पोखराः पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फको फाइनल खेलमा खेलाडी माथि बोतल प्रहार भएको छ। खेल सञ्चालन भइरहेको समयमा एपिएफको खेलाडी भएको कोर्टतर्फ दर्शकले बोतल प्रहार गरेका हुन् । फाइनल खेलको चौटो सेटमा दर्शकले बोतल फालेपछि खेल केही समय राेकिएकाे थियाे । अहिले भने खेल पुन: शुरु भएको छ ।
नयाँ दिल्लीः भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको थियो । आगोका कारण अस्पतालका सञ्चालक डाक्टर, श्रीमती, एक जना कामदार र दुई जना आफन्तको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पताल धुवाँले भरिएको र अक्सिजनको अभावमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण नखुलेको धनवादका प्रहरी वरिष्ठ उपरीक्षक अरविन्दकुमार बिनाले बताउनुभएको छ ।
पोखरा: पोखराको सेती खोँचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तीव्रता दिएको थियो ।
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद अर्याल चयन गरेको छ । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको जनाउनुभएको छ ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।
पोखरा: गएको माघ १ मा पोखराको सेती खोँचमा यती एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा विमान दुर्घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३ औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ को मितेरीपुल नजिक बिहान ठीक १० बजेर ५८ मिनेट जाँदा श्रद्धाञ्जलीसभा गरेको हो । त्यस अवसरमा घटनामा ज्यान गुमाएका सबै यात्रुहरुको स्मृतिमा दीप प्रज्वलनसमेत गरेको हो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विमान दुर्घटनामा परेकाहरुको शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताउनुभयो । दुर्घटनाका आला घाउहरु पूर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ । उहाँले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति गण्डकी प्रदेश सरकारकातर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताउनुभयो । माघे सङ्क्रान्तिको बिहान काठमाण्डौबाट पोखरा आउँदै गरेको यती एअरलाइन्सको एटिआर विमान बिहान १० बजेर ५८ मिनेट जाँदा पोखरा वडा नम्बर ७ र १५ को सिमाको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७० जनाको निधन भइसकेको छ भने दुई जनाको खोजी कार्य जारी छ । दुर्घटनामा परेकामध्ये अझै केहीको सनाखतका लागि काठमाण्डौको त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ ।
काठमाडौं: सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद बदर गरिदिएपछि गृह मन्त्रालयबाट बाहिरिएका छन्। आज (शुक्रबार) साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए। 'एउटा अनागरिकलाई किन प्रश्न गरिरहनुभएको छ, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु, पार्टीको सभापति रहिँन, म केही पनि होइन, म कहिँको पनि होइन, एउटा परिचय नभएको अनागरिकलाई किन प्रश्न गरिरहनु भएको छ।' रविले भनेका छन् ।
काठमाडौं: रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले शुक्रबार राजीनामा दिएका हुन्। उनले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्। सिंहदरवास्थित गृह मन्त्रालयबाट उनी सिधै बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। उनले सञ्चारकर्मीसँग सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताएका थिए। उनले आफू अनागरिक भएको भन्दै प्रश्न नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका थिए। त्यसअघि सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गर्दै सांसद र मन्त्री पदका लागि अयोग्य रहेको आदेश सुनाएको थियो।
सर्लाही: रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भारतसँगको खुला सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा ध्यान केन्द्रित गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार सर्लाहीको हरिवनमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री उप्रेतीले तस्करी रोकेर राजस्व वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न भन्नुभएको हो । राज्य आर्थिक रुपले सङ्कटमा परिरहेको अवस्थामा तस्करी तथा राजस्व छली नियन्त्रण गरी कर सङ्कलनको दर वृद्धि गर्नुपर्नेमा रक्षामन्त्री उप्रेतीको जोड छ । उहाँले अवैध रुपमा भइरहेको गिट्टी, बालुवा र ढुङ्गा लगायत राष्ट्रिय सम्पत्तिको दोहनलाई समेत नियन्त्रण गरी त्यसलाई प्रक्रियागत रुपमा करको दायरामा ल्याउनुपर्ने बताउनुभयो । रक्षामन्त्री उप्रेतीले लक्ष्यअनुसार कार्यप्रगति देखिनेगरी काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । उहाँले आवश्यकता र आमनागरिकले अनूभूति पाउनेगरी काम गर्न सक्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुले मन्त्री उप्रेतीलाई यहाँको वस्तुस्थित र आफ्नो कार्यालय अन्तर्गतका समस्याहरु राख्नुभएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो । वर्तमान सरकारमा रक्षामन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला सर्लाही आउनुभएका मन्त्री उप्रेतीलाई शुक्रबार नै उद्योग वाणिज्य सङ्घ हरिवन र नेकपा (एमाले) क्षेत्र ३ को क्षेत्रीय कमिटीले स्वागत तथा सम्मान गरेका छन् ।

