काठमाडौं: समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर) लाई अर्पण गरेको हो । पुरस्कारको राशि क्रमशः रु एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रहेको छ । परोपरकार संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसकारले पुरस्कार ग्रहण गर्नुभएको थियो । त्यसैगरी, सोमप्रसाद खतिवडालाई रु ३५ हजार राशिसहितको विद्वत्वृत्ति सम्मान प्रदान गरियो । सो अवसरमा प्रतिष्ठनलाई आर्थिक सहयोग गर्नुहुने प्रा डा बद्री विशाल भट्टराई (भक्तपुर), इन्दुकुमारी घले गुरुङ (काठमाडौँ), डा. रुपनारायण श्रेष्ठ (काठमाडौँ) र वीरबहादुर बस्नेत(मोरङ) लाई दाता सम्मान प्रदान गरिएको थियो । वरिष्ठ शिक्षाविद् प्रा। डा सुरेशराज आचार्य र प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । सो अवसरमा प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ कृतिको लोकार्पणसमेत गरिएको थियो । सो अवसरमा प्रा डा सुरेशराज आचार्य, पुरस्कृत व्यक्तिहरु डा तीर्थबहादुर श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, हितकरवीर सिंह कंसकारलगायतले शिक्षासेवी बालागुरु षडानन्दको व्यक्तित्व र समाज सुधार तथा शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको छोराको रुपमा विक्रम सम्वत १८९२ मा मङ्सिर शुक्ल पञ्चमीको दिन भोजपुरको दिङ्लामा जन्मुनुभएका षडानन्दको निधन विक्रम सम्वत् १९७३ मा काठमाडौँको पचली घाटमा भएको थियो ।
कैलाली: कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाड्नुभएको छ । उहाँ मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउनुहुन्छ । “खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उहाँले भन्नुभयो, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा हुनुहुन्छ । हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहनुभएका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उहाँले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आउनुभएकामा जसोतसो पाँच बिघामात्रै गहुँ छर्न सफल भएको बताउनुभयो । “समयमै मल पाएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो”, उहाँले भन्नुभयो, “मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।” भजनीका गणेश साउदको समस्या पनि उस्तै छ । उहाँले हिउँदे बाली लगाइसक्नुभयो, तर निकै मेहेनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उहाँको भनाइ छ । “स्थानीय बजारमा मल पाइएन । मल भएका सहकारीले हामीलाई मल दिएन”, उहाँले भन्नुभयो, “नभन्नुपर्ने कुरा हो तर लुकीचोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो ।” स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ । मल खरिदका लागि अख्तियारी पाएका सहकारीले माग भएअनुसारको मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रूपमा रहेका कृषि सहकारीमा दैनिक किसान सहकारी धाउने गरेका छन् । बर्दियाको राजापुरका भीमबहादुर चौधरी मल पाइन्छ भनेर कैलालीको जानकी गाउँपालिका–४ मा रहेको बिजवृद्धि कृषक सहकारी संस्थामा पुग्नुभयो । सहकारीमा मल नपाएपछि उहाँ रित्तो हात फर्किनुपरेको बताउनुहुन्छ । “कताकता मल पाइन्छ भन्ने खबर सुनेपछि मलका लागि यहाँ आएका हौँ, यता पनि मल रहेनछ”, उहाँले भन्नुभयो, “बर्दियामा मल नपाउँदा कैलाली पुगियो तर पनि मल पाइएन, अब खेती कसरी लगाउने र?” बिजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादनको काम गर्छ भने रासायनिक मल खरिद बिक्रीको काम पनि गर्दै आएको छ । अन्य कृषि सहकारीको भन्दा बढी मात्रामा मल बिक्री गर्दै आएको सहकारीले पनि माग भएबमोजिम मल नपाउँदा किसानलाई रित्तै फर्काउनुपरेको बताएको छ । सहकारीका व्यवस्थापन गोविन्दराज रावतले बिजवृद्धिका लागि बीउ उत्पादन गर्ने किसानलाई नै मल पु¥याउन नसकिएको बताउनुभयो । “मलको निकै अभाव छ, त्यसमा पनि डिएपी मल पाइँदैन”, उहाँले भन्नुभयो, “मल नपाएका कारण खेती गर्ने समय बित्दै गएको छ । किसान मलको खोजीमा दौडधुप गर्दैछन् ।” टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानको माग अत्यधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको जनाएको छ । संस्थाका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “मल विक्रेता डिपोले ५०–६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०–१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पु¥याउन सकिन्छ यस्तो अवस्थामा ?”
अर्घाखाँची: अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका ९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आउनु भएको छन । अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित हुनुभएको छ । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी हुनुभएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा हुनुहुन्छ । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी बन्नु भएका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुनुहुन्छ । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिनु भएका छन् । अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री बन्नु भएको थियो । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव हुनुहुन्छ । पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका हुनुहुन्छु । चौबीसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । चौबीसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइ झगडा नगर्ने, आगामी दिनमा मिलेर अगाडि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क ९हालको सदरमुकाम०रहन गएको इतिहासकारले बताउँछन् ।
ढोरपाटनः पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन । एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन् । पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् । स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।” उहाँले १८ भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेँडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउनुहुन्छ । उहाँ अहिले ५१ वर्ष हुनुभयो । “बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैँ निको हुन्छन् ।” स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आउनुभएको छ । उहाँ आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।” उहाँले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिनुभएको छैन, तर पनि यो व्यवसायले उहाँलाई सन्तुष्टि दिएको छ । परम्परागत प्राणालीबाट पशुपालन गर्दै आउनुभएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन । गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उहाँ आफैँ ओखतीमुलो गर्नुहुन्छ । अहिले उहाँको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन् । “माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्”, उहाँले भन्नुभयो, “सामान्य रोगको त उपचार म आफँै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् ।” आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउनुहुन्छ । “यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ ।” स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गर्नुभयो । सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । सुनारले भन्नुभयो, “हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो ।” पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांंश समय गोठमै बस्छन् । पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउनुहुन्छ । अर्का पशुपालक तुलबहादुर बुढामगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउनुहुन्छ । उहाँले धेरै भेँडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु, यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ ।” उहाँहरूजस्ता निसीखोलामा सयौँ पशुपालक छन् । तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन् । गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो ।
म्याग्दी: बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने दोसल्ले गाउँ । शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ । “हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भन्नुभयो, “गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले रु चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।” दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् । भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो । “पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भन्नुभयो, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।” सुन्तला खरिद गर्न काठमाडौँ, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्नुहुन्छ, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।” यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ का दरले सुन्तला खरिद गर्छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा रु ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो । तथ्याङ्कमा म्याग्दीका सुन्तला म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई रु १० करोडभन्दा धेरैको कारोबार भएको बताउनुभयो । अघिल्लो आव २०७७÷७८ मा म्याग्दीको सुन्तलामा ‘चाइनिज सिड्रस फुडफ्लाई’ नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर गत आर्थिक वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिम, प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिनुभयो । बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादन बढ्दै जान थालेको छ । गत वर्ष सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले रु ११ लाखको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मङ्गला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगङ्गाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा झन्डै पाँच सयजना किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् ।
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक हजार नौ सय ५३ दशमलव ३५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव शुन्य आठ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ६९ मा कायम छ । आजको कारोबारमा कूल तीन सय ३४ कम्पनीको २५ लाख ८९ हजार नौ सय ९७ कित्ता शेयर रु ९५ करोड ७० लाख ६० हजार दुई सय २५ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७२ लाख ७५ हजार तीन सय ८२ बराबरको कारोबार भयो । नबिल बैंक रु चार करोड ३१ लाख ६१ हजार आठ सय ९२, शिवम् सिमेन्ट रु चार करोड २२ लाख चार हजार नौ सय ३५, नेष्डो समृद्धि लघुवित्त रु तीन करोड १८ लाख ५९ हजार चार सय २१ र एनसिसी बैंक रु दुई करोड ५२ लाख २५ हजार सात सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार धौलागिरी लघुवित्त छ दशमलब १०, एनसिसी बैंक पाँच दशमलब शुन्य पाँच, एनआइसी एशिया बैंक चार दशमलब १८, गुह्यश्वरी मर्चेन्ट बैंक चार दशमलब शुन्य तीन र खप्तड लघुवित्तका लगानीकर्ताले चार दशमलब शुन्य दुई प्रतिशतले कमाएका छन् । त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फण्ड चार दशमलब ६०, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक तीन दशमलब ६८, नेपाल एसआइबी बैंक तीन दशमलब ६३ ,सिद्धार्थ इन्स्योरेन्स तीन दशमलब ४४ र नबिल ब्यालेन्स फण्ड तीनका लगानीकर्ताले दुई दशमलब ६० प्रतिशतले गुमाएका छन् ।
काठमाडौं: मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो । सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ । गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ ।
बागलुङ: बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सुन्दर बनाउन नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको बताउनुभयो । नगरपालिकाले पुराना तार तथा अन्य संरचना हटाउन लागेको भन्दै नगरवासीलाई घरमा रङगरोगन गरी सहयोग गर्न आग्रह समेत गरेको छ । बजारमा सडक अवरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो । बजारको सौन्दर्यीकरणमा समेत असर गरेकोले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो । उहाँले पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाइने जानकार दिनुभयो । जसअन्तर्गत हालसम्म ३५ पुराना पोल हटाइएको छ । “पहिलो चरणमा नगरपालिकाको वडा नंः १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोल हटाउन लागिएको हो”, घिमिरेले भन्नुभयो । नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाए पनि बीचमा काम रोकेको थियो ।। बागलुङमा विद्युत् प्राधिकरणले नाङ्गो तार विस्थापित गरी नयाँ पोलमा कभरसहितको एबिसी तार राखेपछि पुराना पोल काम नलाग्ने अवस्थामा छन् । तर इन्टरनेट तथा केबलका तार नहटाउँदा जीर्ण बनेका पोलका कारण बजार क्षेत्रको सौन्दर्य कुरुप बन्दै गएको थियो । बागलुङमा नेपाल टेलिकमले समेत फाइबर नेट सञ्चालन गरेर अव्यवस्थित तारलाई प्रतिस्थापन गरिसके पनि निजी इन्टरनेट कम्पनीका तारले पुराना पोल हटाउन सकिएको थिएन । निजी इन्टरनेट कम्पनीका तारलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोल हटाएको नगर प्रमु्ख श्रेष्ठको भनाइ छ । बजार क्षेत्रमा चार÷पाँच सय अव्यवस्थित पोल रहेकाले बिस्तारै सबै विस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । पोल हटाउनका लागि विद्युत्, टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गरेको र अन्य खर्च नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।
काठमाडौँ: पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न मुलुकको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्नसक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ । नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहनुभएका होटल एसोसिएसन नेपाल (हान)का पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु मुलुकको पर्यटन क्षेत्रका लागि सुखद् विषय भएको बताउनुभयो । “विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो ।” उहाँले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यात्रुको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो । पश्चिमाञ्चल होटल व्यवसायी सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका व्यवसायी विप्लव पौडेलले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरा आउने स्वदेशी र विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । “मुलुकको अर्थतन्त्रका सूचकांक राम्रो नभएको अवस्थामा, विमानस्थल निर्माण हुनु निकै राम्रो हो”, उहाँले भन्नुभयो, “विमानस्थल निर्माणले पोखराका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।” पौडेलले नयाँ विमानस्थल निर्माण भएपछि रात्रिकालीन हवाई उडान पनि हुने र यसले आन्तरिक पर्यटक पनि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थल निर्माण भएपछि पोखराको पर्यटन विकासमा ‘टर्निङ प्वाइन्ट’ बन्नसक्ने उहाँको भनाइ छ । हानका केन्द्रीय प्रथम उपाध्यक्ष विनायक शाहले पोखरामा नयाँ विमानस्थल सञ्चालनमा आएपछि पर्यटनको विकासमा नयाँ आयाम थपिने बताउनुभयो । “विमानस्थल सञ्चालनमा आएपछि पर्यटन विकासमा नयाँ आयाम थपिनेछ”, उहाँले भन्नुभयो, “विमानस्थल निर्माण भएपछि पोखरामा भारतीय पर्यटकहरु उल्लेख्य सङ्ख्यामा बढ्नेछन् ।” हाल काठमाडौँ ओर्लने ४० देखि ४५ प्रतिशत विदेशी पर्यटक पोखरा पुग्ने गरेको व्यवसायीहरुको भनाइ छ । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको तथ्याङ्क छ । यीमध्ये ४० देखि ४५ प्रतिशत पोखरा पुग्छन् । यसरी पोखरा नेपालको दोस्रो पर्यटन गन्तव्य रहीआएको छ । नेपाल पयर्टन बोर्डको तथ्याङ्क अनुसार पछिल्लो १० महिना अथाएत् जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जसमध्ये अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ । महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जनामा सीमित भएको थियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो । पोखरा विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । उक्त विमानस्थल सञ्चालनमा आएको छ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य भएको हो । क्यानले आगामी पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्ध एयरले आवश्यक तयारी गरिरहेको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले पोखरादेखि भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्ने योजना बनाएको छ । जसअन्तर्गत पोखरा विमानस्थलबाट हुने पहिलो उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक तथा बाह्य उडानका लागि ग्राउण्ड ह्याण्डलिङ ‘भूमिस्त’ सेवाका लागि बुद्धएयरले क्यानसमक्ष निवेदन दिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक साता लामो यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ सफलतापूर्वक सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको क्यानले जनाएको छ । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन ९एआइटी० मा प्रकाशन गरिनेछ । उक्त प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिन्छन् र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ । उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

