बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

गोरखपुर:   भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको गोरखपुरमा पूजाआजा गरिएको छ । शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मङ्गलबार राति गोरखपुर पुर्‍याइएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या हिँडेका हुन् । शिला आज (बुधबार) अयोध्या पुयाएर विशेष समारोहका बीच पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएको कांग्रेस नेता निधिले मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि भारतका लाखौँ श्रद्धालु बाटोमा निस्केर मध्यरातिसम्म दर्शन तथा अभिनन्दन गरेका थिए । नेता निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अतुलनीय योगदान पुगेको बताउनुहुन्छ । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्‍याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन् ।

काठमाडौं:  सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने हुने सम्भावित कार्यसूची रछ । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेश गर्नुहुने जानकारी दिनुभयो । त्यसैगरी, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने कार्यसूची छ ।

भक्तपुर: मोटरसाइकलको लाइसेन्स ट्रायल दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट अर्कैको नाममा ट्रायल दिने परीक्षार्थी पक्राउ परेका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका–५ बस्ने वर्ष २५ का युवराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।  दोलखा गौरीशंकर गाउँपालिका–५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष २३ को देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको हो।  प्रहरी सहायक हवल्दार भुपेन्द्र कार्कीको टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए। वास्तविक परीक्षार्थी खड्कालाई पनि अनुसन्धान गर्न हिरासतमा राखिएको छ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।     नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक विषय तथा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बुधबार बिहान १०ः३० बजे बालुवाटार पुग्नुभएको शर्माले बताउनुभयो । छलफलमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा पनि दुई अध्यक्षबीच परामर्श हुनसक्ने सचिवालयका सदस्यको बुझाइ छ । पूर्व गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गर्दै सो विषयमा उहाँले मङ्गलबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग अलग अलग छलफल गर्नुभएको थियो । सो मन्त्रालय आफ्नो दलले नपाए सत्ता साझेदार दलसँग अलग हुन सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ । 

काठमाडौँ:   नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक देवीप्रसाद (डीपी) ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले राज्यमन्त्री सरहको सुविधासहित उहाँलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिएको बागमती प्रदेशका सदस्य देवन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो ।      माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उहाँसँग स्वकीय सचिव रही मन्त्रालय हाकेको अनुभव समेत छ । अखिल (क्रान्तिकारी)को नेतृत्व गर्नुभएका ढकाल जेलजीवन बिताउन बाध्य हुनुभएको थियो । भक्तपुर जिल्लाको विकाशमा टेवा पुग्ने विश्वास लिइएको छ।  उहाँलाई नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले सिफारिस गरेको अर्का बागमती प्रदेश सदस्य सरल सहयात्रीले जानकारी दिनुभयो ।                                        

पोखरा:  लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो ।  कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा लिङ्ग र लैङ्गिकताको विाष्मा अधिवक्ता गिता कुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाको बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसाको परिचय, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा वडा नम्वर ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।   

 काठमाडौं:   अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो । विसं. २०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको थियो । तर, पछिल्लो समय हर्नको दूरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्ष राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले आग्रह गर्नुभएको छ ।

काठमाडौं:  नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठुलो बनेको बताए । उनले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताए ।  उनले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताए । उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताए । उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।   समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताइन् ।   

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।