रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

धनकुटा:   धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।   यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । 

काठमाडौँ:  काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौँमा वितरण सुरु हुने भएको छ ।  आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।  करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौँ पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौँको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो ।  यस पटक कम्तीमा ६ महिना काठमाडौँमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना  रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । 

झापा:   झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।  यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो ।  गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उहाँले बताउनुभयो । त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

काठमाडौं:    प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २५ लाख ३४ हजार तीन सय २३ मत प्राप्त गरेको छ ।  नेपाली कांग्रेसले २३ लाख ९९ हजार आठ सय ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार सात सय १८, नेकपा(माओवादी केन्द्र)ले १० लाख ६२ हजार सात सय ४७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार छ सय ५६, जनता समाजवादी पार्टीले तीन लाख २६ हजार तीन सय ७२ मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।  थ्रेस होल्ड कटाउनका लागि सङ्घर्षरत दलमा नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टी छन् । आयोगको विवरणअनुसार जनमत पार्टीले दुई लाख ६२ हजार आठ सय २६ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले दुई लाख ५२ हजार २७ मत प्राप्त गरेको छ । बाँकी रहेको मतगणनामा ती दलले थ्रेस होल्ड कटाउने अपेक्षा राखेका छन् ।  आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार नौ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २७ हजार नौ सय १८, नेपाल मजदूर किसान पार्टीले ७२ हजार आठ सय, हाम्रो नेपाली पार्टीले ५२ हजार आठ सय ४३ मत, मंगोल नेशनल अर्गनाइजेशनले ४५ हजार छ सय ६३, राष्ट्रिय जनमोर्चाले ४४ हजार आठ सय ७३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार दुई सय २९ र नेकपा९माले०ले २६ हजार नौ सय ७१ मत प्राप्त गरेका छन् ।  समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । त्यसमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार छ सय ९४ मत प्राप्त गरेको छ ।  त्यस्तै आयोगले प्रदेशतर्फको पनि समानुपातिकतर्फको मतगणना जारी राखेको छ । प्रदेश नं १ मा १५ लाख ८४ हजार आठ सय ६९ मतगणना भइसकेको छ । मधेश प्रदेशमा १६ लाख २५ हजार सात सय ५८, वाग्मती प्रदेशमा १५ लाख ९८ हजार चार सय ३४, गण्डकी प्रदेशमा नौ लाख १८ हजार आठ सय ३९, लुम्बिनी प्रदेशमा १८ लाख ५९ हजार ६२, कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ र सुदूरपश्चिम प्रदेशमा आठ लाख सात हजार एक सय ३८ मत गणना भइसकेको छ । 

धनुषा:   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचन अन्तर्गत  धनुषा– ४ मा  मतगणना जारी रहेको छ ।   मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ ।  मतगणनाको  सुरुदेखि नै नेकपा (एमाले)रघुवीर महासेठले अग्रता लिनुभएको थियो ।  मतगणनाको पछिल्ला विवरण  अनुसार यादवले छ सय ८६ मतले अग्रता लिनुभएको छ । उहाँले २७ हजार दुई सय छ मतप्राप्त गर्नुभएको छ   भने महासेठले २६ हजार पाँच सय २० मत प्राप्त गर्नुभएको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिनुभयो । 

काठमाडौंः   मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी ।  आफ्नै घरमा  अचार उत्पादन सुरु गर्नुभएकी अधिकारीले नेपाल र विदेशमा अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुमा  ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आउनुभएकी अधिकारीले कोरोना महामारीको समयमा सुरु गर्नुभएको अचार उद्योगबाट पर्याप्त आम्दानी गर्नुभएको हो । तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागिता हुनुभएकी अधिकारीले नगरपालिकाकै कारण अचार बनाउन थाल्नुभएको हो । अधिकारी अहिले सो महिला समूहको सल्लाहकार हुनुहुन्छ ।   “नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर ग¥यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन ग¥यौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,” उहाँ भन्नुहुन्छ । तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौँको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को  काम गर्दैआउनुभएको थियो । अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त हुनुहुन्छ । उहाँले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाउनुभएको छ । विसं २०७६ फागुनदेखि सञ्चालनमा आएको उक्त अचार उद्योगमा पछिल्लो समय छ जनाले रोजगार पाउनुभएको छ । नियमित रुपमा छ जनाले काम गर्दै आए पनि धेरै उत्पादन हुने समयमा कामदारको सङ्ख्या थपघट हुने गरेको उहाँको भनाइ छ । सुरुको समयमा रु ५० हजार लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालित छ । मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउनुहुन्छ । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् । माई पिकल हाउसमा उत्पादित अचार हाल  काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ । यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात हुँदै आएको सञ्चालक अधिकारीले बताउनुभयो ।  वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उहाँ बताउनुहुन्छ ।

काठमाडौं:  दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको श्रोतले बताएको छ । सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गरेका थिए । आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूचि भने आइसकेको छैन । दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।

सुनसरी:  सुनसरी ४ को स्थगित मतगणना अनिश्चित भएको छ । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठक समेत अनिश्चित हुँदा अन्योलता सिर्जना भएको छ । बिहान ९ बजेदेखि झण्डै ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि अर्को बैठक बस्न नसकेको हो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । मन्त्री कार्कीले आइतबार बिहानको बैठकमा भएको छलफल र अब के गर्ने भन्ने विषयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिन मानेनन् । उनले यस विषयमा अहिले केही नबोल्ने बताए। सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् । पराजय हुनेदेखेपछि सत्ता र शक्तिको आडमा काङ्ग्रेसले बखेडा झिकेको एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले आरोप लगाएका छन् । नेपाली कांग्रेस पुनः मतगणनाको पक्षमा रहेको छ । एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने धारणा राखेको छ । एमाले पुनः मतगणना गर्ने पक्षमा छैन । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति तथा उम्मेदवार जीवनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरेका छन् । बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र ७, कोशी गाउँपालिकाका ५ र ६ गरी ८ वटा वडाको मत गणना गर्न बाँकी छ । बराहक्षेत्रका २ वटा वडा, भोक्राहाको ८ नं वडा, हरिनगराको दुई वटै वडा र कोशीको ५ न वडा काङ्ग्रेसको पकड क्षेत्र हो । भोक्राहा ७ र कोशी ६ का दुई वटा वडा एमालेको पकड क्षेत्र हो ।

पोखरा:  गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ ।  मनाङको प्रदेश निर्वाचन क्षेत्र९२० मा राजिव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन । हालसम्मको नतिजाले प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो देखिएको छ भने समानुपातिकमा नेकपा एमाले पहिलो देखिएको छ । कांग्रेसले गण्डकी प्रदेशसभामा १६ स्थानमा जित हासिल गरेको छ । यसअघि २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नवलपुर क्षेत्र नं १ मा मात्रै विजयी बनेको थियो, भने प्रदेशसभामा जम्मा छ स्थानमा जितेको थियो ।  उक्त चुनावमा समानुपातिकबाट नौ स्थान गरी कूल १५ सिट हासिल गरेको कांग्रेसले अहिले भने प्रत्यक्षमा नै १६ सिट सुरक्षित गरी पहिलो पार्टी बनेको हो । यस निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले प्रतिनिधिसभामा १२ निर्वाचन क्षेत्रमा उम्मेदवार बनाएको थियो भने प्रदेशसभामा २२ उम्मेदवार बनाएको थियो ।  अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० सिट गरी २७ सिट हासिल गरेको नेकपा एमाले यस पटकको निर्वाचनमा उक्त जितलाई सुरक्षित गर्न सकेन । यस पटकको निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ एमाले प्रतिनिधिसभातर्फ पाँच स्थानमा विजयी बनेको छ भने प्रदेशसभातर्फ १२ स्थानमा विजयी बनेको छ । एमालेले प्रतिनिधिसभामा १८ वटै क्षेत्रमा र प्रदेशसभामा ३४ स्थानमा उम्मेदवारी दिएको थियो । समानुपातिकमा भने हालसम्मको जारी मतगणनामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एमाले पहिलो बनेको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा तीन स्थानमा जित हासिल गरेको नेकपा माओवादी केन्द्र अहिले भने दुई स्थानमा मात्रै विजयी बनेको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धनका क्रममा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ चार स्थानमा उम्मेदवारी दिएको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्षमा नौ स्थान जितेको माओवादी केन्द्र अहिले पाँच ठाउँमा मात्रै विजयी बनेको छ । अघिल्लो निर्वाचनमा समानुपातिक तीन सहित गण्डकी प्रदेशसभामा माओवादीले १२ सिट सुरक्षित गरेको थियो ।  अघिल्लो निर्वाचनमा गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ दुई सिटमा निर्वाचित बनेको राष्ट्रिय जनमोर्चाले समानुपातिकबाट एक गरी तीन सिट कायम गरेको थियो । अहिले भने जनमोर्चाले प्रदेशसभामा उम्मेदवार उठाएन । प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बन्नुभएको छ ।  कांग्रेस सहितको गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले गण्डकीमा जित निकाल्न सकेन । प्रतिनिधिसभातर्फ कास्की–२ र प्रदेशसभातर्फ नवलपुर–१ (२) मा उम्मेदवारी दिए पनि दुवैमा पराजय भोगेको छ । गण्डकी प्रदेशमा समानुपातिकतर्फ एमालेले तीन लाख ४० हजार पाँच सय ३३, कांग्रेसले तीन लाख १७ हजार पाँच सय ९६ र माओवादी केन्द्रले एक लाख १५ हजार तीन सय ६६ मत प्राप्त गरेको छ ।