बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

पोखरा:   एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधि संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । त्यसैगरी प्रतियोगितामा कास्की मोर्डनाइज एकेडेमीले दोश्रो स्थान हासिल गर्दै नगद २५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी मेट्रोपोलिटन एकेडेमीले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएभने भ्युप्वाइन्ट बोर्डिङ स्कुलले शान्तवना स्थान हासिल गर्दै नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भए । प्रतियोगितामा २० स्कुलको सहभागीता रहेको थियो । प्रतियोेगितामा बिजयीहरुलाई पुरस्कार प्रायोजक यु एन आई एक्सपर्ट एलइडी लाइटिङका सञ्चालकहरु पियुस कठारी, वीर बहादुर कंडेल र चन्द्र बहादुर थापा, महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थाका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना लगायतले नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । महोत्सवको बाह्रौ दिन दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । महोत्सवमा उपस्थित दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक राजु परियार, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदिप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सिता केसी, रिता कुंवर लगायतको एकल तथा दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । त्यसैगरी सांझको लाइभ कन्सर्टमा दीक्षिता कार्कीको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको तेह्रो दिन लोकदोहोरी तर्फ श्याम राना, अस्मिता डल्लाकोटी, जीवन दाहाल, शिवहरी ढुंगाना, मधु थापा मगर, किसन नेपाली, सानु बिकास, कमला सुनार लगायतको प्रस्तुती रहने छनभने सांझको लाईभ ब्याण्ड तर्फ अन्तराष्ट्रिय ख्यातिप्राप्त ब्याण्ड मन्त्रको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैविच माघ ९ गते सम्म आयोजना हुने भनिएको महोत्सव एक दिन थप गरिएको आयोजकले जनाएको छ । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान दुर्घटनाको दिनमा आयोजकले महोत्सव स्थगित गरेका कारण महोत्सवको अवधि एक दिन थप गरिएको महोत्सव आयोजक युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवको माघ १० गते कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ । 

कालीकोट:  गत असोजमा परेको वर्षाले झोलुंगे पुल क्षतिग्रस्त भए पनि चार महिना वित्दा पनि पुल मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा स्थानीयलाई आउजाउ गर्न समस्या भएको छ । जितेगडा बजारसहित झोलुंगे पुलको केही केही भाग वर्खाको भेलले बगाएको थियो । वारपार गर्न गाह्रो भएपछि स्थानीयले दुई लाख रूपियाँ खर्च गरेर तिलानदी र कर्णाली तर्ने पुलबीचमा काठको भर्‍याङ बनाएका थिए । नरहरिनाथ, सान्नीत्रिवेणी, रास्कोट, पचालझरना र पलाँता जोड्ने जितेपुल क्षतिग्रस्त हुँदा कर्णाली राजमार्गमा गाडी चढ्न आउने यात्रुलाई हिँड्न समस्या परेको थियो।  स्थानीय नरजंग मल्लका अनुसार तिला नदीको आधा भागमा फलामे पोलमाथि काठ बाँधेर बनाइएको पुलको बीचभागमा काठको भर्‍याङ हालेपछि अस्थायी रूपमा नदी वारपार गर्न सहज भएको थियो । काठको भर्‍याङ बनाउन यातायात समिति र स्थानीय व्यवसायीले सहयोग गरेका थिए । तिला नदीको शिव मन्दिर नजिक र कर्णालीको लालीघाटमा झोलुंगे पुल भए पनि बाटो भिरालो र पाखाबाट ढुङगा खस्ने समस्या भएकाले स्थानीयले पुल मर्मत गरेर सञ्चालनमा ल्याएका  थिए ।  कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले पुलमा पुग्न भर्‍याङ बनाएर सचेत नागरिकले बिपदमा स्थानीयले सहयोग गरेको बताउनुभयो । प्रजिअ शर्माले यसलाई अन्यथा मान्न नहुने चर्चा गर्नुभयो । पुल जोखिमपूर्ण छ, तत्कालका लागि नदी वारपार गर्ने उपाय भए पनि त्यसलाई चाँडै मर्मतको आवश्यकता रहेको उहाँले बताउनुभयो ।  पुल मर्मतका लागि जिल्ला बिपद ब्यस्थापन समितिले गत कात्तिक ४ गते नै लेखी पठाएको थियो । बेमौसमी वर्षाले कालीकोटमा घर, सडक, पुल, विद्यालय, खानेपानी, सिँचाइ कुला लगायत संरचनामा ठूलो क्षति भएको थियो । जितेमा बाढीले सय जनाले मात्र वारपार गरिरहेका छन् । राष्कोटका हंश सन्ज्यालले जोखिमपूर्ण पुलमा बृद्वबृद्वा, बालबालिकालाई आउजाउ गर्न कठिन भएको स्थानीयको भनाइ छ ।  मान्म जाने वा मान्मबाट रास्कोट नगरपालिका, पलाँता, पचालझरना र नरहरीनाथ गाउँपालिका जानेहरू यसै पसलवाट आउजाउ गर्छन् । पुल मर्मत नभएपछि स्थानीयहरु जोखिम मोलेर आवतजावत गरिरहेका छन् । 

काठमाडौं:  नेपालकी सूस्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ । आइबार भएको ४८ केजी तौल समूहको सेमिफाइनलमा सुस्माले मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाउनुभएको हो । फाइनलमा सुस्माले बुधबार ज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग प्रतिस्पर्धा गर्नुहुनेछ । च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष र तीन महिला गरी ६ खेलाडीको सहभागिता रहेको छ ।  यस च्याम्पियनसिपमा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्बेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ संविधान अन्तर्गत अहिले देश नयाँ राष्ट्रिय एकताको प्रक्रियामा रहेको बताउनुभएको छ।  आइतबार २८५९ औं सोनाम ल्होछार पर्वको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र भएको र यी सबै राष्ट्रिय संस्कृति, पर्वको समुच्चमा नै नेपालको राष्ट्रिय संस्कृति रहेको बताउनुभयो।  प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक विविधता भएको राष्ट्र हो। यी राष्ट्रिय संस्कृतिको पर्व नै नेपालका राष्ट्रिय संस्कृति हुन्। विगतमा नेपालमा एउटै जात, भाषा, संस्कृतको वर्चश्व कायम गर्ने र नेपालको इतिहासमा परापूर्वकालदेखि विकसित हुँदै आएको राष्ट्रियता, राष्ट्रिय संस्कृति, भाषालाई कही न कही विभेद र दमन गर्ने प्रक्रिया थियो। यही ल्होछार पर्व पनि विशाल रुपमा मनाउने वातावरण थिएन। तर अहिले त्यो छैन।” उहाँले ठूलो संघर्ष र बलिदानपछि नयाँ संविधानले नयाँ राष्ट्रिय एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्नुभभयो। “लामो संघर्ष र बलिदानपछि उत्पीडित जाति, समुदायको हक, अधिकारका लागि ठूलै संघर्ष र बलिदानपछि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक र समावेशीको मान्यता  अनुसार हामी नयाँ राष्ट्रिय एकताको प्रक्रियामा छौं”, प्रधानमन्त्रीले भन्नुभयो। उहाँले ल्होछार तामाङको मात्र पर्व नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्व भएको बताउनुभयो। उहाँ भन्नुभयो, “तपाईंहरुको संस्कृति र परम्परा नेपालमा मात्र होइन, संसरका धेरै देशमा यसलाई मान्ने गर्छन्। तामाङको राष्ट्रिय पर्व त हुँदै हो, हामी नेपालीको पनि महान् राष्ट्रिय पर्व  हो। अन्तर्राष्ट्रिय पर्वको रुपमा पनि विश्वविख्यात छ। यसलाई यही रुपमा आत्मसात् गर्न तपाईंहरु समक्ष अपिल गर्दछु।” प्रधनमन्त्री प्रचण्डले नेपालका राष्ट्रिय संस्कृतिमा वैदेशिक सांस्कृतिक हस्तक्षेप बढ्दै गएकोसमेत बताउनुभयो छ। उहाँले भन्नुभयो, “नेपालभित्रै भएका भाषा, संस्कृतिका जातजातिभित्र दमन गर्ने प्रक्रिया बढ्दै गएको छ। अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, दबाबद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई प्रवर्द्धन गर्न नदिने चेष्टा भइरहेको छ।” राम्रा संस्कार र परम्परालाई विकसित गर्नु सबैको दायित्व भएको उहाँको भनाइ छ।  यसैगरी, उहाँले नेपाल सरकारको तर्फबाट छिट्टै नेपाल टेलिभिजनमार्फत् तामाङ भाषाको कार्यक्रमका लागि बजेट विनियोजन गर्नेसमेत जानकारी गराउनुभएको छ। 

पोखरा:   यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हेमजाका ४ जनाको शव मध्ये दुईजनाको अत्येष्टी गरिएको छ । भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर दम्पत्तीको शव पोस्टपार्टमपछि हेमजा मर्दी दोबिल्ला घाटमा आज (आइतबार) अन्त्येष्टी  गरिएको हो ।  कुँवर दम्पतीको अन्त्येष्टी  गरिएपनि अनिशा बाँनिया र राजन सापकोटा शवको पहिचान हुन बाँकी छ ।    गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा विमानमा सवार हेम्जामा ४ जनाको मृत्यु भएको थियो ।  यतीको कलसाइन नाइन एन–एएनसी विमान पोखराको सेती खोंचमा दुर्घटनामा हुँदा विमानमा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।

काठमाडौं:   जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनुभयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलङ्गवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको जानकारी उहाँले दिनुभयो । भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भए पनि अंशबण्डापछि अलगअलग भएका थिए । शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताउनुभएको छ ।

पोखरा:  सोनाम लोसारका अवसरमा बैदाम तामाङ सेवा समाजले अपांगमैत्री समाज कास्कीका दृष्टिविहिनहरूलाई खाद्यान्न सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमक बिच लेखनाथको भण्डारढीमा रहेको समाजको कार्यालयमा पुगी १५ हजार बराबरको खाद्यन्न सहयोग गरेको समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । समाजका अध्यक्ष तामाङ र सचिव निमा तामाङले अपांगमैत्री समाजका अध्यक्ष दण्डपाणी ढकाललाई सो सहयोग हस्तान्तरण गरेका हुन् । विगतका बर्षहरुदेखि बैदाम तामाङ समाजले ,समाजका दृष्टिविहिनहरूलाई सहयोग गदै आएको समाजका अध्यक्ष तामाङले बताए । सो अवसरमा मिस तामाङ पोखरा–२०२३ की विजेता रोश्मा तामाङले ५ हजार रुपैया प्रदान गरिन् । उनले मिस तामाङ को बिजेता हुदा सोधिएको प्रश्नमा समाजसेवा गर्ने आफ्नो चाहाना स्वरुप सहयोग गरेको बताइन् । तामाङ समुदायले आइतबार धुमधामका साथ लोसार मनाउँदै छन् । लोसारका अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिएको छ ।   

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । नेपाली कला र संस्कृतिलाई मन पराउने नेपाली धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताउनुभयो ।  अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्धन र प्रवर्धन गर्ने काममा कलाकारहरु लागेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘पीर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । किनभने नेपाली जनता छन्, आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् ।’ हामीले नेपाली संस्कृतिलाई विभिन्न ढङ्गले संरक्षण गर्दै जानुपर्ने उहाँको भनाइ छ । नेपाली जनजीवनका बोली कलामा उतार्ने, ‘खाँदिन कुवाको पानी’ मामुलीजस्तो सुनिन्छ तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आए पनि पहिला त कुवाको पानी हो अध्यक्ष ओलीले भन्नुभयो ।  ‘गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने कार्यमा कलाकारहरु लाग्नुभएको छ’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कलाकारलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनुभयो ।

काठमाडौं:   ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाईँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न भनेँ । मेरो कुरा कसैले सुनेनन् । म एक्लैले सात जनालाई बाहिर निकालेँ । पछि उनीहरूलाई गण्डकी अस्पताल लगिएको सुनेँ, अहिले के भयो थाहा छैन ।’  जहाज खसेको दुःखद दुर्घटनाको पीडा त सबैमा छँदै नै थियो । त्यसमा पनि यी स्थानीयको बयानले धेरैको मन थप छियाछिया बनायो । यही माघ १ गते बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । त्यस दुःखद दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए । बिहान विमान खसेपछि तत्कालै घटनास्थलमा पुगेका थिए स्थानीय । तीमध्येका एकको यस्तो बयान सुन्दा, पढ्दा मनै चसक्क बनायो । एकपछि अर्कोगरी अनलाइन समाचारमा जहाजमा रहेका यात्रुको शव भेटिँदै गएको खबरसँगै घटनास्थलबाट यी स्थानीयले प्रस्तुत गरेको यो दृश्यले धेरैलाई रुवायो । सुन्दै अपत्यारिलो लाग्ने यो दृश्यको वास्तविकता कसरी सम्भव छ ? नेपाली मन गतिविधि निर्दयी हुन सक्छ ? नेपाली समाजको यो नियतिको पछाडि आखिर के छ ? नेपाली समाजको सामाजिक पक्षको विकास कसरी भइरहेको छ ? अकल्पनीय यस्ता दृश्यहरू नेपाली समाजमा वास्तविकता बनेर किन र कसरी देखिँदैछन् ? प्रश्न समाजशास्त्रीहरुलाई गए पनि सोच्नुपर्ने अवस्था सबैको छ । तर हिजोआज सतहमा देखिएको एउटा उत्तर भने सामाजिक सञ्जाल नै हो । जसले यी अकल्पनीय कल्पनाहरूलाई पनि वास्तविक बनाई दिँदैछन् । यो र यस्तै अरू पनि कतिपय घटना दुर्घटना सुन्ने गरेका छौँ जसको पछाडि सामाजिक सञ्जाल जोडिएर आउने गरेका छन् ।  हो, मानिसको हातमा मोबाइल नभइदिएको भए यो निर्दयता सम्भव थिएन होला । मोबाइलको भिडियो भाइरल बन्ने लत नबसेको भए कसैले पनि यस्ता दृश्य खिचेर बस्न सक्दैनथ्यो । हुन त उनीहरूका सामु अरू बग्रेल्ती विषयहरू पनि होलान्, तर अबका दिनमा भने समाजशास्त्रीहरुले आफ्ना अनुसन्धानका समस्याका कथन (स्टेटमेन्ट अफ दी प्रब्लेम) सामाजिक सञ्जाल बनाउनुपर्ने देखिन्छ । सामाजिक सञ्जालमा चौबिसै घण्टा झुन्डिने लतले यो र यस्तै अरू के कति स्वरूप र मात्रामा नेपाली समाजलाई असामाजिक बनाउँदै छन् भनेर खोज्नुपर्ने दिन अब आएको छ । त्यसो भयो भने यस अनुसन्धानको निष्कर्षमा सामाजिक सञ्जालको सिर्जनात्मक र सही प्रयोग कसरी गर्ने भन्ने निस्कन सक्छ र त्यो सबैलाई काम लाग्न सक्छ । नेपाली समाजलाई पनि ‘भिडियो भाइरल’ को लतबाट बाहिर निकाली सिर्जनात्मकतातर्फ लैजान सक्छ । यसबाट सकारात्मक सोचमा र सत्य बक्ने बाटोतर्फ समाजलाई डोर्‍याउन सहज हुनेछ । अघिल्लो हप्ता राष्ट्रपति विद्या भण्डारी राष्ट्रपति निवास शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर ललितपुरका केही सम्पदाको भ्रमणमा जानुभयो । अघिपछि राज्यले दिएको सुविधाको लावालस्करमा यात्रा गर्ने राष्ट्रपति त्यस दिन सर्वसाधारणले चढ्ने बस चढ्नुभयो । के यो नराम्रो काम थियो ? एकातर्फ नागरिकले सधैँजसो चढ्ने साझा बस चढ्नुभयो जुन हिजोका दिनमा उहाँ पनि चढ्ने गर्नुहुन्थ्यो । अर्कातर्फ इन्धनमा शतप्रतिशत विदेशमा निर्भर हुनु परिरहेको हाम्रो जस्तो देशमा राष्ट्रपतिले बिजुली बस चढ्नुभयो र जसका कारण बिजुलीबाट चल्ने सवारीहरूको प्रचार पनि भयो । यसरी सकारात्मक रूपमा लिएर प्रचार गर्न पनि त सकिन्थ्यो, जसले समाजमा सकारात्मक सन्देशको ऊर्जा पनि प्रदान गर्दथ्यो । तर सामाजिक सञ्जालमा त राष्ट्रपतिले साझा बस चढ्नुलाई ‘नाटक’ सम्मको अर्थ लगाइयो र किन यस्तो गरेको भनेर दुष्प्रचारसमेत गरियो । यतिमात्र नभएर राष्ट्रपति भण्डारीले बस चढ्दा र ओर्लँदा पिर्कामा टेक्नुभएको विषयको समेत जानाजानी गलत प्रचार गरियो । यसलाई पनि सामाजिक सञ्जालमा विभिन्न अर्थ लगाइयो । कतिले यसैलाई ‘राष्ट्रपतिले भुईँमा टेक्न नहुने हो र ?’ भनेर समेत अर्थ्याए । के सर्वसाधारणले साझा बसमा हिँड्दा यसरी नै पिर्कामा टेकेर उक्लिन्छन् त भनेर तुलना गरे । कतिपय सामाजिक सञ्जालको आशय यस्तो देखिन्थ्यो कि राष्ट्रपतिले पनि अरूले जे गरेका थिए त्यसै गर्नुपर्दथ्यो । यो कस्तो अमानवीय सोच हो ? कोही व्यक्ति बिरामी छ, उसको शरीरले हुँदैन र कुनै भौतिक वस्तुको सहारा लिनुपर्ने भएरै लिन्छ भने त्यसमाथि किन यसरी कठोर टिप्पणी गर्नु ? सामाजिक सञ्जालमा आउने यस्तै टीकाटिप्पणीहरू हेर्दा लाग्छ सामाजिक सञ्जाल नकारात्मक सन्देश प्रचार गर्न मात्र प्रयोग हुन्छन् ।    राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लँदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो काठको वस्तु प्रयोग गर्नुहुन्छ । तर जबजब उहाँले पिर्काको प्रयोग गरेका तस्बिरहरू सार्वजनिक हुन्छन् त्यसपछि सामाजिक सञ्जालमा यस्ता टिप्पणी आउने गर्दछन् । राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो । भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उहाँको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्यारोपण गरिएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका विशेषज्ञ डा कैलाश भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार राष्ट्रपतिको हिपमा खराबी देखिएपछि मेटल ‘हिप रिप्लेस्मेन्ट’ गरिएको छ, यस्तो बिरामीले धेरै माथिसम्म खुट्टा उठाउनु हुँदैन, समस्या हुन्छ । त्यसैले उहाँ उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि ‘सपोर्ट’ राख्ने गरिएको हुनसक्छ । ‘हिप रिप्लेस्मेन्ट’ गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्यारोपण गरिएको हिपले ठाउँ छोड्ने (डिस्लोकेट हुने) पनि हुनसक्छ । यसैकारण उहाँले गाडी चढ्ने र ओर्लने बेलामा पनि कुनै अग्लो वस्तुको सहायता आवश्यक पर्ने गर्दछ । कुनै पनि मानिसको शारीरिक अस्वस्थतामाथि निर्दयी भएर यसरी टिप्पणी गर्न मिल्छ ? यस्तै, नकारात्मक टिप्पणी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाप्रति पनि केही अघि गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आएका बेला उहाँ र प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध भगवान्प्रति बसेर स्तुति गर्नुभएको थियो भने डा. आरजुले भने उठेरै गर्नुभएको थियो । उहाँको पनि स्वास्थ्यमा समस्या भएकाले बस्न नमिल्ने भएर उभिएरै प्रार्थना गर्नुभएको थियो । तर त्यो तस्बिर मिडियामा आएपछि सामाजिक सञ्जालमा उहाँको आलोचना नै भयो । कतिपयले प्रधानमन्त्रीहरू बसिरहेका बेला डा. आरजु किन उठेको भनेर प्रश्न मात्र गरे । यहाँसम्म कि कसैकसैले त उहाँ उठेको विषयलाई अशिष्टतासम्म भन्न पनि भ्याए । वास्तविकता के थियो र उहाँ के कस्तो समस्याले उठ्नुपरेको थियो भन्ने विषयको तथ्यमा धेरै पुगेनन् तथ्यहीन टिप्पणी मात्र गरिरहे । भनिन्छ, संसार छ र त सञ्चार छ । पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु ? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको । यसैले त संसारका मानिसलाई सञ्चारको जालोमा ल्याएको छ । अनि यही सञ्जालले नै यसका प्रयोगकर्ता सबै मानिसलाई सञ्चारकर्मी बनाएको छ । अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ । किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ । अर्को कुरा यो नागरिक पत्रकारिताको युग पनि हो । अहिले मानिसले सामाजिक सञ्जालबाट नै पत्रकारिता गर्न सक्ने भएको छ र कतिले गरेको पनि छ । त्यसो भए पत्रकारले यस्तो अमानवीय पत्रकारिता गर्न मिल्छ त ? के यसलाई नागरिक पत्रकारिता भन्न मिल्छ? सामाजिक सञ्जाल भनेका व्यक्तिका पिर व्यथा र खुसी साट्ने तथा खानपिन र उठबसका तस्बिर राख्ने अनि बाँकी सबैजसो आलोचना नै गर्ने माध्यममात्र होइनन् भन्ने बहस हुनु जरुरी छ । जनताका चासोका सूचनाहरू आदानप्रदान गर्ने र बौद्धिक बहस गर्ने ‘प्लेटफर्म’ पनि हो यो ।  कतिपय देशमा सामाजिक सञ्जाललाई चुनावी अभियान चलाउने र राष्ट्रका लागि ‘एजेन्डा’ सेटिङ गर्ने सशक्त औजारका रूपमा प्रयोगमा नै ल्याइसकेका छन् । अघिल्लो दशक  प्रजातन्त्रका लागि सुरु गरिएको क्रान्तिमा अरब वसन्त नाम दिनसक्ने हैसियत निर्माण गर्ने काम यिनै सामाजिक सञ्जालले नै गरेका थिए । किनभने मध्यपूर्वी देशहरूमा प्रजातन्त्रको बहार ल्याउन सामाजिक सञ्जालकै मुख्य भूमिका थियो । अहिले जनजीविकाका विषयदेखि सामुन्द्रिक तटमा बसेका मानिसहरूलाई सुनामी आउने सूचनाबाट बचाउने कामसम्मका लागि यिनै सामाजिक सञ्जालको सहायता लिने गरिएको छ । भारतमा त सूचनाको हकको प्रयोग गर्न सामाजिक सञ्जालबाट थालिएको अभियानले भ्रष्टाचारविरुद्धको अभियान नै सञ्चालन गर्‍यो र यही अभियानको उपजका रूपमा अरबिन्द केजरीवाल जस्ता नेता जन्मिए । त्यसैले हामीले पनि सामाजिक सञ्जालको प्रयोग देश र जनताका लागि यस्तै सिर्जनात्मक रूपमा गरौँ । अहिले असामाजिक बन्दै गएका सामाजिक सञ्जाललाई यसैगरी छोड्यौँ भने यसले हामी र हाम्रो समाजलाई सकारात्मक हुन नै सिकाउँदैन । अनि यस्तै दुरुपयोगबाट नै सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा दिनप्रतिदिन बढ्दै जानेछ ।