पोखराः पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जाँचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको ब्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । प्रेसर र सुगर संगै महोत्सवमा आउने दर्शकहरुले तीनवटै स्वास्थ्य संस्थाबाट अन्य चेकजाँचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिए । महोत्सवको सातौ दिनमात्रै दुई सयजनाले सुगरको निशुल्क परिक्षण गरेका छन । महोत्सवमा प्रत्येक दिन सुगर र प्रेसरको निशुल्क परिक्षण गराइरहेको समेत पनेरुले बताए । महोत्सवको सातौ दिन सम्म आइपुग्दा साढे तीन करोडको कारोवार भएको र असी हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाले जानकारी दिए । बानियाका अनुसार महोत्सवमा विशेष गरी जाडो यामका सामाग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतिय प्रयोजनका सामाग्री संगै तरकारी जन्य सामाग्रीहरुको बिक्रीवितरण भएको छ । महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायिका प्रिती आलेले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरिन भने आले संगै लोकदोहोरी कलाकारहरु जीवन दाहाल, शिवहरी ढंगाना, निश्चल दवाडी, मञ्जु बिक, सरीता सारु मगर, टस गुरुङ, तुलसा जिसी लगायतको प्रस्तुती मार्फत दर्शहरुले भरपुर मनोरन्जन लिएका थिएभने सांझको लाइभ कन्सर्टमा झिल्के एण्ड द कम्पनीको प्रस्तुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको आठौ दिन बुधवार लोकदोहोरी तर्फ बद्री पंगेनी, जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुती रहनेछ भने साँझको लाइभ कन्सर्ट तर्फ ए.एस.एम.को प्रस्तुती रहनेछ । त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मेट्रोपोलिटन एकेडेमी र भ्यूप्वाइन्ट बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छभने बुधवार श्री कालिका मावि, राष्ट्रिय मावि, कास्की मोडनाइज एकेडेमी, टप्स बोर्डिङ स्कुल, अमरसिंह मावि र बेसलाईन एकेडेमी बीच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
पाल्पाः कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् । नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ । धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ । पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको खाल्डेमा करिब पाँच सय वाट क्षमताको विद्युत् निकाल्ने योजनाको विरुद्ध प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाला, राजनीतिक दल, सांसद, समाजसेवी, बुद्धिजीवीले त्यसको विरोधमा ऐक्यबद्धता जनाउँदै सो योजना अगाडि बढ्न नदिनेमा जोड दिइएको छ । नदीको माथिल्लो भाग ९राम्दी क्षेत्र०मा डाइभर्सन गर्ने योजना र तलको भाग (खाल्डे)मा विद्युत् प्राधिकरणले हाईड्याम बनाएर विद्युत् उत्पादन गर्ने कार्यक्रम ल्याएकामा यसले सो ठाउँको आसपास तथा मध्यभागमा बसोबास गर्ने स्थानीयवासीलाई नराम्रो असर पार्ने भएकाले नदीलाई आफ्नै गतिमा बहन दिनुपर्नेमा चासो र चिन्ता व्यक्त गरिएको छ । कालीगण्डकी नदीको आफ्नै धार्मिक महत्व र विशेषता रहेता पनि यस नदी डाइभर्सनका प्रक्रियाले प्रभावित क्षेत्रका बासिन्दामा सधैँ पिरोल्ने गरिरहेको हुन्छ । लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमा भएर बहेको कालीगण्डकी नदीको पर्यावरण, धार्मिक अस्तित्व, यसको पर्यटन विकास, सभ्यता जोगाउन सरोकारवालाले माग गरिरहेका छन् । पवित्र धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र केलादीधाममा कालीगण्डकीको संरक्षण र सभ्यता जोगाउँदै पर्यटन प्रवद्र्धनसम्बन्धी लुम्बिनी र गण्डकी प्रदेशका सरोकारवालाबीच भएको बृहत् अन्तक्र्रिया कार्यक्रममा नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न नहुनेमा जोड दिइएको छ । गण्डकी प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी नदीका कारण धेरै धार्मिक तथा सांस्कृतिक धरोहर बनेको बताउनुभयो । विश्वमा नै छुट्टै पहिचान बनाएको यस नदीको सभ्यता र पर्यावरणलाई जोगाएर संरक्षण गर्नुपर्ने उहाँले बताउनुभएको छ । “यसको महत्व अन्य नदीको तुलनामा बेग्लै छ, यो नदी भनेकै प्रकृति हो, यससँग सम्बन्धित नदीका सबै कुरालाई अध्ययन, अनुसन्धान गर्दै यसको महत्वलाई उजागर गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “यसको तटीय क्षेत्रमात्र नभई प्रशोधन क्षेत्रका हरेक नागरिक जागरुक हुनु आवश्यक छ, डाइभर्सनको विरुद्धमा लगातार विरोधका कार्यक्रम भइरहेका छन् तर डाइभर्सनको प्रक्रिया रोकिएको छैन ।” गएको आर्थिक वर्षदेखि नै यसको विस्तृत सम्भाव्यता अध्ययन ९डिपिआर०को चरण अगाडि बढेको जानकारी गराउनुहँुदै पूर्वमन्त्री गुरुङले त्यसका लागि केन्द्रीय सरकारले बजेट विनियोजनसमेत गरेको जानकारी गराउनुभएको छ । कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने पक्षमा आफू लागिरहेको बताउनुहुँदै उहाँले प्रभावित क्षेत्रका प्रत्येक घरका नागरिक यसको विरुद्धमा जागरुक भएर लाग्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी नदी डाइभर्सनको पक्षमा प्रभावित क्षेत्रमा कोही पनि नरहेको उल्लेख गर्दै कालीगण्डकी करिडोर र शालिग्राम करिडोर यस नदीसँग जोडिएकाले कालीगण्डकीबेँसीका क्षेत्रलाई समेटेर एउटा रिङरोड बनाइनुपर्ने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यस नदीलाई जोगाउन राम्दीबाट देवघाटसम्म जल यातायात सञ्चालन गर्ने, राम्दीबाट देवघाट क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका ११ पालिकाको बृहत् छलफल गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने, लुम्बिनी प्रदेश सरकारबाट नदी डाइभर्सन हुन नदिन मेरो पूर्ण साथ र सहयोग रहनेछ ।” पाल्पाको राम्दीबाट देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ । यो नदीलाई शालग्रामी नदी, कालीनदी र काली आदिजस्ता नामबाट पनि चिन्ने गरिन्छ । यस नदीको जल स्पर्श गरेमा मात्र पनि मानव शरीर पवित्र हुन्छ भने यहाँ स्नान, दान, तप, तर्पण, श्राद्ध आदि जस्ता कार्य गरेमा असङ्ख्य फल प्राप्ति हुन्छ र अन्तमा मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता छ । यस क्षेत्रमा मनाइने विभिन्न पर्व जस्तै वैशाखे सङ्क्रान्ति, जनै पूर्णिमा, श्रावण महिनाको सोमबार, एकादशी तिथि, माघे सङ्क्रान्ति, सूर्यग्रहण तथा चन्द्रग्रहण लागेका समय एवं घरमा जुनसुकै यज्ञ–यज्ञादि गर्दा कालीगण्डकी स्नान गरेर यहाँको जल घरमा लैजाने चलन छ । कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन गरेर अन्यत्र लैजान दिन नहुने र अहिलेलाई नेपालका तराईका क्षेत्रमा जमिन सिञ्चित गर्ने भनिए पनि पछि भारतमा लैजाने षड्यन्त्र बनाइएको हुनसक्ने भएकाले यहाँको वातावरण नै खलबलिने गरी पानी अन्यत्र लैजान नहुने नेकपा ९एमाले० गण्डकी प्रदेशका सचिवालय सदस्य विष्णुभक्त सिग्देल बताउनुहुन्छ । “कालीगण्डकी नदी हाम्रो सभ्यता हो, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका चारै जिल्लाका नागरिक एकीकृत भएर सरकारलाई नदी डाइभर्सन र यसको पर्यावरण खलबल्याउने कार्यविरुद्ध खबरदारी गर्नेछौँ, यस अभियानको नेतृत्व गरेर अगाडि बढ्नेछौँ”, उहाँले भन्नुभयो । कालीगण्डकी मानवको जीवनसँग जोडिएको छ । नदीलाई अन्यत्र लैजाने षड्यन्त्रविरुद्धको खबरदारी गर्दै, यस वरिपरिका सिञ्चित नभएका खुला चौर, जमिनलाई प्रविधिको प्रयोग गरी हराभरा गराउने, पर्यटकीय क्षेत्र विकास गर्नुपर्नेमा प्रभावित क्षेत्रका स्थानीयवासीले सुझाव दिएका छन् । विद्युत् उत्पादनका लागि तटबन्ध गराउँदा नदी आसपासका क्षेत्र जलाशय हुने भएकाले यस क्षेत्रमा बसोबासका लागि जोखिम हुने हुँदा बुलिङ्टारको खाल्डेमा पाँच सय वाट क्षमताको विद्युत् उत्पादन कार्य अगाडि बढाउन नहुनेमा स्थानीयवासीले असन्तुष्टि जनाएको बौदीकाली गाउँपालिका नवलपुरका स्थानीय पत्रकार वीरबहादुर बिसी बताउनुहुन्छ । लुम्बिनी र गण्डकी यी दुई प्रदेशबीचको साझा नदी भएकाले एक प्रदेशले अर्को प्रदेशको सहमति र समन्वयबिना नदीलाई तोडमोड गर्ने, जोखिमयुक्त बस्तीको अध्ययन नगरिकन विद्युत् योजना ल्याउँदा स्थानीयवासीमा ठूलो असर पर्ने देखिन्छ । कालीगण्डकी नदीको नाममा व्यक्तिगत स्वार्थ, फाइदा लिने गरी यसमा कसैले राजनीतिक तवरबाट काम गर्न नहुने बौदीकाली गाउँपालिका नवलपुरका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । “राज्यले गरेको कालीगण्डकी डाइभर्सन र हाइड्याम्प निर्माणको कुरा यस क्षेत्रका स्थानीयका लागि सान्दर्भिक छैन”, उहाँले भन्नुभयो, “बृहत्तर कालीगण्डकी हितका लागि राम्दीबाट देवघाटसम्म जोडिएका क्षेत्रको संरचना बनाएर सबै नागरिक एक भएर लाग्नुपर्नेछ, कालीगण्डकी बेँसीको सभ्यता, अस्तित्व बोकेको यस नदीका नाममा कसैले खेलवाड गर्न पाइने छैन ।” कालीगण्डकी डाइभर्सन र विद्युत्गृह उत्पादन गर्ने मात्र नभई यसको स्वच्छता, पर्यावरणिय, निर्मलीकरणमा ध्यान दिनुपर्नेछ । ठाउँ–ठाउँमा नदीमा मिसिने खोलानालामा माछा मार्ने निहुँमा विष राख्ने काम भइरहेको छ । यसलाई पनि सचेत नागरिकले रोक्नुपर्ने देखिएको छ । विद्युत् प्राधिकरणले कालीगण्डकी नदीमा ल्याइरहेको विद्युत् उत्पादन कार्यक्रमलाई परिमार्जन गरिनुपर्नेमा सचेत नागरिकले जोड दिएका छन् । एक ठाउँको विकासका लागि अर्को ठाउँमा विनाश गर्ने कार्यले स्थानीय आक्रोशित छन् । विभिन्न पौराणिक ग्रन्थहरूमा कालीगण्डकीको महिमाबारेमा गरिएका वर्णन, यसको तटीय इलाका तथा प्रसवण क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋृषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको मान्न सकिन्छ । कालीगण्डकीको पौराणिक महत्व र यहाँ पाइने शालिग्राम शिलाबाट आकर्षित भई विभिन्न ऋृषिगणले यसको प्रसवण क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्त भेटिन्छन् । कालीगण्डकीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि महत्व छ । कालीगण्डकी स्वयं राष्ट्रिय गौरवको विषय हो । यसको प्राकृतिक बहाव क्षेत्रलाई डाइभर्ट गरी अन्यत्र रुपान्तरण गर्ने योजना राष्ट्रिय गौरवको योजना हुन सक्दैन भन्नेमा स्थानीय जुर्मुराइरहेका छन् । कालीगण्डकी मानिसको सभ्यता र संस्कृतिसँग जोडिएकाले बेला–बेलामा नदीका विषयमा विभिन्न कार्यक्रम र टीकाटिप्पणी भइरहेका छन् । कालीगण्डकी डाइभर्सनलगायत जलविद्युत् तथा सिँचाइको पूर्वाधार निर्माणले नदीको अस्तित्वलाई थप चुनौतीपूर्ण बनाएको छ । पौराणिक र धार्मिक महत्वमात्र होइन कि यसको बहाव क्षेत्रको वरपरका गाउँवासीका लागि यो नदी जीविकोपार्जनको स्रोतसमेत बनेको छ । यही नदीमा माछा मारेर, नदी किनारको बालुवा चाली सुन निकालेर, ढुङ्गा तथा बालुवा बिक्री गरी जीवन निर्वाह गर्ने माझी, बोटेलगायत जाति छन् । जल, जमिन र जङ्गलको अग्राधिकार सम्बन्धित आधार क्षेत्रका बासिन्दाको हुने गर्छ ।
काठमाडौं: उपराष्ट्रपति नन्द किशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नु भएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएको हो । भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए । पुस ३० गते अस्पतालमा भर्ना हुनु भएका नेता पुनको उपचार प्रभावकारी बनाउन अस्पताललाई उपराष्ट्रपति पुनले निर्देशन समेत दिनुभएको सचिवालयले जनाएको छ ।
कास्कीः पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पु¥याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताउनुभयो । मङ्गलबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको हो । “सोमबार शव खोज्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको हो वा एउटैको हो, पत्ता लागाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । ६८ यात्रसहित चार चालकदलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो ।
कास्कीः पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुनुहुन्थ्यो । गाउँपालिकाले उहाँलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । मङ्गलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको शालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीका बारेमा समावेश गराउने निर्णय गरेको हो । केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आउनुभएको थियो । उहाँले २०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेसाको सुरुआत गर्नुभएको हो । पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध हुनुहुन्थ्यो । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गर्नुभएको थियो । यही माघ १ गते काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एक जनाको शव प्राप्त हुनसकेको छैन ।
तनहुँः अभिनेता पल शाहलाई नाबालिका बलात्कारको आरोपमा जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् । गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यसपछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
काठमाडौंः सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गर्नुभएको सर्वदलीय बैठक केहीबेरअघि सुरु भएको हो । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको शपथ ग्रहणलगत्तै बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरूको सहभागिता छ ।
बुटवलः बुटवलमा हातहतियार र विस्फोटक पदार्थसहित नवीन रेग्मी र विश्वराज कार्की पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कन्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्कीलाई प्रहरीले प्रकाउ गरेको हो । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसपी दानबहादुर कार्कीले पक्राउ परेकाहरुबाट रिभल्वर थान १, मोबाइल थान–३, ९ एमएमको गोली १४ राउण्ड, ७।६२ एमएमको गोली ४ राउण्ड, ०।२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर थान–३, डेटोनेटर केस थान–६० लगायतका सामग्री बरामद गरेको जानकारी दिनुभयो । प्रहरीले मङ्गलबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको हो । डिएसपी थापाले बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई बुटवल–११ देवीनगरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुलाई हातहतियार तथा विस्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इप्रका बुटवलले जनाएको छ ।

