रुपन्देही:  रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरुमा झण्ड...

दाङ : घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर  र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।       लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ ।    घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको  दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिनुभयो ।    महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिनुभयो ।  घटना विवरणसहित  क्षतिको विवरण सङ्कलन कार्य भइरहेको उहाँले बताउनुभयो । आगलागीबाट प्रारम्भिक रुपमा करिब १० करोडको क्षति भएको अनुमान गरिएको छ ।   लक्ष्मी पूजा सकिएपछि सबै सुतेको समयमा एक्कासि आगो लागेको देखियो, कोठाभरि समान थिए बाहिर निकाल्न नपाउँदै सबै आगोले खरानी भयो । कामदारको पारिश्रमिक र छोराको फी तिर्न आफूसँग कोठामा राखेको नगद ७५ लाख र गल्ला बक्समा रहेको नगद पाँच लाखसहित सबै फर्निचर जलेको फर्निचर सञ्चालक रुपनारायण शर्माले बताउनुभयो ।

काठमाडौं : कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।   ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ ।   शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ ।   ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नुहुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।       निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।      पुरिषे  कृमियोनिश्च  मैथुने  ग्रामसुकरः ।।     अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।      बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।   अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।     सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।   ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।            ग्रहण ‘स्वाती नक्षत्र र तुला राशिलाई अति कष्ट’     आजको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।    कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ स् ५२ बजेदेखि ग्रहणले स्पर्श गर्नेछ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब पौने ७ बजेसम्म ग्रहण रहने जनाइएको छ ।   यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

काठमाडौं :  कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।     गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।   गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।   वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

  ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा  मौलिकता भने गुमाउँदै गएको छ ।  देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।      यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बागलुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।      पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उहाँले भन्नुभयो, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु रु” आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उहाँको बुझाइ छ ।  “हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरु लोप भइरहेका छन्” उहाँले भन्नुभयो ।     स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव दिनुभयो ।      उहाँले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताउनुभयो । श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताउनुहुन्छ । तर पछिल्ला वर्षमा पैसा सङ्कलन गर्नका लागि विदेशी गीत, सङ्गीत र नाचको प्रयोग गर्ने गरेको उहाँको भनाइ छ ।     “प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई सङ्कटमा पार्नु हो, नयाँ पनि सिकौँ, अनुशरण गरौँ र पुरानोलाई पनि संरक्षण गरौँ भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन”, श्रेष्ठले भन्नुभयो, “नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।”     स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताउनुभयो । उहाँले बुढापाका  मौलिकताको खानी भएको भन्दै उनीहरुबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने बताउनुहुन्छ ।  पुनमगर भन्नुहुन्छ, “अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरुमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।”     पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्नुहुन्छ । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउनुहुन्छ ।

  पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनमा निर्वाचित भएपछि मुल्यवृद्वि नियन्त्रण आफ्नो मख्य प्राथमिकता रहेको एमाले उम्मद्वार मनवहादुर गुरुङले उद्घोष गरेका छन् । प्रतिनिधि  सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रत्यासी उम्मेदवार गुरूङले पछिल्लो समय बढ्दै गएको वेरोजगारी समस्या र मुल्यवृद्विले जनता मारमा परेको बताउँदै यसलाई नियन्त्रण गर्ने आफ्नो मुख्य एजेण्डा भएको उल्लेख गरे । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा पोखरा २७ का मतदातासँग उनले भुमिहिन,गुठि लगायत स्थानियका  समस्या समाधान गर्ने बताए । घरदैलो कार्यक्रममा कास्की क्षेत्र नम्वर १(क)का नेकपा एमालेको तर्फबाट प्रत्यासी उम्मेदवार खगराज अधिकारीले नेकपा एमालेलाई भोट हाल्न मतदाता आतुर भएको भन्दै नेकपा एमालेलाईलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरे ।  

  चितवन । चितवनमा भारतीय माछा बिक्री गर्न प्रतिबन्ध लगाइएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले माछा बिक्रीमा प्रतिबन्ध गर्ने निर्णय गरेको माछा व्यवसायी सङ्घ चितवनका अध्यक्ष खेम सुवेदीले जानकारी दिनुभयो ।  मत्स्य व्यवसायी सङ्घको केन्द्रीय र जिल्ला तहका नेतृत्वसहित जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो, कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष चिरञ्जीवी सुवेदीलगायतका सरोकारवालाको बसेको बैठकले माछाको आयात नगर्ने निर्णय गरेको हो ।  “हामीले चितवनलाई पुग्ने माछा उत्पादन गरिरहेका छौँ, भारतबाट आयात गर्नुपर्ने अवस्था छैन”, सुवेदीले भन्नुभयो, “भारतीय माछा बिक्री वितरणमा रोक लगाउन यहाँका सरोकारवाला पक्ष पनि सकारात्मक हुनुहुन्छ ।”      चितवनमा वार्षिक सात हजार मेट्रिकटन माछा उत्पादन भइरहेको तर माग भने वार्षिक चार हजार मेट्रिकटन मात्रै रहेको उहाँको भनाइ छ । चितवनमा उत्पादन भएको माछा काठमाडौँ, पोखरा, गोरखा, लमजुङ, बागलुङलगायतका सहरसम्म जान्छ । माछा व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले चितवन २ वर्षयता माछामा आत्मनिर्भर भएकाले भारतीय माछा बिक्रीमा रोक लगाइएको बताउनुभयो ।      चितवनका माछा किसान गत भदौ १ गतेदेखि भारतबाट भन्सार छली ल्याइएका माछालाई रोक लगाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । माछा व्यापारीहरुले यसका लागि अर्थमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बु्झाएका थिए ।  हाल चितवनमा एक हजार पाँच सयभन्दा बढी किसानले सात हजार हेक्टर जलाशयमा माछा पालन गरिरहेका छन् । पूर्वी चितवनको राप्ती, खैरहनी, रत्ननगर र माडी क्षेत्रमा बढी माछापालन हुने गरेको छ । चितवनबाट सुरु भएको भारतीय माछा प्रतिबन्धलाई बिस्तारै अन्य जिल्लामा पनि बिस्तार गरिने किसानहरुको भनाइ छ । 

  रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताउनुभएको छ । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरुलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उहाँले रुपन्देहीमा योग्य रहेकाले उनीहरुलाई पदक दिइएको बताउनुभएको हो ।     विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबले भैरहवामा आयोजना गरेको पोलियो शान्ति र्यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको समेत बताउनुभयो । “रुपन्देहीमा धेरै प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उहाँले भन्नुभयो, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर समितिलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरुलाई पनि समेट्ने छौँ ।”     रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्ट क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न सामाजिक काममा मात्र होइन विभिन्न विपद्का समयमा यस्ता क्लबको सहयोग प्रशंसनीय रहेको उहाँको भनाई थियो ।      पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को  प्रतिनिधिसभा उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र आगुऔषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।      उहाँले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसर बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न पनि आग्रह गर्नुभयो । गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।      उहाँले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागुऔषध लगायतका कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिनुभयो ।     ‘अक्टोबर २४’ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि चेतना जागृत गाराउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा पनि सन् २०१० यता पोलियोका रोगी भेटिएका छैनन् ।          यसै दिवसको अवसर पारेर आज भैरहवामा पोलियो शान्ति ¥यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति ¥याली, नारायणपथ, बैंकरोड, नयाँ सडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिनुभयो ।

   काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ ।     वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताउनुभयो ।     प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।”     संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उहाँले बताउनुभयो । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो ।     प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भन्नुभयो । उहाँले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।       निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उहाँले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो ।      प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उहाँले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भन्नुभयो । साथै उहाँले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।     विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताउनुभयो ।     प्रधानमन्त्री देउवाले भन्नुभयो, “सबै प्रकारका विभेदको अन्त्य गरी हामी अघि बढ्नेछौँ । भोलिका दिनमा प्रजातन्त्र, राष्ट्रियता, समावेशीताको खिलापमा कोही जान नसक्ने गरी संविधान र लोकतन्त्रको रक्षा गर्नेछौँ ।” अहिलेको राजनीतिक व्यवस्थाअनुसार कुनै दलको एक्लै बहुमत आउने सम्भावना कम देखिएकाले अन्य पार्टीसँग मिलेर अघि बढ्नुपर्ने परिस्थिति बनेको उहाँको भनाइ थियो । गठबन्धनको संस्कृति अझ अघि बढाउनुपर्ने र निर्वाचनमा सबै एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सुर्खेट :  ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।    यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ । दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।    दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् ।   सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । “तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भन्नुभयो, “गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।”    मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताउनुभयो । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ”, खनालले भन्नुभयो ।   दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उहाँले बताउनुभयो ।    आचार्यले भन्नुभयो, “तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।” अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उहाँले बताउनुभयो ।    सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।    मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुर्धौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाइ छ ।   कृत्रिम मालामा उपभोक्ताको आकर्षण       पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।    प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको लोकप्रसाद रेग्मीको भनाइ छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।   सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रङ्गीचङ्गी कृतिम मालाको छ्याप्छ्याप्त देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।    चाडपर्वमा चाहिने जति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लाष्टिकका कृतिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्नसक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लामा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला पुग्ने गरेका छन् ।   सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताउनुभयो । “चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “पहिलेजस्तो पूmल नपाइने भएकाले कृत्रिम माला धेरै बिक्री हुन्छ ।” वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दसैँ सकिएलगत्तै पूरै पसलभरि मालाले मात्रै ठाउँ पाएको छ । रु ५० देखि रु। एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारका समयमा यसरी नै सजाएर बिक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताउनुभयो । “पहिलो कुरा त माला बनाउने फूल नै अभाव हुन्छ, पाइए पनि महँगो पर्छ”, उहाँले भन्नुभयो, “पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।” कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक फिरोज खानले बताउनुभयो ।   आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उहाँले बताउनुभयो । उहाँले रु ५० देखि रु एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताउनुभयो । प्राकृतिक फूलप्रतिको लगाव भए पनि बिक्रीका लागि सहज नहुँदा समयस्या भएको उहाँ बताउँछन् । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उहाँको भनाइ छ ।    अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसल रङ्गीबिरङ्गी ‘कृत्रिम’ मालाले सजिएका छन् । व्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रङ्गिन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताउनुभयो । यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताउनुभयो । यस वर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको प्रभाव रहेको व्यापारी स्वयं स्वीकार गर्छन् ।    हरेक वर्ष दसैँ, तिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित माला भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती पर्याप्त नहुँदा अहिले बजारमा रहेका कृतिम मालाको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्पराअनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उहाँहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिकरुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उहाँहरुको छ ।    फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृतिमतामा होइन, प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारीलगायतका फूलहरु फूल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहारलगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएको पाइन्छ । यसले नेपाली मौलिकपन हस हुनुका साथै कृत्रिम मालाका लागि करोडौँ रुपैयाँ भारत जाने गरेको बताउनुहुन्छ, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृतिम फूलमालामा चर्को कर लगाए पनि आयातमा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाइ छ ।