रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

बागलुङ । बागलुङका च्याङ्ग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्ताङ्गी च्याङ्ग्रा बागलुङ ल्याउनुभएको छ ।  दसैँका लागिसमेत बागलुङमा मुस्ताङ्गी च्याङ्ग्रा ल्याएर बिक्री गर्नुभएका शर्माले तिहारका लागि सोमबार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्याङ्ग्रा भित्र्याउनुभएको हो । दसैँमा ६७ वटा च्याङ्ग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्याङ्ग्रा÷च्याङ्ग्री बागलुङ भित्र्याएको बताउनुभयो ।  “दसैँमा च्याङ्ग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्याङ्ग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्”, शर्माले भन्नुभयो, “बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्याङ्ग्राको मूल्य रु ३५ हजार छ, दसैँमा ठूला च्याङ्ग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।” उहाँले बागलुङ बजारमा च्याङ्ग्राको माग उच्च रहेको बताउनुभयो । तिहारअघिसम्म च्याङ्ग्रा बिक्री गरिसक्ने उहाँको लक्ष्य छ । उहाँले ल्याएका ५१ वटा च्याङ्ग्रा÷च्याङ्ग्रीमध्ये २० वटा बिक्री भइसकेको बताउनुभयो । च्याङ्ग्राको मूल्य रु ३५ हजार र च्याङ्ग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ । मुस्ताङका च्याङ्ग्राको माग दसैँमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्याङ्ग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुई पटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दसैँ तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्याङ्ग्राको आयात भएको थियो । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको चयाङ्ग्रा व्यापारीले बताएका छन् ।  हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्याङ्ग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्याङ्ग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।

  डोल्पा । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने भएपछि गुरुङलाई जसरी नि चिसो मौसममा परिवार पाल्नका लागि खाद्यान्नको जोहो गर्नुपरेको हो ।  उहाँको घरमा आठ जनाको परिवार छ । वर्षमा एक पटक मात्र पाक्ने अन्न उवाले सबै घर परिवारलाई पाल्न मुस्किल भएपछि सदरमुकाम दुनैबाट चामल ढुवानी गरेर गाउँ सम्मा लिनुपर्ने गुरुङको बाध्यता हो । सदरमुकाम सम्मा मात्र सडक सञ्जाल जोडिएका कारण उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्ने उपयुक्त माध्यम घोडा, खच्चड र चौँरीको सहारा नै हुन् । उहाँजस्तै डोल्पोबुद्ध–१ का फुर्बा लामालाई समेत खाद्यान्न जम्मा गर्नकै पिरलो छ । हिमपातले बाटो बन्द नहुँदै खाद्यान्न जोहो गर्नु उहाँलाई बाँच्नका लागि सङ्र्घषजस्तै भएको छ ।   आर्थिकरुपमा बलियो भएका यहाँका स्थानीयवासी उपल्लो डोल्पाबाट अन्यत्र अस्थायीरुपमा बसाई सरे पनि निम्न आर्थिक अवस्था रहेका उपल्लो डोल्पाका सर्वसाधारण हिउँमै प्राकृतिक नाकाबन्दीमा परेर भए पनि थाकथलोमा बस्दै आएको लामाले जानकारी दिनुभयो । मङ्सिर ४ गते हुने चुनावको अन्य ठाउँमा भारी चिन्ता भए पनि उपल्लो डोल्पामा खाद्यान्न जोहोदेखि हिउँले कति समयभित्र बाटो बन्द गर्ला भन्ने चिन्ता बढी रहेको लामाको भनाइ छ ।  उपल्लो डोल्पाका तीनवटा पालिकामा कुन समयमा हिमपात हुन्छ वा मौसम बिग्रिन्छ थाहा नै नहुने गरेको शे फोक्सुण्डो गाउँपालिका–२ का पेम्मा ग्याल्छेल लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुविधा सम्पन्न ठाउँमा गफ लगाएजस्तो हाम्रो ठाउँमा छैन, भनेको समयमा औषधि, खानेकुरा, यातायातको सुविधा पाइँदैन । अब प्रकृतिले नै हामीलाई नाकाबन्दी लगाउँदै छ । भोट पनि कसरी खसाउने हो, समयमै हिउँ बढी परेमा मतदान केन्द्र सम्मा जानसमेत मुस्किल होला ।” उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चामलसमेत छैन । लामो समयदेखि उपल्लो डोल्पामा चामल अभाव भए पनि व्यापार कम्पनीले ढुवानी गर्न नसकिएको खाद्य व्यस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख विष्णु घिमिरेले जानकारी दिनुभयो । कात्तिकदेखि फागुनसम्मा उपल्लो डोल्पामा हिउँले ढोकेको हुन्छ । हिउँले ढाक्ने समयमा सदरमुकाम दुनैदेखि उपल्लो डोल्पा जान र आउन समस्य हुने गरेको छ ।    जुफाल र दुनैबाहेक अन्य कुनै पनि ठाउँमा चामल नभएको उहाँले जानकारी दिनुभयो । जुफालमा दुई सय क्विन्टल चामल रहेको र दुनैमा पनि सोही अनुपातमा भएका कारण तत्काल सडक सञ्चालन नभए खाद्यान्न सङ्कट पर्नसक्ने प्रमुख घिमिरेले जानकारी दिनुभयो । जाजरकोट– डोल्पा सडकखण्डको डोल्पाखण्डको सडक अझै सञ्चालन नभएका कारण खाद्यान्न ढुवानीमा समस्य हुँदै आएको घिमिरेको भनाइ छ । उपल्लो डोल्पामा एकमात्र बिक्री केन्द्र रहेको छ ।  त्यहाँ रहेको डिपोमा एक वर्षदेखि चामल नभएको स्थानीयवासीले बताएका छन् । नयाँ ठेक्का सदर भए पनि अहिले सम्मा चामल ढुवानी हुन सकेको छैन । सहुलियतमा पाइने व्यापार कम्पनीको चामल जनताले नपाएर दैनिक फर्किरहेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । चामल मात्र नभएर यहाँ नुनसमेत नभएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । उपल्लो डोल्पामा आयोडिनयुक्त नुन ढुवानी नभएको पाँच वर्ष भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो ।  तिब्बतको बाटो हुँदै उपल्लो डोल्पामा नुन ढुवानी गर्नुपर्ने भए पनि सो कार्य पाँच वर्षदेखि रोकिएका कारण तेन्जे डिपोमा नुन ढुवानी हुन नसकेको हो । तीन पालिकामा लक्षित गरेर तिन्जे डिपोमा नुन ढुवानी हुने गरेको थियो । तल्लो डोल्पाका पाँच ठाउँमा रहेका केही डिपोमा मात्र नुन ढुवानी हुने गरेको छ । यातायातको पहुँच भएको ठाउँमा मात्र नुन ढुवानी हुने गरेको कार्यालय प्रमुख धामीले बताउनुभयो । 

  झापा । मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको शालिकमा आज माल्यार्पण गरिएको छ ।  पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बित्तिकै सुन्दर पार्कमा रहेको भव्य शालिकमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकूलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेतीले ११४औँ देवकोटा जयन्तीको अवसर पारेर माल्यार्पण गर्नुभयो । सुसेली साहित्य प्रतिष्ठानले लक्ष्मीपूजाको दिन प्रत्येक वर्ष सो पार्कमा भव्य कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रज्ञासभा सदस्य सुभद्रा अर्याल, साहित्यका पुण्य खरेललगायतले देवकोटाको बारेमा चर्चा गर्नुभयो ।  कार्यक्रममा साहित्यकार मीरा पोखरेल, गणेश निरौला, लय भण्डारी, विनोद खनाल, ज्ञानेन्द्र ढुङ्गाना, देवेन खरेललगायतले कविता वाचन गर्नुभएको थियो । 

  काठमाडौं । फूलैफूलको पर्वका रुपमा लिइने तिहारमा रु १३ करोड ५० लाख बराबरको पुष्पमाला कारोबार भएको छ । तिहारको समयमा करिब साढे २४ लाख मालाको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । “यस वर्षको तिहारमा करिब साढे २४ लाख माला खपत हुने हाम्रो अनुमान छ । त्यसमध्ये सयपत्रीको मात्रै २० लाख मालाको माग हो”, तामाङले भन्नुभयो, “थोक मूल्यका आधारमा रु साढे १३ करोड बराबरको फूल र मालाको कारोबार हुने अनुमान छ ।” यद्यपि, खपत र कारोबार रकमबारे वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने उहाँको भनाइ छ । फ्यानका अनुसार यस वर्षको तिहारका लागि साढे २४ लाख मालाको माग छ । सबैभन्दा बढी सयपत्री मालाको माग छ । यसवर्ष बिक्री हुने अनुमान गरिएका २० लाख सयपत्रीका मालामध्ये १७ लाख माला नेपालभित्रकै उत्पादन रहेको र तीन लाख माला भारतबाट आयात गरिएको छ । त्यस्तै, यस वर्ष तीन लाख २५ हजार हाराहारी मखमली मालाको किनबेच हुने अनुमान गरिएको छ । बीसदेखि २५ हजारको सङ्ख्यामा गोदावरी फूलको माला बिक्री हुनेछ । नेपालबाट मखमली माला निर्यात भएको छ । तिहारको समयमा मात्रै करिब एक लाखको सङ्ख्यामा मखमली माला निर्यात हुने गरेको फ्यान अध्यक्ष तामाङले बताउनुभयो । “मखमली फूल विश्वका विभिन्न देशमा जान्छ । भारत र विभिन्न देशमा रहेर तिहार मान्ने नेपालीले मखमली मालाको माग गर्ने गरेका छन् । एक लाखको सङ्ख्यामा मखमली माला हामीले निर्यात गरेका छौँ”, उहाँले भन्नुभयो । यस वर्ष सयपत्री फूलको प्रतिमाला थोक मूल्य रु ५५ रहेको छ । त्यस्तै, मखमली फूलको मालाका रु ४० मा कारोबार भइरहेको छ । यद्यपि खुद्रा मूल्य भने फरक छ । पसलैपिच्छे फरक–फरक मूल्यमा बिक्री भइरहेका छन् । फूल र मालाको कारोबार यस वर्ष पनि गत वर्षकै मूल्यमा भइरहेको फ्यानले जनाएको छ । “उत्पादन, आयात र कारोबारको अवस्था हेरेर हामीले यस्तो अनुमान गरेका हौँ । यो वर्ष सयपत्रीको माला गत वर्षकै मूल्यमा कारोबार भएको छ । मखमलीको मालामा भने रु पाँच जति बढेको छ ।” अध्यक्ष तामाङले भन्नुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपालभित्रकै उत्पादनले धान्न सक्ने अवस्था रहे पनि व्यवसायीले बढी नाफा कमाउनका लागि भारतबाट आयात गर्ने गरेका छन् । “हामीलाई चाहिने जति माला नेपालभित्रै उत्पादन हुन्छ । यस वर्षको उत्पादन पनि बढी नै हो”, तामाङले भन्नुभयो, “नेपालको उत्पादन पर्याप्त भए पनि भारतीय मालामा बढी नाफा हुन्छ । त्यस कारण व्यापारीले भारतबाट ल्याउने गरेका छन् ।” यस वर्ष बजारको मागभन्दा बढी आयात भएको देखिन्छ । अर्कोतर्फ आयातित माला मूल्यमा पनि सस्तो हुने भएका कारण नेपाली उत्पादनले बजार नपाउने तर भारतबाट ल्याइएका फूलमाला तिहारमा प्रयोग हुने देखिएको छ ।

काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा आज लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।      ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ । आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सामान्य अवस्थामा ग्रहण सकिने बित्तिकै अन्न खान समस्या नभए पनि आज ग्रस्तास्त सूर्यग्रहण लागेकाले बुधबार बिहान सूर्योदयपछिमात्र बाल, वृद्ध र रोगीबाहेकले भोजन गर्नुपर्ने नियम छ ।      बाल, वृद्ध र बिरामीले भने ग्रहणका बेला पनि भोजन गर्न सक्ने जनाइएको छ । यस्तो अवस्थामा पानी, कन्दमूल, फलफूल, हवनीय वस्तु (जौ), श्रोत्रीय ब्राह्मणलाई बनाएको खाना, गुरुको वचन र औषधि गरी आठ कुरा खान सकिने शास्त्रीय व्यवस्था रहेको उहाँले सुनाउनुभयो । आधुनिक विज्ञानले भने ग्रहणमा भोजन निषेध नगरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।      सूर्यग्रहणमा १२ घण्टाअघिदेखि र चन्द्रग्रहणका बेला नौ घण्टाअघिदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई शास्त्रीय आधारमा भोजन निषेध गरिएको छ । औँसीका दिन सूर्य र पूर्णिमाका दिन चन्द्रग्रहण लाग्ने गर्छ ।

  महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् । साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिनुभयो ।      “साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या १४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। कृष्णा महर्जनले भन्नुभयो । यो बर्दिबास अस्पतालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि डेङ्गु परीक्षण गर्दै आएका छन् ।      अस्पतालमा मात्रै गत साउनमा २६ जना, भदौमा १२४ जना, असोजमा २३९ जना र कात्तिकको सात गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई जना, भदौमा २४ जना, असोजमा ९४ जना र जारी कात्तिक७ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालको भनाइ छ ।     चाडपर्वमा भिडभाड बढ्ने र सरसफाइमा उचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नामक लामखुट्टेको संख्या बढेकाले सङ्क्रमण फैलिएको अस्पतालको भनाइ छ । बर्दिबास विगत पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहेको क्षेत्र हो ।      पछिल्ला चार वर्ष न्यून संख्यामा मात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा डेङ्गुको आतङ्क नै फैलिएको थियो । २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको नगर कार्यपालिका कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ ।      नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरभित्रका सबै १४ वटा वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाई गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनासक औषधी छर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले बताउनुभयो ।

  काठमाडौं । निर्वाचन आयोगले झुठ फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।  फेसबुक पेज तथा ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूलाई विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति दिने र भ्रामक सामग्री प्रकाशन गरेको भन्दै उक्त निर्देशन दिएको हो।  झुठ फेसबुक पेज र ग्रुपहरू सिर्जना गरी दलका नेताहरू विरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिन्छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज तथा ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।  उक्त फेसबुक पेज तथा ग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।

  काठमाडौं । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तिहारमा मौसम सफा रहने जनाएको हो । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले वर्षा गराउने कुनै मौसमी प्रणाली विकसित नभएकाले यो पटकको तिहारमा मौसम सफा रहने बताउनुभयो । वर्षाका कारण दसैँमा आफन्त मान्यजनकहाँ टीका लगाउन जाने र विभिन्न गन्तव्यमा पुग्नेलाई निकै सास्ती दियो । पाकेको धानबालीमा पनि क्षति पु¥यायो, बाढी, पहिरो र डुबानका घटना पनि भए । त्यतिमात्रै होइन, शरद ऋतुको मुख्य पर्यटकीय सिजन पनि चलिरहेकामा वर्षाले आन्तरिक तथा बाह्य पर्यटनलाई पनि असर पुग्यो । तिहार आउन एक साताअघिदेखिनै देशैभरको मौसम सफा रहेको छ । आज तिहारको तेस्रो दिन गाईपूजा गरी मनाइएको छ । सोमबार साँझ लक्ष्मीपूजा गरी धुमधामका साथ मनाइयो । महाशाखाको पछिल्लो विवरणमा अहिले देशका पहाडी भेगमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । वरिष्ठ मौसमविद् पौडेलका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटफुट र हल्का वर्षा हुने सम्भावना छ तर, सानो–सानो बादलको टुक्रा रहेकाले ठूलो प्रणाली देखिँदैन । “मनसुन पनि बाहिरियो, पश्चिमबाट पानी पार्ने प्रणाली आउनुपर्छ त्यो सम्भावना देखिँदैन स्थानीय वायु पनि सक्रिय छैन । त्यसैले तिहारमा मौसम सफा रहने देखिन्छ । चिसो क्रमिकरूपमा बढ्दैछ, बिहान–बेलुका बढी चिसो हुन्छ”, मौसमविद् पौडेलले भन्नुभयो ।

  पर्वत । कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता  विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल मैदानमा भेटिन्थे । उनीहरुको खेलकुदमा बेग्लै उत्साह र लगाव पनि थियो ।  तर माओवादी द्वन्द्वकालमा कुश्माको बडगाउँ खेलकुद मैदानको जिम्मा सशस्त्र प्रहरीले लियो । खेलमा भविष्य खोज्दै गरेका युवा खेल खेल्नबाट बञ्चित भए । खेलमैदान नहुँदा लामो समयसम्म यस क्षेत्रमा खेलकुदका गतिविधि ठप्प रहे । आज पनि सदरमुकाम कुश्मामा राम्रो खेल मैदान बन्न सकेको छैन ।  विसं २०५८ मा बडगाउँ खेलमैदानमा सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलले गति लिन छाडेको खेलप्रेमीहरुको गुनासो छ । “मापदण्ड अनुसारको खेलमैदान नहुँदा एन्फाले दिने सेवा तथा सुविधाबाट फुटबल खेल र खेलाडी बञ्चित भएका छन्”, पूर्व फुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “पहिले हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो । तर अहिले त्यो हुन छाडेको छ ।” गुरुङसँग क्षेत्रीय तथा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका अनुभव छ । “२०५४ तिर बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्डमेडल जितेको थिएँ”, ४५ वर्षे खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, “अन्य जिल्लामा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन ।”    विगतमा बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबलटेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेल नियमित भइरहन्थे ।  तर लामो समयपछि पर्वतमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको राष्ट्रिय कराते खेल सञ्चालन भएको थियो । यसले यहाँका खेलाडी, दर्शक तथा खेलप्रेमीमा नयाँ उत्साह थपेको छ । “द्वन्द्वकालीन अवस्था र खेलमैदानको अभावले गर्दा पर्वत खेलकुदमा लामो समयसम्म पछाडि रह्यो, यसबीचमा पर्वतले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकेन”, कराते प्रशिक्षक तथा कराते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले भन्नुभयो ।  तर नवौँ राष्ट्रिय खेलकुदबाट पर्वतले पनि राष्ट्रिय खेल सम्पन्न गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । धेरै वर्षपछि खेलाडी, अभिभावक र खेलप्रेमीमा हौसला र उत्साह जागेको उहाँको भनाइ छ ।  “राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु सहज थिएन । आवश्यक पूर्वधार बिना पनि छोटो समयमा बन्दोबस्त गर्न सफल भयौं”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले भन्नुभयो ।  पूर्वधार निर्माणका लागि भनेर राष्ट्रिय खेलकुदबाट कुनै पनि रकम उपलब्ध नभएको उहाँको भनाइ छ । उहाँका अनुसार रु पाँच लाखभन्दा बढी रकम जिल्ला खेलकुद विकास समिति आफैले ऋण खोजेर खर्च गरेको छ ।  कुश्मामा सम्पन्न राष्ट्रिय कराते खेलले समग्र पर्वतको पहिचानलाई देशभर चिनाउन भूमिका खेलेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । “हामीले पूर्वाधार निर्माणका लागि रु दश लाख उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि भोलिका दिनमा पनि सहयोग गर्न कुनै कन्जुस्याइ हुँदैन ।”