सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।  सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।   निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको छ ।

चितवन:  चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् ।  कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिनुभयो । त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको  प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।  

बागलुङ:  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताए । कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीको टोलीले उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभा कार्यक्रम गरेको स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन् । यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पनि पक्राउ परेका छन् । उनीहरुलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको छ ।

  काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिएको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो। आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने निर्देशन दिएको छ। कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लागि मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचीत गर्ने। आयोगको निर्देशनमा भनिएको छ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने।

भोजपुर: आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ ।  योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भूपाल राई, मदन पुरस्कार विजेता वरिष्ठ आख्यानकार तथा गीतकार राजन मुकारुङ, सङ्गीतकार पारस मुकारुङ, गायक भीषण मुकारुङ, गीतकार शुभ मुकारुङ, गायिका बबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, गायक रवीन्द्र राई लगायतको टोली चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।  भोजपुरे जनताले विकास र समृद्धिको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघि सारेका कारण ती उम्मेदवारका पक्षमा मत माग्न भोजपुर आएको उहाँहरुको भनाइ छ । उहाँहरुले गीतसङ्गीत, कविता, लेख, विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट मत माग्दै अहिले भौतिकरुपमा नै जनताको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरिरहनुभएको छ ।       भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि सुदन किराती, प्रदेशसभा (१) का लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा (२) तर्फ कांग्रेस भोजपुर सभापति विनोद राई उम्मेदवार रहनुभएको छ । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाका लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेशसभा (१) का लागि केन्द्रीय सदस्य हरिबहादुर र प्रदेशसभा (२) मा प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।   भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना चुनावी मैदानमा हुनुहुन्छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र अन्य एक गरी कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता छन् ।

  नवलपरासी:  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गर्नुभयो ।  पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताउनुभयो । पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहनुभएको छ । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिनुभएको छ ।

   चितवन:  जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताउनुभयो । उहाँका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो ।  यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

  काठमाडौँ: आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, उहाँले भन्नुभयो ।  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ ।  वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । “निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्”, प्रवक्ता शर्माले भन्नुभयो ।   निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ । बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ ।  “अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो, “यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।” बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताउनुभयो । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उहाँको भनाइ छ ।  तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उहाँको भनाइ छ । उहाँका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौँ–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ ।        श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । “निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन”, उहाँले भन्नुभयो ।  मङ्सिर ४ गते उडान नहुने मतदान हुने  दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ ।  “चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन”, विमानस्थलका प्रवक्ता सिटौलाले भन्नुभयो । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उहाँको भनाइ छ ।

  ललितपुर:  ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार रहेका डा. सचिन घिमिरे अनसन बसेका छन्।  उनले मंगलबारदेखि गोदावरी नगरपालिकास्थित टाखेलमा अनसन सुरू गरेका हुन्।  उनले सात बुँदे मागसहित अनसन सुरू गरेका छन्।   पहिलो बुँदामा नेकपा एमालेबाट उम्मेदवार नवराज सिलवालले यसअघिको कार्यकालमा के कति खर्च गरेको हो विवरण सार्वजनिक गर्न माग गरेका छन्।  ‘निवर्तमान सासंद नवराज सिलवालले यस क्षेत्रमा कहाँ कति खर्च गरेरु त्यो सार्वजनिक हुनुपर्‍यो,’ उनले सेतोपाटीसँग भने, ‘हामीले केही थाहा पाएनौं, त्यसैले सार्वजनिक गर्न माग गरेको छु।’ गाउँमा बाँदरले दुस्ख दिएको भन्दै यसको व्यवस्थापन गर्न स्थानीय सरकारसँग उनले माग पनि गरेका छन्। उनले दुई जना विद्यार्थीको पढाइको खर्च व्यहोरिदिन पनि माग गरेका छन्। त्यस्तै गोदावरी नगरपालिकाले महिला स्वयंमसेविकामार्फत किशोरीहरूलाई खुवाइरहेको आइरन चक्कीले जनस्वास्थ्यको औचित्य प्रमाणित गर्नुपर्ने, कोन्ज्योसोम गाउँपालिकाका दलबहादुर विक लगायतको उपचार गर्नुपर्ने माग राखेका छन्।  उनले आफ्नो अनशन मौन अवधिमा पनि जारी राख्ने बताएका छन्। ‘मौन अवधिले केही गर्दैन। मौन अवधि सुरू भएपछि सत्याग्रह गर्न हुन्न भनेर कानुन पनि छैन,’ उनले भने, ‘सत्याग्रह गर्न पाउने मेरो नैसर्गिक अधिकार हो। माग पूरा नभएसम्म अनसन जारी रहन्छ।’