ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै
बाग्लुङ | मंसिर १४, २०७९
बागलुङ: पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ । यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ ।
जिल्लाकै सबैभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । केन्द्र सरकारले विनियोजन गरेको साढे रु १४ करोड ७६ लाख लागतमा अस्पताल निर्माण हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव थापाले जानकारी दिनुभयो । पाखाथरमा निर्माण हुन लागेको अस्पताल १५ शय्याको हुने थापाको भनाइ छ । पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा कुनै पनि स्वास्थ्य संस्था थिएनन् ।
नगरपालिकाले विसं २०७६ मा ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ र बर्थिङ सेन्टर स्थापना गरेको स्वास्थ्य शाखा संयोजक थापा बताउनुहुन्छ । त्यसभन्दा पहिले यहाँका स्थानीयवासी उपचारका लागि बुर्तिबाङ नै झर्ने गरेको उहाँको भनाइ छ । थापा भन्नुहुन्छ, “ढोरपाटनमा अहिले प्रसूति सेवाका लागि बर्थिङ सेन्टर छ, बर्थिङ सेन्टरसँगै नगरपालिकाले ढोरपाटन सामुदायिक स्वास्थ्य एकाइ सुरु गरेको छ, अहिले तीन स्वास्थ्यकर्मी र दुई कर्मचारीले सेवा दिइराख्नुभएको छ, हामी यहाँको सेवालाई थप विस्तार गर्ने योजनामा छौँ ।”
नगर उपप्रमुख धनबहादुर कायतले नागरिकको सहजताका लागि ढोरपाटनमा नगर अस्पताल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले वर्षौँदेखि यहाँका सयौँ नागरिक सामान्य स्वास्थ्य उपचारका लागि पनि बुर्तिबाङ धाउनुपर्ने बाध्यता रहेको जनाउँदै अस्पताल निर्माणपश्चात यहीँ उपचार गर्न पाउने बताउनुभयो ।
ढोरपाटन उपत्यका क्षेत्रमा खास गरी घुम्ती बसाइँ हुने गर्छ । यहाँका वडा नं ६, ७, ८ र ९ का करिब तीन हजार बढी नागरिक बस्ने गर्छन् । यहाँका बासिन्दा हिउँदको समयमा अधिकारीचौर, बोबाङ लगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गरेका उपप्रमुख कायत बताउनुहुन्छ । अस्पताल निर्माणपछि ढोरपाटनसँगै रुकुमको तकसेरा र हुकाम मैकोट तथा म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने उहाँको भनाइ छ ।
“अस्पताल नजिक नहुँदा केहीले बाटोमै ज्यान गुमाउनुपरेको छ, यहाँ अस्पताल बनिसकेपछि ढोरपाटनका नागरिक मात्र नभइ रुकुम र म्याग्दीका बासिन्दाले पनि सेवा लिन पाउने छन्, अहिले सामुदायिक स्वास्थ्य एकाइबाट सामान्य उपचार हुने गरेको छ”, उहाँले भन्नुभयो । स्थानीय कुलबहादुर विकले अस्पताल नजिकमा नहुँदा धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो । उहाँले अहिले नजिकैमा स्वास्थ्य एकाइ सञ्चालनमा आए पनि सामान्य उचार मात्रै हुने गरेको बताउनुभयो ।
अस्पताल निर्माणका लागि एसी कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । अस्पताल निर्माणका लागि सम्झौता भएर काम सुरु गरिएको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले आगामी २०८१ को असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको र काम पनि सोहीअनुसार अगाडि बढाइएको जानकारी दिनुभयो ।
रसुवा: माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विपद् केन्द्रित सम्बोधन गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई निर्देशन दिएको छ। आइतबार बसेको रास्वपा सचिवालय बैठकले महासभ...
काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने धादिङ घर भएका ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्...

