रसुवा:   माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्र आइतबार थप १३ वटा शव फेला परेका छन्।    आयोजनाको अडिट-३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले आइतबा...

डोल्पा:   डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आउनुभएकी कमला विकको सफल शल्यक्रिया गरिएको हो । पाठेघरको नलीमा बच्चा बसी,नली फुटेर पेटभित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्यक्रिया गरिएको डा अखण्ड उपाध्ययले बताउनुभयो ।    यस्तो खालको शल्यक्रिया  तत्काल नगरे आमाको ज्यान जोखिममापर्ने सम्भावना बढी हुने डा उपाध्ययको भनाइ छ । ‘एक्सप्लोरेट्रि ल्याप्सटोमि’ को शल्यक्रिया डोल्पामा पहिलो पटक भएको उहाँको भनाइ छ । डाक्टर उपाध्ययले भन्नुभयो, “पेट खोलेर पाठेघर भन्दा बाहिर पाठेघरको नली फुटेको पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाई एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ ।”  बिरामीलाई समयमा जिल्ला बाहिर सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मुस्किल हुँदै आएको छ । जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन् । रगतको अभावमा जिल्लास्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डा उपाध्यायले जानकारी दिनुभयो । 

काठमाडौं:   गत शुक्रबारदेखि  चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् ।   भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन मदर’ नाटकलाई नीमा बल, क्याटी बेक र बेञ्जामिन रेक्सरोडले संयुक्तरुपमा लेख्नुभएको हो । यो प्रयोगात्मक र एकल नाटक हो ।  यो नाटकले सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात् शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी नागरिकको इतिहास र संस्कृतिबारे बताउन खोजेको छ । नाटक, तामाङ समुदायकी नीमा बलको परिवारको सत्यघटनामा आधारित छ, जुन समुदाय भुटानी–नेपाली आदिवासी जनजाति समुदाय पनि हो । कोन्द्रातोएभा क्रिस्टिनाद्वारा लिखित नाटक ‘द म्याजिक स्वान–गिज’लाई सुखोरुकोभा तातियानाले निर्देशन गर्नुभएको हो । नाटकमा सामाजिक दृष्टिकोणबाट एउटी युवतीको कथा उल्लेख छ । आफ्ना मातापिताको अनुपस्थितिमा घरकी सबैभन्दा जेठी सदस्यको रुपमा रहेकी छोरीले आफ्नो स्वतन्त्रताको यात्रामा सानो भाइलाईसमेत बिर्सिएको प्रसङ्ग नाटकमा छ ।   यस्तै, नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि मञ्चन हुँदैछ । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहनेछ । नाटकसँगै महोत्सवस्थलमा ‘कार्डबोर्ड र थिएटर’ विषयमा कार्यशाला पनि भइरहेको छ ।  शनिबार भारतको कथावाचन शैलीको ‘देस्देमोना रुपकम’ र स्पेन÷इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेज क्राफ्ट’ मञ्चन भएको थियो । यही मङ्सिर १७ गतेसम्म चल्ने ‘निटफेस्ट २०२२’ मा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । 

काठमाडौं:   अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ । विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो । नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक/एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन । त्यसैगरी सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादीबाट बैतडीमा नरेन्द्र कुँवर र कञ्चनपुर–१ मा पूर्वमन्त्री बीना मगर पराजित हुनुभयो । गठबन्धनकै साथमा नेकपा (एकीकृत समाजवादी)ले पनि तीन सिट जितेको छ । यहाँ समाजवादीले अछाम–१, बझाङ र डोटीमा गरी तीन सिट जितेको हो । अछाममा समाजवादीबाट श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र डोटीमा पूर्वमन्त्री प्रेम आले र बझाङमा समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित हुनुभयो । पन्ध्र सिटमा उम्मेदवारी दिएको नेकपा (एमाले) सुदूरपश्चिममा दुई सिट जित्न सफल भएको छ । एमालेले डडेल्धुरामा भने नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको थियो । एमालेका लागि बैतडीमा पूर्वराज्यमन्त्री दामोदर भण्डारी र कञ्चनपुर–१ मा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङले जित दिलाउनुभयो । त्यसैगरी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका तीन सिट जितेर कैलालीमा आफ्नो बर्चश्व प्रस्तुत गरेको छ । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नं १, २ र ३ मा जितेको हो । यहाँ निर्वाचन क्षेत्र नं १ मा उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी र ३ मा गङ्गाराम चौधरी निर्वाचित हुनुभयो ।  यसपटकको निर्वाचनमा सुदूरपश्चिममा सबैभन्दा खराब नतिजा माओवादीले पाएको छ । सत्ता गठबन्धनमा भागबण्डा गर्दा माओवादीले बैतडी, कञ्चनपुर–१ र कैलालीमा निर्वाचन क्षेत्र नं २ र ३ पाएको थियो । प्रतिनिधिसभामा शून्य भएको माओवादी प्रदेशसभामा भने आठ सिट जितेर दोस्रो ठूलो दल बनेको छ । अघिल्लो निर्वाचनमा ११ सिट जितेको एमाले अहिले दुई सिटमा खुम्चिनुमा पार्टी फुट र गठबन्धनको असर रहेको एमाले नेताहरुको भनाइ छ । नेपाली कांग्रेसमा डडेल्धुराबाट प्रधानमन्त्री देउवा, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद, कञ्चनपुर ३ मा पुर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक निर्वाचित हुनुभएको छ । ग्रेसबाट कैलाली ४ मा पूर्वमन्त्री वीरबहादुर बलायर, कैलाली ५ मा कांग्रेस नेता डिल्लीराज पन्त, अछाम २ मा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित हुनुभयो । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता तथा हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट निर्वाचित हुनुभयो । हाल मतगणना अनिश्चित रहेको बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले)बाट पूर्वमन्त्री कर्ण थापाबीच चुनावी प्रतिस्पर्धा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री चिन्तामणि भट्टले कांग्रेसले सोचेअनुसार नतिजा आएको बताउनुभयो । “समानुपातिकको गणना सकिएपछि बैठक हुन्छ, समीक्षा हुन्छ”, उहाँले भन्नुभयो, “ त्यसपछि प्रदेश सरकार बनाउने गृहकार्य सुरु हुन्छ ।” त्यसैगरी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सह–इञ्चार्ज राजेन्द्रसिंह रावलले सत्ता गठबन्धनका बाबजुद पनि एमालेले जनताको स्नेह पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले लिड गरिरहेको छ ।”

भैरहवा:  गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर प्रधानमन्त्री टुंग्याउने उनको भनाइ छ । उनले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताउनु भयो । ‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भने । उनले प्रतिनिधि सभारप्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको उनले बताए ।

कञ्चनपुर:  दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ ।  गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गर्नुभयो । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु तीन लाख ५० हजार आम्दानी गर्नुभएको छ ।  थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिदै आएको घिमिरेले बताउनुभयो । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् ।  “भटमास खेतीका लागि माटो उयुक्त छ” अर्का किसान महेश घिमिरेले भन्नुभयो, “आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको आवश्यकता छ, किसानको क्षमता वृद्धि भए उत्पादन बढाउन सकिन्छ ।”  उहाँका अनुसार दोधारा चाँदनी भटमास खेतीको हवका रुपमा विकसित भैरहेको छ । यहाँ उत्पादन हुने भटमास नेपालगञ्ज र धनगढीका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । भटमास खेतीमा सम्लग्न किसान दीपक सापकोटाका अनुसार यो  खेती गर्दा त्यतिधेरै  सिचाईको आवश्यकता पर्दैन ।   “गाईबस्तुले भटमासका विरुवा खादैनन्” उहाँले भन्नुभयो, “छाडा चौपायाले खाने समस्या हुदैन, थोरै गोडमेलले पुग्छ, थोरै परिश्रममा धेरै उत्पादन हुनाका साथै  मनग्य आम्दानी पनि यस खेतीबाट लिन सकिन्छ ।” तीन वर्षदेखि भटमास खेती गर्दै आउनुभएका सापकोटाले प्रति वर्ष रु दुई लाखभन्दा बढीको भटमास बिक्री गर्दै आउनुभएको छ ।  “भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भन्नुभयो, “निकटबर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र  त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिदै आएका छौँ ।”  दोधारा चाँदनीमा करिव सय बिघा जग्गामा भटमास खेती हुने गरेको छ । भटमास काट्न र चुटनका लागि स्थानीय किसानले उपकरणको  प्रयोग गर्ने गरेका छन् ।  फल र पातमा रोग किराको प्रकोप देखिने भएकाले तीनदेखि चार पटकसम्म बिषादी छर्कनु पर्ने अबस्था रहेको किसान तिवारीले बताउनुभयो । रोग तथा  किरा रोकथामका लागि  सल्लाह र सुझाव लिन भारतीय प्राविधिकको भर पर्नुपर्ने उहाँको भनाइ थियो  ।  भटमासबाट तेल र सोयाविन बन्ने गरेको छ । भटमास प्रतिकिलो रु एक सयका दरले बिक्री हुने गरेको छ । भटमास खेतीमा सम्लग्न किसानले सुदूरपश्चिम क्षेत्रमै भटमासबाट सोयाविन र तेल निकाल्ने उद्योगको माग गर्दै आएका छन्  भटमासलाई बहुउपयोगी कोशेवालीका रुपमा लिइने गरिन्छ । घरमा भटमासको गेडा भुटेर, अचार बनाएर, उसिनेर खाने गर्नाका साथै दालका रुपमा प्रयोग गरिँदै आइएको छ ।  कृषि प्राविधिक करन सिंह बुढाऐरका अनुसार भटमासबाली काटिसकेपछि गहुँ बाली लगाउदा युरिया मलको मात्रा कमै मात्र प्रयोग गर्दा हुन्छ ।  भटमासको जरामा नाइट्रोजन प्रर्याप्त मात्रामा हुने भएकाले रासायनिक मलको मात्रा कम गरे पुग्ने उहाँले बताउनुभयो ।  “मकैसँंगै भटमास खेतीगर्दा छुट्टै मल आवश्यक पर्दैन” प्राविधिक बुढाएरले भन्नुभयो, “एक्लो बालीका रुपमा लगाउँदा भने मल प्रयाग गर्नुपर्दछ ।”  भटमास खेतीका लागि पानी नजम्ने दोमट किसिमको माटो आवश्यक पर्दछ । समुन्द्री सतहको पााच सय मिटरदेखि दुई हजार मिटरको उचाईसम्म भटमास खेती गर्न सकिन्छ । 

नेपालगञ्ज:  नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा  यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ ।  उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख बिष्टको भनाइ थियो ।  सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनुभयो । यो अभियानले नगरको  ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उहाँको भनाइ थियो ।

ढोरपाटनः   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन् । विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् । बागलुङ–१ बाट निर्वाचित हुनुभएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बन्नुभएका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२)बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्याबाद दिँदै पुगिराख्नुभएको छ । बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको भन्दै धन्यवादसहित उनीहरूको समस्या बुझ्न गाउँगाउँ पुग्न थालेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी भोट माग्न खेतबारीदेखि घरगोठसम्म पुग्यौँ, कामको चटारोको बेला उहाँहरूलाई डिस्टर्ब पनि ग¥यौँ होला, अब उहाँहरूलाई धन्यवादसहित मतदातका समस्या बुझ्न अहिले फेरि गाउँ–गाउँमा पुग्दै छौँ, पहिले मत माग्यौँ, अब उहाँको समस्या के छ माग्छौँ, हामीहरूले सक्ने समाधान गरेरै छाड्छौँ ।” उहाँले निर्वाचनको परिणाम आएदेखि नै आफूहरू मतदातालाई धन्यवाद दिँदै घर–घरमा पुगेको बताउनुभयो । बागलुङमा यही मङ्सिर ७ गते नै प्रत्यक्षतर्फको मतपरिणाम आइसकेको थियो । गठबन्धनका विजयी उम्मेदवारले मङ्सिर ९ देखि १६ गतेसम्म मतदाता धन्यबाद कार्यक्रमको समयतालिका बनाएको भन्दै सोहीअनुसार आफूहरु गाउँ–गाउँमा पुग्ने बताउनुभयो । सांसद केसीले आफ्नो क्षेत्रका सबै वडा र बस्तीमा पुगेर मतदातालाई भेट्ने र खुसी साट्ने बताउनुभयो । उहाँले जनताले आफूहरूलाई भरोसा गरेर जिताएको भन्दै अब जनताको आवश्यकता र समस्यालाई समाधान गर्ने गरी काम गर्ने बताउनुभयो ।   “अहिले पनि बागलुङका जनताले राम्रो स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा, स्वच्छ खानेपानी पाउन सकेका छैनन्, उनीहरूको समस्या पहिलेजस्तो थियो, अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “हामीलाई विश्वास गरेर जिताउनुभएको छ, अब उहाँहरूको विश्वासलाई टुट्न नदिई काम गर्ने अठोट गरेका छौँ, हामी सकेको गर्छौँ, नसक्ने आश्वासन दिँदैनौँ ।” बागलुङ–२ (२) बाट निर्वाचित दोर्णकुमार कुँवरले जनताको समस्या समाधानका लागि विगतदेखि लाग्दै आएको भन्दै अब संसद्मा समेत उनीहरूको आवाज बुलन्द गर्ने बताउनुभयो । उहाँले पश्चिम बागलुङ विगतदेखि नै पिछडिएको हुँदा यहाँका समस्या समाधानका लागि आफू लागिरहने प्रतिबद्धता जनाउनुभयो ।  उहाँ भन्नुहुन्छ, “मैले पश्चिम बागलुङको समस्या राम्रोसँग बुझेको छु, सबै गाउँ–गाउँमा पुगेको छु, त्यहाँका गरिब, दुःखी, दलित र जनतातिका समस्या बुझेको छु, म भोट माग्नमात्रै होइन, पहिले पनि गाउँ–गाउँमा पुगेको छु, अहिले पनि सबै मतादातालाई भेट्ने, उहाँका गुनासा, समस्या सुन्ने र धन्यवाद दिने गरी म बस्ती–बस्तीमा पुगिरहेको छु ।” उहाँले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिकाको सबै बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने र खुसी साट्ने गरी कार्यक्रम तय गरेको बताउनुभयो । बागलुङ–२ (१)बाट निर्वाचित कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले पनि मतदातालाई भेट्दै र धन्यवाद दिँदै गाउँ–गाउँमा पुग्नुभएको छ ।  

रामेछाप:   रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् । एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएकोमा कान्छारामले ४७ हजार ९९ मत ल्याए भने एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए । यस्तै, प्रदेश सभा (१) मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १७ हजार १४८ मत प्राप्त गरे ।उनका प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ मत पाए । श्रेष्ठले पौडेललाई १ हजार ९९१ मतान्तरले मतले पराजित गरेका हुन् । प्रदेश सभा (२) मा पनि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका हुन् । चौलागाईंले २१ हजार २३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४१३ मत पाए । यसपटक रामेछापमा खसेको मतको चार हजार ७८१ मत बदर भएको छ ।

कालीकोट:    पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो ।  विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको थिएन । तर रोचक कुरा त के छ भने २०४८ सालमा कांग्रेस उम्मेदवार न्यौपानेसँग पराजित हुनुभएका हिक्मतबहादुर बिस्टले ३० वर्षपछि कालीकोटमा कांग्रेसलाई जीत दिलाउन सफल हुनुभएको छ ।  तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार बिस्ट कांग्रेसका न्यौपानेबाट २८६ मतले पराजित हुनुभएको थियो । न्यौपानेले आठ हजार आठ मत ल्याउँदा विष्टले सात हजार सात सय १७ मत ल्याउनु भएको थियो ।  यही मङ्सिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा विष्टले कालीकोट प्रदेशसभा २ सदस्यमा १३ हजार ७८३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बीरेन्द्रबहादुर बोगटी पाँच हजार ८३८ मत प्राप्त गर्नुभयो । विसं २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेस उम्मेदवार तिलकप्र्रसाद न्यौपाने एमालेका यज्ञराज न्यौपाने पराजित गर्नुभएको थियो भने २०५६ सालको निर्वाचनमा एमाले उम्मेदवार प्रेमबहादुर सिंहले कांग्रेसका नेत्रबहादुर शाहीलाई पराजित गर्नुभएको थियो । साथै, २०६४ सालको संविधानसभा निर्वाचनमा विष्टलाई नै माओवादीका खड्बहादुर विश्वकर्माले पराजित गर्नुभएको थियो ।  विसं २०७० को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका भुपेन्द्रजङ्ग शाहीलाई माओवादी केन्द्रका दुर्गबहादुर रावतले पराजित गर्नुभएको थियो । तर २०७९ सालको प्रदेशसभामा भने कांग्रेसले कालीकोटमा एक सिट सुरक्षित गर्न सफल भएको छ ।  “प्रदेशसभा सदस्यमा कांग्रेसले जीत निकाल्न सफल भएको छ”, कांग्रेस जिल्ला सभापति अम्मबहादुर शाहीले भन्नुभयो, “३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीतले निकै खुसी बनाएको छ ।” वाम लोकतान्त्रिक गठबन्धनका कारण कांग्रेसले लामो समयपछि कालीकोटमा जीत निकालेको कांग्रेस महासमिति सदस्य नारायण प्रसाद भट्टराईले बताउनुभयो ।