नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम थालनी गरेको वडाध्यक्ष विनोद मल्लले बताउनुभयो । उक्त वडामा पहिलो चरणमा सय विपन्न परिवारलाई स्वास्थ्य बीमा गरिदिने कार्यक्रम सोमबारबाट सुरु भएको वडाध्यक्ष मल्लले जानकारी दिनुभयो । वडा कार्यालयले निःशुल्क रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिदिने भएको हो । स्वास्थ्य बीमा कार्डबाट बिमितले तोकिएको स्वास्थ्य संस्थाबाट उपचारसँगै एक हजार एक सय प्रकारका औषधि निःशुल्क प्राप्त गर्ने वडाध्यक्ष मल्लले बताउनुभयो । स्वास्थ्य बीमाबाट बिरामीले समयसमयमा सम्पूर्ण शरीरको परीक्षण गर्न सक्ने बीमा सहजकर्ता नारायणीदेवी पौडेलले बताउनुभयो । सरकारले तोकेका स्वास्थ्य संस्थाबाट बीमाको लाभ लिन सकिने पौडेलको भनाइ छ । सो वडाले चालु आर्थिक वर्ष २०७९÷८० मा स्थानीयको स्वास्थ्य बीमाका लागि रु चार लाख विनियोजन गरेको वडाध्यक्ष मल्लले बताउनुभयो । आगामी दिनमा वडाका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने योजना रहेको वडाध्यक्ष मल्ल बताउनुहुन्छ । वडामा रहेका सम्पूर्ण घरपरिवारलाई आगामी पाँच वर्षभित्र बीमा कार्यक्रममा जोडेर निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको प्रत्याभूत गराउन पहल गर्ने मल्लले बताउनुभयो । वडाको विकासका लागि शिक्षा र स्वास्थ्यमा सहज पहुँच नभएसम्म वडावासीको जीवनस्तरको सूचकाङ्क माथि उठाउन नसकिने मल्लको भनाइ छ । उक्त वडामा छ सय १६ घरधुरी रहेका छन् । यहाँका करिब दुई सय ५० परिवारले स्वास्थ्य बीमाको लाभ लिएका छन् । वडाले सुरु गरेको विपन्न परिवारलाई स्वास्थ्य बीमा गर्ने अभियानले थप एक सय परिवार स्वास्थ्य बीमा कार्यक्रमबाट लाभान्वित हुने वडाध्यक्ष मल्लले बताउनुभयो ।
प्यूठान : प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना भएको हो । प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।
डोटी : गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको डोटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पू¥याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुशको उद्धार गरेको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ । गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । उक्त ठाउँमा आठ घर पूर्णरुपमा भत्किएर क्षति पुगेको बताइएको छ । भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताउनुभयो । भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताउनुभयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिनुभयो । त्यस अघि पनि राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।
‘ घान्द्रुक: कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार दामोदर पौडेल वैरागीले १० वर्षे सशस्त्र द्वन्दकालमा विद्रोही पक्षबाट हत्या गरिएका घान्द्रुकका स्थानिय दिलमान गुरुङ र ईश्वर गुरुङलाई सहिद घोषणा गर्न पहल गर्ने प्रतिवद्वता जनाएका छन् । मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम अन्र्तगत अन्नपुर्ण गाउँपालिका वडा नम्वर १० घान्द्रुकका स्थानियसँगको प्रत्यक्ष भेटमा उनले द्वन्दकालमा विद्रोही पक्षले दिएको घान्द्रुकवासीको चोटमा आफुले मल्हम लगाउने प्रतिवद्वता जनाएका हुन् । उनले भने–‘द्वन्दकालमा घान्द्रुकवासीलाई विद्रोही पक्षले दिएको चोटमा महल्म लगाउने म वाचा गर्छु । अल्पायुमै ज्यान गुमाउनु भएका दिलमान गुरुङ र ईश्वर गुरुङको चिरशान्तिको कामना गर्दै सहिद घोषणा गर्न पहल गर्नेछु । तपाईं मलाई सुर्य चिन्हमा मत दिएर विजयी गराउनुस, तपाईको घाईते मुटुको महल्म बनेर तपाईहरुकै सेवा गर्नेछु ।’ एक अर्काे प्रशंगमा उनले व्यवस्था फेरिएपनि जनताको अवस्था नफेरिएका कारण आफ्नो उम्मेदवारी रहेको बताउँदै मंसिर ४ पछि बन्ने नकपा एमालेको सरकारले अवस्था परिवर्तन गर्नेमा ढुक्क हुन आग्रह गरे । उनले जिल्लाको पर्यटकीय गन्तव्यमा परिचित रहेको घान्द्रुकमा पर्यटन प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने र वर्षेनी वजेट छुट्याउने बताए । उनले घान्द्रुकसम्म पुग्ने बाटो स्तरोन्नती गर्ने विश्वास व्यक्त गरे । उम्मेदवार वैरागीले आमा समुहको भवन बनाउने, संग्रालय बनाउने, खानेपानी, बाटो बनाउने, सिंचाईको व्यवस्था मिलाउने, धेरै धन्दा धेरै पर्यटक भित्र्याउने काम गर्ने, प्राकृतिक सम्पदाको संरक्षण गर्ने साथै समग्रमा क्षेत्र नम्वर ३ को विकासका लागि आफूलाई पार्टीले चुनावी मैदानमा पठाएको बताउँदै पार्टीको सुखी नेपाली,समृद्ध नेपालको अवधारणालाई जनताको अभिमतले पूरा गर्ने स्पष्ट पारे । उनले आफू बोल्ने हैन काम गरेर देखाउने सर्वहारा जनताको पार्टी नेकपा एमालेको नेता भएकाले जनताको ढाड सेक्ने गरी बढाएको करको दर घटाउने, काममा ढिलासुस्ति र भ्रष्टचारको नियन्त्रणका लागि जुनसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उद्घोष गरे । कार्यक्रममा कास्की ३ (ख) का प्रदेश सभाका उम्मेदवार राजीव पहारी, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार क्रान्ति वुर्लाकोटि, एमाले नेताहरु जगत विश्वकर्मा, सोमनाथ अधिकारी प्यासी, देवी सुवेदी, विवेक देवकोटा लगायतले बोलेका थिए ।
पोखरा । मंगलबार दिउँसो पोखरा १३ स्थित जय नेपाल मार्गमा एमालेको घरदैलो हुने कार्यतालिका थियो । कार्यक्रम हुने सुचना पाएपछि स्थानिय बासिन्दा नजिकको विश्राम स्थलमा जम्मा हुँदै थिए । केहि समयपछि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ उपस्थित भए । भेला भएर बसेका स्थानिय देखेपछि गुरुङले नमस्ते गर्दै भने नमस्ते म श्याम गुरुङ । गुरुङको वाक्य पुरा नहुँदै स्थानिय एक महिलाले गुरुङ भाषामा जवाफ फर्काए अँ सेम सेम, फिल्मर क्लोब हिरो श्याम। तले असेबु अर्थात अँ चिन्छु नि किन नचिन्नु ? गुरुङ फिल्ममा खेल्ने श्याम हैन ? त्यसपछि श्याम गुरुङले मुस्कुराउदै भने ? यसपाली प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएको छु। मलाई भोट गर्नुस् ल । दुई जनाको रोचक वार्तालाप सुनिरहेका अर्का स्थानिय महिलाले गुरुङ भाषामा भने, ‘छली छ्याबा फिल्म बन्दीबा। ५ वर्ष नोरु गाउँपालिका पनि बन्दीबा। तरे प्रदेश पनि बन्दील तुबा ओ। ङला भोट मात्र अङी आशिर्वाद पनि मु।’ अर्थात फिल्म पनि धेरै राम्रो बनायो। ५ वर्ष अघि गाउँपालिकामा चुनेर गाउँपालिका पनि राम्रो बनाउनु भयो। अब प्रदेशलाई पनि बनाउनु पर्छ। हाम्रो भोट मात्र हैन आशिर्वाद पनि छ। गुरुङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा गुरुङलाई राजनीतिक मात्र नभई कलाकारको हिसाबले पनि चिन्ने गर्छन् । राजनीति संगै लामो समय कलाकारितामा लागेका वेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् । विशुद्द गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्। गुरुङले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्। गुरुङले पछिल्लो ५ वर्ष मादी गाउँपालिकाको संस्थापक अध्यक्षको रुपमा रहेर उत्कृष्ट काम गरेको दाबी गर्छन् । बाटो घाटो, पुल, ढल र जल विधुत निर्माण एवं संभार, शिक्षा, स्वास्थ्य क्षेत्रमा स्तर उन्नति गरेको बताउछन् । राजनीतिक मात्र हैन कलाकारिता क्षेत्रमा इमान्दार पुर्वक काम गरेको सबैलाई थाहा छ। मेरो व्यक्तित्व कस्तो छ, धेरैलाई थाहा छ। गुरुङले भने, ‘जनताले गाउँपालिकाको अध्यक्ष हुने बेला गरेको कामको पनि मुल्यांकन गर्नेछ। त्यसैले भारी मत आउने विश्वास गरेको छु।’ मंगलबार भएको घरदैलोमा गुरुङले पुरा नहुने सपना देखाएर जनतालाई भ्रममा पार्ने र झुटा आश्वासन नदिने बताएका छन् । आफ्नो एजेण्डा आधारभूत र व्यवाहारिक रहेको समेत बताएका छन् । आफू निर्वाचित भए यस क्षेत्रको विकासमा लाग्ने प्रतिवद्दता समता जाहेर गरे। नेकपा एमालेले कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ जिल्ला अध्यक्ष मन बहादुर गुरुङ, प्रदेश क तर्फ खगराज अधिकारी र ख तर्फ वेद बहादुर गुरुङ श्यामलाई उठाएका छन्।
पोखरा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले मुस्लिमका अधिकार पाँचदलीय गठबन्धनमा आबद्ध पार्टीहरुले मात्र सुनिश्चित गर्न सक्ने दाबी गर्नुभएको छ । मङ्सिर ४ गतेको निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सतारलले मुस्लिम समूदाय समक्ष आफ्नो अधिकार स्थापित गर्नका लागि पाँचदलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । नेपालको संविधानले मुलुकभर छरिएका समूदाय, आदिवासी, जनजाति, मुस्लिम, दलित, अल्पसङ्ख्यक र पिछडिएको वर्गको अधिकार सुनिश्चित गरेको भए पनि अघिल्लो सरकारले मुस्लिमहरुले पाउँदै आएको राष्ट्रिय विदासमेत कटौती गरेको प्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । अघिल्लो सरकारले संविधानमाथि नै प्रहार गरी निरङ्कुश अधिनायकवाद र स्वेच्छाचारी ढङ्गले संविधान प्रदत्त अधिकार कटौती गरेकै कारण धार्मिक, सांस्कृतिक तथा संवैधानिक अधिकार सुनिश्चितताका लागि पाँचदलीय गठबन्धनको साथ आवश्यक उहाँको भनाइ छ । जनगणना–२०६८ अनुसार नेपालमा चार प्रतिशत मुस्लिम समूदाय रहेको भन्दै ण्राज्यका हरेक निकायमा मुस्लिमको समान प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेकपा (एकीकृत) समाजवादीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार जैनब खातुनले मुस्लिम समूदायलाई राज्यले सधैँ पछाडि पारेकै कारण अधिकार प्राप्त नभएसम्म सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो । मुस्लिमहरुको अधिकार प्राप्तिका लागि आफू सङ्घर्षरत रहेको र संसद्मा पुगेपछि पनि मुस्लिम अधिकारका बारेमा बुलन्द आवाज उठाउने उहाँको भनाइ छ । सो अवसरमा नेकपा माओवादी (केन्द्र) गण्डकी प्रदेशसभामा समानुपातिक उम्मेदवार रहनुभएकी जुविदा खातुनले मुस्लिम समूदायलाई राज्यका हरेक निकायमा पछाडि पारिएको दाबी गर्नुभयो ।
कास्की । कास्की कारागारमा कैद सजाय भोगिरहेका ७ जना कैदीबन्दीले आम निर्वाचनमा मतदान गर्ने पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ४ जना पुरुष र ३ जना महिला कैदीबन्दीले मतदान गर्ने भएका हुन् । उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने कास्की कारागार प्रमुख भीमराज कोइरालाले बताए । ‘कैदीबन्दीले केन्द्रको लागि समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन्, उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय कास्कीले कैदीबन्दीको आवश्यक कागजात मागेपछि पठाएका थियौ, जस्मध्ये मतदाता नामावलीमा नाम रहेका ७ जनाले मात्रै मतदान गर्न पाउने भएका छन् ।’ कोइरालाका अनुसार मतदान गर्न पाउनेहरुमा लमजुङका नवराज तामाङ, कास्कीका प्रकाश गुरुङ, गोरखाका छ्योतक घ्यान्चोक लामा, मुस्ताङका सुक बहादुर विक, कास्कीकी भिम कुमारी विक र मनु परियार, स्याङ्जाकी सुनिता थापा रहेकी छिन् । हाल कास्की कारागारमा महिला पुरुष गरि ८ सय ४८ कैदीबन्दी छन् ।
पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजारभित्र सडक स्तरोन्नति भएसँगै सडकमा यात्रुलाईसमेत सहज रुपमा वारपार गर्नसमेत समस्या भएपछि ट्राफिक कार्यालय पर्वतको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा कुश्मा बजारभित्रका विभिन्न ६ स्थानमा ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाएको छ । विशेष गरी ग्रामीण क्षेत्रबाट सदरमुकाममा विविध काम लिएर आउने सर्वसाधरण बढी समस्यामा परेको गुनासो आएपछि जेब्रा क्रसिङ बनाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले विशेष गरी बढीजसो सेवाग्राही जाने कार्यालयको सम्मुख र विद्यालय क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ । योसँगै पर्वतमा पछिल्लो समय ट्राफिक प्रहरीले सक्रियता बढाएपछि दुर्घटनासमेत न्यूनीकरण भएको छ । व्यवस्थित बसपार्क नहुँदा राजमार्गमा रोकेर राखिने गरिएका सवारी साधन स्थानीय तहको सहयोग र समन्वयमा ट्राफिक कार्यालय पर्वतले नै निर्माणाधीन बसपार्कमा अस्थायी रुपमा स्तरोन्नति गरी व्यवस्थापन गरेको न्यूरेले जानकारी दिनुभयो । पर्वतमा सञ्चालित साहसिक पर्यटकीय पूर्वाधारका कारण कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ । बढ्दो जनघनत्वसँगै सवारी दुर्घटनासमेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्राक्रसिङ अत्यावश्यक भएको प्रहरीको भनाइ छ ।
जोरपाटी । छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजारौँ मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल सात किमी सडक भने ठेक्का भएको नौ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पटक–पटक मत माग्न आउने उम्मेदवारले भने सडक, खानेपानी, ढलको समस्या समाधान गरिदिने वाचा गर्छन् । विजयी भएर जानेले वाचा बिर्संदा दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडक हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा असहज हुनेगर्छ । एक दशकअघिदेखि जोरपाटी–सुन्दरीजल सडकको निर्माण सम्पन्न हुनसकेको छैन । यो सडकमा हिँड्नेलाई लाग्छ यो राजधानी सहर होइन । कुनै दुर्गम जिल्ला हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का गरेको थियो । जोरपाटी चोकमा गोकर्णेश्वर नगरपालिकाले सानो बजार चलाएर मासिक भाडा लिने ठाउँको सडकसमेत बन्न सकेको छैन । गत जेठमा कालोपत्र भएको केही सडक एक महिना नबित्दै भत्किएको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि रत्न टेलर्स चलाएर बस्नुभएका रत्नबहादुर सूचीकार सडक बनाएको केही दिनमै भत्कँदा पनि जनप्रतिनिधिले निर्माण व्यवसायीलाई फेरि बनाउन नलगाएकामा दुःखी हुनुहुन्छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरअघिको सडक केही दिनमै भत्किँदा यहाँ आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको उहाँले सुनाउनुभयो । विसं २०७२ को संविधानपछि राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको छ । यहाँका नागरिकले भने सरकार भएको अनुभूति गर्न नसकेको खड्काको गुनासो छ । उहाँले भन्नुभयो,“विगत १५ वर्षदेखि यही निर्वाचन क्षेत्रमा मतदान गरिरहेको छु, यहाँका जनप्रतिनिधिले जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानलाई चरितार्थ गरेको मेरो अनुभव छ, राजनीतिमा युवा पुस्ताले ठाउँ पाएनन् ।” काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा पर्ने यहाँका मूल सडकको यो अवस्था छ भने भित्री सडकमा त हिँड्ने नसक्ने अवस्था छ । यही सडकबाट पर्यटकीयस्थल सुन्दरीजल र चिसापानी पुगिन्छ । विसं २०४६ पछि व्यवस्था फेरिए पनि काठ क्षेत्र धेरै पर्ने यहाँको अवस्था फेरिन सकेको छैन । काठमाडौँ उपत्यकामा वाग्मती स्रोतबाट सबैभन्दा बढी पानी निर्यात गर्दै आएको यो क्षेत्रका स्थानीयवासी भने काकाकूल बन्दै आएका छन् । खानेपानीका सम्बन्धमा यो क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको छ । सुन्दरीजलमा पानीको दह बनाएर वर्षायाममा दैनिक रु १३ करोड र सुक्खायाममा दैनिक नौ करोड पानी काठमाडौँ उपत्यकामा पठाउने यो क्षेत्रका मानिस नै धारामा पानी नआउने गरेको गुनासो गर्छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीकी रीता तामाङ चुनावमा मत माग्न आउँदा उम्मेदवारले खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरेपनि विजयी भएपछि कार्यान्वयन नभएको बताउनुहुन्छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७।५ किमी सुरुङ मार्ग भएर ल्याउने पानी पनि यही क्षेत्रमा प्रशोधन हुन्छ । मेलम्चीको पानी पनि यो क्षेत्रका अधिकांशको धारामा वितरण नहुँदा यस क्षेत्रका मानिस पानी खोज्दै परम्परागत कुँवा, पोखरी, सार्वजनिक धारा एवं वाग्मतीलगायत नदीमा जान समय खर्च गर्न बाध्य छन् । यस्ता परम्परागत पानीका स्रोतमा पानी लिन आउनेको लाम लाग्ने गरेकाले पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता राजधानीमै पनि रहेको छ । निकुञ्जभित्रका चिलाउने, ओखरेनी, मूलखर्क बस्तीको समस्या यो क्षेत्रमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्भित्र रहेको बस्तीवासीले दशकौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने चिलाउने, ओखरेनी, मूलखर्क बस्तीका आदिवासी जनजाति तामाङ समुदायले खेतबारीमा लगाएको उब्जनी जङ्गली जनावरका कारण भित्र्याउन पाउँदैनन् । निकुञ्जभित्रको बस्ती भएकाले पूर्वाधार लैजान अझै कठिनाइ भएको छ । यो बस्तीमा मत माग्न जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बस्ती सार्ने, बस्ती सार्न नसके पूर्वाधार लैजाने वाचा गर्न थालेको दशकौँ हुँदा पनि पूरा नभएको स्थानीय मङ्गली तामाङको गुनासो छ । यो क्षेत्रमा काठमाडौँ महानगरपालिका–६ बौद्ध, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ पर्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँ स्वतन्त्रसहित राजनीतिक दलका उम्मेदवार मत माग्न हिँडिरहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् । को को छन् राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट सन्तोष चालिसे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कृष्णबहादुर राई, नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) बाट बद्रीप्रसाद बजगाइँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गणेश गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट मोहनकुमार विश्वकर्मा, नेपाल मजदूर किसान पार्टीबाट विशोक डङ्गोल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपानेले उम्मेदवारी दर्ता गरी प्रचारप्रसारमा लाग्नुभएको छ । यसैगरी मङ्गोल नेशलन अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, जनमत पार्टीबाट गोविन्द नेपाल, राष्ट्रियस्वतन्त्र पार्टीबाट दुर्गाविक्रम थापा क्षत्री, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट नुर्पु गेल्जेन शेर्पा, आमूलपरिवर्तन मसिहा पार्टी नेपालबाट नेत्रबहादुर तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहनबहादुर बस्नेत र सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राईले उम्मेद्वारी दर्ता गरी मत माग्दै जनताको घर आँगन डुल्ने गर्नुभएको छ । यो क्षेत्रमा आठ जनाले स्वतन्त्त उम्मेदवारी दर्ता गराउनुभएको छ । छ महिनाअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील पार्टीको गोकर्णेश्वर नगर समिति सभापति भएर काम गरिसक्नुभएका श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । यसैगरी कविता विष्ट सुनार, केदारनाथ मिश्र, जगन्नाथ देवकोटा, दीनेश खनाल, नीरञ्जन पुडासैनी, राजेश विष्ट र विन्दु मगरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्य पद दाबी गर्नुभएको छ । एमालेका राई यसअघि २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका चालिसे भने २०७४ सालको स्थानीय तह निर्वावचनमा गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचनमा यी दुई नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस अघि छ । अन्य क्षेत्रमा गठबन्धन भए पनि काठमाडौँ ३ मा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेका छन् । यहाँ सत्ता र प्रतिपक्ष दुवैले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा ८९ हजार आठ सय ८९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत मन्दिरा शाही बताउनुहुन्छ । क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र १ मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ का २३ हजार ७५ मतदाता छन् । यो प्रदेश क्षेत्रमा नौ जना चुनावी प्रतिस्पर्धामा छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३, गोकर्र्णेश्वर नगरपालिकाका–१, २, ३, ४, ६, ७ र ८ भने प्रदेश क्षेत्र २ मा पर्छ । यो प्रदेशसभा क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

