मतका साथ विजयी भए । र यो पाँच वर्षे कार्यकालमा आफ्नों क्षेत्रमा विकासे लहर ल्याए । पहारीको पहलमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा घाँटीछिना, नयाँबस्तिमा हर्पन चेक ड्याम बन्यो । अन्नपूर्ण गाउँपालिका १, नागडाँडामा अत्याधिक वर्षाका कारण पैह्रोले गाउँनै जोखिममा परेका बेला पहारीले बस्ति संरक्षणका लागि गरेको कार्य प्रशंसनिय छ । त्यस्तै पामे, ठूलाखेत, फुस्रेखोलामा पक्कि पुल निर्माणकार्य सम्पन्न भए । पर्यटकिय लेकसाइड जोडने मुख्य सडक शहिदचोकदेखि, हल्लनेचोकहँदै गैह्रा चौतारा तथा उत्तरतर्फ जिरो किमीसम्म उनको कार्यकालमा अस्फाल्ट पिच बन्यो । त्यस्तै, फेवातालको किनार स्विमिङपुलघाटदेखि गैह्राचौतारासम्म फुटट्रयाक निर्माण कार्य पनि सम्पन्न भयो । पहारीले आफ्नों क्षेत्रमा पर्ने थुप्रै सरकारी विद्यालयहरुमा युरो गार्ड जडान गरे । कहिले न्यानो कपडा वितरण त कहिले स्यानिटरी प्याड, शैक्षिक सामग्री वितरणमा सक्रिय बने । कोरोना महामारीमा पनि उनी घर बसेनन् । स्वास्थ्य सामग्री लिएर गाउँ गाउँ पुगे । कोरोनाका कारण लकडाउनले आक्रान्तमा परेका जनताको घर घरमा खाद्य सामग्री पुर्याए । लौरुकमा खानेपानीको ठूलो अभाव छ । कास्कीकोटमा पनि खानेपानीको हाहाकारनै थियो । चुनाव जितेपछि पहारी खानेपानी पाइप लिएर गाउँ पुगे । घरघरै पानी पु¥याउने भन्दै लौरुकमा खानेपानी लिफ्टीङ योजना अघि सारे । बजेट पनि पर्याे । धमाधम काम भइरहेको थियो । तर दुर्भाग्य, पुरा अवधि काम गर्न नपाउँदै सरकार ढल्यो । काम पनि विचैमा रोखियो । जनताको घरघरमा पानी पुर्याएरै छाड्ने अठोट लिएका पहारी फेरी यहि क्षेत्रको चुनावमा होमिएका छन्, जनतासंग बाँडेका अधुरा सपना साकार पार्ने अठोटका साथ । प्रतिपक्षमा रहँदा सत्तापक्षका लागि तिखो काँडा बनेका पहारी जनताको आवाज बोल्न कहिल्यै पछि परेनन् । जनजिविकाका सन्दर्भमा जहिले पनि उनले संसदमा चर्को आवाज उठाए । गण्डकी प्रदेशकै विकासको संवाहक राजीव पहारी फेरी पनि यसै क्षेत्रको सांसद बन्न चुनावी होडमा मैदान उत्रिएका छन् । ‘आजको दिनसम्म लगभग मेरो क्षेत्रका सबै जनतासंग प्रत्यक्ष सात्क्षात्कार गरिसकेको छु, धेरैबाट सकारात्म प्रतिक्रिया पाएको छु, यसबाट मलाई फेरी यहि क्षेत्रमा फर्किएर काम गर्न ठूलो हौसला मिलेको छ’–पहारीले भनेका छन् ।
काठमाडौं: आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते बन्द हुनेछन् । गृहमन्त्रालयले आज सूचना जारी गरी विदासम्बन्धी जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।
काठमाडौँ: ‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मा ९कट्टेल०लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उहाँको छ । “नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ”, दुईपटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भन्नुभयो, “शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।” उहाँलाई हिजो पढेर आज बिर्सने शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ । आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उहाँले पाँच सय विद्यार्थीबाट अहिले एकपटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थाल्नुभएको छ । “मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु”, उहाँले आफ्नो आगामी योजना सुनाउँदै भन्नुभयो, “मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।” उहाँको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्दछन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिनका लागि समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । एकपटक कक्षा सञ्चालन गर्दा १० दिनको हुन्छ । “धेरैजसो अधिकृत र उपसचिवमा नाम निकाल्ने तयारीका मानिस आउँछन्”, उहाँले आफ्नो कक्षा लिन आउने विद्यार्थीका बारेमा सुनाउँदै भन्नुभयोे, “उपत्यकाबाट छोरी र उपत्यका बाहिरबाट छोरा धेरै आउने गरेका छन् ।” उहाँको कक्षामा ७ कक्षाभन्दा माथिका विद्यार्थीलाई मात्र आउन मिल्छ । कक्षा लिएर गएको विद्यार्थीले पठाएको सन्देश देखाउँदै उहाँले भन्नुभयो, “म सफल भएँ भनेर म्यासेज पठाउँछन्, मलाई असाध्यै खुसी लाग्छ, अझ राम्रो गर्न प्रोत्साहन मिल्छ ।” उहाँले आएका सन्देशलाई सुरक्षित राख्नुभएको छ । झापाको भद्रपुर–८ मा विसं २०४६ माघ २३ गते मोहनप्रसाद कट्टेल र आमा खीना शर्माको तेस्रो सन्तानका रूपमा जन्मिनुभएका शर्माले झापाकै एसएस निकेतनमा एसएलसी पास, एम्ब्रेल कलेजबाट व्यवस्थापनमा स्नातक गर्नुभएको छ । उहाँले पनि जीवनमा स्मरणशक्तिकै प्रयोग गरेर विश्व रेकर्ड राख्न सक्छु भन्ने कल्पना जीवनमा गर्नुभएको थिएन । सानैदेखि धार्मिक परिवारमा जन्मिएका शर्मालाई पूजापाठ गर्दा ध्यान गर्ने बानी परेको थियो । तर स्मरणशक्ति बढाउन ध्यानले मद्दत गर्छ भन्ने चाहिँ थाहा थिएन । “मैले दशजोड दुई पढ्दा एउटा दुई मिनेटको भिडियो हेरेको थिएँ, स्मरणशक्ति बढाउनेसम्बन्धी थियो”, उहाँले त्यो भिडियो स्मरण गर्दै सुनाउनुभयो, “दशवटा रटेर गर्ने र दशवटा टेक्निक लगाएर याद गर्ने थियो, मैले त्यो रटेर गर्ने तरिका र टेक्निक लगाएर गर्ने दुवै गरेँ, तर टेक्निक लगाएर याद गरेको धेरै लामो समयसम्म याद आइरहयो ।” उहाँले त्यसपछि १५, २०, ३० हुँदै याद गर्दै जानुभयो । उहाँले यस्तो सम्भव छ भनेर अध्ययन गर्दा १८औँ शताब्दीदेखि नै राजा–महाराजाका बौद्धिक सल्लाहकारले यस्तो टेक्निक प्रयोग गरेको अध्ययनमा पाउनुभयो । “धेरै वर्ष पहिला अहिलेजस्तो प्रविधिको जमाना थिएन”, उहाँले थप्नुभयो, “लेख्ने मात्र जमाना थियो, जसले प्रयोग गरे, त्यो व्यक्तिमा मात्र रह्यो ।” प्रत्येक व्यक्ति जन्मँदा स्मरणशक्ति ९९ प्रतिशतको उस्तै हुने तर एक प्रतिशतको मात्र जन्मजात नै स्मरणशक्ति लिएर जन्मने उहाँको अनुभव छ । स्मरणशक्तिबाट यसरी विश्व रेकर्ड साथीहरूसँग व्यवस्थापन विषयमा अध्ययन गर्दैगर्दा साथीहरूबीच स्मरणशक्तिको प्रतिस्पर्धा गर्ने कुरा चल्यो । पहिलोपटक ३०–३० वटा शब्द याद गर्ने सहमति भयो । “मैले सबैभन्दा छिटो याद गरेँ तर, साथीहरूलाई धेरै समय लाग्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो तरिकाले विश्व रेकर्ड राख्न सकिन्छ भनेर साथीहरूले भने, हेर्दै जाँदा एक मिनेटमा २२ वटाको रेकर्ड थियो, मलाई अहिले नै सक्छु जस्तो भयो, अनि प्रक्रिया अगाडि बढाइयो ।” प्रक्रिया अगाडि बढाउँदा केही समय लाग्यो । शर्माले पहिलोपटक गिनिजबुक अफ वल्र्ड रेकर्डको सेप्टेम्बर २६, २०१५ मा एक मिनटमा ४२ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कामय गर्नुभएको थियो । दोस्रोपटक जुन ३, २०२२ मा एक मिनटमा ८३ वस्तुको क्रम स्मरण गरी स्मरणशक्तिमा विश्व कीर्तिमान कायम गर्नुभएको हो । झापाको भद्रपुर सानोगाउँमा जन्मिएका सामान्य परिवारमा हुर्किएका शर्मालाई जीवनमा यति राम्रा मोड आउँलान् भन्ने लागेको थिएन । विश्व कीर्तिमान र सम्मान अद्भुत स्मरणशक्ति भएका शर्माले गिनिजबुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेपछि नेपाली छोरोे विश्व चर्चित हुनुभयो । नेपालीले दिमागले यस्तो कीर्तिमान कायम गर्नु वास्तवमा नेपाल र नेपालीका लागि खुसीको विषय हो । यो समाचारपछि राष्ट्रिय–अन्तराष्ट्रियरूपमा शर्मा सम्मानित हुनुभयो । आफ्नो अद्भुत स्मरणशक्तिको प्रयोगकै कारण उहाँले धेरै पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार–२०७२, नेपाल जेसिस वर्ष, २०७६ को उत्कृष्ट युवा पुरस्कार, स्वर्ण पदकद्वारा पुरस्कृत हुनुभएको थियो । त्यस्तै युवा प्रतिभा सम्मान, २०७८ प्राप्त गर्नुभएको थियो । हिमालय इन्टरनेशनल अवार्ड, २०७८, विश्व कीर्तिमानी युवा प्रतिभा तथा समाजसेवी सम्मान–२०७८, युवा प्रतिभा सम्मान–२०७८, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाद्वारा वर्ष उत्कृष्ट प्रतिभा–२०७४ प्राप्त गर्नुभएको छ । उहाँकोे जीवनी र सफलताको कथालाई अष्ट्रेलियाको एक प्रतिष्ठित विश्वविद्यालयले साउथेन क्रस युनिभर्सिटीले सन् २०२० जुनमा आफ्नो ब्लगमा पनि सम्मानजनक स्थान दिएर लेखेको थियो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले यहाँको सडकआश्रित मानव (असहाय, बेसहारा)को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो । सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख साहले भन्नुभयो, “बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ ।” बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो । पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । काठमाडौँ महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको थियो । बैठकले नागार्जुन –६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ । यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाइएको छ । आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको छ । चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन् ।

