रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा कौडा ( जुवा ) खेलिरहेका २३ जनालाई प्रकाउ गरेको छ ।    पोखरा महानगरपालिका ३० शिसुवास्थित यमुना पराजुलीको घरमा कौडा ( जुवा ) खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले २३ जनालाई नगद ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँसहित प्रकाउ गरेको हो ।    प्रकाउ पर्नेमा पोखरा महानगरपालिका ३० शिसुवा बस्ने २३ वर्षीय बिनित सुवेदी, ३० वर्षीय भिष्म लामिछाने, ६५ वर्षीय गोकर्ण कुमार श्रेष्ठ, ५३ वर्षीय मणि खनाल, ३६ वर्षीय निभान देवान, ४३ वर्षीय राजेन्द्र अर्याल, ३० वर्षीय विवश बास्तोला रहेको कास्की प्रहरीले जनाएको छ ।    त्यस्तै ३८ वर्षीय राजेन्द्र अधिकारी, ५० वर्षीय धुर्व तिवारी, ५० वर्षीय जनक थापा, ४८ वर्षीय नवराज भट्ट, ५३ वर्षीय शेखर पौडेल, ३६वर्षीय तिर्थ पौडेल, ३१ वर्षीय अमित गौतम, ३५ वर्षीय रेमश गुरुङ, ५० वर्षीय भुवन शर्मा, ३० वर्षीय प्रदिप चापागाई, २६वर्षीय अमृत श्रेष्ठ, ४९ वर्षी सुरज भट्राई, ४३ वर्षीय नारायण तिवारी, ४३ वर्षीय पुर्णबहादुर घले, पोखरा महानगर ३१ बस्ने ३५ वर्षीय विश्वज्योति सुवेदी र पोखरा महानगर ३२ बस्ने ४० वर्षीय  सागर श्रेष्ठ रहेका छन् ।    प्रकाउ परेका २३ जुवाडेलाई सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको असुर अन्र्तगत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्धा शिर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं : नेकपा(एकीकृत समाजवादी) ले महँगो प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ ।   सो पार्टीले आज सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा–२०७९ निर्वाचन घोषणापत्रमा मुलुकका लागि समय सुहाउँदो निर्वाचन प्रणाली अङ्गीकार गर्ने उल्लेख गरेको छ ।   समाजवादीको घोषणापत्रमा भनिएको छ, “अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो, भड्किलो र जटिलसमेत छ । हामी यस निर्वाचन प्रणालीमा सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसैपटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ र हाम्रा उम्मेदवारले पनि कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्नेछन् ।”   राजतन्त्रलाई परास्त गरी स्थापना गरिएको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक प्रणाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका आधारका रूपमा रहेको उल्लेख गर्दै समाजवादीले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि पहल गर्ने भएको छ ।     एकीकृत समाजवादीले  आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि उत्तिकै जोड दिएको छ । उसले पुँजीगत खर्च नहुँनु, महँगीको अचाक्ली वृद्धि तथा कालोबजारीलगायतका विकृतिलाई अन्त्य गर्न पहल गर्ने जनाएको छ ।    अर्थतन्त्रका बारेमा सो पार्टीको घोषणापत्रमा भनिएको छ, “नेपालको पछौटेपन, आयात आधारित राजस्वको मूल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोतसाधनमा दलाल पुँजीपतिको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृती, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या हुन् ।”   आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसक्दा यस क्षेत्रमा देखिएका समस्याबाट मुक्त हुन नसकिने र  परनिर्भरता कायमै रहने ठहर गर्दै एकीकृत समाजवादीले कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रको विकास र विस्तार गर्ने विषयलाई घोषणापत्रमा महत्वका साथ समावेश गरिएको छ ।   “परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो”, घोषणपत्रमा भनिएको छ, “यो कार्यभार वहन गर्नका निम्ति हामी दृढतापूर्व अगाडि बढ्न चाहन्छौँ । यसमा हामीलाई जनताको साथ चाहिएको छ ।”   ‘आर्थिक–सामाजिक रूपान्तरण : समाजवादका आधार निर्माण’ भन्ने नारा अगाडि सारेको एकीकृत समाजवादीले आफ्नो लक्ष्य वैज्ञानिक समाजवाद भएको स्पष्ट पारेको छ । “वैज्ञानिक समाजवाद भनेको सबै जनताका निम्ति खाना, छाना र नाना तथा शिक्षा, स्वास्थ्य र रोजगारी उपलब्ध गराइएको, उत्पादनका साधनमाथि समान हक भएको र सामाजिक न्याय एवं समानतासहितको समाज व्यवस्था हो”, घोषणापत्रमा भनिएको छ ।  नेपाली समाजमा आर्थिक–सामाजिक रूपान्तरणका लागि व्यापक अभियान सञ्चालन नगरी त्यो अवस्था निर्माण गर्न सकिँदैन । साथै आर्थिक–सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।   समाजवादीले राष्ट्रबीचको समानता, पारस्परिक लाभ, अहस्तक्षेप र सम्मानलगायत पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनी मान्यताका आधारमा छिमेकीलगायत सबै देशसँग सुमधुर सम्बन्ध राख्ने र उनीहरुले पनि नेपालसँग तदनुरूपकै सम्बन्ध राखुन् भन्ने अपेक्षा गरेको छ ।

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभएको छ ।    “देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका अध्यक्ष ओलीले आज बिहान आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका- ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गर्नुभयो ।   उहाँले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताउनुभयो । अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी ९ जसपा० को सरकार बन्ने उहाँको दावी थियो । उहाँले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्नुभएको थियो ।

काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आवश्यक पर्नेमध्ये अब एक करोड थान मतपत्र मात्रै छपाइ हुन बाँकी छ ।    दुवै प्रणालीतर्फ गरी करिब आठ करोड मतपत्र आवश्यक पर्नेमा  आजसम्म करिब सात करोड मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ भने आजसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ दुई करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।   पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छपाइभइसकेका मतपत्रमध्ये एक करोड २९ लाख ५३ हजार ५०० प्रदेशसभा र एक करोड ४६ लाख ३५ हजार प्रतिनिधिसभाका लागि रहेका छन् । आयोगले छपाइसँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ ।    ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालीकोट, दैलेख र सुर्खेत छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ ।   आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक–फरक मतपत्र प्रयोग हुने छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैँभर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्या अनुसार फरक फरक मतपत्र प्रयोग हुने छ ।((

महेन्द्रनगर : खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना हुनुभएको छ ।   पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ । हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुनुहुन्छ ।   “हामीले खेलकुदका माध्यमबाट देश चिनाएर आफ्नो कर्तव्य पूरा ग¥यौ”, हाल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा म्यादी प्रहरीमा कार्यरत धामीले भन्नुभयो, “तर राज्यले इतिहास रच्ने खेलाडीको रोजगारीको ग्यारेन्टी नगर्दा खेलाडी हुँ भन्न पनि गाह्रो मान्नुपर्ने अवस्था आयो ।”   दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आउनुभएको छ । बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ ।   “आमाले भैँसीपालन गरेर दूध बेचेर हामीलाई यहाँसम्म पु¥याउनुभयो”, उहाँले भन्नुभयो, “अहिले कहिलेकाहीँ म पनि दूध बेच्न महेन्द्रनगर बजार आउँछु ।” धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौँमा स्वर्ण जितेर आउनुभयो ।    सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उहाँको भनाइ छ । “सानैमा बुवाले आमालाई छाडेर जाँदा उहाँले लगाउने खाने रहर अधुरै रह्यो”, धामीले भन्नुभयो, “म्यादी प्रहरीबाट आएको रकमले आमालाई थोरै भए पनि सुन किनेर रहर पूरा गर्ने योजना छ ।”   सङ्गीताकी बहिनी रीता प्रवीणता प्रमाणपत्र तह र सङ्गीता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । “दुवैको खर्च पनि मेरै खेलकुदबाट आएको रकमले चलेको थियो”, उहाँले भन्नुभयो, “अहिले स्वर्ण जितेर आउँदा रातो टीकासम्म लगाएर हौसला दिनुभएन ।”   खेलकुद र पढाइलाई निरन्तरता दिनुभएकी सङ्गीताले नेपाली सेना र प्रहरीमा जागिर खाने धोको पूरा नहुनेमा चिन्ता रहेको दुखेसो पोख्नुभयो । “ अन्तर्राष्ट्रियस्तरमा पदक मुलुकलाई दिलाउँदा कतै जागिर पाइन्छ कि भन्ने आशा थियो”, उहाँले भन्नुभयो, “अहिले पनि यति ठूलोे खेलाडी म्यादीमा हुँदा समाजले कति कुरा काट्छन कि भनेर चिन्ता हुन्छ ।”   खेलाडी भएर मुलुकको इज्जत बढाउने स्तरका प्रतिभावान खेलाडीलाई राज्यले रोजगारीका विषयमा सोच्नुपर्ने उहाँको भनाइ छ । “पदक दिलाउने  खेलाडीलाई पालिकास्तरसम्म भए पनि जागिरको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शरीरमा ताकत हुँदा खेलेपनि पछि गएर जिविका चलाउन बाहिरिनुपर्ने बाध्यता भयो ।”   उहाँले अन्य मुलुकमा अन्तर्राष्ट्रियस्तरमा पदक ल्याउने खेलाडीलाई सम्मान र रोजगारीको कुनै कमी नहुने गरेको बताउनुभयो । “अहिले म्यादीमा भर्ना भएर राज्यले गरिरहेको चुनावमा सुरक्षा प्रदान गर्ने जिम्मेवारी पाउँदा हर्षित नै छु”, उहाँले भन्नुभयो, “स्थायी रोजगारी पाउने आशैआशमा निराशा छाएको छ ।”   सङ्गीतासँगै कुस्तीकी नवौँ राष्ट्रिय प्रतियोगितामा अर्की स्वर्णपदक विजेता खेलाडी हेमा भट्टलगायत पाँच/छ जना राष्ट्रिय खेलाडी अहिले कञ्चनपुरमा म्यादीमा भर्ना भएका छन् । कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीलाई राज्यले सुविधा दिने विषयमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।    “सागको स्वर्ण जित्ने चेलीले आज जागरिका लागि भौतारिनुपर्ने बाध्यता आउनु राम्रो कुरो होइन”, उहाँले भन्नुभयो, “अब पालिकामा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्थाका लागि गुहार माग्छौँ ।” उहाँले खेलाडी भएर बाँच्न मात्रै गाह्रो रहेको बताउनुभयो । नवौँ राष्ट्रियमा सुदूरपश्चिमले १० स्वर्ण जित्दा कुस्तीमा मात्रै कञ्चनपुरका पाँच महिला खेलाडीले स्वर्ण दिलाएका थिए ।

पाल्पा : दुई दशकको समय धानखेतीमा बिताउनुभएका ज्यामबहादुर राना अहिले भने धानबालीबाट सन्तुष्ट हुनुहुन्न । रामपुर नगरपालिका कृषि शाखामा माग गरेबमोजिम १८ किलो सावित्री जातको धान करिब चार रोपनी जग्गामा लगाउनुभएका उहाँ सबै धानमा रोग लागेपछि चिन्तित हुनुहुन्छ ।           घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा हुनुहुन्छ । “लामो समय देखि धान लगाउँदै आएको हो, मलजल पनि राम्रै दिइएको भएपनि यो वर्ष धान राम्रो फलेन, परिवार कसरी धान्ने हो रु उहाँले भन्नुभयो, “केही फलेका बोट पनि सुक्दै गयो, यस्तो समस्या जीवनमा पहिलो पटक भोग्नुपरेको छ ।”    चार रोपनी जग्गामा राम्रो फल्दा २० मुरीसम्म उत्पादन लिने उहाँ यसपटक आधा पनि उत्पादन लिन हम्मेहम्मे पर्ने राना बताउनुहुन्छ । खेतमा लगाइएका धानबाली पसाउन भन्दाअघिदेखि बोट पहेँलै भएर सुक्दै जाने समस्या विस्तारै खेतभरि लगाइएका धानमा फैलिँदै जाँदा बाला नै निस्कन नसकेको उहाँको गुनासो छ । सो विषयमा कृषि प्राविधिकसमक्ष क्षतिपूर्तिका लागि जानकारी गराएको रानाले बताउनुभयो ।           अम्बिका डोटेलले कृषि शाखा रामपुरबाट ल्याइएको धानको बीउमा समस्या देखिएको बताउनुुहुन्छ । उहाँले राम्रो बीउ पाइन्छ भन्ने आशाले शाखामा नाम टिपोट गरी ल्याइएको बीउ नै खराबीका कारण समस्या देखिएको बताउनुभयो । “धान स्याहार्नै नपाइने गरी बिग्रेको छ, धान कुहिने सुइरा मर्ने, भित्रभित्रै रातै हुने, डढ्ने जस्ता समस्या देखिएपछि महँगो मूल्य तिरेर रासायनिक मल प्रयोग गरियो, बाला लागे पनि दाना पोटिला छैन, कुनै बालामा कालो दाग लागेको अवस्था, किसान पनि बाँच्नुप¥यो, क्षतिपूर्ति हामीलाई चाहियो, मलजल, श्रम सबै खेर जाने भयो”, उहाँले भन्नुभयो । यस्तो समस्या रामपुरका विभिन्न ठाउँमा लगाइएका धानबालीमा देखिएको किसानले बताएका छन् । केही किसानले बीउकै खराबीले समस्या भएको दाबी गर्छन् । सोही ठाउँकै हरिमाया गौतमले रामपुर नगरपालिकाबाट ल्याइएको बीउमा रोग लागेपछि ठूलो नोक्सानी परेको गुनासो सुनाउनुभयो । करिब ९० मुरी धानको उत्पादन लिने उहाँ यस पटक दश मुरी धान उत्पादन लिन पाइएला या नपाइएला भन्ने दोधारमा हुनुहुन्छ ।         बालामा दाना राम्रोसँग पनि लागेको छैन भने केही बाला लागेका धान पनि सुकेर नोक्सान पुगेको छ । गौतमले सावित्री जातको दुई बोरा धान रामपुर नगरपालिकाबाट वितरित धान ल्याउनुभएको हो । सो बीउ लगाएका खेतभरि नै समस्या देखिएपछि सम्बन्धित निकायले क्षतिपूर्ति दिलाउनुपर्ने उहाँको माग छ । “धान खेती गरेरै बुढ्यौलीपन लाग्यो, कहिलेकाहीँ मौसम अनुकूल नहुँदा सामान्य रोग किराको समस्या देखिए पनि अहिलजस्तो खेतभरि नै लगाएको धान नै बिग्रने गरी समस्या जीवनमा कहिल्यै भोग्नु परेन, धान लगाउँदा लागेको ट्याक्टर भाडा, मल, गोडमेल गर्दा लगाइएको खेताला सबै खर्च यो वर्ष नउठ्ने हुदा हामी किसान मारमा परियो”, उहाँले गुनासो पोख्नुभयो ।          धान पसाउने बेलामा परेको निरन्तर अबिरल वर्षाले क्षति पु¥याएपछि यसवर्ष धान उत्पादनमा कमी आउने देखिएको छ । वर्ष दिन खाने अन्नबाली राम्रोसँग स्याहार्न नपाउँदा कसरी पेट पाल्ने समस्या उत्तिकै छ । किसानले माग गरेअनुसार रामपुर नगरपालिकाले बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन ललितपुरबाट तोकिएको धान बीउ स्रोत केन्द्रबाट बीउ ल्याएर रामपुरका किसानलाई वितरण गरिएको हो ।          रौतहट चन्द्रपुरस्थित प्रतीक कृषि तथा बीउबिजन सहकारी संस्थाबाट २० हजार ९२० किलो सावित्री, चितवनको किसान मातृभूमि कृषि कम्पनी प्रालिमार्फत चार हजार ५८० किलो ल्याइएको सावाँ मन्सुली जातको धानको बीउ किसानको मागको आधारमा रामपुरमा वितरण गरियो । बीउमा समस्या नभई धानबालीमा फड्के किराको प्रकोपका कारण यसपटक समस्या देखिएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । “किसानको खेतबारीमा स्थलगत निरीक्षण गर्दा बीउमा समस्या देखिदैन, फड्के किराले धानको फेदबाट बालासम्म चुसेर सबै हरियो भाग खाइदिँदा यस्तो समस्या देखिएको हो, वर्षा धेरै भएकाले अहिले धानबालीमा रोग किराको समस्या निम्तियो”, शाखा प्रमुख पाण्डेयले भन्नुभयो ।         समस्या लिएर आउने किसानलाई स्थलगत बाली निरीक्षणपश्चात नगरपालिकाले निःशुल्क विषादी पनि वितरण गरेको उहाँको भनाइ छ । यसवर्ष रामपुरमा मात्र नभई अन्य छिमेकी पालिकामा पनि विभिन्न रोग किराको प्रकोपले धानमा असर पुगेको कृषि प्राविधिकहरु बताउँछन् ।         रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटलाई धान कम फलेपछि वर्ष दिनको गुजारा कसरी चलाउने चिन्ताले सताएको छ । फड्के किराले सखापै पार्ने गरी धानबालीलाई सतायो । दुःखँंग लगाइएको धान भकारी भरेर वर्षदिनलाई परिवार पालौला भन्ने आशामा रहनुभएका उहाँ बाली भित्र्याउनै नपर्ने गरी रोग लागेर धानमा असर पारेपछि चिन्तित हुनुहुन्छ । “परिवारको आयस्रोत केही छैन, धान लगाएर वर्ष दिन जिविका धान्ने हो, बीउ राखेदेखि गोडमेल गर्दासम्म धेरै दुःख गरियो”, उहाँले भावुक हुँदै भन्नुभयो ।          वर्षा सकिएपछि काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नु परेको उहाँ बताउनुहुन्छ । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धान राम्रै फले पनि स्याहार्ने बेला रोगले सताउँदा ठूलो समस्या थपिएको छ ।         पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यसपटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उहाँलाई रातदिन सताएको छ । गतवर्ष काटेको धान वर्षाले डुबानमा परी ठूलै नोक्सानी उहाँले बेहोर्नुप¥यो । क्षतिपूर्तिका लागि रम्भा गाउँपालिकाले विवरण सङ्कलन गरेता पनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उहाँको गुनासो छ ।          सगाहाको नौसय मुरी खेतभरि नै महामारीको रुपमा किराले सताउँदा यो वर्ष धानको उत्पादन घट्ने अगुवा कृषक ऋषिराम अर्याल बताउनुुहन्छ । उहाँका अनुसार गतवर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिदा खासै धानमा असर परेन तर यसपटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समय देखि धान लगाउँदै आएको भएपनि यसपटक जस्तो महामारीको रुपमा फड्के किराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।         पाल्पाको रामपुर, माडीफाँट, हँुगी, अगाहाखोलालगायतका क्षेत्रमा धानबालीमा विभिन्न समस्या देखिएको छ । ठूलै समस्या देखिएको ठाउँमा स्थलगत निरिक्षण गरी आकस्मिक बाली उपचार सेवा दिइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । रोग किराको पहिचान गरी कार्यालयबाट किसानलाई विषादी उपलब्ध तथा प्राविधिक सेवा दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत असोजको अन्ततिर परेको अबिरल वर्षाले धानमा रोगको समस्या देखिएको हो ।          पाल्पामा करिब आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाई गरिदै आइएको छ ।  जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ्ग, पूर्वखोला, दोभानलगायतका क्षेत्र धान उत्पादको मुख्य पकेट क्षेत्र हुन् । साबित्री, हाइब्रिड, रामधान, सावाँ मन्सुलीलगायतका धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषकहरु उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् । 

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।    सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेले सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीको अभियोगपत्र दायर गरिएको जानकारी दिए । अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा पेस भएको छ । जबर्जस्ती करणी मुद्दाको माग दाबी छ । १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ, उनले भने, आज मुद्दा बुझायौं । भोलि गोलाप्रथाबाट कुन न्यायाधीशकोमा मुद्दा पर्ने थाहा हुन्छ । त्यसपछि प्रतिवादीको बयान हुन्छ र थुनछेक बहस सुरु हुन्छ ।’   लामिछानेले नाबालक युवतीलाई जबर्जस्ती करणी गरेको आरोप गत भदौमा लागेको थियो । उनीविरुद्ध भदौ २१ गते १७ वर्षीया एक नाबालिग किशोरीले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।   गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी असोज २४ गते अदालतमा उपस्थित गराएको थियो ।   गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा उनले आफूलाई भदौ ५ मा गाडीमा राखेर नगरकोट पुर्‍याएको, त्यही साँझ अबेर फर्किएर तिलगंगाको एक होटलमा लगेर बलात्कार गरेको उल्लेख गरेकी छन् । होटलमा बसेको भोलिपल्टै लामिछाने केन्यासँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न राजधानी नैरोबी प्रस्थान गरेका थिए ।   केन्यासँग ट्वान्टी-२० पछि एकदिवसीय शृंखला पनि भएको थियो तर लामिछाने उक्त शृंखला नखेली क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बेस्ट इन्डिज पुगेका थिए । लामिछाने वेस्ट इन्डिजमै रहँदा भदौ २२ मा उनीविरुद्ध प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता भएको थियो । त्यसको भोलिपल्ट काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

जाजरकोट : उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी, नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी, नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिनुभयो ।   चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उहाँको भनाइ छ । आफ्नो मात्र सात वटा चौँरी मरेको उहाँले बताउनुभयो । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उहाँले जानकारी दिनुभयो ।    चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी ९मान्नागखिया०मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए ।  केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन् । जथाभावी सेतक चिनी सङ्कलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताउनुभयो ।   चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्य हुने उहाँको भनाइ छ । उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ । मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ । नाउर हिउँ चितुवाको मुख्य आहारा हो । 

काठमाडौं : आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ ।    मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।       आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।    उक्त दफा १३ (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।    आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।    आचारसंहिताबमोजिम दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिनेछ । यस्तै कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधान आचारसंहितामा रहेका सम्बन्धमा पनि आयोगले स्मरण गराएको छ ।   आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएका सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लङ्घनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउनेक्रम जारी छ ।       आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।