उम्मेदवारलाई बाढी पीडितको प्रश्न काम नगर्नेलाई किन भोट दिने ?

अछाम | कात्तिक १२, २०७९

उम्मेदवारलाई बाढी पीडितको प्रश्न काम नगर्नेलाई किन भोट दिने ?

 

भजनी । अछामको रामारोशन गाउँपालिका १ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो । 


बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए । सांसद तथा मन्त्रीहरुबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेर्नुभयो ।

 
तर आश्वासन पाए पनि विकले हालसम्म पनि राहत पाउनु भएको छैन । बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ ।


प्रेमबहादुरको खेत मात्रै होइन त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो । प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरुप्रति असन्तुष्ट बन्नुभएको छ ।  


उहाँहरु आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेताहरुलाई यही प्रश्न सोध्ने तयारीमा हुनुहुन्छ । “विपदको समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेताहरुलाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु”, नयन विकले भन्नुभयो । 


हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गर्नुभयो । 


“हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौँ भनेर कसैले सोधेन,” नयन विकले भन्नुभयो, “चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौँ भन्नेलाई कसरी विश्वास गर्नु ?”


प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनाल खेत पनि बगाएको थियो । 


“५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो”, खनालले भन्नुभयो, “सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन् ।”
 
 
कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयमा बाँकी छ । बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयबासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन ।


सङ्घ र प्रदेश सरकारसँग पटकपटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउनुहुन्छ ।  “पछिल्लो दुई वर्षको अवधिमा व्यवस्थापनका लागि कैयन प्रयास भए तर काम हुन सकेन”, उहाँले भन्नुभयो ।

 
उहाँले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेर भन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताउनुभयो । 


“कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ छ । निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजनाका ल्याउँछ हामी उसैलाई भोट दिन्छौँ”, उहाँले भन्नुभयो । 

 
तत्कालीन बाढीले क्षति पु¥याएको जयगड, रामारोशन सडक पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारीसाधन सञ्चालनमा आउने गरे पनि सहजरुपमा सडक सञ्जाल विस्तार नसकेको हो ।


सुदूरपश्चिम प्रदेश सरकारले जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरु गरेपछि खोलाको कटानको बाहनामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ । बाढीले कटान गरेका कैयौँ ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन । 


आसन्न निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनको तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 


साथै, प्रदेश ‘क’ बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश ‘ख’ बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा हुनुहुन्छ ।

बर्दिया:   मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुत...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहय...

थप पढ्नुहोस्