रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

ढोरपाटनः   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् । बागलुङ–१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बन्नुभएका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२)बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराख्नुभएको छ । बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि ग¥यौँ होला, अब उहाँहरूलाई धन्यवादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छाड्छौँ ।” उहाँले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताउनुभयो । बागलुङमा यही मङ्सिर ७ गते नै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताउनुभयो । सांसद केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । उहाँले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो ।   “अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।” बागलुङ–२ (२) बाट निर्वाचित दोर्णकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।  उहाँ भन्नुहुन्छ, “मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ–गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुःखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्नमात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी म बस्ती–बस्तीमा पुगिरहेको छु ।” उहाँले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ–२ (१)बाट निर्वाचित कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुग्नुभएको छ ।  

रामेछाप:   रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् । एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए । यस्तै, प्रदेश सभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ मत पाए । श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतान्तरले मतले पराजित गरेका हुन् । प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् । चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३ मत पाए । यसपटक रामेछापमा खसेको मतको चार हजार ७८१ मत बदर भएको छ ।

कालीकोट:    पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो ।  विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित हुनुभएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल हुनुभएको छ ।  तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित हुनुभएको थियो । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याउनु भएको थियो ।  यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गर्नुभयो । विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्र्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गर्नुभएको थियो भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गर्नुभएको थियो । साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गर्नुभएको थियो ।  विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गर्नुभएको थियो । तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ ।  “प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ”, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भन्नुभयो, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुसी बनाएको छ ।” वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायण प्रसाद भट्टराईले बताउनुभयो ।

तेह्रथुम:   तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।  फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को२१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो ।  म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाजुरा:  मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो ।  निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ । यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको समेत मत हालेको आरोपमा एमालेले पनि १७ मतदान केन्द्रमा पुनः निर्वाचनको माग गर्दै आयोगमा उजुरी दिएको छ । कांग्रेस र एमालेले पुनः निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा उजुरी दिएपछि आयोगले बनाएको छानविन समिति टोली बाजुरामा पुगेको छ ।  आयोगको टोली बाजुरामा  मङ्सिर ४ गते भएको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन नभएको मागसहित बाजुराका दुई दलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगमा सहसचिव तुल्सी श्रेष्ठको नेतृत्वको टोली शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमा जिल्ला आइपुगेको हो । आयोगका सहसचिवको टोलीले जिल्लाका सुरक्षाकर्मी, मतदान अधिकृत र राजनीतिक दलसँग छलफल तथा सुझाव सङ्कलन गरेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।   निर्वाचनमा दलका कार्यकर्ताबीच भएको विवादका कारण आयोगमा दलहरूले बुथ कब्जा गरेको आरोपसहित उजुरी दिएपछि छानविनका लागि टोली जिल्लामा आएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थीले बताउनुभएको छ । टोलीले जिल्लामा विभिन्न निकायसँग सुझाव सङ्कलन गरेर आज काठमाडौँ फर्किने निर्वाचन अधिकारी अवस्थीले बताउनुभयो ।   निर्णयको पर्खाइमा मुख्य निर्वाचन अधिकृत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणनाका लागि आयोगको निर्णयको पर्खाइमा रहेको छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आयोजमा दुई दलले निष्पक्ष निर्वाचन नभएको उजुरी दिएपछि आयोगको निर्णयपछि मतगणना हुने वा पुनः निर्वाचन हुने भन्नेमा यकिन नभएको बताउनुभयो । उहाँले आयोगबाट छानविन समितिको टोली आएको र उक्त टोलीको प्रतिवेदनका अनुसार आयोगले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्ने पौडेलले बताउनुभएको छ । 

तनहुँः   तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।  जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु३९प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो । दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।  मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले जनाएको छ । 

पोखराः गत नोभेम्बर ७ मा नेपालस्थित अमेरिकी एम्बेसीले बिहान सवा ७ बजे अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमाल आसपास खिचेको फोटो सार्वजनिक गरेको थियो ।    एम्बेसीले ४ वटा फोटो सार्वजनिक गरेपछि नेपाली सञ्चारमाध्यमहरुले त्यसैलाई आधार मान्दै कित्तियाको साइटमा भएको जानकारी सहित समाचार प्रस्तुत गरे ।    तर त्यसको १८ दिनपछि उक्त तस्बिरहरु फोटोसपलगायतका प्रविधिमार्फत बनाइएको फ्रान्सको अल्पाइनम्याग डटकमले उल्लेख गरेको छ । अल्पाइनले फोटोहरु ‘फेक’ भएको जनाएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब छिन् ।    यसरी फोटो वास्तविक नभएको रहस्य बाहिरिएपनि एम्बेसीले हालसम्म आफ्नो पेजबाट हटाएको छैन । न त फाेटाे गलत भएकाेमा खेद नै व्यक्त गरिएकाे छ ।   अल्पाइनले भने ३ वटा फोटोहरु गलत भएको विभिन्न आधार प्रस्तुत गर्दै समाचार सार्वजनिक गरेको छ ।    अल्पाइन लेख्छ, ‘तस्बिरमा कम्पोजिसन, प्रकाश र स्थानमा तालमेल मिल्दैन ।’

काठमाडौं:   नेपाल हस्तकला महासङ्घको आयोजनामा १९ औँ हस्तकला व्यापार मेला हुने भएको छ ।  महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र उद्योग वाणिज्य क्षेत्रका विभिन्न सङ्घ, संस्थाको सहयोगमा आगामी यही मङ्सिर २३ देखि २७ गतेसम्म मेला आयोजना हुन लागेको जानकारी दिएको हो । अध्यक्ष प्रचण्ड शाक्यले ह्यात होटलमा पाँच दिनसम्म हुने मेलामा हस्तकलाका एक सय ५० कक्ष रहने जानकारी दिनुभयो । मेलामा फिलगिरी, थोज्यामाज्या (धातु पत्रकला) र पौभा थाङ्का गरी तीनवटा विधाका कला प्रदर्शनी हुनेछ । नेपाली हस्तकलाको प्रवद्र्धन गर्दै विदेशसम्म पहिचान गराउन मेलाको आयोजना गरिएको हो ।  उक्त मेलासँगै १७ औँ हस्तकला प्रतियोगितासमेत हुने भएको छ । काष्ठकला, प्रस्तरकला, मैनकला, मुर्तिकलामा  मुखाकृति भएको गरुड अर्थात् बण्टेजको मूर्ति बनाउने र ऊनी, ढाका, कपडा, प्राकृतिक रेशाजन्य वस्तुसम्बन्धी प्रतियोगितासमेत गरिने जनाइएको छ ।

काठमाडौं:   बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल आउनुभएको हो । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताउनुभयो ।  “दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल आउने योजना बनाइरहेको छु । नेपाल घुमघाम गर्न मन पर्छ”, गायक झाले भन्नुभयो, “आउँदो जनवरीमा नेपाली गीत सार्वजनिक गर्दैछु । यो मैले तयार पारेको पहिलो नेपाली गीत हो । यसले नेपालसँगको सामीप्यता थप बढाउने विश्वास छ ।”  उहाँले नेपाली राम्रोसँग बुझे तापनि बोल्न भने केही समस्या हुने गरेको बताउनुभयो । उहाँको आगमनले पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ । गायक झा चर्चित नेपाली मुलका भारतीय गायक उदित नारायण झाका छोरा हुन् । सारेगमापा,ए क्स फ्याक्टर र खतरा खतरा खतरा, इन्डियन आइडल जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीत सङ्गीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकका रुपमा डेब्यु गर्नुभएको थियो ।