बझाङ : बझाङ जिल्लाको लेखगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ९ः२६ बजे उक्त स्थानलाई केन्द्रविन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।
नवलपुर : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना६ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब एक सय ५० मिटर तल खस्दा आज विहान दुर्घटनामा परेको थियो । घटनास्थलमै पाँच जनाको मृत्युु भएको ३० घाइते भएका इलाका प्रहरी कार्यालय बुलिङ्टारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–१ का तारा विक, विनय विक, धनी विक, देवी गाहा र स्याङ्जा गल्याङ नगरपालिका–९ बेलचौरकी फूलमाया माझी छन् । त्यसैगरी दुर्घटनामा घाइते हुनेमा बसचालक पाल्पा रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने दिलकुमार श्रेष्ठ, बस सहचालक रामपुर–४ बेझाड बस्ने साजन श्रेष्ठ, रम्भा – १ का अङ्कित सुनार, कृष्ण केवट, प्रवीण सुनार, रामबहादुर विक, रीता विक, कासीराम विक, विशाल विक, आइसा विक, अविनाश विक, पुष्पा विक, मेघनाथ विक छन् । त्यसैगरी स्याङजा बेलचौर नगरपालिका–९ की दिलमाया राना, रविन राना, पाल्पा झडेवाकी सुमित्रा विक, रम्भा गाउँपालिका–१ की रिमा विक, सन्जु सुनार, प्रेमबहादुर सुनार, आषिश सुनार, विजय विक, माया विक, स्याङ्जा गल्याङ–८ का मनोजकुमार विक, सरिता माझी, उमाकुमारी विक, रामु राना, रम्भा –१ की अस्मिता सुनार, ओमबहादुर विक, सेती विक र शिवकुमारी विक रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र सबै घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
नवलपुर : पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो दुर्घटनामा परी २५ जना घाइते भएका छन् । सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गर्नुभएको छ । छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिई सम्पन्न गरिन्छ । प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गर्नुभयो । विगतमा विशेषगरी तराई/मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उहाँले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएका बताउनुभएको छ । कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्दै सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । छठपर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास व्यक्त गर्नुभयो । राष्टपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “छठपर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।” राष्ट्रपति भण्डारीले छठको पावन अवसरमा विश्वभर रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । खासगरी नेपालको तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठीमाताको पूजा अर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालिएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गर्नुभएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । बिनाभेदभाव सम्पूर्ण प्रणालीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अध्र्य दिएर छठपर्व मनाइन्छ ।
काठमाडौं : छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । व्रतविधि कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठपूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताउनुभयो । “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ । छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।
भक्तपुर : सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन भक्तपुरका पोखरी एवं खोला सिङ्गारिएका छन् । छठपर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका हुन् । तराईबाट स्थायी तथा अस्थायीरूपमा भक्तपुरमा बसाइँ सरेर आएकाले भक्तपुरमा छठपर्व मनाउन पोखरी सिङ्गारेको कमलविनायक निवासी आत्मराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले छठपर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाउने गरेको बताउनुभयो । छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका लागि भक्तपुर र मध्यपुरथिमिका पोखरी तथा मनोहरा खोला सिङ्गारिएका हुन् । सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी, हनुमानघाटका त्रिवेणीको जलाशयको किनार, मध्यपुरथिमिको विष्णु कुण्ड र मनोहरा खोला किनारा सिङ्गारिएका पर्वको तयारीमा जुटेका सप्तरी स्थायी घर भई भक्तपुर व्यापार गरी बस्दै आएका यवती यादवले बताउनुभयो । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठपर्वलाई सहयोग गर्दै आएका छन् । छठको रौनकताले यहाँका पोखरी एवं खोला झिलीमिली भएका छन् ।
तनहुँ । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो । विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल परे । कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थाल्यो । बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहारको लामो बिदाका कारण बन्दीपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ । “बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भन्नुभयो, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।” विदेशी पर्यटकको सहभागितामा आज बन्दीपुरमा दौड प्रतियोगिता आयोजना हुँदैछ । प्रधानका अनुसार शुक्रबार र शनिबार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । “तिहार र छठका कारण लामो बिदा परेकाले स्वदेशी पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ”, उहाँले भन्नुभयो, “दसैँ बिदामा पनि स्वदेशी पर्यटकको बन्दीपुरमा आगमन भएको थियो ।” जाडो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् । होटल व्यवसायी बसन्त पौडेलले अब बन्दीपुरमा पर्यटकको आगमन बढ्ने बताउनुभयो । यो मौसम विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउनेक्रम बढ्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । बन्दीपुर आउने विदेशी पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प छ । “पहिलापहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, पौडेलले भन्नुभयो । “नेपाल आएका पर्यटक पोखरा, सौराहालगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।” सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रु, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।
ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताउनुभएको छ । ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आज उहाँले संविधानमा भएका कमी–कमजोरी सच्याउन परिमार्जनको आवश्यकता रहेको र आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । “राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्छौँ, तर संविधानको जग उखेल्न दिँदैनौँ”, प्रवक्ता महतले भन्नुभयो । उहाँले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । “ठूलो मेहेनतले बनाएको संविधानलाई ध्वस्त गर्ने चक्करमा नेकपा (एमाले) लागेको थियो, हामीले त्यसलाई रोक्यौँ, अहिले संविधानका विरुद्ध अनेकौँ प्रवृत्ति देखापरेका छन्”, उहाँले भन्नुभयो, “संविधानको उपलब्धिलाई खत्तम पार्न केही पक्ष लागिपरेका छन् । संविधानको रक्षा गर्न जरुरी छ ।” कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न गठबन्धन बनाइएको उल्लेख गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो । ललितपुर क्षेत्र नं ३ प्रदेशसभाका उम्मेदवार द्वय राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रुपान्तरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

