रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

    जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।     धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो ।      धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन  भएको त्यहाँका किसानको गुनासो थियो । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार जानुपरेको थिएन पहिलो पटक बजार गएर सेतो चामलको भात खानुपर्ने दिन पनि आयो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।     तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो । धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुग्नुभएको थियो ।  किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको उहाँको भनाइ थियो ।     मार्सी धानमा ब्लाष्ट रोगको सङ्क्रमण भएको छ । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ । धानको नमूना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषद्मा  पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन् कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको उहाँले जानकारी दिनुभयो । यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ । 

  स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन् । तिहारलाई लक्षित गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो । “किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे”, उहाँले भन्नुभयो, “तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो ।” यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो । स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भएको पौडेलले बताउनुभयो । तिहारको अवधिमा सयपत्री फूलको माग विगतका वर्षका तुलनामा यसपाली बढेको थियो । व्यापारीले यहीँ आएर फूल खरिद गरेर लगेका थिए । “फूल पहिलो चरणको बिक्री भएर सकियो”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा अहिले फेरि फूल उत्पादन भइसकेको छ, यो फूल विवाह, व्रतबन्धलगायतमा बिक्री गर्छौँ । साउनमा लगाइएको बोटबाट चैतसम्म उत्पादन लिन सकिन्छ ।”  फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिई आर्थिकलाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफँैले फूलखेती गरेको थियो । यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरेको थियो । गाउँपालिकाले व्यावसायिकरूपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिएको थियो । खनजोतदेखि फूल उत्पादन हुँदासम्मका लागि गाउँपालिकाले प्रतिरोपनी रु नौ हजारका दरले अुनदान उपलब्ध गराएको थियो । गत वर्ष गाउँपालिकाले परीक्षणका रूपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भई मनग्य आम्दानी गरेपछि यस वर्षबाट कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराएको हो । पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र १० कृषक गरी १४ समूह तथा व्यक्ति छनोट भएका हुन् । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गरेका छन् । गाउँपालिकाले यस वर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट चार सय वटासम्म फूलका थुङ्गा उत्पादन हुन्छन् । फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ । फूल उत्पादन हुने क्रम आगामी चैतसम्म हुने भएकाले बिक्री गरी थप आम्दानी लिन सकिन्छ । यहाँ व्यावसायिक फूलखेती थालेका किसानले तिहारको अवधिमा मात्रै न्यूनतम रु ३० हजारदेखि अधिकृतम रु ७०–८० हजारसम्म आम्दानी गरेका छन् । कालीगण्कडी गाउँपालिका–६ कुणादीका चिन्तामणि अधिकारीले तिहारमा मात्रै सयपत्री फूल बिक्रीबाट रु ६० हजार आम्दानी गर्नुभयो । पहिलोपटक परीक्षणका रूपमा दुई रोपनीमा फूलखेती गर्नुभएका अधिकारीले तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरी मनग्य  आम्दानी गर्नुभएको हो । “तिहारको अवधिमा मात्रै करिब दुई हजार मालाको माग थियो”, उहाँले भन्नुभयो, “मालाको माग अत्यधिक थियो तर पर्याप्त फूल थिएन र माग भएबमोजिम उपलब्ध गराउन सकेनौँ ।” तिहारको समयमा सयपत्री माला तथा फूलको घरमै छोपाछोप भएको उहाँले बताउनुभयो । उत्पादित फूलको ८० प्रतिशत माला बनाएर प्रतिमाला फुटकर रु एक सय र होलसेलमा रु ९० मा बिक्री भएको उहाँ बताउनुहुन्छ । तिहारमा उत्पादन भएजति फूल फेरि पनि बोटमा उत्पादन भएकाले आम्दानी अझै वृद्धि हुने व्यवसायी अधिकारीले बताउनुभयो । “विभिन्न जातका गेडागुडी लगाउने गरेको जमिनमा यस वर्ष गाउँपालिकाको सहयोगमा पहिलोपटक सयपत्री फूल लगाएँ”, उहाँले भन्नुभयो, “फूलबाट राम्रै आम्दानी भयो, बाँदरबाट पनि समस्या भएन, अबका दिन अझै क्षेत्र विस्तार गरी फूलखेतीलाई निरन्तरता दिने सोचमा  छु ।”

  काठमाडौँ:  नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले आदेश दिएको बताए । ‘मुद्दाको किनारा नलागेसम्म आरोपितलाई थुनामा राख्न आदेश भएको छ,’ सूचना अधिकारी दाहालले भने ।   वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले लामिछानेको पक्षबाट बहस गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बलात्कार गरेको कसुरमा सजाय मागदाबी गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।   मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोगपत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार लामिछानेलाई कैद र पीडितलाई क्षतिपूर्ति भराउनुपर्ने सुझावसहित काठमाडौं प्रहरी वृत्त गौशालाले गत कात्तिक ६ मा सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

  ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडकको ट्र्याक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्र हुन सकेको छैन । सडक निर्माण भएपछि धेरै पटक निर्वाचन सम्पन्न भए । अहिलेसम्म भएका निर्वाचनमा उम्मेदवारले यो सडक कालोपत्र गर्ने विषयलाई मुख्य ‘एजेण्डा’ बनाउँदै आए । तर काम भने भएन ।     आगामी ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्ररुपमा उम्मेदवार बनेकाले पनि घोषणापत्रको मुख्य बुँदामा यो सडक कालोपत्र गर्ने उल्लेख गरेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्र नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरुले भोट फुत्काउन आफूहरुको आँखामा छारो बर्साएको मतदाता बताउँछन् ।      काठेखोला गाउँपालिका–५ का स्थानीय मनप्रसाद कँडेल भन्नुहुन्छ, “सडक कालोपत्र गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहात, अहिलेसम्म कालोपत्र गर्छौं भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्र गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।”     उहाँले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधि गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुनसक्ने बताउनुहुन्छ । सडक खुलेको साढे दुई दशक पूरा हुँदा पनि कालोपत्र नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । वर्षात्मा हिलो र हिँउदमा धुलोले गर्दा सडक छेउछाउकाले बसाइँसराइ गर्न बाध्य भएको स्थानीयवासी कँडेलको भनाइ छ ।     “हामीहरुले यो सडकको हिलो र धुलो खाएर बसेको २२÷२५ वर्ष भयो, हिउँदमा धुलोले घर नै देखिँदैन सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने अछ्यानसम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ”, उहाँले भन्नुभयो, “सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौं भयो, नेताहरुले काम गरिहाल्छौँ भनेको पनि कैयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका कारण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरिसके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।”     स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले छ महिनाभित्रै कालोपत्र गर्छु भनेर आश्वासन देखाएको जनाउँदै जितेर एकपटक आफूहरुलाई भेट्नसमेत नआएको सुनाउनुभयो । उहाँले सडक बनाउने प्रतिबद्धता गरेपछि आफूहरुले मत दिएको र उक्त मत खेर गएको बताउनुहुन्छ । “अघिल्लो निर्वाचनमा एक जना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउँनेछु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एकपटक हामीलाई धन्यवादसमेत भन्न आउनुभएन”, उहाँले भन्नुभयो ।     उहाँले यो सडकका कारण वर्षौंदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताउनुभयो । पुनले आफूहरुले सडक कालोपत्रका लागि बारम्बार निर्माण कम्पनी र नेताहरुलाई भने पनि कुनै सुनुवाइ नभएको गुनासो पोख्नुभयो । उहाँले आफूहरु भोट माग्नका लागि उम्मेदवारले अनेक आश्वासन दिएको भन्दै यसपटक सोचेर भोट हाल्ने मनाशय बनाएको बताउनुभयो ।     यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फर्नुपर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताउनुभयो । उहाँले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नुपरेको बताउनुभयो । घर्तीले यो सडकका कारण गाडी व्यवसायीले समयसमयमा दुल्ख पाइराखेको बताउनुभयो ।     “यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने ?, कयौँपटक चालक मिलेर बाटो बनाउँदै यात्रा ग¥यौँ, त्यो सम्भव नहुँदो रहेछ”, उहाँले भन्नुभयो, “सडकको दुरावस्थाका कारण कैयौँ पटक गाडीको टायर पड्किएर, पत्ता भाँचिएर सडकमौ बास बस्नुपरेको छ, यहाँका नेताहरु के भएका हुन्, चुनावका बेला छिटै कालोपत्र गर्छौं भन्छन्, अरु बेला वास्तै गर्दैनन् ।”     उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड कालोपत्रका लागि २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण सुरु भएको यतिका वर्षसम्म कालोपत्र हुन सकेको छैन ।     कूल एक हजार सात सय ७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै एक सय ४२ किमी पर्छ । तीमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बागलुङको ‘लाइफलाइन’सँग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्र भइसकेको छ । 

  काठमाडौं । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ।    बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।      कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ ।  बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उहाँले जानकारी दिनुभयो । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ ।

  पोखरा । कास्की क्षेत्र नम्वर १ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङको क्षेत्र अन्तर्गत पर्ने रूपा गाउँपालिका वडा नम्वर ३ को काल्लाङटार र थापाचोकका टंक के.सीसहित ५ जना माओवादी कार्यकर्ता र शुक्रदेव सुनारसहित ५ जना काँग्रेश कार्यकर्ताले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।  उनीहरुलाई पार्टी संगठन विभाग प्रमुख तथा १ (क) का प्रदेश सभा उम्मेदवार खगराज अधिकारी र कास्की जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले एक कार्यक्रमका विच स्वागत गरेका थिए ।  नवप्रवेशी कार्यकर्ताहरुले माओवादी र कांग्रेस सर्वहारा जनताको पार्टी बन्न नसकेकाले आफूहरुले पार्टी परित्याग गरेको बताए । साथै उनीहरुले सो क्षेत्रमा एमाले उम्मेदवारलाई विजयी गराउन लागि पर्ने अठोट व्यक्त गरे । कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार मनबहादुर गुरूङले  भष्ट्रचारको अन्त्य साथै मुल्यवृद्धी नियन्त्रण गरेर सुखी नेपाली समृद्ध नेपाल बनाउने पार्टीको सिद्धानत्लाई मुर्त रुप दिने बताए । त्यस्तै कास्की क्षेत्र नम्बर १ (क) का उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई अत्याधिक मतले विजय गराउन मतदातासँग अनुरोध गरे ।  मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिदै गर्दा अहिले एमाले उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । उनीहरुले भोट मात्र मागेका छैनन् स्थानियका समस्यालाई पनि आत्मसात गरेर निर्वाचित भएपछि पूरा गनेृ बचन समेत दिएका छन् ।   

  काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।   बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गर्नुभएको छ । उहाँले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनभयो । मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिनुभयो  । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ । 

ढोरपाटन : जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन् ।    विसं २०४८ मा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा विस्थापित भएका माझी परिवार एक दशक बढी बाङ्गेचौर वरपर छाप्रो बनाएर बसे । त्यही नै गुजारा चलाए । चार वर्ष अगाडि सरकारले नियरघाट नजिकै बस्ती निर्माण गरी उनीहरूलाई हस्तान्तरण ग¥यो । धेरैले घरसहित लालपुर्जा पाए । तर अझै केही परिवारले पाउन सकेका छैनन् ।    माझी समुदायलाई सडक, खानेपानी, रोजगारलगायतका आश्वासन चुनावैपिच्छे आउँछन्, तर काम गर्दैनन् । स्थानीय सोमबहादुर माझी भन्नुहुन्छ, “चुनावका बेला यो गर्दिन्छौँ, त्यो गर्दिन्छौँ भन्दै दिनदिनै नेताहरू आउनुहुन्छ, चुनाव जितेपछि एकपटक पनि हाम्रो बस्तीमा आउनु हुन्न, काम पनि खासै केही गर्न सक्नु भएन, हाम्रो बस्तीमा धेरै समस्या छन् ।”   उम्मेदवारले चुनावका बेला सडक, खानेपानी र रोजगारको कुरा गरे पनि अहिलेसम्म कुनै पनि बाचा पूरा गर्न नसकेको माझीको गुनासो छ । उहाँ वर्षौँ बितिसक्दा पनि खानेपानीको व्यवस्थापन पूर्णरूपमा हुन नसकेको भन्दै सडकको अवस्था पनि उस्तै रहेको बताउनुहुन्छ ।   “चुनावका बेला भोट माग्न आउने सबैले सडक, खानेपानीको कुरा गर्नुहुन्छ, यहाँ पानी ल्याउने भनेको धेरै भयो अहिलेसम्म स्वच्छ खानेपानीको व्यवस्था हुनसकेको छैन”, उहाँले भन्नुभयो ।   विस्थापित माझी परिवारलाई सरकारले १३ घर निर्माण गरी चार वर्ष अगाडि हस्तान्तरण गरेको थियो । उनीहरूले घर पाए पनि स्वास्थ्य, शिक्षा, रोजगार र खानेपानीको राम्रो व्यवस्था हुन नसकेको स्थानीय उमा माझीले बताउनुभयो । उहाँले पटक–पटक आफूहरूले भोट दिए पनि माझी समुदायमा उम्मेदवार जितेपछि कमै आउने गुनासो गर्नुभयो ।   “हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्कि हेरेनन्, समस्या जस्ताकोतस्तै छन्”, उहाँले भन्नुभयो, “भोट माग्न आउने बेलामा गर्छौँ भनेर भन्छन्, विश्वास लाग्छ तर काम गर्दैनन्, अहिले आएर हामीहरूलाई झुक्याउन खोजेको जस्तो लाग्न थाल्यो ।”   माझी समुदायको उम्मेदवारसँग ठूलो अपेक्षा छैन । रोजगार सिर्जना गरिदिए पुग्ने उनीहरु बताउँछन् । स्थानीय चन्द्रकला माझी भन्नुहुन्छ, “भएको घर सम्पत्ति सडकले खाइदियो, सरकारले यति घरमात्रै बनाइदिएको हो, घरमात्रै भएर नहुने, गरीखाने ठाउँ छैन, सरकारले कि गरिखाने ठाउँ, कि काम गर्ने ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो ।”   उम्मेदवारको ध्यान माझी बस्तीमा पुग्न नसक्दा आफूहरूको समस्या ज्यूँका त्यूँ रहेको उनीहरु बताउँछन् । “अहिले आउने उम्मेदवार अर्को चुनावमा मात्र फर्किन्छन्”, उहाँले भन्नुभयो, “भ्रममात्रै छर्दा रैछन्, काम गर्दा रहेनछन् ।”   सडक निर्माण गर्दा विस्थापित बनेकामध्ये १३ परिवारको सरकारले घर निर्माण गरेर हस्तान्तरण गरे पनि तीन परिवारले अझै लालपुर्जा पाउन सकेका छैनन् । अहिलेसम्म गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन् । विभिन्न प्रक्रिया नपुग्दा आफूहरूले अहिलेसम्म लालपुर्जा पाउन नसकेको यमबहादुर माझीको भनाइ छ