सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

बाजुरा:  बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।

इलाम:  यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन् ।   फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गरेको हो ।   राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मेको उहाँको नागरिकतामा उल्लेख छ । 

चरिकोट:  दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

रामेछाप:  रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमती नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।  ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार,  एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ

झापा:    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्याह्नसम्म मतदाताको सहभागिता उत्साहपूर्ण नरहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका(१ को वडा कार्यालयमा मतदान गरेपछि उनले मतदाताको उत्साहपूर्ण सहभागीता नरहेको बताएका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘१२ बजेसम्म मतदानको माहोल उत्साहपूर्ण छैन । अब बढ्दै जान्छ भन्ने अनुमान हो ।’ उनले नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएकोसमेत बताए । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासाग प्रतिस्पर्धामा छन् । दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।

गोरखा:   नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।   पालुङटार नगरपालिका.१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।

हुम्ला:  हुम्लाको सर्केगाड गाउँपालिका ३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुन:सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।

काठमाडौं:   निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।