तनहुँ: तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडा स्थित रिमाल अटो केयरमा कार्यरत विरम आलेको हत्या भएको छ । सोहि अटो केयरमा कार्यरत पूर्व कर्मचारी सर्लाही गौरीशंकर नगरपालिका–५ का २५ वर्षिय यन बहादुर चौधरीले शुक्रवार दिउँसो रड प्रहार गर्दा उनको मृत्यु भएको हो । रड प्रहारपछि घाइते भएका २४ वर्षिय आलेलाई दुलेगौंडास्थित तनहुँ सेवा हस्पिटलमा प्राथमिक उपचारपछि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालले जानकारी दिए । आले देवघाट–२ घर भई हाल दुलेगौंडामा बस्दै आएका थिए । रड प्रहार गर्ने चौधरीलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईको अर्यालले बताए
पोखरा: किताब पब्लिसर्सद्वारा पोखरामा आयोजित परदेशको पसिना: कसरी लिने प्रतिफल ? शीर्षककमा गरिएको ‘वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका’ विषयक अन्तक्र्रियामा परदेशको पसिना सदुपयोग हुनुपर्नेमा जोड दिइएको छ । नेपालीले परदेशमा गएर दुःख गरी कमाएको पैसाले यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगे पनि उक्त योगदानको कदर हुन नसकेको बताउँदै कार्यक्रमका वक्ताले दीर्घकालीनरुपमा यहीँ नै रोजगारीको सिर्जना गर्नुपर्ने वातारण आवश्यक रहेको बताए । नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा रघुराज काफ्लेले लाखौँ नेपालीले विदेशमा गएर कमाएको पैसाले मुलुकलाई जीवन दिएको बताउँदै उनीहरूको योगदानको कदर हुन नसकेको बताउनुभयो । श्रम प्रशासनमा सुधार हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयरुपमा नै रोजगारीको सिर्जनासँगै रोजगारीमा जानेका लागि क्षमता अभिवृद्धि, भाषा, सीप तालिम आदिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यही नै रोजगारीको सिर्जना गर्नु पहिलो आवश्यकता भएको बताउँदै विदेश गएर प्राप्त गरेको धनसँगै, ज्ञान, सीप र क्षमतालाई यही नै उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । कतिपयले विदेशबाट फर्केर यही नै उद्यम गर्न लाग्नुभएको बताउँदै उहाँले महानगरपालिकाले रोजगारीको अवस्था सम्बन्धमा तथ्याङ्क सङ्कलन सुरु गरेको जानकारी दिनुभयो । आप्रवासनविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गणेश गुरुङले वैदेशिक रोजगारीमा गई आधारभूत आवश्यकता पूरा गरेकामध्ये कतिपयले यही नै उद्यम थालेको बताउँदै उनीहरूका ज्ञान, सीप र क्षमता स्वदेशमा उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङले आर्थिक अवस्था, घरेलु हिंसालगायतका विभिन्न परिस्थितिका कारण कतिपय महिला महिला वैदेशिक रोजगारीमा जान बाध्य छनु भन्नुभयो । कतिपय महिलालाई कामबाट फर्केपछि पनि यौनिकतालगायतका विषयसँग जोड्ने प्रवृत्ति पनि समस्याका रुपमा देखापरेको उहाँको भनाइ छ । पूर्वश्रमिक भीम श्रेष्ठले स्वदेशमा अवसर नपाएपछि युवा विदेशिने गरेको जनाउँदै उनीहरूलाई त्यहाँबाट फर्केपछि स्वदेशमा नै केही गर्ने वातावरण तयार हुनु जरुरी रहेको बताउनुभयो ।
पोखरा: कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न नभई यो क्षेत्रको पर्यटन र जनजीवनमा उल्लेख्य परिवर्तन नआउने जनाएका छन् । यो सडकखण्ड साँघुरो हुँदा दोहोरो सवारी साधन आवागमनमा बाधा पुग्दै आएको छ । सोहि कारण सो सडकखण्डमा बारम्बार जाम हुने गरेको छ । खास गरेर विहान सूर्योदय हेर्न जाने समय र दिउँसो फर्किने समयमा ट्राफिक जाम हुँदा त्यस क्षेत्रबाट आवतजावत गर्ने स्थानिय तथा पर्यटकहरुले सास्ती भोग्ने गरेका छन् । उसो त साँघुरो सडकका कारण विपरित दिशाबाट आएको गाडीलाई बाटो छाड्दा दुर्घटना भएका घटना पनि प्रशस्त छन् । स्थानियको समस्यालाई मसिनो गरेर अवलोकन गरेका भण्डारीले सो समस्या समाधानका लागि सडक चक्ल्याउने योजना ल्याएका हुन् । प्रचण्डका सहपाठी भण्डारीको पहुँच माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसम्मै भएकालेपनि सो सडकखण्ड चक्ल्याउने महत्वकांक्षी योजना पूरा गर्न सकिने उनको दाबी छ । भण्डारीले आफ्नो विकासे एजेन्डामा विन्ध्यवासिनी–पोखरा बेंसी सडकखण्ड कालोपत्र गर्ने अर्को योजनाअघि सारेका छन् । उनले पोखरा महानगरपालिका वडा नम्बर १, २ र ३ का भित्री सडक कालोपत्रे गर्ने, बागलुङ बसपार्कको स्तरोन्नति गर्ने, हरिचोक–याम्दी खाफको बाटो चौडा बनाउने लगायतका एजेन्डा पनि अघि सारेका छन् । उम्मेदवार भण्डारीले माछापुच्छ्रे गाउँपालिकाको अस्ट्रेलियन क्याम्प हुँदै अन्नपूर्ण ७ मा रहेको कान्छी बराह मन्दिरसम्मको मोटर बाटो निर्माण गरेर अन्नपूर्ण–माछापुच्छ्रे लिंक रोड निर्माण गर्ने योजनाअघि सारेका छन् । साथै, उनले माछापुच्छ्रेको धम्पुस फेदी हुँदै डाँडाबाट अन्नपूर्ण ३ को मराउचेसम्म नयाँ बाटो खोल्ने अर्को महत्वपूर्ण योजनाअघि सारेका छन् । उम्मेदवार भण्डारीले मर्दिहिमाल ट्रेकिङ रुट (पदमार्ग) लाई व्यवस्थित गर्ने, वन, वातावरण कृषि र पशुपालन विकासमा जोड दिने, सामुदायिक वन विकाससम्बन्धी कार्यक्रम चलाउने एजेन्डा बोकेर चुनावी घरदैलो र कोणसभा गरिरहेका छन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्रका कार्यक्रमलाई व्यवस्थित गर्ने अर्को महत्वपूर्ण योजना ल्याएका छन् । सो कार्यक्रम पछिल्लो क्रममा जनजीवनसँग नजोडिएको भन्दै आलोचना भईरहेका बेला उनले जनजीवनलाई जोड्ने गरी कार्यक्रम ल्याउनका लागि पहल गर्ने बताएका हुन् । उनले भौतिक पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गर्दै संरक्षण र विकासलाई सन्तुलित ढंगले मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डुम्रे: गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ । जिल्लामा छ हजार तीन सय २० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष करिब पाँच हजार पाँच सय मेट्रिकटन कोदो उत्पादन हुने अनुमान गरिएको छ । यहाँ उत्पादित कोदो जिल्लामा नै खपत हुने गरेको छ । पहाडी क्षेत्रको माथिल्लो भेगमा कोदो खेती गरिँदै आएको छ । कोदोको परिकार स्वास्थ्यको हिसाबले खान उपयुक्त मानिन्छ । कोदोको परिकार स्वास्थ्यवद्र्धक हुने भएकाले जिल्लामा माग बढ्दै आएको तिवारी बताउनुहुन्छ । गत वर्ष छ हजार पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार आठ सय २९ मेट्रिकटन कोदो उत्पादन भएको थियो । कोदो रोप्न र चुट्न झन्झटिलो हुने हुँदा खेती गर्न छाड्ने क्रम बढेको तिवारीले बताउनुभयो । “पाखो बारीमा नै उत्पादन हुने खेती हो । तर बीउ पारेर रोप्न र चुट्ने समस्याले किसानले खेती गर्नै छाड्न थाले । हरेक खेती हुने क्षेत्रको जमिन बाँझिने क्रममा छ”, उहाँले भन्नुभयो । कोदो उत्पादन क्षेत्रको जमिन घट्ने क्रम जारी रहेको उहाँले बताउनुभयो । “वन्यजन्तुको समस्याले गर्दा गाउँबाट बसाइँसराइ जाने क्रम छ । विशेष गरी पाखो बारीमा खेती गर्ने जमिन बाँझिदै गएको छ । कोदो लगाउन गाह्रो हुँदा पनि समस्या हुने गरेको छ”, तिवारीले भन्नुभयो । अहिले घरवास (होमस्टे) सञ्चालन भएका स्थानमा उत्पादन भएकै ठाउँमा कोदो खपत हुने गरेको उहाँको भनाइ छ । बन्दीपुर, व्यास, भानु, ऋषिङ, घिरिङ, भिमाद, देवघाट र आँबुखैरेनीको पहाडी क्षेत्रको उपल्लो भागमा कोदो खेती हुन्छ । ऋषिङ, घिरिङ, भिमादमा कोदोको बढी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । कोदो उत्पादन भएको स्थानमा नै खपत हुने गरेको उहाँ बताउनुहुन्छ । केही स्थानमा उत्पादित कोदो बाहिर निर्यात गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । घरवासमा ढेडो, रोटी तथा पिठोबाट बन्ने विभिन्न परिकारको माग होमस्टेमा समेत बढेकाले पछिल्लो समय कोदोको माग बढ्दै गएको छ भने उत्पादन घट्ने क्रममा रहेको किसान बताउँछन् । पछिल्लो समय जिल्लामा कोदोको माग बढे पनि स्थानीय उत्पादन कम हुँदा अभाव छ । चालु आर्थिक वर्षमा स्थानीय तहसँग समन्वय गरी कोदोलाई रैथानेबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत विशेष प्राथमिकतामा राखी उत्पादन प्रशोधन र बजारीकरण गरी सहज गराउने उद्देश्य रहेको ज्ञान केन्द्रले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उहाँले विशेष सम्बोधनसमेत गर्नुभएको थियो । साथै उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।
काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९(सीएस)०३१२ रहेको छ । नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।
पोखरा: अन्नपुर्ण ४ सल्यानका सहिद कृष्णबहादुर गुरुङको स्मारकमा माल्यार्पण गर्दा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीका आँखा एकाएक रसाए । मंसिर ४ गते हुने चुनाव केन्द्रित मतदाता भेटघाट कार्यक्रम अन्र्तगत अन्नपूर्ण ४ तथा साविक सल्यान ३ मा पुगेर सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण गर्ने क्रममा उम्मेदवार वैरागीका आँखा रसाएका हुन् । कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार वैरागीले माल्यार्पण पछि भावुक हुदै सहिद कृष्ण गुरुङले सल्यानको विकास र सल्यानवासीका लागि देखेका सपनाहरु पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने ‘उहाँ त हामी माझ हुनुहुन्न, तर उहाँले यो ठाउँको विकास र यहाँका स्थानियहरुको समृद्धिका लागि जुन सपना देख्नुभएको थियो, त्यो सपना अव म पूरा गर्ने वाचा गर्छु ।’ उनले सहिदको सपना साकार पार्न आफूले जुकै कसरत गर्न पनि पछि नहट्ने बताए । तत्कालिन जिल्ला विकास समिति कास्कीका सदस्य एवं नेपाली काँग्रेस कास्कीका उपसभापति रहेका कृष्णबहादुरको द्वन्दकालमा तत्कालीन विद्रोही समूहले तड्पाएर हत्या गरेको थियो । हत्या भएको स्थानमा सहिद गुरुङको स्मारण निर्माण गरिएको छ । अर्को प्रसंगमा उनले आउँदो निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी गराउन अपिल गरे । उनले पाँच वर्षे कार्यकाल सल्यानको बाटो पिच गर्ने प्रतिवद्धता जाहेर गर्दै सल्यानमा देखिएको खानेपानीको समस्या पनि एक घर एक धारा अवधारणा अनुसार समाधान गर्ने बचन दिए । यी बाहेक स्थानिय स्तरमा देखिएका सानातिना समस्या तथा स्थानियका आवश्यकतालाई पूरा गर्ने उनको अठोट छ ।
पोखरा: यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए । सापकोटाका अनुसार दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बताए । ‘किताबी गृहकार्य मात्र दिएर बोझ बोकाउनु हुँदैन । विद्यार्थीमा भएका आन्तरिक क्षमता पनि बाहिर ल्याउनुपर्छ,’ सापकोटाले भने, ‘विद्यार्थीमा रहेको ज्ञान र आन्तरिक क्षमता बाहिर ल्याउन शैक्षिक संस्थाको पनि दायित्व हो ।’ प्रदर्शनीको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव साट्दै कुलपति गुरुङले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । ‘विद्यार्थीले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनुपर्छ । अन्तरनिहित ज्ञानलाई भित्र लुकाएर राख्ने होईन,’ उनले भने । प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता विज्ञान प्रदर्शनीले विद्यार्थीलाई नयाँ कुरा सिक्ने अवसर दिलाउने बताए । ‘यो एउटा खोज पनि हो । विद्यार्थीले आफुभित्र लुकेको कुरालाई बाहिर ल्याउनुपर्छ । नयाँ कुरा सिक्नमा सधैं चाँसो दिनुपर्छ,’ पौडेलले भने, ‘यो मेहनतलाई आगामि दिनमा निरन्तरता दिनपर्छ । परिश्रम गर्नबाट कहिल्यै पछाडि हट्नुहुँदैन ।’ प्रदर्शनीमा सहभागि भएका विद्यार्थीको समुहबाट उत्कृष्ट समुहलाई पुरस्कृत गरिने निर्देशक सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार हरेक समुहमा ३ जना विद्यार्थी सहभागि छन् । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् । उत्कृष्टमध्ये प्रथम हुने समुहले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोश्रो समुहले १५ र तेश्रो तथा चौथो समुहले ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् । कार्यक्रममा सहभागि विश्वविद्यालय पदाधिकारी सहितका पाहुनाले विद्यार्थीले बनाएका सामाग्रीको अवलोकन गर्दै आवश्यक जानकारी पनि लिएका थिए । विद्यालयले ११ र १२ कक्षाका व्यवस्थापन विषयका विद्यार्थीका लागि शनिबार ‘व्यवसायिक योजना’ बारेको प्रस्तुती राखेको छ । यसमा ११ र १२ कक्षाका विद्यार्थीले एकअर्काबीच आफुले बनाएको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् । पोखराको प्रतिभा माविमा शुक्रबार आयोजित विज्ञान प्रदर्शनीमा सहभागि विद्यार्थी ।
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनुभएको छ । चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो । “मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।” उहाँले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गर्नुभयो । “म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु ।” गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गर्नुभयो ।

