रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

  पोखराः   कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।  पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको ​मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा सडक सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालन गर्न मादी ६ को सडक निर्माण गरिरहेको एक्सभेटरको मद्धतमा सडक सञ्चालनमा ल्याएको हो ।  मंगलबार अपह्रान्ह करिब ४ बजे  झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको थिए ।  

 पोखरा:  पोखरामा हुने २० औं संस्करणको ‘समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।  पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी १६ देखि २५ गतेसम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको तयारी ९० प्रतिशत पुरा भएको आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । संघका महासचिव बलराम आचार्यले उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको बताए ।  ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । आजसम्म ९० प्रतिशत काम सकिएको अवस्था छ, उनले भने, ‘बाँकी काम अबको दुई दिनमा सकिनेछ ।’ उनका अनुसार अधिकांश स्टलहरु बुकिङ भइसकोका छन् । उनले करिब २ सय ५० वटा स्टलहरु रहको जानकारी दिदै  ४० बढी अटोका स्टलहरु रहेको जानकारी दिए ।  यसैगरि संघका अध्यक्ष पवन प्रजापतिले स्थानीयस्तरमा उत्पादन भएका समाग्रीको विक्री तथा वितरण कृषिजन्य, हस्तकलाको प्रदर्शनी, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यसहित मेला आयोजना गरिएको बताए । ‘यस व्यापार मेला नाफामूलक मेला नभइ यस क्षेत्रको समग्र पर्यटन प्रर्वद्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव हो ।’ उनले भने ।   उनले कोरोना भाइरसको महामारीका कारण २ वर्ष मेला आयोजना गर्न नपाएको बताए ।  ‘औधोगिक मेला २०४२ सालबाट निरन्तररुपमा आयोजना हुदै आएको छ । तर कोभिड १९ ले गर्दा २ संस्करणहरु आयोजना गर्न सकिएन, प्रजापतिले भने, ‘कोभिड १९  ले हाम्रो अभियान रोकियो  र संघको वार्षिक कार्यक्रमको रुपमा रहेको व्यापार मेलालाई यस वर्षदेखि फेरि निरन्तरता दिन लागेका छौं ।’  उक्त कार्यक्रमको समुद्घाटन गण्डकी प्रदेशका निवर्तमान कानून, सञ्चार तथा प्रदेशसभा मामिालामन्त्री विन्दु थापाले गर्नेछन् । उनका अनुसार सो मेलामा सर्वसाधारणका लागि १ सय र विधार्थीका लागि ६० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

पोखरा:    पोखरामा जारी आइटीएफ जे–५ टेनिस प्रतियोगितामा शिर्ष वरियताकी सर्भानी श्रेष्ठले महिला डबल्सतर्फ मंगलबारको खेलमा जित हाँसिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपालको तेश्रो वरियाता प्राप्त सर्भानी जोडीले भारतकै पद्मा मनिकोण्डा र संस्कृती भाडाकट्टु जोडीमाथि ६–०, ६–० को सहज जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरे । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका सेली ठाक्कर र साक्षि ठाक्करको जोडीले श्रीलंकाकी भिस्मी ओन्थेरा सेरासिंगे र भारतकी श्रीथिका रेडिको जोडीलाई ६–३,६–४ को सोझो सेटमा जित निकाले । त्यस्तै, कोरियाकी डोङ हेयुन युम र केगान जोनाथनको जोडीले भारतका आर्यन अरोरा र मायंका सर्माको जोडीलाई पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए । भारतकै श्रीनिधी बालाजी र लक्ष्मीश्री डन्डुको जोडीले भारतका देवांशी गोहिल र नेपालका रायना शाहको जोडीलाई पराजित गरे । भारतका ऐरा सिद्धार्थ चेत्नानी र दुर्गाशीको जोडीले कोरियाका युन्जी जोङ र नेपालका आध्या पौडेल जोडीलाई पराजित गरेका छन् । मंगलबार पुरुष डबल्सतर्फ भारतका सिद्धान्त सर्मा र रसियाका फेडोर सोसेड्किन जोडीले नेपालका राजविक्रम प्रथान र सक्षम विक्रम शाहको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा भारतका सागर कुमार र स्वस्तिक सर्मा जोडीले जर्मनीका यस बाहाल्कर र ताइवानका चेन हुई हो जोडीमाथि ६–१, ६–२ को नजिता निकाले । त्यस्तै, नेपालका आर्यन गिरी र भारतका बंश नन्नदल जोडीले भारतका विभु चालागुण्डला र श्रीनिकेत कन्नन जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गरे । मंगलबार महिला एकलतर्फ भएको खेलमा भारतकी आकृती सेन्कुसारे नारायनले रसियाकी लैला अख्मेटोभालाई ७–५, ६–४ ले, ताइवानकी के हाउ हङले भारतकी तनुसा गिल्ड्याललाई ६–४, ६–३ ले, ताइवानकी चेन हुई हो ले भारतकी सर्भामन्यु सिंहलाई २–६, ६–२ र ६–४ ले, भारतकी जान्भी असावाले कोरियाकी युन्जी जेयोङलाई ६–०, ६–४ ले तथा भारतकी आर्जन खोराकिवालाले भारतकै हर्सिनी विश्वानन्दलाई ६–४, ६–२ ले पराजित गरिन् ।  

बागलुङ:   पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ ।  जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् ।  नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ, “ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरु गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।” नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताउनुभयो ।  ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ । यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन् । यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ । “अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभइ रुकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ”, उहाँले भन्नुभयो । स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुभयो । अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिनुभयो । 

काठमाडौं:   यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को मञ्चन हुँदैछ ।  छायाँ नाटक र कचहरि नाटकको मिश्रितशैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाइएको छ । नाटकले आघातबारे अन्तक्र्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ । श्रीलङ्काको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ । ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ । ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिसकसन समेत आज हुनेछ । त्यहाँ साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मी विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम विसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गितिक प्रस्तुति दिनेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । महोत्सवमा १८ नाटकका २५ मञ्चन तथा, अन्तक्र्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ । 

काठमाडौं:  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ । 

पोखरा:  कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।  त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार सात सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार तीन सय ८५ मत बदर भएको छ ।

काठमाडौं:   पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने घटेको छ । लघुवित्त र व्यापार समूहको उपसूचक क्रमशः शून्य दशमलव २७ र १६ दशमलव ४२ अङ्कले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ ।  सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १८ दशमलव ८५ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन समूहको उपसूचक १८ दशमलव ३७, वित्त समूहको उपसूचक १७ दशमलव ८४, जीवन बीमा समूहको उपसूचक १७ दशमलव ५४, अन्य समूहको उपसूचक ९ दशमलव ७६ र निर्जीबन बीमा समूहको उपसूचक ७ दशमलव ५० अङ्कले घटेको छ । बैंकिङ समूहको उपसूचक शून्य दशमलव ३१, होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ३८, जलविद्युत् समूहको उपसूचक दुई दशमलव २९, लगानी समूहको उपसूचक शून्य दशमलव २३ र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १२ अङ्कले घटेको छ । आजको कारोबारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता चार दशमलव १७ प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु चार करोड ७९ लाख ३४ हजार चार सय २३ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा भने नविल बैंक लिमिटेडको शेयर चार सय ९६ पटक कारोबार भएको छ ।

काठमाडौं:   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो ।  त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।