बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

काठमाडौं:   नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो । राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उहाँको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको छ भन्नुभयो । उहाँले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपथ्र्यो । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो । कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन ।”  

काठमाडौं:  बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।

म्याग्दी:   बेनी नगरपालिका –१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरुले घर बाहिर पारिलो घाममा बिस्तारा लगाएर सुताउनुभएको थियो । त्यत्तिकैमा वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि बिकास बैंकका प्रतिनिधिहरु घरमै आइपुग्नुभयो । त्यसपछि जसिकलाको नाममा जारी भएको चेकमा ल्याप्चे लगाएर चेक तयार भयो ।  तीन महिनाको मासिक चार हजार रुपियाँका दरले १२ हजारको चेक बनाएर घरको आङ्गनमा सुतीरहनुभएकी जसिकलालाई कर्मचारीले रकम हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष थापासहित बैंकका प्रतिनिधिले रकम हस्तान्तरण गर्नुभयो । जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गरेपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दैआउनुभएको छ ।  तीन वर्षदेखि विरामी हुनुभएकी जसिकलाको परिवारका लागि सामाजिक सुरक्षाभत्ता घरमै पु¥याइदिँदा सहज भएको उहाँको भनाइ छ । गाडीमा हालेर बैंकसम्म लैजानुपर्ने बाध्यता थियो, वडाध्यक्ष टेकबहादुर थापाले पहल गरेर बैंकको टोली गाउँमै आएर भत्ता दिँदा हामी मात्रै नभई अरु बुढाबुढीलाई पनि सजिलो भयो, स्थानीय धनकुमारीले बताउनुभयो । बेनी नगरपालिका –१, रत्नेचौरका वडा अध्यक्ष अघिल्लो कार्यकालमा वडा सदस्य र त्यसभन्दा अगाडि साविक रत्नेचौर गाविसको सचिव र बेनी नगरपालिका भएपछिको वडानम्बर १ हुँदैगर्दा वडासचिव समेत रहनुभएका थापाले रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही असक्त तथा अपाङ्गता भएका समेत धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको बताउनुभयो ।  गएको वैशाखमा निर्वाचित भएर आएपछि चालु आर्थिक वर्षको पहिलो छ महिनाको भत्ता गाउँमै बितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बेनी नगरपालिकाको वडानम्बर १, ७ र ८ मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएको सरकारी बैंक कृषि विकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाँडेको हो ।  बैंकको म्याग्दी शाखा प्रवन्धक शंकरदेव मल्लका अनुसार बेनी नगरपालिका –१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चार सय एक जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्छन् ।  ३५६ जनाले सामाजिक सुरक्षा भत्ता र ४५ जनाले पोषण भत्ता पाउने वडा अध्यक्ष थापाले बताउनुभयो । त्यसमध्ये रत्नेचौरको फाँटक्षेत्र अर्थात् माथिल्लो भेगको रत्नेचौर र अर्जम क्षेत्रमा २ सय १ जना सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक भए पनि गाउँमै पुगेर वितरण गर्ने क्रममा १ सय ८० जनालाई १८ लाख ९५ हजार रुपियाँ वितरण गरिएको कृषि विकास बैक बेनी शाखाले जनाएको छ ।  चालु आर्थिक वर्षमा नवीकरण भएका रत्नेचौरको उपल्लो क्षेत्रका २०१ मध्ये १ सय ८० जनालाई घरमै पुगेर वितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै दाखिला गरिएको बैंकले जनाएको छ ।

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुनेगरी आज (सोमबार) मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

पोखरा:  पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी सङ्गीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो । अस्पतालका अनुसार सङ्गीताको शरीरको करिब ८० प्रतिशत भाग जलेको थियो । उहाँको उपचारकै क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्री पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दैगर्दा उहाँलाई उद्धार गर्ने क्रममा सङ्गीता जलेर गम्भीर घाइते हुनुभएको थियो । घाइते कृष्णको उपचार भइरहेको छ । घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

ढल्केवर:  धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले थुनुवा कक्षको भित्ता फोडेर फरार भएका छ जनाको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । उहाँले घटनासम्बन्धमा छानबिन समिति बनाएर समेत अनुसन्धान गरिने जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीले खोजी कार्यमा तालिम प्राप्त कुकुर र सशस्त्र प्रहरीलगायत सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभुयो । आइतबार राति करिब ३ बजे विभिन्न मुद्दाका छ जना आरोपित हिरासत कक्षको दक्षिणी भागको भित्ता फोडेर फरार भएका थिए । फरार हुनेहरुमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोदकुमार शर्मा, सोही नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल र २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२, बस्ने २५ वर्षीय हरिदीप सिंह, सोही नगरपालिका–६, बस्ने २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शङ्कर सिंह रहेका छन् । फरारमध्ये विनोद लागूऔषध, अमित सावरी ज्यान, रोशन राष्ट्रसेवक कर्मचारीसँग अभद्र व्यवहार, हरिदीप कुटपिट तथा रोशन र शङ्कर अवैध हात हतियार मुद्दाका आरोपित हुन् । प्रहरी कार्यालयको भवन पुरानो रहेको र हिरासतपट्टिको पर्खाल कमजोर भएका कारण इट्टा फोडेर भागेको प्रहरीको भनाइ छ । उनीहरु फरार भएको घटना थाहा पाएलगतै खोजी कार्यमा सक्रिय भएका सुरक्षाकर्मीले भागेर जाने सम्भावित स्थान तथा जिल्लाबाट बाहिरीने सवारी साधनमा समेत जाँच बढाइएको छ ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

दमौली:   नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।  शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो कि भन्ने लागेको छ तर त्यस्तो होइन ।”  गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्धनबाट त्यो सम्भव रहेको बताउनुभयो ।  कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता छ ।  प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.६१ हजार, द्वितीय हुनेलाई रु.५१ हजार, तृतीय हुनेलाई रु.३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु. १२ हजार पाँच सय प्रदान गरिनेछ ।  म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ । 

काठमाडौँ:  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको बैंकले जनाएको छ । यस्तैगरी, बैंकको सीईओका लागि बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको पनि आवेदन परेको छ ।    उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो ।