काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भाग्नुभएको छ । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ, त्यसैले सूर्य चिन्हमा मतदान गरौंँ”, प्रमुख प्रतिपक्षी दल नेता अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “प्रिय मतदाता १ अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि ? म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस”, भिडियो सन्देशमा भनिएको छ । अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भन्नुभएको छ । “प्रिय मतदाता म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक–पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ”, सन्देशमा भनिएको छ, “जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहेमुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।”
काठमाडौं: राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताए । घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ । उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ । राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताए । उनले भने, ‘आज बिहान हामी यसबारेमा टुंगोमा पुगेका हौं, राप्रपा नेपालले सहयोगबाट काठमाडौं १ मा हामी अझै बलियो भएका छौं ।’
रुपन्देही: गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको राजधानी बुटवलमै ल्याउने प्रतिबद्धता आफ्ना मतदातासमक्ष गरिरहनुभएको छ । रुपन्देहीमा लगभग चुनावी मुद्दाजस्तै बनेको प्रदेश राजधानीको विषयमा जिल्लाबाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उहाँहरूको स्पष्ट धारणा छ– “हामीले जिल्लाका सबै नागरिकका आवाज र धरणा बुझेका छौँ, हिजो के भयो र किन भयो भन्ने विषयतिर अहिले जान चाहँदैनौँ, तर प्रदेशको राजधानी बुटवलमा फिर्ता गर्छौँ ।” लुम्बिनी प्रदेशसभाले प्रदेशको राजधानी दाङको देउखुरी लाने निर्णय गरेको थियो । तर देउखुरीमा प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार नभएको र प्रदेशको पायक पनि नपर्ने भन्दै बुटवलका नागरिकले यसको विरोध गर्दै आएका छन् । यतिखेर प्रदेश राजधानीको विषय रुपन्देहीका नागरिकको चुनावी एजेण्डाजस्तै बनेको छ । जिल्लावासीका तर्क छन्, “प्रदेशको राजधानी लुम्बिनीबाट अन्यत्रै सारियो, जबकि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वका कम्तीमा पनि एकतिहाइ मानिसको आस्थाको केन्द्र हो, आर्थिक र औद्योगिक क्रियाकलाप प्रदेशका अन्य भू–भागका तुलनामा यहीँ बढी छ, यहाँ अन्तर्राष्ट्रिय विमानस्थलसमेत छ, अनि प्रदेशको राजधानी बुटवल नभएर अन्त कहाँ हुन्छ ?” स्थानीयका यी तर्कसँग जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधिसभाका उम्मेदवार खाण र पौडेल पूर्ण सहमत हुनुहुन्छ । उहाँहरू दुवैले जनताका यी तर्कसँग सहमति जनाउँदै जनताका जिज्ञासा मेटाउँदै भन्ने गर्नुभएको छ, “लुम्बिनी प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुँदैन, हामी बुटवलमै ल्याउने प्रयत्नमा छौँ ।” गृहमन्त्री खाण भन्नुहुन्छ, “तत्कालीन सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा सबै प्रदेशका अस्थायी राजधानी तोक्ने काम गर्यो । अरु प्रदेशमा तिनै राजधानी कायम भए, तर यहाँ किन हुन सकेन? हुन त यो प्रदेशसभाको अधिकार हो नै, तर पनि त्यस समयमा बुटवलको पूर्वाधार र महत्वमाथि किन विवेक पुर्याउन सकिएन ? प्रदेश राजधानी राख्नका लागि बुटवलमा के कुराको कमी छ र यहाँबाट सारेर अन्यत्र लगियो ?” कोरोना महामारीमा मुलुक ठप्प भएका बेला हचुवाका भरमा यसअघि नै तोकिएको प्रदेश राजधानी यहाँबाट सार्ने काम भएको गृहमन्त्री खाणको भनाइ छ । रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार गृहमन्त्री खाणसँग यहाँका नागरिकले प्रदेश राजधानीका साथै कृषि मल, बीउको उपलब्धता, सुकुम्बासी समस्याको समाधान, श्रमिकका समस्या समाधान, कोरोनाकालमा भएको आर्थिक क्षतिको पूर्ति, पर्यटनका लागि लुम्बिनी क्षेत्रको विशेष विकासजस्ता माग राखेका छन् र उहाँले आफू नागरिकका सबै समस्यासँग परिचित रहेकाले आगामी दिनमा ती सबै समस्या समाधानमा पहल गर्ने प्रण आफ्ना मतदातासँग गर्नुहुन्छ । त्यसैगरी एमालेका नेता विष्णु पौडेलले पनि प्रदेश राजधानीको मुद्दा बनाएका स्थानीयका जिज्ञासाहरूको सुनुवाइ हुने विश्वास दिँदै प्रदेश राजधानी सधैँका लागि बुटवलबाट सरेको होइन भन्नुहुन्छ । प्रदेश राजधानी बुटवलमै राख्नुपर्ने रुपन्देहीका नागरिकको भावनासँगै आफू पनि रहेको स्पष्ट गर्दै उहाँले लुम्बिनीजस्तो सांस्कृतिक एवं ऐतिहासिक प्रदेशको राजधानी बुटवलबाहेक अन्यत्र हुन नसक्ने तर्क राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “हुन त यो प्रदेशसभाको अधिकार हो र त्यतिबेला निर्णय पनि भयो । तर यो कुनै ढुङ्गाले लेखिएको निर्णय होइन, चकले लेखिएको हो र त्यसलाई डस्टरले मेटेर अर्को निर्णय लेख्न सकिन्छ । हामी सबै त्यसका लागि लाग्ने हो ।” रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेकाले लुम्बिनी प्रदेशको राजधानी बुटबलबाहेक अन्यत्र हुन नसक्ने तर्क पौडेलको छ । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ भने प्रदेशको राजधानीको विकल्प पनि बुटवलबाहेक अन्यत्र कहाँ हुनसक्छ ?”, पौडलेको प्रश्न छ । उहाँ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि नेकपा (एमाले)को उम्मेदवार हुनुहुन्छ । प्रदेश राजधानीबाहेकका उहाँसँग भौतिक पूर्वाधार विकास, सुकुम्बासी समस्याको समाधान, नागरिकका शिक्षा र स्वास्थ्यका समस्याको समाधानका साथै जनजीविकाको सुधारका माग छन् । आफ्ना मतदातासँग उहाँले आफू सदैव जिल्लाको विकासमा लागिनै परेको र आगामी दिनमा पनि यी सबै समस्याको समाधानका लागि आफूले जनताको साथमै रहेर पहल गर्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । उहाँले आफूले जिल्लामा पूर्वाधार निर्माणका क्षेत्रमा धेरै काम गरेको र ती सबै जनताका अगाडि छर्लङ्ग नै रहेको भन्दै आगामी दिनमा जनताको जीवनस्तर उकास्ने र कृषि र किसानलाई प्रत्यक्ष लाभ पुर्याउने योजना आफूसँग रहेकाले आफूलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
काठमाडौं: बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने अवसर पाएका छन् । हिजो (बुधबार) भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो । विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरका टिकटबाहकले पाउने भएका हुन् । विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहले लक्की ट्रका विजेतालाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाल पाकिस्तान मैत्रीपूर्ण फुटबलको टिकेटिङ अधिकार फुटसल भिलेज नेपालले पाएको थियो । रंगशालामा दर्शक आकर्षित गर्न उसैले विजेतालाई विश्वकप टिकटको स्किम ल्याएको थियो ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार नौ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
पोखरा: देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त अरुण गिरीको दैनिकी आफ्नै काममा बित्थ्यो । आफ्नो रोजीरोटी चलेकै थियो । केही आफूजस्तै युवाहरुलाई रोजगारी दिएका थिए । सबैकुरा राम्रै थियो । तर काम गरिरहँदा र दैनिकी चलाईरहँदा उनको मनमा सँधै खड्किने सवाल चाहीँ एउटै थियो,‘यो देश सिस्टममा किन चलेन ?’ आफूले जानेको र गर्दै आएको आफ्नै क्षेत्रको काम पाउनका लागि पनि ठुलै भनसुन गर्नुपर्ने । काम पाएपछि काम मिलाउनेलाई कमिशन दिनुपर्ने । तै पनि समयमा काम गरेबापतको पैसा नपाउने । जब पछिल्लो समय राज्यको विभिन्न निकायसँग जोडिएर अरुणले आफ्नो व्यवसायिक काम गर्न थाले, तब उनलाई काम गर्न झन् बढि हम्मे हम्मे पर्न थाल्यो । सबै कुरा सिस्टममा हुनुपर्छ अनि मात्रै देश भ्रष्टाचारमुक्त हुन्छ भन्ने मान्यता राख्ने अरुणको व्यक्तिगत स्वभावले गर्दा नै होला, यस्ता धेरै कामबाट उनले हात धुन परेको थुप्रै उदाहरण छन् । उनलाई सँधै लाग्ग्थ्यो, ‘देशमा यस्तो अवस्था आउनु र स्थानीयस्तरमा लगानी गरेर व्यवसाय गर्न भन्दा विदेश जानका लागि युवाहरु मरिहत्ते गर्नुको मूख्य कारण भनेकै नेपालको राजनीति हो ।’ साथीभाईसँगको चियागफको क्रममा नेपालका राजनीतिक दल र तिनका नेतालाई अरुणले धेरै चोटी सरापेका छन् । अरुणलाई लाग्छ, यो देशमा सही मानिसले सही ठाऊँ पाएकै छैनन् । सक्षम र सबल मानिसले सही ठाऊँ पाएको खण्डमा पक्कै पनि राम्रै गर्छ । व्यवस्थापकीय अनुभव र ज्ञान भएका अरुणलाई लाग्यो, यसका लागि म आफैँले एउटा प्रयत्न किन नगर्ने ? पछिल्लो समय उनी मिडियामा सक्रिय हुनुका साथै मिडियासँगै सम्बन्धित संघसंस्थाको नेतृत्वमा पनि सक्रिय रहे । राजनीतिमा लाग्न भन्दा अगाडि उनी चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको अध्यक्ष थिए । त्यहाँ पनि उनी नेतृत्वमा खरो रुपमा उत्रिए। चलचित्रसंग सम्बन्धित थुप्रै कार्यक्रमहरु गरे । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि उनले चालेका र गरेका क्रियाकलापहरुको पत्रकारिता र चलचित्रवृत्तमा सँधै चर्चा हुने गर्छ । राजनीतिसँग कुनै आईनोसाईनो नभएका अरुणले आफ्नो विचारसँग मिल्ने पार्टी खोज्न थाले । हेर्दै जाँदा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारसँग आफूलाई सबैभन्दा नजिक पाए । भर्खरै राजेन्द्र लिङ्देनको नेतृत्व पाएको राप्रपाले उनलाई सहजै स्विकार गर्यो । पार्टीलाई उनले आफ्नो कार्ययोजना सुनाए । राजनीतिमा आउनुको कारण बताए । उर्जावान र व्यवहारमा प्रस्ट गिरीलाई पार्टीले पत्यायो । उनलाई तत्कालै राप्रपा कास्कीको प्रवक्ताको रुपमा पार्टीले नियुक्त गरिहाल्यो । करिब ५ महिनाको बीचमा राप्रपा कास्कीका गतिविधिहरुलाई उनले यस क्षेत्रमा राम्रैसँग जनतामाझ पुर्याए । शायदै मिडियामा आउने राप्रपाका सूचनाहरुलाई यहाँका प्राय जसो मिडियामा ल्याएर उनले पार्टीको छविलाई मिडियामैत्री बनाए । पार्टीको जिल्ला, प्रदेश सँगै केन्द्रीय कमिटिले पनि अरुणको सक्रियतालाई राम्रैसँग अवलोकन गरिरहेको थियो शायद । त्यसैले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उनलाई प्रदेशतर्फ कास्की क्षेत्र नम्बर २ २ का लागि उम्मेदवार बनायो । छोटो समयमै राप्रपा कास्कीमा गज्जबको लोकप्रियता बनाईसकेका अरुण गिरी अब सिस्टम बनाउने ठाऊँमा पुग्ने तरखरमा छन् । केही फड्कोमै ठुलो छलाङ मार्न सफल अरुण अहिले प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनका लागि मतदाताहरुसमक्ष राप्रपाका पक्षमा मत माग्दै हिडिरहेका छन् । अनि घरदैलो अरुण गिरी यतिबेला आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा पुगेर घरदैलो गरिरहेका छन् । आफ्नो क्षेत्रका मतदाताहरुलाई भेटेर आफ्नो पक्षमा मत मागिरहँदा उनलाई निकै ठुलो हौसला मिलेको छ । जुन घरमा जान्छन्, राप्रपाले उठाएको राष्ट्रबादी एजेन्डा र मत माग्दै आईपुग्ने युवा उम्मेदवारलाई देखेर मतदाताहरु उत्साहित देखिन्छन् । आफ्नै भनिएका दल र तिनका निर्वाचित नेताहरुले अहिलेसम्म जनताको काम गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक राप्रपालाई नै मत हाल्ने वचन दिन्छन् । राप्रपाको नेतृत्वमा रहेका राजेन्द्र लिङ्देनले विभिन्न भाषणहरुमा भन्दै आएको भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने भनाई सबैलाई कण्ठै छ । राप्रपाको नयाँ नेतृत्वप्रति जनताले ठुलो आशा अनि भरोषा गरेका छन् । त्यसैमाथि अरुण गिरी जस्तो युवा अनि जोशले भरिएको उम्मेदवार देखेपछि मतदाताहरु पनि उत्साहित हुन्छन् । अरुण भन्छन्ज, ‘नताले हाम्रो पार्टी र म प्रति देखाएको यो सदाशयताले म आफैँलाई पनि अचम्मित बनाएको छ । साँच्चै नै जनताले म प्रति देखाएको आशा र भरोसाले अझै बढि जिम्मेबार महशुस गराएको छ ।’ घरदैलोमा पुगिरहँदा पार्टीको केन्द्रीय एजेन्डा त छदै छन्, अरुण गिरीले पनि आफ्नै व्यक्तिगत एजेन्डाहरु मतदातामाझ लगेका छन् । विभिन्न २४ बुंदे स्थानीय एजेन्डाहरुसहित जनतामाझ गएका गिरीले नीतिगत रुपमा आफू निर्वाचित भएपछि गर्ने कुराहरुको ब्लुप्रिन्ट नै आफूसँग भएको दाबी गर्छन् । सुशासनका लागि आवश्यक नीति, विकासका लागि आवश्यक नीति, युवा तथा स्वरोजगारीका लागि आवश्यक नीति बनाउने एजेन्डाहरु गिरीको प्राथमिकतामा परेका छन् । त्यो बाहेक धार्मिक, साँस्कृतिक र पर्यटकीय सम्भावनाको खोजीसँगै मौलिक विकासको सवाललाई उनले बलियो गरि उठाएका छन् । उनले घरदैलोमा आफ्ना योजना र एजेन्डाहरुको बारेमा मतदाताहरुमाझ प्रस्ट पार्दै हिँडिरहेका छन् । मतदाताले उनको यो शैलीलाई रुचाएका छन् र साथ दिने वाचा पनि गरेका छन् । मिसन १४,५३१ मतदाताको ठुलो समर्थन र साथ पाईरहेका अरुण गिरीले यतिबेला मिशन १४,५३१ सार्वजनिक गरेका छन् । यो भनेको उनले चुनावमा पाउने मतको संख्या हो । र, यो उनले विभिन्न खाले रिसर्चमार्फत तयार पारेका हुन् । कास्की क्षेत्र नम्बर २ २ मा राप्रपाका लागि अरुणले यो मत संख्या पुर्याउने लक्ष्य लिएका छन् । यो निर्वाचन क्षेत्रमा कुल ३६ हजार ८ सय ५६ मतदाता छन् । त्यसो त राप्रपाको सक्रिय कार्यकर्ताको संख्या यो क्षेत्रमा निकै कम छ । राप्रपाको आफ्नै आधार हेर्ने हो भने अरुण आफ्नो लक्ष्यका लागि महत्वकांक्षी लाग्छन् । तर उनी आफ्नो लक्ष्य नजिक पुगिसकेको तर्क गर्छन् । अरुण भन्छन्, ‘काँग्रेस र एमालेको कुरा गर्ने हो भने पनि यस क्षेत्रको सबै मतदाता सबै उनीहरुको कार्यकर्ता त पक्कै होईनन् । काँग्रेसको ७ हजार लिस्टेड कार्यकर्ता होलान् । एमालेको पनि त्यस्तै होलान् । तर कुनै पनि दलको कार्यकर्ता नभएका स्वतन्त्र नागरिकको संख्या नै चुनाव जित्नका लागि निर्णायक हुन्छ । त्यसैले मैले मेरो लक्ष्य प्राप्त गर्न समस्या छैन । उनले देशव्यापी राप्रपाको पक्षमा देखिएको जनलहर र अवस्था परिवर्तनका लागि मत परिवर्तन गर्न तयार जनभावना देखेपछि आफू लक्ष्य नजिक पुगिसकेको दाबी गर्छन् ।
पोखरा: राजनीतिमा निष्ठापूर्वक निरन्तर लाग्यो भन्ने एक दिन अवश्य मुल्यांकन हुन्छ भन्ने उदाहरण हुन् दुर्गादत्त भण्डारी । स्वयम भण्डारीलाई पनि लागेको थिएन कि यसपटक पार्टीले निर्वाचनमा उम्मेदवार बनाउला भन्ने । तर भण्डारीलाई उनको पार्टीले प्रदेशसभाको उम्मेदवार बनायो र उनको राजनीतिक योगदानको कदर गरेको छ । आफ्नो चार दशकको राजनीतिक आवद्धतापछि भण्डारीको पार्टी नेकपा(माओवादी केन्द्र)ले उनलाई विश्वास गरेर आसन्न निर्वाचनमा कास्की क्षेत्र नं.३(१)मा प्रदेशसभाको उम्मेदवार बनाएको छ । भण्डारी अहिले माओवादीको मात्र उम्मेदवार बनेका छैनन् उनलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायका दलहरुको पनि दरो साथ छ । शिक्षण र निजामति सेवामा गरी ३० वर्ष बिताएका भण्डारी वि.सं २०४२ देखी आफ्नो पेशागत कामसँगै राजनीतिमा समेत आवद्ध भएर पार्टीका काममा जोडिएका थिए । निष्ठा र इमानका धनी भण्डारीले २८ वर्ष स्वयंसेवामा पनि आफ्नो समय खर्चिए । मानवीय हितमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा उनले स्वंयमसेवा गरे । कास्की ३ (१) का जनताले उनलाई ‘पार्टी आन्दोलनका तपस्वी, जनताका हितैषी’ को रुपमा पनि चिन्ने गरेका छन् । निरन्तर राजनीति र स्वयंसेवामा क्रियाशील भण्डारी अहिले जनताको अवस्था बदल्ने अठोट सहित चुनावी मैदानमा होमिएका छन् । राजनीतिक व्यवस्था बदलिएपनि जनताको अवस्था ज्यूँकात्युँ रहेको भन्दै भण्डारी जनताबाट चुनिएर अवस्था बदल्ने मिसनमा छन् । उनलाई अहिले जनताको अवस्था बदल्ने हुटहुटीले मात्र उनलाई सताउँछ । त्यसैले त उनी यसपटक उम्मेदवार बनेर जनताको अवस्था बदल्ने योजना सुनाउँदै मत मागिरहेका छन् । जनताका विकास निर्माण लगायतका समस्याहरु टिपोट गर्दै उनले आफू विजयी भएको खण्डमा जनतासँगै जोडिएर ती समस्या समाधानका लागि काम गर्ने भण्डारीको चुनावी प्रतिवद्धता छ । पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकासँगै जनतालाई राहत दिने उनको एजेण्डा छ । सरकार र राज्यका तर्फबाट महंगीका मारमा परेका जनतालाई उनले सरकारबाट राहत दिलाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षण पेशामा लामो समय बिताएकाले मसेत आफ्नो निर्वाचन क्षेत्रमा धेरैसँग परिचित छन्, उनी । सबै जातजाति, भाषा, धर्म, संस्कृतिको समानताबाटनै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा उनी दृढ छन् । सोझा र ईमान्दारिताका प्रतिमूर्ति भण्डारी पार्टीभित्र (निर्भिक) उपनामले समेत चिनिन्छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०१२ साल कात्तिक १२ गते जन्मिएका भण्डारीले शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । ०४२ सालमा ने.क.पा. (मशाल)बाट राजनीतिक यात्रा शुरु गरेका उनी पार्टीको संस्थापन पक्षमा सदैव सतिसाल झैं उभिदै आएका छन् । उनी मशाल पुनः नामाकरण हुँदै ने.क.पा.(माओवादी केन्द्र) सम्म आईपुग्दा पनि यहि पार्टीका ईमान्दार सिपाही बनेर देश र जनताको सेवामा लागिरहेका छन् । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्जसमेत हुन् । उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकपनि छन् । जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएका छन् । उनी जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि म चुनावी मैदानमा छु । जनताको अवस्था बदल्नेनै मेरो मुख्य एजेण्डा हो ।” भण्डारीले शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिएका छन् । देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव देखेका उनी यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भन्दै यसमा आफूले भूमिका खेल्ने उनको भनाई छ । उनले जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने । पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्नेलगायतका योजनापनि अघि सारेका छन् । त्यस्तै, लामाचौर–बाटुलेचौरहुँदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि ल्याएका छन् । उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् । कास्की क्षेत्र नं ३(१)को विकासमा मुख्य गरी पर्यटन र कृषिमा जोड दिनुपर्ने उनी बताउँछन् । यसका साथै सेती, मर्दी, इदी लगायतका नदीनालाहरुबाट प्रशस्त विद्युत उत्पादनको सम्भावना रहेकाले जलविद्युत उत्पादनलाई समेत उनले समृद्धिको आधारका रुपमा लिएका छन् ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गर्नुभएको छ । मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मन्जुरी नामामा हस्ताक्षर गर्नुभएको हो । मन्जुरी नामामा भनिएको छ, “मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मन्जुरी भएकाले मानव शरीरको अङ्ग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१०)को खण्ड (ख) बमोजिम जानीबुझी स्वेच्छाले यो मञ्जुरी नामा लेखिदिएको छु ।” आफूले दान गरेका अङ्गबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकाले अङ्गदानको घोषणा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
काठमाडौंः यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्र्तक्रिया , सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । यसैगरी मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आचारसंहितामा उल्लेख छ । स्थिर समयमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका लागि सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन । यसैगरी मतदानको दिन राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन हुँदैन । मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने आचारसंहितामा उल्लेख छ । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न हुँदैन तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि आयोगले तोकको निकाय वा अधिकारीले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने नपर्ने आचारसंहितामा उल्लेख छ । त्यस्तै मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न हुँदैन । निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने उल्लेख छ । साथै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिले आयोगको मर्यादामा प्रतिकूल असर पुग्ने गरी प्रचारप्रसार गर्न हुने उल्लेख छ । ऐनअनुसार उक्त प्रावधानविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमानकर्ताले रु २५ हजारसम्म जरिवाना गर्न सक्नेछ ।

