पोखराः नेपाली कांग्रेस कास्कीको अपाङ्ग समन्वय शाखाले विपी चोकमा दिप प्रज्वलन गरि अपाङ्ग दिवस मनाएको छ । ३१ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राखिएको दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मैनवत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै शर्माले यो धर्तिमा पूर्ण भएर कोही पनि नजन्मने जानकारी गराएका थिए । उनले भने “यो धर्तिमा जन्मने जो कोही पनि अपूर्ण भएर जन्मन्छ, हामी सबै जन्मजात नै अपाङ्ग छौं । राष्ट्र निर्माणमा सबैको उत्तिकै दायित्व रहन्छ, यो वा त्यो वाहानामा कसैलाई पनि इष्र्या गर्ने, कमजोर ठान्ने अधिकार कसैको रहदैन ।” राष्ट्रियता प्रजातन्त्र र समाजवादको रक्षाको लागि सम्पूर्ण फरक क्षमता भएका नागरिकको पनि उत्तिकै योगदान रहने भएको हुँदा सँग सँगै हातेमालो गरेर राष्ट्र विकासमा अगाडि बढ्नुपर्ने बताउँदै सभापति शर्माले, “अन्तराष्ट्रिय स्तरमानै फरक क्षमता भएका मानिसहरुले अवसर पाएमा विश्व किर्तिमान राखेको उदाहरणहरु छन् । उनिहरुलाई अवसरको खाँचो छ, राज्यले फरक क्षमता भएका आम नागरिकको प्रतिभाको कदर गर्दै राज्यले सम्मान गरि मनोभावना उच्च बनाउन विशेष योजना तर्जुमा गर्नु आवश्यक छ ।” त्यसैगरी प्रजातन्त्र विना राष्ट्रको विकासको कल्पना समेत नहुने र विपी कोइरालाले प्रजातन्त्र विना राष्ट्रको विकास नहुने स्मरण गराउँदै अरुपार्टी र नेपाली कांग्रेसको फरक भनेको प्रजातान्त्रिक सोंच हो, उनले भने, मानिस जन्मनु भन्दा अगाडिबाट नै पाउने अधिकार भनेको प्रजातन्त्र रहेको र उमेर पुगेर नागरिकता लिएपछि पाउने अधिकार भनेको लोकतन्त्र भएको प्रष्ट पार्दै समृद्ध राष्ट्र निर्माणमा प्रजातन्त्र विना असम्भव रहेको सभापति शर्माले उक्त कार्यक्रममा बताएका थिए । अपाङ्गता अधिकार प्रवद्र्धनका लागि दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), गण्डकी प्रदेश सदस्य तथा सूचना सञ्चार तथा प्रचार प्रसार विभाग उपप्रमुख शिरोमणी बराल, मुख्य सचिव पदम श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा कास्की जिल्ला सदस्य मोहन प्रधान, जिल्ला सदस्य विष्णु कार्की, क्षेत्रिय सदस्य विष्णु सिग्देल र प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस कास्की जिल्लाका पूर्व सदस्य प्रेम परियारले सञ्चालन गरेको उक्त कार्यक्रम जिल्ला सदस्य तथा कार्यक्रम संयोजक अर्पण कोइरालाको अध्यक्षतामा समापन भएको थियो ।
पोखराः लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पार्दा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाए । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुष ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्यमा चित्त बुझाए । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए । ३० केजी तौल समूहमा पुरुष तर्फ शिषिर थापा पहिलो,अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ्ग र अनमोल गुरुङले तेस्रोमा चित्त बुझाए । २५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए । प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समुहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए । महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाँया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए । महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भईन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए । उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनि रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता बिजेता भएकोमा सम्मान गरिएको थियो । त्यस्तै ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक र प्रतियोगिताका सहभागी भएका सरगम कुमाललाई पनि सम्मान गरिएको थियो । स्वर्ण पदकलाई २ हजार, कास्य लाई १ हजार पाँच सय र सहभागिलाई १ हजार नगद, खादा र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णयकको भुमिकामा थिए । प्रतियोगितामा ६० जना खेलाडी सहभागी रहेका थिए ।
पोखराः युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी९युआरएल०ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको युआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको उनले बताए । यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।
पोखराः कास्कीको मादी गाउँपालिको हिउँदे अधिवेशन पुष ६ र ७ गते हुने भएको छ । आज (शनिबार) मादी गाउँपालिकाको आठौं कार्यपालिका बैठकले हिउँदे अधिवेशन पुष ६ र ७ गते गर्ने निर्णय गरेको हो । शनिबार मादी २ को पर्यटकिय ठाउँ क्रपु डाडामा कार्यपालिका बैठक बसेको थियो । मादी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र एवम् धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रम अन्तर्गत मादी २ को क्रपु डाडामा कार्यपालिकाको आठौं बैठक बसेको मादी १ वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । कार्यपालिकाको बैठक गाउँपालिका भित्रको विभिन्न पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरुमा बस्दै आएका छौं, वडाध्यक्ष गुरुङले भने, बैठकले हिउँदे अधिवेशन पुष ६र ७ गर्ने, गाउँपालिका मातहतका उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन, ताङतिङ क्रपु डाडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस, क्हफुचे हिमताल, त्हि हुदै तारा हिलटप पदमार्गको विकास गर्ने लगायतका निर्णयहरू गरेका छौं । गाउँपालिकाको घुम्ति कार्यपालिका बैठक मादी गाउँपालिकाको धार्मिक स्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्होलासोथर लगायतका ठाउँहरूमा बैठक बस्ने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
काठमाडौंः भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम अहिले २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ । मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर दुई सय ७७ रुपैयाँ २ पैसा घाटा भइरहेको छु, विज्ञप्तिमा भनिएको छ, निगमले इन्डियन आयल कर्पोरेशनलाई अहिलेसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ । ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले अहिलेलाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छु, विज्ञप्तिमा भनिएको छ ।
काठमाडौंः मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएसँगै कामको खोजीका लागि भारत जाने नेपाली नागरिकको सङ्ख्या बढेको छ । पछिल्लो केही दिन यता पश्चिमी सीमानाका गड्डाचौकी भएर भारत जानेको सङ्ख्या बढेको हो । दैनिक चार सयको हाराहारीमा गड्डाचौकी नाका भएर भारततर्फ गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक बहादुर धामीले बताउनुभयो । “चुनाव सकिएपछि अहिले भारततर्फ जानेको सङ्ख्या बढी छ, आउने कम छन्”, उहाँले भन्नुभयो, “दैनिक चार/पाँच सय नेपाली नागरिक भारततर्फ गइरहेका छन् ।” चुनावमा मतदानका लागि आएका नेपाली नागरिक फेरि कामको लागि भारत जान थालेका हुन् । “मतदानको लागि गाउँबाट फोन गरेर बोलाएका थिए, मतदान पनि गरे, स्वदेशमै रोजगारी केही छैन”, अछामका नागेश्र टमाटाले भन्नुभयो, “जीविकोपार्जन गर्नका लागि भारततर्फ जानुपर्छ ।” पाँच वर्षमा आउने चुनावमा मतदानबाट चुनिएका जनप्रतिनिधिले स्वदेशमै रोजगारी सिर्जना गरेर बिदेसिनुपर्ने बाध्यता हटाउने पर्ने अछामका हर्कबहादुर बोहरा बताउनुहुन्छ । “चुनावको लागि बिदा मिलाएर भोट हाल्न आएको थिए, आफ्नो मताधिकारको प्रयोग गरे”, उहाँले भन्नुभयो, “चुनावको उत्सवमा मतदान गर्यौँ तर हाम्रा दुःख कोही देख्दैनन्, नयाँ जनप्रतिनिधिले पनि पुरानै व्यवहार नदेखाउन ।” स्वदेशमै रोजगारी सिर्जना नहुँदा कामको खोजीमा भारत पस्नुपरेको बाजुराका मङ्गल साउदले बताउनुभयो । “स्वदेशमै मजदुरीको काम पनि पाइँदैन, कृषि गर्न खोजे मल, बीउनै पाइँदैन”, उहाँले भन्नुभयो, “त्यसैले घर खर्च चलाउन भारत जानुपर्ने बाध्यता छ ।” संविधान निर्माणपश्चात् स्वदेशमै रोजगारी पाएर विदेश हानिनुपर्ने बाध्यता हट्ने अपेक्षा गरे पनि त्यो पूरा हुन नसकेको बैतडीका सन्तोष पन्तको भनाइ छ । “संविधान बनेपछि स्वदेशमै रोजगारी पाउने र देश विकास हुने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “तर जनताले अपेक्षा गरेअनुसार सुधार हुन सकेन, अझै पनि कामको लागि विदेश जानुपर्ने बाध्यता छ ।” सडक पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा क्रमिकरुपमा विकास भइरहेको भए पनि युवाले स्वदेशमै रोजगारी नपाउने अवस्था रहेको छ । “अहिलेसम्म भोट दिएर हामीले केही पाएका छैनौँ, जहिल्यै पनि ठगिएकै मात्रै छौँ”, बझाङका दुर्गा बोहराले भन्नुभयो, “नयाँ जनप्रतिनिधिले कामका लागि भारत जाने बाध्यता हटाउनुपर्छ, हामीले परदेशमै जीवन कटायौँ, हाम्रा सन्तानले यो समस्या भोग्नु नपरोस् ।” कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत ठाउँका नेपाली नागरिक भारतको विभिन्न ठाउँमा जाने गरेका छन् ।
धनुषाः पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९६ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको उहाँले बताउनु भयो । ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यको परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पोखराः निल हिरा समाजकी संयोजक पिटर राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता लिन विभेद भएको बताएकी छिन् । निल हिरा समाजद्वारा आज (शुक्रबार) यौनिक तथा लैङ्गीक अल्पसंख्यकबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै निल हिरा समाजकी कार्यक्रम संयोजक राईले नागरिकता लिनलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई विभेद गरेको बताएकी हुन् । ‘नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद छ । डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने र निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद भएका छन् ।’ उनले भनिन् । यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिले आफनो पहिचान नहुदै नामसहितको नागरिकतामा महिला वा पुरुषको महलमा राखेर बनाएपछि आफनो पहिचान शारीरिक बनावट परिवर्तन गरेपछि नाम परिवर्तन गर्न नमिल्ने खालको कानुनी जटिलता रहेको छ । तरपनि राज्यले पछिल्लो समय समुदायप्रति चासो व्यक्त गरेको बताईन् । उनले समाजमा सबैलाई सम्मानजनक व्यवहार हुनुपर्नेमा जोड दिईन् ।‘ यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहारको आवश्यकता छ, उनले भनिन् ‘समाजमा समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्नेलगायत शारिरिक र मानसिकरुपमा हिंसा हुने गरेको छ । सबै क्षेत्रबाट सम्मानजनक व्यवहार अझै हुन सकेको छैन । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पिडा भोग्नुपरेको परेको छ ।’ संयोजक राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर सञ्चारकर्मीले कलम चलाउन आग्रह गरिन । साथै समाचार लेख्दा गोपनियताको ख्याल राख्दै अध्ययन गरेरै लेखिदिन उनले अनुरोध गरिन । त्यसैगरि संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताईन । ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग गर्न आवश्यक छ, उनले भनिन्, ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई स्वतन्त्र जीवनयापन गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सवालमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्छ । यस समुदायका समस्या, चुनौती र भोग्नुपरेको कानुनी र सामाजिक जटिलतालाई समेत संचारकर्मीहरुले महत्वका साथ उजागर गर्न जरुरी छ ।’ पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मान गृह सञ्चालन गरिएको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले जानकारी दिइन । कुनै काम विशेषले, उपचार गर्न वा आर्थिक समस्या भएका उक्त समुदायका व्यक्तिलाई सहज होस् भनी सम्मान गृह सञ्चालन गरिएको उनको भनाई थियो । हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।
धनगढीः धनगढीमा ग्रेडरको ठक्करबाट साथीको ज्यान गएपछि विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय धनगढीले घटनास्थल आसपासको क्षेत्रमा हिजो बिहीवारदेखि नै निषेधाज्ञा लागू गरेको छ । विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन् । प्रदर्शनमा सहभागी २१ जना विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट हिजो ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका हुन् । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

