सिन्धुपाल्चोक: गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ । नगरप्रमुख बालकृष्ण बस्नेतले वडा नम्बर १ देखि ९ सम्म ७७६ कृषकले गोरुपालन गरेकोले उनीहरूलाई प्रोत्साहन गर्न प्रति किसान १० हजारका दरले नगद अनुदान दिन सुरु गरिएको जानकारी दिनु भयो । पछिल्लो समय खेतबारी जोत्न ट्याक्टर भित्रिदैं गएको र गोरु पाल्ने किसान घट्दै गएकोले गोरु पाल्नका लागि प्रोत्साहन दिने अभियान सुरु गरेको प्रमुख बस्नेतले थप्नु भएको छ । गोरुको बीमा गर्दे प्रोत्साहन अभियान तीन दिन भित्र सक्ने जनाइएको छ । उक्त नगरपालिकामा ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या कृषिमा आबद्ध छन् । तर अधिकांश कृषकले गोरु पाल्न छाडेर डिजेलबाट चल्ने ट्याक्टर प्रयोग गर्न थालेका छन् । भौगोलिक विकटता र खेतबारीमा गहिराई खन्न नसक्ने ट्याक्टर उपयोगी नभएको भन्दै नगरले गोरुपालनलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन दिन थालेको छ । वडा नम्बर ९ का कृषक शिव प्रसाद तिमल्सिनाले नगरपालिकाको प्रोत्साहनले किसानलाई कृषि पेसामा ऊर्जा थपिएको सुनाउनु भयो ।
काठमाडौंः आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले यी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ । पानी पार्ने गरी पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो । यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । केही दिन अघि न्यूनतम तापक्रम लगातार बढिरहेकोमा आज भने घटेको छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ४ दशमलव २ डिग्री सेल्सियस र अस्ति ४ दशमलव ५ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्नुमा खास कारण नभए पनि पश्चिमी वायुको सामान्य प्रभावकै कारण तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।
रेसुङ्गाः पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो । सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् । सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त्यही ग्रुपमा जोडेर कुराकानी गर्ने गर्दछन् । यो कुरा सर्वपक्षीय छलफलका क्रममा बाहिरिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार लागुऔषध नियन्त्रण गर्न सर्वपक्षीय छलफल आयोजना गरेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उद्योग सङ्घ गुल्मी, होटल व्यवसायी मञ्च, सरकारी विद्यालय, निजी विद्यालय, नागरिक समाज, पत्रकारलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको छलफलमा सहभागिता रहेको थियो । उद्योग वाणिज्य सङ्घ गुल्मीका तर्फबाट छलफलमा आफ्नो सहभागिता जनाएका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद भुसालले गाँजा खानेको म्यासेन्जर ग्रुपसमेत भएको जानकारी गराए । “लागुऔषधको समस्या गम्भीररूपमा विकराल बन्दै गएको छ,” उनले भने, “गाँजा ग्रुपको बारेमा केही जानकारी पाएपछि त्यो बुझ्दा साँच्चिकै रहेछ ।” भुसाललाई गाँजा खानेको म्यासेन्जर ग्रुपबारे थाहा भयो । त्यसपछि जोडिएर सबै जानकारी लिन खोजे । फेसबुकमा त्यही किसिमको नक्कली चित्र देखाएपछि सदस्य बने । त्यसबारे सबै बुझेपछि उनी त्यसबाट हटे । भुसालको यो परीक्षणले गुल्मीमा लागुऔषधको समस्या भयावह बनिरहेको सजिलै आकलन गर्न सकिन्छ । उपल्लो तम्घास माध्यमिक विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बालबालिकामा लागुऔषधको लत छुट्नै नसक्ने गरी परिसकेको बताइन् । बालबालिकालाई यसबाट छुटाउन परामर्शले मात्र नपुग्ने भन्दै यसलाई गम्भीररूपमा लिएर अगाडि बढ्न आग्रह गरिन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जसमा समस्या छ त्यसैलाई समाधानका लागि प्रयोग गर्नुपर्ने बताए । नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाएमा र होटल व्यवसायी संयमित बनेमा केही हदसम्म लागुऔषधको प्रयोग घट्ने बताए । होटल व्यवसायी मञ्च गुल्मीका अध्यक्ष जङ्गबहादुर थापाले आफूहरूले बिक्री गर्न नमिल्ने कुराहरूमा सचेत हुने बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले विधिको शासन प्रयोग गर्दै नियमन, नियन्त्रण र सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुऔषधको प्रयोग गर्न बनाइएका माध्यमलाई नियमन गर्ने बताए । गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले लागुऔषधको प्रयोगका लागि अवसर दिने र चाहना राख्ने दुवैलाई शून्यतर्फ झार्न लाग्ने जानकारी दिए । विद्यालयबाट लागुऔषध नियन्त्रणका कार्यक्रम चलाउन आग्रह गरिने पौडेलले बताए । “सबैले आ–आफ्नो तर्फबाट भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्दछ,” प्रमुख जिल्ला अधिकारी पौडेलले भने, “अब जिल्ला तहबाट पालिकासम्म लागुऔषध नियन्त्रण गर्न अभियान चलाउँछौँ ।” रासस
कास्कीः फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो । टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो । दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विदेशी विज्ञ टोलीले अध्ययन गरिरहेकोबारे सम्बन्धित निकायबाट जानकारी पाएको भए पनि आफूलाई यो विषयमा धेरै थाहा नभएको बताउनुभयो । “दुर्घटनापछि खोज, उद्धार, शव व्यवस्थापनलगायतमा सुरक्षा निकाय खटिन्छ, जाँच तथा छानविनको विषय हामीसँग सम्बन्धित हुँदैन”, उहाँले भन्नुभयो । विमान दुर्घटनापछि सरकार गठन गरेको जाँच आयोगलेसमेत दुर्घटनाबारे छानविन सुरु गरेको छ । अध्ययन सकेर केही सदस्य काठमाडौँ फर्किसकेको केही अझै पोखरामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा र हवाई मर्मत विज्ञ एकराजजङ्ग थापा रहनुभएको छ । आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । यसअघि सोमबार विमानको ‘ब्ल्याक बक्स’ फेला परेको थियो । ‘ब्ल्याक बक्स’ले दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण सहयोग पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ६८ यात्रु र चार जना चालकदलका सदस्य लिएर गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको विमान सेतीँखोचमा खसेको थियो । दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ भने बेपत्ता एक जनाको खोजी कार्य जारी रहेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो ।
काठमाडौंः सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले मन्त्रिपरिषद्को बैठक केहीबेर अघिदेखि सुरु भएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । त्यसलगत्तै सर्वदलीय बैठक बालुवाटारमा बसेको थियो । मन्त्रिपरिषद् विस्तारपछि आज (बुधबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बसेको हो ।
काठमाडौंः नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् । यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्यौपानेलाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
बागलुङ: बागलुङमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बागलुङ–बरेङ सडकखण्ड निर्माणमा सञ्चालन भइरहेको टिपर सामग्री छाडेर फर्किदै गर्दा बागलुङ नगरपालिका ८ सिगानामा टिपर दुर्घटना हुँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१४ का ४३ वर्षीय टिपर चालक राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले बताए । बागलुङ नगरपालिका- ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बागलुङ नगरपालिका-८ सिगानादेखि वडा-३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर आज बुधबार बिहान साढे ९ बजे अनियन्त्रित भई सिगानाको शेरामा सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।
काठमाडौंः नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने नेकपा ९माओवादी केन्द्र० का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन छ । सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची रहेको छ । माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
चितवनः नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे सम्म थप ३० बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि दिन थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो । सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको छैन । उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुईनको दायाँपट्टीको भित्तो ३० प्रतिशत मात्र काटिएको छ, भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टी दुबै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुईनको भित्तो ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन् । यस अघिनै सो सडकका पाँच वटा पुल बनिसकेका थिए । पाँच पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ घर टहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको उहाँले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ । यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहात दिनुपर्ने हुन्छ । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौता अनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ । सो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ ।

