काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ । मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । ल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त रु दुई करोड ४० लाख ५२ हजार तीन सय ३९, नबिल बैंक रु दुई करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी रु दुई करोड १६ लाख ३९ हजार छ सय सात मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड सात दशमलव ९०, लक्ष्मी उन्नति कोष तीन दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर तीन दशमलव ७४, सिँगटी हाइड्रोपावर तीन दशमलव ३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले कमाएका छन् । त्यस्तै नवील ब्यालेन्स फण्ड दोस्रो छ दशमलव ९०, निर्धन उत्थान लघुवित्त छ दशमलव ४०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ४२, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव १८ र आशा लघुवित्तका लगानीकर्ताले चार दशमलव ८६ प्रतिशतले गुमाएका छन् ।
पोखरा: सर्वसाधारणले लाइसेन्स प्राप्त १ सय ३३ हातहतियार जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार सर्वसाधारणहरुले कास्की प्रहरीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले आसन्न निर्वाचनको सुरक्षालाई लक्षित गरि सर्वसाधारणहरुले घरमा राखेका भरुवा बन्दुक लगायतका हातहतियार बुझाएको बताए । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्ने लक्ष्य सरकारको छ’ उनले भने, ‘त्यसैले प्रशासनको सूचना अनुसार जिल्लामा इजाजत प्राप्त हातहतियार सर्वसाधारणले बुझाएका छन् ।’ गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा प्रशासनमा १ सय ३५ हातहतियार सर्वसाधारणले बुझाएका थिए भने अहिले इजाजत प्राप्त गरेका २ जना व्यक्ति नेपाल भन्दा बाहिर भएकाले त्यस हतियार प्रशासनमा ल्याउन सम्पर्क गरिरहेको प्रहरी उपरिक्षक तिवारले बताए । ‘निर्वाचनलाई लक्षित गरेर प्रशासनले सूचना प्रकाशित गरेपछि स्थानीय निर्वाचनमा बुझाएका हतियार धनीलाई निरन्तर सम्पर्क ग¥यौं र अहिले १ सय ३३ वटा हयिार प्रशासनमा बुझाएका छन्’, उनले भने,‘ स्थानीय निर्वाचनमा बुझाएका हतियारधनी देश बाहिर भएकाले प्रशासनमा ल्याउन पहल गरेका छौं ।’ जिल्ला प्रशासन कार्यालय कास्कीले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई स्वच्त, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न असोज १४ गते इजाजत प्राप्त गरेका हातहयिार बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सूचना प्रकाशित गरेको थियो । प्रशासनले निर्वाचन सम्पन्न भएको एक हप्तापछि इजाजत प्राप्त हातहतियार फिर्ता लैजान सक्ने कानूनी प्रावधान रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका नायव सुब्बा शिव खत्रीका अनुसारका कास्कीबाट इजाजत बैधानिक रुपमा घरमा हातहतियार राख्न १ हजार १ सय ३७ जनाले इजाजत लिएका छन् । इजाजत प्राप्त गरेका १ हजार व्यक्तिले किन हतियार बुझाएनन् भन्ने प्रश्नमा नायव सुब्बा खत्रीले भने, ‘सम्बन्धित जिल्ला नभनी जहाँ प्रहरी प्रशासन छ, जहाँ प्रशासन नजिक छ उनीहरुले त्यहाँ नै हतियार बुझाउन सक्ने भएकाले इजाजत बराबरको हतियार बुझाएको तथ्याङ्कसँग नमिलेको हो ।’
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिनमा गाडी तोडफोड भएको हो । उनले निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व भएको राज्य मुकदर्शक भएको आरोप लगाएका छन् ।
बागलुङ: दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका मनिष कँडेलको उपचारका लागि सामाजिक सञ्जालमा चलाइएको सहयोग अभियानबाट रु चार लाख ३८ हजार रकम सहयोग जुटाइएको छ । कात्तिक १७ गते मोटरसाइकल दुर्घटनमा परी गम्भीर घाइते हुनुभएका बागलुङ काठेखोला गाउँपालिका–५ का १९ वर्षीय मनिष कँडेल अहिले मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । कँडेलको परिवारको आर्थिक अवस्था कमजोर भएकाले स्वतःस्फूर्तरुपमा युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत् सहयोग अभियान चलाइएको थियो । सहयोग सङ्कलन अभियानका युवा रोशन कुँवरका अनुसार सङ्कलित रकममध्ये रु एक लाख परिवारलाई हस्तान्तरण गरिसकेको छ भने अन्य रकम कँडेलको उपचारमै खर्च गरिनेछ । “साथी दुर्घटनामा गम्भीर हुँदा हामीहरुले सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सञ्चालनमा ल्याएका हौँ”, कुँवरले भन्नुभयो, “हाम्रो अभियानलाई धेरैले साथ र सहयोग गर्नुभएको छ, हालसम्म सङ्कलन भएको रकम छिट्टै मनिष कँडेलको उपचारका लागि प्रदान गरिनेछ ।” सामाजिक सञ्जालमा सञ्चालन गरेको एक अपिलमार्फत् उक्त रकम जुट्नुले कँडेलको उपचारमा सहयोग पुग्ने परिवारको भनाइ छ । कँडेल बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध२प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते हुनुभएको थियो । दुर्घटनामा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुसालसमेत घाइते हुनुभएको थियो ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका नेता एवं क्षेत्र नं १ मा कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको छ । समस्या समाधानका लागि भूमिआयोग बनेको र त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने उहाँले बताउनुभयो । नेता सिंहले भन्नुभयो “भूमि आयोगले काम सुरु गरिसकेको छ, निर्वाचनका कारण अहिलेलाई रोकिएको छ ।” थापाथलीस्थित वाग्मती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उहाँले प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो । समस्या समाधान गर्दा जबरर्जस्ती नभइ भूमिहीनको पनि चित्त बुझाएर गर्ने उहाँको प्रतिबद्धता छ । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उहाँले सरल र छिटोछरितो बनाउन पहल गर्ने उल्लेख गर्नुुभयो ।
काठमाडौं । नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू-१९ महिला टी-२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो। जसमा नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी-२० विश्वकपको आयोजना गर्नुपर्नेछ। यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु-१९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्। यस्तै सन् २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्। नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो। गत जेठमा आइसिसी यू-१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू-१९ महिला टी-२० विश्वकप आयोजना हुन लागेको छ।
काठमाडौं: आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । पछिल्लो साता राजनीतिक माहोल तातिरहेका बेला दिनभर काम गरेर खाने निम्न वर्गका मतदातालाई भने चुनावले खासै तताउन सकेको छैन । उनीहरु अहिले पनि कसरी आफ्नो गर्जो टार्ने भन्ने चिन्तामा छन् । निर्वाचनको समयमा गरेका बाचा जितेर गइसकेपछि भुल्ने नेताहरूलाई किन भोट हाल्ने भन्ने उनीहरुको प्रश्न छ । भरतपुर महानगरपालिका–१ लीलाचोककी बाटुलीमाया श्रेष्ठ चुनाव जितेर गएपछि नेताहरू पाँच वर्ष देखा नै नपर्ने गरेको गुनासो गर्नुभयो । “भोट हालेर चुनावमा जिताएर के गर्ने ? काम गरीखाने ठेला महानगरमा छ । काम गरेर पनि खान दिइएन”, उहाँले गुनासो गर्नुभयो । “रोजगारी दिन्छु भन्दै भोट मागेको सम्झदै उहाँले नेताहरू जितेपछि फर्केर नआएकामा कसलाई गुनासो गर्ने”, भन्नुभयो । उहाँले ठेलामा मकै पोलेर परिवार पाल्दै आउनुभएको छ । उहाँले साँझ बिहानको हातमुख जोर्ने ठेला भरतपुर महानगरपालिकाले लगिदिएको छ । सडकमै मकै बेच्दै गर्दा महानगरपालिकाबाट आएका नगर प्रहरीले उहाँको ठेला नियन्त्रणमा लिएका थिए । “पटक–पटक महानगर धाउँदा पनि ठेला पाइएन”, उहाँले भन्नुभयो, “हामी सोझा मान्छेको पहुँचमा मान्छे छैनन् ।” उहाँले निर्वाचनपछि काम गरेर खाना र सुखले बाँच्न पाए अरु केही नचाहिने बताउनुभयो । भरतपुर महानगरपालिका–११ भोजाडकी मतिमाया कुमाल यसपटकको निर्वाचनमा दोधारमा रहेको बताउनुहुन्छ । “यसअघि पटक–पटक भोट हाल्यौँ, तर हाम्रो जीवनमा परिवर्तन आएन”, उहाँले भन्नुभयो । खाद्यान्नको मूल्य आकाशिएको भन्दै उहाँले साँझ बिहानको छाक पनि टार्न नसक्ने अवस्था आउन लागेको गुनासो गर्नुभयो । “महँगी दिनदिनै बढ्छ, मजदुरको ज्याला बढ्दैन, जनताको दुःख बुझ्ने नेता को छ र ?” उहाँले प्रश्न गर्दै भन्नुभयो । प्यारालाइसिसका कारण एउटा हात नचल्ने उहाँका श्रीमान्ले ज्याला मजदुरी गर्नुहुन्छ । यसैबाट घरमा चुलो बलेको छ । आफूलाई भोट हाल्न मन नलागे पनि श्रीमान्ले भने एकपटक सोचेर भोट दिनुपर्छ भन्ने गरेको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१ की लक्ष्मी श्रेष्ठले प्रत्येक चुनावमा लालपुर्जाको आश्वासन दिँदै उम्मेदवार भोट माग्न आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामीलाई आश देखाएको वर्षौँ भइसक्यो, अब कहिलेसम्म पर्खने ।” उहाँले आफ्नै घर अगाडिको भत्केको सडक देखाउँदै यिनीहरूलाई कसरी भोट दिने भन्नुभयो । “तीन वर्षअघि कालोपत्र गरेको कमसल काम भएका कारण भत्कियो”, उहाँले भन्नुभयो, “अहिले दिनभर धुलो खाँदै बस्नुपरेको छ ।” अटो चलाउँदै आउनुभएका भरतपुर–१ का रामबहादुर क्षेत्री काम गर्ने वातावरण नभएकै कारण हजारौं युवा विदेशिनुपरेको बताउनुहुन्छ । “निर्वाचनका बेला जनताको माग र आवश्यकता उम्मेदवारको घोषणापत्रसँग मिल्दोजुल्दो हुन्छ । पदमा गएपछि ती सबै कागजमा सीमित हुन्छ”, उहाँले भन्नुभयो । भरतपुर–१ स्थित पोखरा बसपार्कका रामजी शर्माले निर्वाचनको समयमा मत दिँदा विचार पुर्याउनुपर्ने बताउनुभयो । “फकाउन र प्रलोभन दिन घर–घरमा आउन सक्छन्”, उहाँले भन्नुभयो, “देशको अवस्था हेरेर सोचविचार गरेर मत दिनुहोला ।” दियालो टोल विकास समिति भरतपुर–१ की अध्यक्ष सुवद्रा श्रेष्ठले पार्टीप्रति आफ्नो आस्था भए पनि सही व्यक्ति छनोट गर्नुपर्ने बताउनभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवनका चार लाख आठ हजार तीन सय ४२ मतदाताले भोट हाल्दैछन् । यसमा महिला दुई लाख नौ हजार तीन सय नौ रहेका छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना छन् ।

