काठमाडौं: चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग नेपाल पेट्रोलियम ट्यांकर चालक संघले राखेको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्यांकर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग राखेका हुन् । उनले सधैँ परनिर्भर हुनुभन्दा भविष्यमा आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग आफूहरुले राखेको बताए । देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेको उल्लेख गर्दै उनले चालकहरुको भूमिका महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामाले एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरे । उनले आफूहरुको माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने बताए । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकहरुको माग सम्बोधन गर्नका लागि विद्यमान ऐन, कानुनहरुमा संशोधन गर्न आवश्यक रहेको बताए । उनले विनियमावलीमा भएका केही व्यवस्थाहरु समेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायहरुले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए । उनले भने, ‘यो विषयमा भएका विद्यमान ऐन, कानुनमा केही संशोधन गर्नुपर्ने अवस्था छ । विनियमावलीको केही व्यवस्था परिमार्जन गर्नुपर्ने अवस्था छ । त्यसको लागि आ–आफ्नो ठाउँबाट सबै जनाले पहल गर्नुहुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’ कार्यक्रममा सांसद राजन केसीले ट्यांकर चालकहरुको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताए । उनले ट्यांकर चालकहरुको पेशा मर्यादित पेशा भएको भन्दै आफूमा हिनताबोध नराखी काम गर्न चालकहरुलाई आग्रह गरे । कार्यक्रमका बीच नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट्यांकर चालक उपचालक संघका बीचमा आपसी सहयोग आदान–प्रदान गर्नेगरी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभई अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा आफू लागिपर्ने बताएका छन् । शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पोको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको उद्योग व्यवसाय क्षेत्रमा परेका समस्याका कारण धेरै भए पनि आगामी दिनमा समस्याको सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘ उद्योगमन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई हामी निर्यात गर्ने वस्तुहरुको लागि कहीँ जग्गा खोजिरहेका छौँ । चाँडै हामी त्यो कुराको कमी नहुने गरी सरकारले निर्णय गर्नेछ । समस्याका गीत गाएर होइन, समाधानका सम्भावनाहरुका नजिकमा गर्नुपर्ने दायित्व बोध छ ।’ मन्त्री भण्डारीले सरकारको प्राथमिकता समस्या समाधानको सम्भावना खोजी गर्ने र नीतिगत कुरामा सुधार गर्ने रहेको बताए । उनले सरकार लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण सिर्जना गर्न र बैंकसँगको कारोबार सहज बनाउनेकुरामा गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर अघि बढीरहेको बताए । उनले भने, ‘ सरकारको प्राथमिकतामा नीतिगत कुरामा हो । नीतिमा कहाँ हो समस्या ? लगानी कर्तालाई सहज रुपमा लगानी गर्ने वातावरण वा बैंकसँगको कारोबार सुलव बनाउनेकुरामा सरकार गम्भीरतापूर्वक नीति र साझा कार्यक्रमलाई नै मध्यभागमा राखेर उद्योगी, व्यापारीहरु उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध भएको छ, मैले उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नेछु ।’ उनले उद्योगी, व्यापारीहरुले उद्योगधन्दा सञ्चालन गर्नु नै गलत हो की भन्ने पीडाबोध गरिरहेको भन्दै उद्योग चलाएबापत सरकारलाई ट्याक्स तिरेँ र केही मानिसलाई रोजगारी दिएँ भन्ने खालको गर्व महशुस गर्ने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले सरकारले रुग्ण उद्योगको सञ्चालन गर्न र विगतमा चल्न नसकेर बन्द भएका उद्योगहरु सञ्चालन गर्नका लागि आगामी दिनमा अघि बढाउने प्रतिवद्धतासमेत जनाए। ‘निजी क्षेत्रले राखेका केही मागहरु मसँग, मन्त्रालयसँग आएको छ । यसमा हामी केही विषयहरुका लागि एउटा समिति बनेको छ, त्यो समितिले रुग्ण उद्योगहरु र विगतमा हामीले सञ्चालनमा ल्याउन नसकेका बन्द भएका उद्योगहरुलाई हामी अघि बढाउनेछौँ,’ उनले भने, ‘लिज प्रक्रियाबाट अघि बढाउने सरकारको नीति छ । सरकारले उद्योग चलाउँदैन, सरकारले उद्योगीहरुलाई प्रोत्साहित गर्ने हो । नीति र कानून फुकाइदिने कुरा हो ।’ मन्त्री भण्डारीले सरकारले उद्योग चलाउने नभइ उद्योगीहरुलाई प्रोत्साहित गर्ने र नीति कानून फुकाइदिने काम गर्ने बताए । उनले उद्योग मन्त्रालयको मातहतमा रहेका जग्गाहरुलाई निर्यात गर्ने वस्तुहरुको भण्डारणका लागि ठाउँ हेरिरहेको बताए । एक्स्पो ३ दिनसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।
काठमाडौँ: माओवादी केन्द्रकी नेतृ एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन् । त्रिभुवन पौडेल पत्रकार मात्र नभएर एक कुशल राजनीतिकर्मी पनि रहेको धारणा राख्दै उनको निधनले अपूरर्णिय क्षति भएको शर्माले बताइन् । प्रेस सेन्टर नेपालले आयोजना गरेको विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको श्रद्धाञ्जली कार्यक्रममा उनले सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिने बताइन् । देश बनाउने अभियानमा प्रधानमन्त्री प्रचण्ड लागेको र त्यसलाई सबैले आआफ्नै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताइन् । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नेता महेश्वर दाहालले पनि पत्रकार पौडेलको बारेमा आफ्नो धारणा राखेका थिए ।
काठमाडौं: लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको हो । दुई महिनादेखि बिरामी भएर उपचार गराइरहेका उनको शरीरमा रगतको कमी भएको जनाइएको छ । रक्तअल्पताको कारण उनी दुई महिनादेखि बिरामी थिए । उपचाररत उनी केही त्यसयता घरमै आराम गरिरहेका थिए । उनी निकट गायिका सिर्जु अधिकारीसँग केही दिनअघिको कुराकानीमा पौडेलले आफूलाई हिंडडुल गर्न गाह्रो भएको र रगतको कमी शरीर सुक्दै जान थालेको बताएका थिए । ‘मैले इन्द्रेणी कार्यक्रममा जाऊँ भनेको थिएँ । उहाँले बिरामी छु भन्नुभएको थियो,’ अधिकारीले भनिन् । पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदैछन् । प्रतिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् । पछिल्लो समय गायक पौडेल लाइभ दोहोरी गायनमा सक्रिय थिए । ‘भीम शालीन स्वभावका गायक हुन् । उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो,’ अध्यक्ष बीजीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन् ।
चितवन: अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर्माण सुरु गरिएको भवन सम्पन्न भएको छ । भवन निर्माण समितिको संयोजक नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष हरि पोखरेलका अनुसार चारकोठे पक्की भवन बनेको छ । भवनमा देवघाटमा रहेका वृद्धवृद्धाको उपचार सुरु गरिएको छ । विगत पाँच वर्षदेखि नै एउटा कोठा भाडामा लिएर उपचार सेवा दिँदै आएकामा अहिले भवन निर्माण गरी सोही भवनबाट सेवा सुरु गरिएको हो । केन्द्रमा चितवन मेडिकल कलेज, भरतपुर अस्पताललगायतबाट चिकित्सक गएर परीक्षण गर्ने गरेका छन् । चिकित्सक स्वतःस्फूर्तरूपमा सहयोग गर्न जाने गरेको पोखरेलले बताए । यसैगरी औषधिसमेत निःशुल्क व्यवस्था गरिँदै आएको छ । उपचारमा आउने बिरामीको विद्युतीय तथ्याङ्क राख्ने गरिएको पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा यो कार्य गरिएको हो । पोखरेलले भने, “बिरामीको स्वास्थ्य इतिहास, सेवन गरिरहेको औषधिलगायत सबै विषय कम्प्युटरमा राखिन्छ ।” यस्तो तथ्याङ्क अमेरिकामा रहेका चिकित्सकले समेत हेर्न मिल्ने उनले जानकारी दिए । केन्द्रसँगै अस्पताल निर्माणको तयारीसमेत गरिएको छ । आश्रमले थप जग्गा उपलब्ध गराउने र बिरामीलाई राखेर उपचार गर्न मिल्ने गरी काम गर्न लागिएको पोखरेल बताउँछन् ।
विराटनगर: प्रदेश १ सरकारले चालुआर्थिक वर्षको ६ महिनामा जम्मा १९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७९(०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पुँजीगत तर्फको २२ अर्ब ९९ करोडको बजेट मध्ये पछिल्लो ६महिनाको अवधिमा ४ अर्ब ४३ करोड १६ लाख मात्र खर्च गरेको हो । यो खर्च १९।२७ प्रतिशत मात्रै हो । चालुतर्फ प्रदेश सरकारले १६ अर्ब ७३ करोड ८९ लाख बजेट विनियोजन गरेको थियो । जसमा पाँच अर्ब ४५ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा चालु र पुँजीगत खर्च गरी जम्मा ९ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको आन्तरिक आम्दानी पनि निराशाजनक छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार राजस्व बाँडफाँटबाट आर्थिक वर्षमा ११ अर्ब ८८ करोड २४ लाख उठ्ने अनुमान थियो । तर ६ महिनामा ३ अर्ब १४ करोड ८९ लाख १० हजार मात्रै संकलन भएको छ । संघीय सरकारबाट १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ अनुदान आउने अनुमान छ । पछिल्लो छ महिनामा ४ अर्ब ६८ करोड ९९ लाख ६६ हजार मात्रै आएको छ ।
पर्वत: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो । स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टौं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिनुभयो । “ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन”, उहाँले भन्नुभयो । जिल्लामा सञ्चालित विकास निर्माणका काम समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र आयोजना प्रमुखलाई मन्त्री गिरीले निर्देशन दिनुभयो । “स्थानीयस्तरमै समाधान गर्न सकिने समस्या तत्काल समाधान गर्र्नुपर्छ । उल्झन देखिएमा मलाई जानकारी गराउनु होला”, उहाँले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले कानुनी जटिलताका कारण कतिपय आयोजनाको काममा ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै कानुन संशोधन गरेर पूर्वाधार निर्माण तीव्ररुपमा गर्नुपर्ने धारणा राख्नुभयो ।
काठमाडौं: सङ्घीय संसद्अन्तर्गत आज (शुक्रबार) राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक अपराह्न ३ बजेर ५९ मिनेटमा बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यतालिका छ ।
काठमाडौं: सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि राखिएको छ । यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । सर्वोच्चले दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सात दिनभित्र झिकाउन आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ । अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गर्नुभएको थियो । नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।

