छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात
जनकपुरधाम | कात्तिक १३, २०७९
जनकपुर । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।
छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।
स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताउनुभयो । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उहाँले भन्नुभयो ।
जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताउनुभयो ।
पूर्वेले भन्नुभयो, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।”
फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ ।
सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

