रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

तम्घास:  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत गुल्मीमा स्थगित भएको मतदान केन्द्रमा मङ्गलवार पुनः मतदान हुने भएको छ ।  जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका  वडा नम्बर– २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मङ्सिर ६ गते मङ्गलवार पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो । आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको  ५५ वटा मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका एक हजार ३६९ जना मतदातामध्ये ६६४ जनाले मतदान गरेका थिए । यो केन्द्र बाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो  । यस्तै आइतबार गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपश्चात् मतदान पुनः सुचारु गरिएको थियो । जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पर्वत:  पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका प्रबक्ता राजु ढुंगानाले जानकारी दिए  । मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको उनले बताए । यस पटक पर्वतमा ५५ प्रतिशत मत खसेको छ । पर्वतको कुल मतदाता संख्या १ लाख २२ हजार ६ सय ४९ मध्ये ६६ हजार २ सय ७३ मत खसेको हो ।

काठमाडौँ:     काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ । सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो । सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार हुनुहुन्छ ।  

बैतडीः   जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र  चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।  प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ”, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ”, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौं, सेनाको हेलिकप्टर आउँदैछ ।”  जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।  

बैतडीः   बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।  मतपेटिका पु¥याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीन जनाको मृत्युु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैँ घटनास्थल जाँदैछु ।”  जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 

पोखराः   मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज  (सोमबार) देखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदैछ ।   यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुनेछ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको जहाज शनिबार नै पोखरा विमानस्थलमा पुगिसकेको छ । प्राधिकरणले मङ्सिर ५ देखि १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो ।   यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।   यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुनेछ । उडान प्रभावित हुने भएकाले साबिकको उडान तालिका हेरफेर गर्न सरोकारवाला एयरलाइन्ससँगको छलफलपछि निर्णय भएको प्रवक्ता निरौलाले बताउनुभयो । उडान तालिका परिवर्तन हुने भएपछि एयरलाइन्सले सूचना निकालेर यात्रुलाई जानकारी गराइसकेका छन् ।   “बिहान १० बजेसम्म उडान हुन्छ र उडान बन्द हुन्छ । १० देखि दिउँसो १ बजेसम्म यान्त्रिक परीक्षण उडान हुन्छ । पुनः १ देखि २ः३० बजेसम्म उडान हुन्छ र त्यसपछि पुनः यान्त्रिक उडान सञ्चालन गरिन्छ । यान्त्रिक उडानका बेला नियमित उडान सामान्य प्रभावित हुने भएकाले एयरलाइन्सलाई ‘रिसेड्युल’ गर्न आग्रह गरेका छौँ”, प्रवक्ता निरौलाले भन्नुभयो ।   पोखरा विमानस्थलमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । पोखरालगायत देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिने प्राधिकरणले जनाएको छ । यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाईको जहाज फर्किने प्रवक्ता निरौलाले बताउनुभयो । एरोथाईको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।   राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।    ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडो पहिलो चरणमा १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’  पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।

रुपन्देही:   रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुनेछ । “समय तय भएको छैन तर, आजै रातिदेखि मतगणना सुरु हुन्छ”, उहाँले भन्नुभयो । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने उहाँले बताउनुभयो । क्षेत्र नं १ को देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुनेछ । त्यसैगरी क्षेत्र नं २ को बुटवल उपमहानगरपालिका कार्यालय, ३ को भैरहवा उच्च मावि भैरहवामा, ४ को कोटहीमाई गाउँपालिकाको भवनमा र ५ को गैडहवा गाउँपालिकाको भवनमा मतगणना हुने प्रवक्ता पन्थीले बताउनुभयो । आज भएको निर्वाचनमा यस जिल्लामा करिब ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

नवलपुरः   पूर्वी नवलपरासीको देबचुली नगरपालिका–४ मा मतपेटिका जलाएका कारण रद्द गरिएको निर्वाचन भोलि नै हुने भएको छ । मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज स्थगित भएको सो वडामा भोलि बिहान ७ देखि साँझा ५ बजेसम्म मतदान हुने जानकारी दिनुभयो । स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिक मतपेटिका जलाएपछि त्यहाँ पुनः निर्वाचन हुने भएको हो । त्यहाँका निर्वाचन अधिकृत माधवराज गौतमले निर्वाचन रद्द गरिएको प्रतिवेदन जिल्ला निर्वाचन अधिकृतलाई बुझाइएको जानकारी दिनुभयो । गौतमका अनुसार स्थानीय नारायण भण्डारीले प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए । अन्य तीनवटा मतपेटिकामा मत खसालेपछि भण्डारीले अन्तिम मतपेटिकामा बडिलोसन (शरीरमा दल्ने औषधी) हालेर आगजनी गरेका हुन । नौ सय ८० मतदाता रहेको यस निर्वाचन केन्द्रमा सात सय मत खसेको थियो छ । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई करिब दुई किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । 

बाजुरा:  निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर.७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए। प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट धनगढी ल्याइँदै छ।