काठमाडौं:  गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, &l...

काठमाडौं:   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो ।  त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।

पर्वत:   विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ ।  कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो ।  जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो ।  पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उहाँलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाउनुभयो । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गर्नुभएको छ ।  बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ । उहाँले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गर्नुभएको छ ।    साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।

 विराटनगर:  ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ ।    विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई  उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो ।  विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न  आर्थिक सहयोग पुगोस् भन्ने उदेश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । आश्रमका लागि  आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको  उहाँले बताउनुभयो  ।      उक्त आश्रममा  हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा  विराटनगरको उक्त आश्रममा भने ९० पुरूष, ६५ महिला र पाँच  बालबालिका गरी एकसय ६० आश्रित छन्।        मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको  उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ ।    फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो  छुट्टै परिचान  बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरणे भइरहेको श्रमका अभिभावक प्रविण खड्काले जानकारी दिनुभयो  । 

पोखरा:   विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागारका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए÷गरेका गल्तीमा प्रायश्चित गर्दै कैद भुक्तानपछि जीवनलाई सुन्दर बनाउने उद्देश्यसहित उनीहरु तालिममा  व्यस्त छन् ।       आर्थिक लेनदेनको विवादमा पुर्पक्षका लागि तीन महिनादेखि थुनामा रहनुभएकी नवलपरासीकी ४२ वर्षीया सञ्जु केसी (नाम परिवर्तन)ले तालिम निकै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले बन्दी जीवन बिताइरहँदा आयआर्जनका लागि सीप सिक्ने अवसर पाएकी छु, मेरो मुद्दाको टुङ्गो लागेर र यहाँबाट निस्केपछि यो काम पनि मैले गर्न सक्छु ।”       बिएड अध्ययनरत उहाँ बाँकी जीवनलाई अब सृजनात्मक र व्यावसायिकतातिर लाने सोच रहेको छ भन्नुहुन्छ । त्यसैगरी एक वर्षका लागि कैद फैसला भुक्तानमा रहनुभएकी कास्की घाचोककी ४३ वर्षीय शर्मिला शर्मा (नाम परिवर्तन) ले पनि तालिम निकै उपयोगी भएको बताउनुभयो ।      “अझै केही समय छ, यहाँभित्र हुने तालिम सिकेर अब आत्मनिर्भर हुने बाटो खोज्नेछु”, अरूभन्दा प्रभावकारी कुकिङ बेकिङको तालिम लागेको उहाँको भनाइ थियो । पोखरा पर्यटकीय क्षेत्र भएको र आफूले पनि यसमा दक्षता हासिल गर्न सके सहज जीवन बाँच्न सक्ने आशा पलाएको उहाँको भनाइ छ ।        पोखरा व्यावसायिक महिला क्लब पोखरा–१ बगरको आयोजनामा इन्टरनेसनल होटल ट्रेनिङ सेन्टरले यहाँ तालिम प्रदान गरेको हो । प्रशिक्षक झङ्क ढकालले कारागारका महिलाले निकै उत्साहसाथ तालिममा सहभागी भएको बताउनुभयो । “अरू तालिममा भन्दा उहाँहरुको रुचि यसमा अलि बढी छ । स्वादिलो खाना बनाउन र विभिन्न परिकार बनाउन सिक्न साथै बनाएको परिकारको स्वाद लिन पनि पाइने भएकाले उहाँहरु को रुचि बढी देखिन्छ ।” प्रशिक्षक ढकालका अनुसार ४५ दिनमा कुकिङ बेकिङका ४५ भन्दा बढी परिकार बनाउन सिकाइनेछ ।       जिल्ला कारागारका सूचना अधिकारी झङ्कनाथ पौडेलले एकै प्रकारको दैनिकीमा रहँदा उहाँहरुलाई नैराश्यता आउन सक्ने भएकाले विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यका लागि तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “कतिपय लामो र कतिपय छोटो समयका लागि बन्दी जीवन व्यतीत गरिरहनुभएको छ । तालिमले उहाँहरुलाइ रिफ्रेस साथै यहाँपछि आयआर्जनमा जोडिन सहयोग पुग्ने विश्वास छ ।”       कारागारका कैदीबन्दीलाई विभिन्न सङ्घसंस्थाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिइन्छ ।  कारागारको क्षमता चार सय २० जनाको भए पनि भौतिक संरचना अभावमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । पौडेलका अनुसार आठ सय ३१ जनाले बन्दीजीवन बिताइरहेका छन् । जसमा महिला ३९, पुरुष सात सय ९२ र तीन आश्रित नाबालक छन् । 

वालिङ:   स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ ।  कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।  “यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भन्नुभयो । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैँचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो रु ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ । अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट रु ५० लाखसम्म आम्दानीको दाबी गर्नुहुन्छ । गत वर्ष उहाँले रु २५ लाख आम्दानी गर्नुभएको थियो । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उहाँले भन्नुभयो । उहाँको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आउनुभएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख आम्दानी गर्नुभएका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले रु चार लाख आम्दानी हुने बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उहाँले भन्नुभयो, “गत वर्ष रु दुई लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष रु चार लाखमा ठेक्का दिइसकेको छु ।” ठेकेदारले सुन्तला बगैँचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । काफ्लेको सुन्तला बगैंँचामा अहिले एक सय बोटमा फल लागेको छ । गत वर्ष रु २२ लाखको सुन्तला बिक्री गर्नुभएका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताउनुभयो । गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर रु २२ लाख आम्दानी गर्नुभएका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उहाँको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन् ।  जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउनुहुन्छ । रु २५ करोड मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने उहाँको भनाइ छ । गत वर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताउनुभयो । गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा कुल एक हजार छ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कुल एक हजार एक सय ६० हेक्टरमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार छ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा अघिल्लो आवमा सुन्तला उत्पादन धेरै भए पनि किसानले उचित मूल्य पाउन सकेका थिएनन् ।  आव २०७७/७८ जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको सुन्तला उत्पादन भए पनि जम्मा रु ५५ करोडको बिक्री भएको थियो । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ । सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्ने व्यावसायिक कृषक पनि स्याङ्जामा प्रशस्तै छन् । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा कृषकले यसबाट बर्सेनि पर्याप्त आम्दानी गर्दै आएका छन् ।

काठमाडौँ:    काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र  विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ । प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।

चितवन:  विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ ।  अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ ।  चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ । रोल्पाको थवाङबाट उपचारका लागि एक साताअघि चितवन आउनुभएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौँतारिइरहनुभएको छ । उहाँले अझै चिकित्सक भेट्न सक्नुभएको छैन । विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि उहाँ अहिले चिकित्सकको पर्खाइमा हुनुहुन्छ । मङ्गलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गर्नुभयो, “हाम्रो रिपोर्ट कहिले देखाउन पाउँछौँ ।” अस्पताल प्रशासनका कर्मचारीले जवाफ दिए ‘भोली’ । “आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ”, ती कर्मचारीले भन्नुभयो । आफ्नो पीडा सहेर डाँगी फेरि भोलिको आशामा फर्कनुभयो ।   उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको डाँगीको भनाइ छ । उहाँले भन्नुुभयो “चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता छ ।” उहाँको पेटमा समस्या भएका कारण जाँचका लागि आउनु भएको हो । “खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।” उहाँले भन्नुभयो ।   यस्तै पीडा पाल्पाबाट आउनुभएकी भिमकुमारी थापाको पनि छ । उहाँ रेडियो थेरापीका लागि आउनुभएको हो । “आज पालो भनेर आएको, पाइने नपाइने थाहा छैन ।” उहाँले भन्नुभयो । अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन् । तनहुँको दुलेगौडाबाट उपचारका लागि आउनुभएकी इन्द्रकला लम्साल बहिरङ्ग विभागमा आएर चिकित्सक कुर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “चिकित्सक आउनुहुन्छ भन्नुभएको छ । कति खेर भेट्न पाइन्छ पत्तो छैन ।”  नियमित जाँचका क्रममा आउनुभएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा हुनुहुन्छ । उहाँले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउँदै भन्नुभयो, “अब यो देखाएर त घर जान पाइन्छ कि भन्ने आश छ, तर डाक्टर भेट्न पाइन्छ, पाइँदैन निश्चित छैन ।” चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपायस्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ ।   यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिरङ्ग विभागमा आएका बिरामीलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन्  । विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिरङ्ग सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ ।  उनीहरू हाजिर गरेर न बहिरङ्ग सेवामा हुन्छन् न त शल्यक्रियाकक्षमा नै हुन्छन् । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउँछन्  । एनेस्थेसियाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउनुभयो । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने बताउनुहुन्छ । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ ।

सप्तरी:  सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।  हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।  “तालिमप्राप्त कुकुरको साथमा घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । 

ढोरपाटन:    हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ ।   दुईपटक त उहाँले बञ्जीजम्प गरिसक्नुभयो । परिवारसहित घुम्न आउनुभएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा हुनुहुन्छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउनुहुन्छ । हेटाँैडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाइ छ । घिमिरे भन्नुहुन्छ, “म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ ।” चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आउनुभएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताउनुभयो । टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउनुहुन्छ । ढकालले भन्नुभयो, “बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ ।” उहाँले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताउनुभयो । “यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो”, उहाँले भन्नुभयो । बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताउनुभयो । उहाँ यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउनुहुन्छ । उहाँले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताउनुभयो ।  “यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ”, उहाँले भन्नुभयो, “यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला ।” पोखराबाट घुम्न आउनुभएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताउनुभयो । घिमिरे भन्नुहुन्छ, “नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ ।” बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनुभयो । उहाँले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताउनुभयो । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ । “बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जीजम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ”, प्रधानले भन्नुभयो । बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन् । ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ । अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन् ।   बञ्जीजम्प निर्माण गर्दा सुरुमा रु २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म रु ५० करोडको हाराहारीमा खर्च भइसकेको उहाँको भनाइ छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ ।   विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । यसको लम्बाइ पाँच सय २५ मिटर छ । खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ ।