बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

काठमाडौं:  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।   कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस गर्नुभयो ।   शुक्रबार बहस सकिने छ ।

हिले:  भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।  सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री राईले आगलागि पीडितहरु झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लिला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच–पाँच हजार नगद प्रदान गर्नुभएको हो ।  गत पुस ३० गते राति आगलागि हुँदा छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो । यसअघि गाउँपालिका, रेडक्रस, सूर्यबहादुर थापा फाउण्डेसन, प्रदेश सांसद ईन्दिरा थापाले पनि आगलागी पीडितलाई नगदसहित बिभिन्न सामग्री प्रदान गरेका छन् । 

हेटौंडा:  बागमती प्रदेशका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । ८ जना मन्त्रीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा  गोपनीयताको शपथ लिएका हुन् ।  नेकपा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री,कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् । राप्रपाबाट यसअघि नै मन्त्री नियुक्त भइसकेका उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै पदभार ग्रहण गरेका छन् ।  बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यो सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् । 

काठमाण्डौ: जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएको सूचनामा ध्यानाकर्षण भएको जनाएको हो। परिसरले पेट्रोलियम पदार्थ खुला बिक्री गर्दा तथा असुरक्षित ओसारपसार गर्दा र घर पसलमा भण्डारण गर्दा आगलागी तथा मानवीय एवम् भौतिक क्षति हुने भएकाले संवेदनशील बन्न आग्रह समेत गरेको छ । पेट्रोल पम्पबाट गाडीमा सिधै भर्नेबाहेक खुला रुपमा बिक्री वितरण नगर्न र नगराउन पनि पम्प सञ्चालकलाई प्रहरीको अनुरोध छ। बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीको चेतावनी छ । हिजो मात्रै सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज ज्यान गएको छ। गएको माघ ५ गते काठमाण्डौको सुन्धारामा एक युवकले आफ्नै शरीरमा आगो लगाएका थिए । जलेर घाइते उनको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।  

काठमाडौंः    पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए । ‘६ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,’ उनले भने । नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । उनले ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।  

कामाडौं:  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यलाई बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। गृहमन्त्री लामिछानेले हिजोदेखिको निराशा र पीडा नै आत्मदाहको मुख्य कारण भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,भनेका छन्। एउटा नागरिकले  आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ,आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पीडाको परिणाम  हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्,ुउनले लेखेका छन्। मंगलबार बेलुका संसद भवन अगाडि आचार्यले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरिएको  थियो। उपचारका क्रममा उनको आज बिहान निधन भएको हो।

पर्वत: पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्मा बजारमा सातौँ महोत्सव सुरु हुँदै छ ।  यही माघ २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।  गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गिरी पर्वतबाट सांसदमा निर्वाचित भएका हुन् । महोत्सवमा दुई सय ५० कक्षमध्ये अधिकांश बुकिङ भइसकेका छन् । महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।  महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा र्याफटिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् । महोत्सवमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ ।  विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, भजन, छेलो, खुला दौड, तीर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिएको शार्थिक संयोजक ठाकुरबी पौडेलले जानकारी दिए ।

रुपन्देही:  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।  नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालयले मिति तय गरे अनुसार आज  ११ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको कांग्रेस नेता शंकर डाँगीले बताए । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ । एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए । दशौदी एमालेका केन्द्रीय सदस्य हुन् । नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन् ।

स्याङ्जाः    पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक   स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठदै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताउनुभयो । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो । “सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन”, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउनुहुन्छ । स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उहाँको भनाइ छ । “सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ”, खाँणले भन्नुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने उक्त सडकको स्तरोन्नति जरुरी छ ।  सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउनुहुन्छ । “वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक स्तरोन्नति आवश्यक छ”, उहाँले भन्नुभयो । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । सडकका घुम्ती काट्दा र चौडा बनाउँदा हालको सडकको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ । घुमाउँरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।  सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । हाल यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा  छ । अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ । स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन् । विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्ट । यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ ।