चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ । लामिछानेले चार हजार ४१५ र नेकपा (एमाले) उम्मेदवार कृष्णभक्त पोखरेलले तीन हजार ९७८ मत प्राप्त गर्नुभएको छ । साथै कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले तीन हजार ५६१ मत पाउनुभएको छ ।
हुम्ला: हुम्ला जिल्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका संकलन नहुँदा मतगणना सुरू हुन सकेको छैन । प्रदेश सभा २ का २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगे पनि प्रदेश सभा १ का ३४ मतदान केन्द्रका मतपेटिका नपुगेपछि मतगणना सुरु नभएको हो । नाम्खा गाउँपालिका ६ स्थित लिमीका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको थियो । २२ मतदान केन्द्रका मतपेटिका गाडी र पैदलमार्गबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । प्रदेश २ का ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमा ल्याउने पहल भइरहेको निमित्त निर्वाचन अधिकारी रानाले बताए । दिउँसो दुई बजेबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म केही टुंगो देखिएको छैन । ३४ वटा मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्क्याइएको छ ।
तनहुँ: तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।
काठमाडौं: काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो । नेता श्रेष्ठका स्वकीय सचिव विवेक महर्जनका अनुसार श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका पोखरेलले १० हजार ९६१ मत ल्याउनुभयो । यसैगरी गठबन्धन उम्मेदवार माओवादी केन्द्रका नेत्री कल्पना धमलाले ६ हजार ४०२ मत ल्याउनुभयो । नेता श्रेष्ठ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा श्रेष्ठ शिक्षा तथा शहरी विकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । नेता श्रेष्ठ निर्वाचित हुनुभएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । सोहीअनुसार एमालेका नेता कार्यकर्ताहरु श्रेष्ठको विजयीसँगै विजयी र्याली प्रदर्शन गर्नुभएको छ । नेता श्रेष्ठ निर्वाचित भएको विजयोत्सव भए पनि आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको स्वकीय सचिव महर्जनले बताउनुभयो ।
चितवन: चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।
आमनिर्वाचनको हालसम्म प्राप्त मतगणना अनुसार समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ८४ हजार ८१५ मत पाएको छ । त्यस्तै, ७१ हजार ५२५ मत ल्याउँदै नेपाली कांग्रेस र ३६ हजार १०९ मतकासाथ राष्ट्रिय स्वतन्त्र पार्टी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रको ३२ हजार ७२५ रहेको छ भने पाँचौ स्थानमा २० हजार ५४ मतकासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । यसैगरी, जनता समाजवादी पार्टीले हालसम्म ५ हजार ६५५ मत ल्याएर छैठौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टीले ४ हजार ५०७ मतकासाथ सातौं स्थान ओगटेको छ । समानुपातिकको रोजाइमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । पार्टीले ३ हजार ७७६ मत प्राप्त गरेको छ । यसैबीच, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४४५ मत ल्याएर नवौं स्थानमा रहेको छ । मतगणना जारी छ ।
गुल्मी: गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्ट नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीभन्दा २२ सय मतले अघि छन्। पछिल्लो मतपरिणामअनुसार बिष्टले ११ हजार १३८ मत ल्याएका छन् भने झाँक्रीले ८ हजार ९४३ मत प्राप्त गरेकी छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट एमालेका बिष्ट नै विजयी बनेका थिए। त्योबेला झाँक्री पनि एमालेमै थिइन्। पछि एमाले फुटेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि झाँक्री माधवतिर गएकी हुन्।
चितवन: चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ४७७० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई पछि पारेकी छन् । बरालले ३९७७ मत ल्याउँदा अधिकारीले ३८२५ मत ल्याएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले ३१७३ मत ल्याएका छन् ।
तनहुँ: तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ । क्षेत्र नम्बर –१ मा सात हजार १७४ मत गणना हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ९२ बढी मत ल्याएर अग्रता लिनुभएको छ । नेता पौडेलले दुई हजार ४३७ मत पाउनुभएको छ । एमालेका उम्मेदवार एकबहादुर रानाले दुई हजार ३४५ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ । क्षेत्र नम्बर २ मा भने फराकिलो मतान्तरले भण्डारी अगाडि हुनुहुन्छ । ४१ हजार ७३३ मत गणना हुँदा भण्डारी तीन हजार ५३१ मतले अगाडि हुनुहुन्छ । भण्डारी १९ हजार २२१ मत प्राप्त गर्नुभएको छ । एमालेका किरण गुरुङले १५ हजार ६९० मत प्राप्त गर्नुभएको छ । यसैगरी, प्रदेश सभा सदस्यमा पनि सत्ता गठबन्धनको अग्रता लिएको छ । क्षेत्र नम्बर २ को ९क० मा १६ हजार १९ मतगणना हुँदा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६ हजार ६३७ मत पाउनुभएको छ । एमालेका श्यामराजा महतले पाँच हजार ९१९ मत पाउनुभएको छ । त्यस्तै, (ख) मा ११ हजार ३०८ मत गणना हुँदा कांग्रेसका जितप्रकाश आलेले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको छ । एमालेका केदार सिग्देलले चार हजार ८४० मत पाउनुभएको छ । क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा समेत सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रदेश (ख) पाँच हजार ६६९ मत गणना हुँदा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ७२६ मत प्राप्त गर्नुभएको छ । एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५०२ मत प्राप्त गर्नुभएको छ । (क) तीन हजार १८ मत गणना हुँदा कांग्रेसका अशोककुमार श्रेष्ठले एक हजार २२४ मत पाउनुभएको छ । एमालेका रामबहादुर गुरुङले सात सय ७७ मत पाउनुभएको छ ।

