रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

ढोरपाटन : आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्ती र कृषकका बारीबारीमा पुगिरहेका छन् ।    बागलुङका किसानलाई भने धान बाली भित्र्याउने चटारो छ । वर्षा भयो भने धान नोक्सान हुने दिने डरले उनीहरु आकाश हेर्दै धमाधम धान भित्र्याउन थालेका छन् । उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर खेतबारीमै पुगेर भोट मागी रहेका छन् । उनीहरु आफ्नो दुःख पीडा बुझिदिने नेताले मात्र चुनाव जितोस् भन्ने पक्षमा छन् । बागलुङका अधिकांश किसान यतिबेला धान काट्ने, गहुँ, जौँ छर्ने चटारोमा छन् । कामको मुख्य याममा चुनाव आए पनि हरसम्भव सहभागी भएर असल नेता छान्ने उनीहरुको धोको छ ।   प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवार बनेका नेतालाई भोट माग्न मतदाताको घरदैलोमा पुग्न हतारो छ भने किसानलाई धानबाली भित्र्याउने चटारो । किसानका लागि मानो रोपेर मुरी उत्पादन गरेको अन्नबाली भित्र्याउने अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । खेतबारीमा व्यस्त किसानले अहिलेसम्म यहाँबाट जितेर गएका नेताले कृषि क्षेत्रमा काम नगरेको गुनासो गरे ।   किसानले गाउँमा सिँचाइ, उन्नत जातका बिउ र मलको अभाव बर्सेनि हुने गरेको गुनासो गरेका छन् । खेतबारीमै पुग्ने उम्मेदवारलाई आफूहरुले सिँचाइको व्यवस्था गरी दिनुपर्ने माग गरेको गलकोटका कृषक प्रेमबहादुर खत्रीले बताउनुभयो । उहाँले तिहार सकिएपछि धान स्याहार्न भ्याइनभ्याइ भएको भन्दै यही समयमा उम्मेदवार भोट माग्न बारीमा आइरहेको बताउनुभयो ।   खत्री भन्नुहुन्छ, “हामीलाई कति बेला धान स्याहार गर्ने भन्ने चिन्ता छ, नेतालाई भोटको, आकाश गाडाङगुडुङ गर्दा धान सबै सखाप हुन्छ की भन्ने पिर लाग्छ, नेताहरु बारीमै आएर नाटक गर्छन्, चुनाव जितेर गए भने नाक मुख देखाउँदैनन्, अहिले बारीमै आएर नानाथारी आश्वासन दिन्छन्, यसपालि जसले किसानको समस्या बुझ्छ, मर्म बुझ्छ, काम गर्न सक्छ उसैलाई भोट दिने हो ।”   उहाँले गाउँमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धान, गहुँ सोचेअनुसारको उत्पादन गर्न नसकेको भन्दै सरकारबाट पाउनु अनुदानसमेत आफूहरुले पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले दिनदिनै फरक–फकर उम्मेदवार आएर आफूहरुलाई आश्वासन दिने बाहेक अरु काम नगरेको सुनाउनुभयो ।    उहाँले भन्नुभयो, “कामको चटारो निकै छ, एकछिन पनि कुरा गर्ने समय छैन, नेताहरु आएर हैरान बनाउँछन्, सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ राम्रोसँग उत्पादन गर्न सकिएको छैन, अबरु सिँचाइको व्यवस्था गरी दिए कति राम्रो हुँदो हो रु”   ढोरपाटनका स्थानीय चूडामणि कार्कीले पछिल्लो केही दिययता उम्मेदवार तथा नेता भोट माग्न घरदेखि बारीसम्म आएको बताउनुभयो । उहाँले उम्मेदवारलाई कृषकको समस्या राखेको र पूरा गर्ने आश्वासन दिएको बताउनुभयो । कार्कीले यस क्षेत्रबाट धेरै पटक धेरै नेतालाई जिताएर पठाए पनि जनताका लागि काम गर्न नसकेको बताउनुभयो ।   “हाम्रो यो क्षेत्रबाट अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौँ, तर कसैले पनि जनताका लागि काम गर्नु भएन, अहिले पनि भोट माग्न दिनदिनै आउनुभएको छ, उहाँहरुलाई मैले किसानको समस्या समाधान गर्ने भए मात्रै भोट दिन्छौँ नत्र दिँदैनौँ भनेको, तपाईहरुको काम गर्छौं भनेका छन्”, उहाँले भन्नुभयो ।    स्थानीय प्रेमनाथ पौडेलले नेताले बारीमै आएर भोट माग्न किसानलाई फकाइराखेको बताउनुभयो । उहाँले जनतालाई नेताहरुले पटक–पटक आश्वासन मात्रै दिएको हुँदा धेरै निराश बनेको बताउनुभयो । पौडेल समाज र जनताका लागि काम गर्ने नेताको खाँचो भएको बताउनुहुन्छ ।   पौडेलले भन्नुभयो, “अब नागरिक सचेत छन्, जसले काम गर्न सक्छ, जसको भिजन छ, उसैलाई मत दिने हो, अब भाषण सुनेर भोट हालिन्न ।” दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा ३१ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशतर्फ १८ र प्रतिनिधिसभातर्फ १३ उम्मेदवार छन् । बागलुङ क्षेत्र नम्बर १ मा छ जना र क्षेत्र नम्बर २ मा सात जना छन् भने क्षेत्र नम्बर १ (क) मा पाँच, (ख) मा चार जना, क्षेत्र नम्बर २ (क) मा दुई जना र (ख) मा सात उम्मेदवार छन् ।

  गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा प्रदेशका ११ वटा जिल्ला भ्रमण सुरु गरेको छ । प्रदेशका सभापति शुक्रराज शर्मा सहितको टोली गठबन्धनलाई जिताउनको लागि आजबाट कार्यक्रम सहित भ्रमण सुरु गरिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । गोरखा जिल्लामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबावु सिवाकोटीले अब हाम्रो लक्ष्य भनेको गठबन्धनलाई जसरी पनि जिताउने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । नेपाली काँग्रेस गोरखाको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै नेता सिवाकोटीले त्यस्तो कुरा बताएका हुन् । उनले अहिलेको चुनाव गठबन्धनको भएका कारण धेरै आकांक्षीहरुले चुनाव लड्न नपाएको र उनीहरुले विभिन्न कोणबाट बिरोध प्रकट गरेको भन्दै त्यस्ता क्रियाकलापले पार्टी र गठबन्धनलाई घाटा पुग्ने भएकाले तत्कालै त्यस्ता गतिबिधी रोक्न नेता सिवाकोटीले आग्रह गरे । नेता सिवाकोटीले त्यस्ता ब्यत्तिहरुको बारेमा गाउँ तह हुदै जिल्लाबाट केन्द्रिय कमिटीमा समेत कुरा आईपुगेको जानकारी गराउदै अरुको उत्साहटमा लागेर पार्टीलाई क्षति पु¥याउने काममा नलाग्न आग्रह गर्दै त्यस्तो गरेको पाइएमा पार्टी सदस्य समेत नरहने गरी कारवाही हुने जानकारी दिए ।  नेपाली काँग्रेसले संघमा ७४ सिटमा र प्रदेशमा पनि आधा भन्दा कम सिटमा सिमित भएर चुनावमा होमिनु र गठबन्धन बनाउनुको मुख्य कारण पटक पटक संविधानको उल्लघंन गर्दै प्रतिनिधी सभा विघटन गर्ने र संविधान च्यात्ने काम केपी ओलीले गरेको कारण यो जनमतकालागि गठवन्धनको निर्माण भएको बताए । कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गोरखाको चुनावमा प्रदेश साथमा रहेको सन्देश दिन आएको भन्दै हिजोसम्मका जनप्रतिनिधी सेवक हुन नसकेको तर गठबन्धनबाट चुनिएका सबै प्रतिनिधी तपाई हाम्रो सेवक हुने बताए । सभापति शर्माले हिजो समस्या लिएर जनता नेताका धाउने प्रचलन भएता पनि अब भने जनताको समस्या बुझन नेता जनताकै घरमा आउने बताए । ‘यो भन्दा पहिलो समस्या बोकेर हामी उनिहरुकोमा जानु पथ्र्यो’ भन्दै सभापति शर्माले भने ‘अब हाम्रो समस्या बुझ्न उनीहरु हाम्रो घरमा आउनेछन् ।’ सभापति शर्माले नेपाली काँग्रेस प्रदेशले एउटा संकल्प लिएर आएको जानकारी दिदै ‘अब हामीले ब्यक्ति केन्द्रित बिकासलाई प्रार्थमिकता नदिने हो भने देशको विकास नहुने’ भन्दै ‘देशको बिकास गर्न ब्यक्तिसंग भएको क्षमतालाई फ्लो गर्ने, ब्यक्तिको समस्यालाई संबोधन नगरी ब्यक्तिको जिवनमा परिवर्तन नआउने । ब्यक्तिको जिवनमा परिवर्तन नआइकन बिकासको अनुभुती नहुने रहेछ’ शर्माले भने । सभापति शर्माले अबको ५ बर्ष भित्र चुनाव जितेर गएकाहरुले जनताको जिवन शैलीमा कती परिवर्तन आयो भनेर जनताकै घरदैलोमा पुगेर सोध्न आउने बातावरणको र्सिजना गरिएको पनि बताए । त्यसैगरी उनले राष्ट्र बनाउनको लागि व्यक्तिले आफू भित्र रहेको अपार क्षमताको सदुपयोग गरेर अगाडी बढ्न सकेमा समाज र राष्ट्रको विकास हुने जानकारी गराएका थिए । उक्त कार्यक्रममा प्रदेशका सभापति शर्माले गण्डकी प्रदेशको संकल्प पत्र र झण्डा गोरखाका पार्टी सभापति नन्दलाल न्यौपानेलाई हस्तान्तरण गरेका थिए भने नेपाली कांग्रेस गण्डकी प्रदेश सुचना, सञ्चार तथा प्रचार–प्रसार विभागमा गोरखाका कैलाश वावु श्रेष्ठ र लमजुङका ऋषि अधिकारीलाई मनोनित गरिएको थियो । पार्टी सभापति नन्दप्रसाद न्यौपानेको सभापतित्वमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधवप्रसाद बास्तोला, नेपाली काँग्रेस प्रचार प्रसार विभाग गण्डकी प्रदेशका उप–प्रमुख शिरोमणी बराल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य पूर्णबहादुर दाहाल, बिनाकुमारी श्रेष्ठ, नेपाल प्रजातान्त्रिक लोकतान्त्रिक उद्योग बाणिज्य संघका सभापति चन्द्रकिशोर कर्माचार्य, कोषाध्यक्ष मिलन थापा, सदस्य जानुका अधिकारीका साथै कार्यकताहरुको समेत उपस्थिती रहेको थियो । 

  कालीकोट । कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । गत असोज १९ गते आएको वर्षाका कारणले करिब २५ दिनदेखि अवरुद्ध कर्णाली करिडोरको पहिरो आजदेखि पन्छ्याउन थालिएको हो ।  भिरालो जमिन भएका कारणले माथिबाट निरन्तर सुख्खा पहिरो खस्दा पहिरो पन्छ्याउन समस्या भएको थियो । अहिले सुख्खा पहिरो खस्न कम भएपछि डोजर लगाएर पहिरो पन्छ्याउन थालिएको हो । पहिरो खस्न कम भएपछि अवरुद्ध रहेको कर्णाली करिडोरको पहिरो पन्छ्याउन थालिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो ।  पहिरो स्थायीरुपले रोकथामका लागि विपत व्यवस्थापन समितिमा छलफल भइरहेको तत्काललाई डोजर लगाएर कर्णाली करिडोरको ट्र्याक खोल्ने काम मात्रै हुने अध्यक्ष केसीले जानकारी दिनुभयो ।“पहिरो निरन्तर बगिरहने समस्याका रहेको छ”, उहाँले भन्नुभयो,“ पहिरो रोक्ने दीर्घकालीन उपायका लागि विपद् व्यवस्थापन समितिमा छलफल भइरहेको छ ।” सडक खुलाउनका अहिले डोजर प्रयोग भइरहेको र बिहीबारसम्म सडक सञ्चालनमा आउने हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिनुभयो । “पहिरो रोकिनासाथ करिडोर खुलाउने योजनाका साथ मेसिन र जनशक्ति तयारी अवस्थामा राखेका थियौँ”, उहाँले भन्नुभयो,“मङ्गलबारबाट पहिरो रोकिएका कारणले आज बिहानैबाट पहिरो खुलाउन थालिएको छ । भोलिबाट करिडोर पूर्ण रुपमा सञ्चालनमा आउँछ ।” कर्णाली करिडोर अवरुद्ध हुँदा कालीकोट, बाजुरा, हुम्ला र मुगु जिल्लाका स्थानीयवासीले कष्टपूर्ण यात्रा गर्दै आएका थिए । कर्णाली करिडोर सञ्चालनमा आए नागरिकलाई यात्राका लागि सहज हुने कालीकोट रास्कोट नगरपालिका–५ का स्थानीयवासी हुकुम शाहीले बताउनुभयो । कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लामा ४० किलोमिटर सडकखण्ड, बाजुरामा जिल्लामा ४३ किलोमिटर र हुम्ला जिल्लामा एक सय १३ किलोमिटर रहेको छ ।

  तनहुँ ।नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले मङ्सिर ४ गते हुने निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गर्नुभएको छ ।  तनहुँको दुलेगौँडामा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री गुरुङले जनताको आकर्षण एमालेप्रति बढेकाले एमालेले बहुमत ल्याउने र त्यसपछि जनतालाई विकास दिने बताउनुभयो । निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने गुरुङको भनाइ थियो । “एमालेको बहुमत आएपछि हामी जनतालाई विकास दिन्छौँ,” गुरुङले भन्नुभयो ।  तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङले यो क्षेत्रमा विगतमा एमाले नेतृत्वमा भएका विकासका कामलाई निरन्तरता दिन जनताले मूल्याङ्कन गर्ने समय भएको बताउनुभयो । सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना एमालेमा समाहित भएका छन् ।

  पोखरा । नेकपा एमालेको तर्फबाट  कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीलाई उक्त निर्वाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथी भएको प्रतिक्रिया दिएका छ्न् ।  केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गर्दा उनी हुदा खाने जनताहरूका असल सारथी भएको प्रमाणित भएको स्थानियहरूले उल्लेख गरे । आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँका मतदातासँग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्कीलाई स्थानियले निर्वाचनमा जिताएरै छोड्ने वचन दिएका छन् । आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आवश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सवल उम्मेदवार कास्की २ (१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई विपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको विश्वास छ । पोखरा १५ निवासी स्थानिय मुक्ति गुरुङ भन्छन्–‘एमालेले बाँडेका सपना कहिल्यै झुटा थिएनन । जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन, गरेका कतिपय कामलाई बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारे ।’  अहिले आँखामा छारो हाल्न निर्वाचनको मुखमा निस्सा बाँडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रति सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए । हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरूदेखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाईमा रहने पोखरा ७ निवासी स्थानिय निकेश श्रेष्ठले प्रष्ट पारे ।  

   बाँके । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमूना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।  जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने प्रमुख पन्तले जानकारी दिनुभयो । स्थानीय जनसहभागितामा आज जानकी र खजुरा गाउँपालिकामा नमूना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ ।  जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगञ्ज उपमहानगरपालिका, २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचनसम्बन्धी प्रस्तुतिरकण र तीन घण्टा नमूना मतदान अभ्यास हुने छ । “मतदान गर्नका लागि मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो”, प्रमुख पन्तले भन्नुभयो ।  उहाँले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिनुहुदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेका छन् । नमूना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले बताउनुभयो ।  मतदाता शिक्षा पनि लागू हुँदै  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा मतदाता शिक्षा पनि लागू गर्ने तयारी भएको छ । कात्तिक १८ गतेबाट गाउँदेखि सहरसम्म १५ दिने मतदाता शिक्षा सञ्चालनमा ल्याइने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।  त्यसका लागि वडा वडामा एसएलसी सरहको स्वास्थ्य स्वयंसेविका नियुक्त गरेर घरदैलोमा मतदाता शिक्षा प्रदान गर्ने तयारी भएको जिल्ला निर्वाचन प्रमुख पन्तले जानकारी दिनुभयो ।  “यसको मुख्य उद्देश्य भनेको स्थानीय निर्वाचनमा बढेको बदर मतको सङ्ख्या यस पटकको निर्वाचनमा घटाउने हो”, उहाँले भन्नुभयो ।  उहाँले नयाँ नियुक्त भएका स्वास्थ्य स्वयंसेविका हातहातमा ब्रोसर र मतपत्र बोकेर प्रत्येक घर घर पुग्ने बताउनुभयो । मतदाता शिक्षाका लागि आठ जना अनुगमन अधिकृतसहित बाँकेका सबै पालिकाका ८१ वडाबाट स्वास्थ्य स्वयंसेविका ८१ गरी ८९ जना कर्मचारी परिचालन हुने छन ।  मतदातालाई खास गरी मतपत्र पटाउने, मताधिकारको प्रयोग, कस्तो मतपत्रमा कसरी स्वस्तिक छाप लगाउने भन्ने लगायतका विषयमा सिकाइने छ ।

  नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ ।      वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो ।      यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरुपमा समेत फाइदा पुगेको छ । वनसँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्था र सामुदायिक वनको सहकार्यमा रु तीन लाख १५ हजारको लागतमा सञ्चालित उद्योगबाट प्रारम्भिक चरणमा एक सय महिलाले रोजगार पाएको अमरज्योति सामुदायिक वनका अध्यक्ष टेकलाल रुचाल मगरले बताउनुभयो ।      परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ ।     “दुनाटपरीको कच्चापदार्थ सबै प्राकृतिक भएकाले प्रयोगपछि फोहर व्यवस्थापन सहज हुन्छ”, मगर भन्नुहुन्छ, “आफ्नै वनपाखामा झरेर खेरजाने पात टिपेर बनाइने भएकाले कच्चापदार्थको समस्या छैन । गाउँघरका महिलाका लागि सजिलो रोजगारी हुन्छ ।” हिन्दू संस्कारमा दुनाटपरी धेरै प्रयोग हुने भएकाले माग पनि कम नहुने मगरको विश्वास लिइएको छ । वातावरणीय दृष्टिले कुरा बुझाउनसक्दा प्रयोग झन् बढ्छ । “आफ्नो पुँजीअनुसार मानिसले सस्तो वस्तु खोज्नु स्वाभाविक भए पनि सालको पातको दुनाटपरी प्रकृति, स्वास्थ्य र संस्कृतिसँग जोडिएकाले माग धेरै छ”, उहाँले भन्नुभयो ।     सामुदायिक वनले १३ जना सदस्य रहेको उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाएको अध्यक्ष मगरले बताउनुभयो । वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा (आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण) उपसमितिले टपरी एक रुपैयाँ ४० पैसा र दुना ७० पैसामा खरिद गर्ने गरेको मगरले जानकारी दिनुभयो ।      उद्योग चलाउन सामुदायिक वनले गठन गरेको उपसमितिले उपभोक्ताले खरिद गरेर ल्याएको लाफालाई मेसिनबाट दुनाटपरी बनाएर बजारमा पठाउने गरेको छ । तयारी दुनाटपरी बजारमा पुग्दा दुनाको दुई रुपैयाँ ५० पैसा र टपरीको पाँच रुपैयाँ पर्ने गरेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।      उहाँकाअनुसार एक महिलाले अहिलेको अवस्थामा पाँचदेखि सात सय रुपैयाँसम्मको लाफा उपसमितिलाई बेच्ने गरेका छन् । सामुदायिक वनले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएपछि उपभोक्ता महिला खुसी भएका छन् । दुनाटपरीको लाफा बेचेर सामान्य खर्च चलाउन सहज हुन लागेको वनकी उपभोक्ता बीमा नेपाली बताउनुहुन्छ । “पहिलेपहिले श्रीमान्ले पैसा नपठाउँदासम्म दैनिक खर्च चलाउनै गाह्रो हुन्थ्यो, अहिले दैनिक नूनतेल, बच्चाको कापीकिताब यसैबाट पुग्न लागेको छ”, नेपालीले भन्नुभयो ।     सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ । विषेशतः जिल्लाको दलदले, कावासोती तथा छिमेकी जिल्ला चितवनको नारायणघाट बजारका होटल तथा रेष्टुरेन्टबाट माग आउने गरेको अध्यक्ष मगरले बताउनुभयो । “अहिले बजारबाट आएको मागअनुसार उत्पादन गरेका छौँ, अब बजार व्यवस्थापन गरेर उत्पादनलाई नियमित गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धार्मिक कार्यक्रमबाहेक होटल तथा रेष्टुरेन्टबाट माग आउनेक्रम बढेको छ ।”     एक दिन जङ्गल गएर टिपेको पातले तीन÷चार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घरव्यवहार चलाउन सहज भएको दुनाटपरी उद्योग सञ्चालनार्थ गठित उपसमितिकी अध्यक्ष टकमाया नेपाली बताउनुहुन्छ । हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । 

  मुस्ताङ ।  हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेद्वारको सक्रियता बढेको छ ।      एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांगे्रसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रविण शेरचन प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहनु भएको छ ।     मुस्ताङमा दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाले मनोनयपत्र दर्ता गराएकामा चार जनाले उम्मेदवारी फिर्ता गरेका थिए । प्रदेशतर्फ एमालेबाट क्षेत्र इन्द्रधारा विष्ट र चन्द्रमोहन गौचन, सत्ता गठबन्धनबाट विकल शेरचन र नाम्डु गुरुङ, राप्रपाबाट जेम्स हिराचन र राप्रपा नेपालबाट कर्मा डोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ ।     त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्रबाट डा सुरेन्द्र शेरचन र सुरज लालचन र मानबहादुर विकको उम्मेदवारी परेकोमा सबैले फिर्ता लिनुभएको छ । प्रदेश सभातर्फ उम्मेदवारी दिएका जेमी हिराचनको पनि उम्मेदवारी फिर्ता भएको छ । प्रदेशतर्फ भने कुनै पनि स्वतन्त्र उम्मेदवारी परेको छैन ।  चुनावी गतिविधि बढ्दै गर्दा पर्यटकीयस्थल मुस्ताङमा यतिखेर उम्मेदवार यहाँको पर्यटकीय विकाससँगै सडक, खानेपानीलगायतका पूर्वाधारको व्यवस्थापन गर्ने प्रतिबद्धतासहित घरदैलोमा पुगेका छन् ।     पर्यटकीय मौसम भएका कारण यता उम्मेदवारलाई मतदाता भेट्न भ्याइनभ्याइ छ भने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले यहाँको चहलपहल बढाएको छ । लामो समय कोरोना कहरका कारण थलिएको यहाँको पर्यटन विस्तारै फस्टाउँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम चेकपोष्टको तथ्याङ्ले चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मुस्ताङमा सडकमार्ग र हवाईमार्ग हुँदै नौ हजार बढी विदेशी पर्यटक भित्रिएको देखाउँछ । जसमध्ये लगभग ७५ प्रतिशत पर्यटक सार्क मुलुकका छन् ।     गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १० हजार चार सय ८५ मतदाता रहेको यस जिल्लामा सात हजार पाँच सय ५७ मत खसेको थियो । अध्यक्ष पदमा एमालेले चार हजार एक सय २६ मत पाएको थियो भने कांग्रेससहितको गठबन्धनले तीन हजार ९१ मत पाएको थियो । अध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनभन्दा एमालेले पाएको मत एक हजार ३५ ले बढी छ भने उपाध्यक्ष पदमा कांग्रेससहितको गठबन्धनले तीन हजार दुई सय ३६ मत पाएको थियो भने एमालेले तीन हजार सात सय २० मत पाएको थियो ।     जिल्लाको पाँचै तहको उपाध्यक्षको मतभार तुलना गर्दा कांग्रेसभन्दा एमालेको मत चार सय ८४ ले बढी छ । पाँचवटै तहमा एमालेले दुई हजार दुई सय ५४ मत ल्यायो भने कांग्रेसले दुई हजार ७० मत पायो । वडाध्यक्षमा एमाले एक सय ८४ मतले बढी पाएको छ । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार करिब पाँच सय बढी मतदाता नयाँ थपिएका छन् ।     प्रादेशिक निर्वाचनअन्तर्गत प्रदेश ९ख० को तल्लो मुस्ताङमा थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका छन् । यहाँ गएको स्थानीय तह निर्वाचनमा एमालले अध्यक्ष दुई र उपाध्यक्ष एक पद जितेको थियो भने कांग्रेसले एक अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । यी तीन पालिकामा एमालेले अध्यक्ष पदमा दुई हजार सात सय ६९ मत र कांग्रेसले दुई हजार तीन सय ९२ मत पाएको थियो ।      त्यस्तै उपाध्यक्षमा एमालेले दुई हजार चार सय ४७ मत र कांग्रेसले दुई हजार चार सय ८२ मत पाएको थियो । प्रदेश ९ख०मा एमालेले अध्यक्ष पदमा कांग्रेसभन्दा तीन सय ७७ मत बढी पाएको थियो । मुस्ताङको प्रदेश ९क० मा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका पर्दछन् । यस प्रदेशमा एमालेले अध्यक्ष पदमा एक हजार तीन सय ५७ मत पाउँदा कांग्रेससहितको गठबन्धनले छ सय ९९ मत पाएको थियो । उपाध्यक्षमा एमालेले एक हजार दुई सय ७३ मत र गठबन्धनले सात सय ५४ मत पाएको थियो । यस्तै वडाध्यक्ष मतभारमा एमालेले नौ सय पाँच मत र कांग्रेस गठबन्धनले छ सय ७१ मत पाएको थियो ।     स्थानीय तहको मतपरिणामअनुसार प्रदेश ९क०मा एमालेले गठबन्धनभन्दा ६५८ मत बढी पाएको थियो । उपाध्यक्ष पदमा एमालेले गठबन्धनभन्दा पाँच सय १९ मत बढी पाएको थियो भने वडाध्यक्षतर्फ एमालेले दुई स ३४ मत बढी पाएको छ ।     गण्डकी प्रदेशको लाइफ लाइन बेनी, जोमसोम, कोरोला खण्डलाई कालोपत्रसँगै कोरोला नाकामा नेपालतर्फ भन्सारलगायतका पूर्वाधार तयार गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमप्रसाद तुलाचनले बताउनुभयो । मुस्ताङदेखि डोल्पा जाने बाटोको पूर्णताका साथै यथासम्भव दामोदरकुण्ड जाने मोटरेवल बाटो, कालीगण्डकी र यसका शाखा मोटरेवल पुल निर्माण प्राथमिकतामा रहने तुलाचनले बताउनुभयो ।     मुस्ताङको पर्यटकीय विकाससँगै सडक पूर्वाधार, कृषिको आधुनिकीकरणको मुद्दासहित आफू चुनावी अभियानमा जुटेको गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश गौचन थकालीले बताउनुभयो । जनतालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताको प्रत्याभूति गराउँदै पिछडिएका वर्ग र समुदायको उत्थान पनि आफ्नो प्राथमिकतामा रहेको थकालीको भनाइ छ । 

ढोरपाटन : पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढाकेका थियो । तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन् ।   चिया खेतीले बनमाराले ढाकेका पाखोबारी ढाकेपछि किसानसमेत निकै उत्साहित भएका छन् । स्थानीयवासीले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केहि बिरुवा ल्याएर लगाएका थिए । चियाको बिरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि किसान हर्षित भएका छन् ।   चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।    उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार बिरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाए उहाँले जानकारी दिनुभयो । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको बताउनुभयो ।    कार्कीले हालसम्म करिब रु ४२ लाख खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको उहाँको भनाइ छ । कार्कीले यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको बिरुवाले उत्पादन दिने समय आएको उहाँको भनाइ छ ।   “सुरुमा लगाएको बिरुवाले उत्पादन दिने समय आएको छ, अब वैशाख जेठ महिनातिर यसलाई टिप्ने छौँ”, उहाँले भन्नुभयो,“सुरुआती चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख बिरुवा गाउँभरी लगाउँछौँ ।”   स्थानीय भीमबहादुर थापाले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले बिरुवा सप्रिँदै गएको भन्दै एक÷डेढवर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “सुरुमा बिरुवा हुर्काउन समस्या भयो, अहिले राम्रो हुँदै गएको छ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रहेछ, अब जताततै बिस्तार गर्ने योजना छ ।” थापाले चिया प्रशोधनका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो ।    सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका किसान चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने दुई हजार एक सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरी आयआर्जनका माध्यम बनाइ गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।   अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका बिरुवाले उत्पादन दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । “परीक्षणका रुपमा लगाएको बिरुवा निकै राम्रो भयो, यसले किसानलाई थप ऊर्जा मिलेको छ, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।