काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौँ:   जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ ।   प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिनुभयो । ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ । यस्तै प्रशासन कार्यालय काठमाडौँले बुधबार पनि एक विज्ञप्तिमार्फत यही मङ्सिर ४ गते मतदानका दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त सवारी साधनबाहेक आन्तरिक रुपमा सबै किसिमका सवारी साधन आवागमनमा रोक लगाइएको जानकारी गराएको छ ।   प्रशासनले आज र शुक्रबारका लागि शान्ति सुरक्षा, विपद, निर्वाचन कार्य र मुद्दासम्बन्धीका कार्यबाहेक अन्य सेवा प्रभावित हुने पनि सर्वसाधारणलाई जानकारी गराएको छ । 

 पोखरा:  पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदवारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी लाखौं रुपैयाँ वजेट विनियोजन गर्ने प्रतिवद्धता उनीहरुको छ ।  कास्की ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामजी बराल र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले विहीबार पोखरा महानगर पालिका वडा नं–६ बैदाममा चुनाब प्रचारको अन्तिम दिन पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिले गरेको घरदैलो तथा कोणसभामा उनिहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।  घर दैलो कार्यक्रममा स्थानियहरुले बैदाम क्षेत्र पर्यटकिय स्थल भएकाले सो क्षेत्रमा पर्यटनमैत्री कार्यक्रमहरु ल्याउन गठबन्धनका उम्मेदवारद्वयसँग माग राखेका थिए । उम्मेदवारहरु कास्की क्षेत्र नम्वर ३ का उम्मेदवारद्वय रामजी र प्रकाशले नहर मार्ग, खहरे, डिहिको पाटन , हलनचोक र बगंलादि लगायतका स्थानहरुमा पुगेर त्यहाँका जनताहरुको आर्शिवाद लिएका थिए । प्रदेश सभा उम्मेदवार बरालले विभिन्न समुह, संघसंस्था लगातयसँग सहकार्य गर्दै फेवातालको संरक्षणमा आफु लागि पर्ने बताउदै, फेवाताल सगं आश्रित जनसमुदायहरुको लागि विषेश योजना रहेको सुनाए । पर्यटकीय महत्व भएको यस क्षेत्रका सडकहरुको स्तोरन्नति गर्ने नेतृत्वदायी भुमिका खेल्ने बाचा गर्दै आफूलाई मत दिन आग्रह गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले बैदाम क्षेत्रका प्राकृतिक सम्पदा तथा वातावरणको संरक्षण गर्दै कृषि , पर्यटनको र पुर्वाधारलाई ब्यवस्थीत गरी समानान्तर विकासबाट नै सो क्षेत्रको मुहार फेर्ने योजना सुनाए । कथाको रुपमा रहेको फेवातालको संरक्षण र विकासको लागि दिर्घकालिन योजना ल्याउने प्रतिवद्धता जनाए । पाचँ दलिय गठबन्धन युवाँ समन्वय एवं परिचालन समितिका संयोजक अनिल पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि हिरा भट्टराई,प्रदेश सदस्य तथा पर्यटन ब्यवसायी गणेश बहादुर भट्टराई, इकाई सभापति सन्तोष पौडेल र नेपाली काग्रेस, माओबादी केन्द्र र एकीकृत समाजबादी लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए ।  

  काठमाडौं:  मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै हुनुहुन्छ ।    उहाँ निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लाग्नुभएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । नेपालमा यसअघि विसं २०७४ को आमनिर्वाचनमा जापान सरकारले पूर्व उपमन्त्री होरी इवाओ एचईको नेतृत्वमा निर्वाचन पर्यवेक्षण टोली पठाएको थियो ।   मन्त्री ताकेई जापानबाट नेपाल निर्वाचन पर्यवेक्षकका रूपमा पठाइने उच्च अधिकारी हुनुहुन्छ । “नेपालको थप विकास र समृद्धिका लागि लोकतन्त्रिक शासन व्यवस्था अपरिहार्य भएकाले आसन्न निर्वाचन निष्पक्ष, पारदर्शी र शान्तिपूर्णरूपमा सम्पन्न हुनुपर्ने आवश्यकतामा जापानले जोड दिएको छ”, दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।   दुईदिने नेपाल बसाइका क्रममा उहाँले नेपालका उच्चपदस्थ व्यक्तित्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।

बागलुङ:  सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको बताएको छ।  मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा छ महिना अगाडि सम्पन्न भएको हो ।  चालु आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो ।  सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताउनुभयो ।  सडकमा एक लाख ८७ हजार घनमिटर माटो खन्ने, तीन हजार पाँच सय घनमिटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो ।  ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताउनुभयो ।  “उहाँको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सक्नुभयो” लेखा अधिकृत रामनाथ शर्माले भन्नुभयो, “उहाँलाई डिभिजनले सम्मान गर्नेछ । वर्षौँदेखि काम अलपत्र भएको गुनासो आउने बेलामा उहाँले गरेको काम उदाहरणीय भएको बताउनुभयो ।” डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराउनुभयो ।  पाँच वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ ।  “हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इञ्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो”, रोकायाले भन्नुभयो ।

काठमाडौं:  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ ।  “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ, त्यसैले सूर्य चिन्हमा मतदान गरौंँ”, प्रमुख प्रतिपक्षी दल नेता अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गर्नुभएको छ ।  अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “प्रिय मतदाता १ अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस”, भिडियो सन्देशमा भनिएको छ ।  अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भन्नुभएको छ । “प्रिय मतदाता  म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ”, सन्देशमा भनिएको छ, “जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहेमुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।”

काठमाडौं:  राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताए । घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ । उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ । राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताए । उनले  भने, ‘आज बिहान हामी यसबारेमा टुंगोमा पुगेका हौं, राप्रपा नेपालले सहयोगबाट काठमाडौं १ मा हामी अझै बलियो भएका छौं ।’

  रुपन्देही:   गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँहरूको स्पष्ट धारणा छ– “हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।” लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् । यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, “प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप  प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?” स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत हुनुहुन्छ । उहाँहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गर्नुभएको छ, “लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।” गृहमन्त्री खाण भन्नुहुन्छ, “तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम गर्यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पुर्याउन सकिएन ? प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?” कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उहाँले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्नुहुन्छ । त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्नुहुन्छ । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उहाँले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्नुहुन्छ ।     उहाँ भन्नुहुन्छ, “हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्को निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।” रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?”, पौडलेको प्रश्न छ । उहाँ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । प्रदेश राजधानीबाहेकका उहाँसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ ।  उहाँले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पुर्याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

काठमाडौं:  बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने अवसर पाएका छन् । हिजो (बुधबार) भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो । विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा  विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरका टिकटबाहकले पाउने भएका हुन् । विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहले लक्की ट्रका विजेतालाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाल पाकिस्तान मैत्रीपूर्ण फुटबलको टिकेटिङ अधिकार फुटसल भिलेज नेपालले पाएको थियो । रंगशालामा दर्शक आकर्षित गर्न उसैले विजेतालाई विश्वकप टिकटको स्किम ल्याएको थियो ।

काठमाडौं:  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो  ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।