काठमाडौं: संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा। किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो ।
स्याङ्जाः फुटबल सञ्चालन भइरहेको अनुमति विना नै हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलन रनेश डंगोल निलम्बित भएका छन् । स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। ‘अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइञ्जेललाई हो,’ निरौलाले भने, ‘अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं।’ उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए। डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए । पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो। पछि अनुसन्धानको क्रममा हेलिकप्टर कुनै अनुमतिबिना अवतरण गरिएको पाइएपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
काठमाडौं: काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् । नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेराज मैनाली बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।
बाजुरा: मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो। यसैगरी जिल्लाको गौमुल गाउँपालिका(१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका(११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्। बाजुरा केन्द्रविन्दु भएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
जुम्ला: जुम्लासहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ । सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। एक्कासि हिमपात भइ हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको छ अझै पर्ने क्रम जारी छ । उनले मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको जनाए ।
स्याङ्जा: नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो । क्यामरुन र वालिङ रातो खेलिरहेको अवस्थामा खेलको ४० औँ मिनेटमा एकाएक प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण भएको थियो । उड्डयन प्राधिकरणले अनुसन्धानका लागि पोखराबाट सेवा दिने प्रभु एयरका छ वटै हेलिकोप्टर उडानमा रोक लगाएको प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । प्रभु एयरलाई के कसरी घटना भएको हो र कसको गल्ती हो भन्ने बारेमा लिखित स्पष्टीकरणका लागि माग गरिएको र सत्य तथ्य नआउँदासम्म हेलिकोप्टर चलाउन रोक लगाएको निरौलाले बताउनुभयो । उडानका लागि एयरपोर्ट र स्थानीय प्रशासनसँग अनुमति र शान्ति सुरक्षाको प्रत्याभूति भएपछि मात्र उडान तथा अवतरण गर्नुपर्नेमा सो नदेखिएको बताइएको छ । यस्तै, हेलिकोप्टर अवतरण गर्दा कुटाइ खाएका क्याप्टेन रनेश डङ्गोलले वडा प्रहरी कार्यालय वालिङमा चार्टर गर्ने र आफूलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्नुभएको छ । डङ्गोलले हवाई उडान सुरक्षाविरुद्ध कसुर र अभद्र व्यवहार मुद्दा दर्ता गराएर कारबाहीको माग गर्नुभएको हो । क्याप्टेनको उजुरीसँगै प्रहरीले हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेका छ जनालाई म्याद थपेर अनुसन्धान अगाडि बढाएको र भिडियोमा पहिचान गरी थपलाई पक्राउ गरिने सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने औंल्याउनुभयो । गुणस्तरहिन औषधिलाई विक्री वितरण रोक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अहिले बजारमा गुणस्तरहिन औषधि उत्पादन तथा बिक्री वितरण भइरहेको भन्नेकुरा सुन्नमा आइरहेको छ । यो खालको गतिविधिले आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा सम्बन्धित निकायले औषधिको चेकजाँच गर्ने, यस्ता खालका औषधिलाई बिक्री वितरणमा रोक लगाउनतर्फ आवश्यक पहलको लागि ध्यानाकर्षण गर्न चाहान्छु ।’’ राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले महिला र बालबालिकाहरुमाथि नराम्रो व्यवहारका घटनाहरु घटिराखेको भन्दै उनीहरुमा सुरक्षा जोखिम बढेको बताउनुभयो । उहाँले महिला र बालबालिकाको शान्ति सुरक्षामा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘महिला र बालकालिकामाथि नराम्रो व्यवहार भएको घटनाहरु घटिराखेको छ । सुरक्षाको जोखिम बढीराखेको हो कि भन्ने देखिइराखेको छ । शान्ति सुरक्षाको व्यवस्था कायम गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’ राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले बञ्चरेडाँडाँमा फोहोर व्यवस्थापनको समस्या बल्झिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘‘शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले समन्वय गरेर बञ्चरे डाँडामा जुन फोहोरको व्यवस्थापन गरेको थियो । यो समस्या फेरी बल्झिने समस्या आइरहेको छ । त्यसकारण बेलैमा यसतर्फ सोचियोस् र हिजोजस्तो जनता र सुरक्षाकर्मीका बीचमा झडप नहोस् ।’’ राष्ट्रिय सभा सदस्य भवगती न्यौपानेले सरकारी अस्पतालको स्तरन्नोती गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले आम नागरिकले सरकारी अस्पतालमा बेड पाउन समेत नसक्ने भन्दै यसलाई सहज गराउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सरकारी अस्पतालमा बेड पाउन सकिएन । प्राइभेट अस्पतालमा उपचार गर्ने आर्थिक हैसियत छैन । भन्ने समस्या छ । सरकारी अस्पतालमा वर्षौंदेखिको स्तरोन्नति हुन सकेको छैन । बेड उपलब्ध हुन सक्दैन । सस्तो सुलभ सहज रुपले देशले उपचार गर्नसक्छ भनेर एउटा गरिबले महशुस कहिले गर्ने ? राज्यले यस विषयमा सोच्नु जरुरी छ । राज्यको ध्यान जाओस् ।’’ राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रश्तुत भएका विधेयकहरु निस्क्रिय हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले राष्ट्रिय सभामा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले नदिने गरेको भन्दै यसको जवाफ दिन मन्त्रीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यहाँका विधेयकहरु निस्क्रिय हुन्छन् । जिरोमा जान्छन् । यसको मान्यता कमजोर छ । राष्ट्रिय सभामा उठाएका जवाफहरु मन्त्रीहरुले दिनुपर्दैन । जनतासँग यसको सरोकार रहँदैन । यसको कुरा के हो मन्त्रीहरुले जवाफ दिनुपर्छ ।’’ राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले देशभर शितलहर चलेका कारण जनजीवन प्रभावित भएको भन्दै गरिब, निमुखा र जेष्ठ नागरिकलाई न्यानो कपडा राहतको रुपमा दिन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले देशैभर शितलहर चलिरहेको छ । यस जाडोमा गरिब, निमुखा, ज्येष्ठ नागरिक, बालबच्चाहरु अत्यन्तै पीडित छन् । तिनीहरुलाई खाना, न्यानो लुगा कपडाको राहत दिन अध्यक्षज्युमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले घुस रकमसहित पक्राउ परेका त्रिभुवन विमानस्थलका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘त्रिभुवन विमानस्थलमा भर्खरै कर्मचारीले आठ लाख र केही रक्सीका बोतलहरुसहित पक्राउ परेको कुराहरु समाचारमा आइराखेको छ । यस्ता भ्रष्टाचारीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्न चाहन्छु ।’’ राष्ट्रिय सभाको मङ्गलवारको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल भइरहेको छ ।
गलकोट: मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अर्ग्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाएको छ । यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ । विसं २०७२ बाट मौरीपालन थाल्नुभएको म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ –४ रमेटारलाई छान्नुभएको छ । उहाँले आफ्ना मौरीका घारहरू केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आउनुभएको छ । रमेटारस्थित खेतको डिलमा उहाँका एक सय १५ मौरीका घार छन् । खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएकोे बताउनुभयो । बागलुङ –४ उपल्लाचौर, कुँडुले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सर्नले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुँडुलेलाई लिएको छ । विसं २०५१ बाट मौरीपालन व्यवसायमा लाग्नुभएका माउन्टेन मौरी कन्सर्नका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताउनुभयो । कन्सनले कुँडुले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ । झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सनले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ । पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पु¥याउने योजनाअनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । “माउन्टेन मौरी कन्सर्नमार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुरसहित विभिन्न जिल्लामा मौरीका घार चरनका लागि पु¥याइन्छ”, उहाँले भन्नुभयो, “चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरीसहितका घार पु¥याउँदा व्यावसायिक प्रवर्धन हुने, घारसहितका मौरी बिक्री गर्ने र मौरीपालन व्यवसाय फस्टाउने लक्ष्यका साथ पहिलोपटक बागलुङको कुँडुले फाँटमा ल्याएको छु, झण्डै सय घारमध्ये बिक्री भएर अहिले कुँडुले फाँटमा ७० मौरीका घार छन्, यहाँका कृषकलाई मौरीपालन व्यवसाय सिकाउनका लागि सहयोग पु¥याइनेछ ।” व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसान मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरीखेतमा आउनुभएको छ । मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिँदै आएको पाइन्छ । मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाँउमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन् । मौरीलाई यो सिजनमा डेढ महिना बागलुङसहितका पहाडी जिल्लामा पु¥याएको कन्सर्नका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले बागलुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाडौँका विभिन्न स्थानमा पु¥याएको जानकारी दिनुभयो । “वर्षमा दुईपटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पु¥याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ”, उहाँले भन्नुभयो, “मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरुक बनाउँछु, नेपालको पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।” यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ । उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ । मौरीसहितका घार ढुवानी आफैंमा जोखिमपूर्ण भए पनि उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ । माउन्टेन मौरी कन्सर्नले मौरीसहितका घार बिक्रीबाट महभन्दा बढी फाइदा हुने बताउँदै प्रतिघारलाई रु। १२ हजारमा बिक्री गरिएको जानकारी दिनुभयो । ललितपुरबाट पहिलोपटक मौरी चरनका लागि बागलुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले विसं २०७२ देखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आउनुभएको छ । खत्रीले गत वर्षमात्रै एक सय १० मौरीसहितको घार बिक्री गरेर रु. १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु। एक लाख १३ हजार आम्दानी गरेको बताउनुभयो । खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताउनुभयो । यस्तै जैमिनी –७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार पाल्नुभएको छ भने ३० घार बागलुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएको जानकारी दिनुभयो ।
पोखराः पुस २० गते गृह मन्त्रालयले देशभरका क्रसर उद्योग तत्काललाई बन्द गर्न नोटिस गरेपछि उद्यमीहरु मर्कामा परेका छन् । यही विषयमा गण्डकी क्रसर उद्योग व्यवसायी संघले पोखरामा पत्रकार सम्मेलनमार्फत सरकारले व्यवसायमाथि निरंकुश शैलीमा डण्डा चलाएको बताए । संघका सचिव छत्रधर आत्रेयले कानूनतः र औद्योगिक ऐनअनुरुप दर्ता गरी क्रसर चलाउँदा पनि सरकारले अन्याय गरेको बताए । ‘कुनै व्यवसाय सञ्चालन गर्नुपूर्व ऐन नियम हुन्छ गण्डकी प्रदेशमा तत्कालिन बनाइएका ऐन नियममा रहेर ४९ वटा क्रसर उद्योग सञ्चालन गरेका छौं, आत्रेयले भने, ‘ऐन नियम भन्दा माथि रहेर खोलिएका उद्योगमा डन राखिएको भए त्यसमा जानकार छैनौं, मापदण्ड विपरित रहेका उद्योगले हामी बदनाम भएका छौं ।’ आत्रेयले सरकार पिच्छे कानून परिवर्तन हुँदा व्यवसायी मारमा परेको र गृहमन्त्रालयले व्यवसायीलाई नियमन गरेर पूर्वाधारमा मन्त्रालय नै बाधक बनेको धारणा राखे । उनले राज्यले नै कुन ठाउँमा क्रसर खोल्न मिल्छ, मिल्दैन त्यो ठाउँ देखाउन अनुरोध समेत गरे । ‘राज्यले कुन ठाउँमा क्रसर खोल्न मिल्छ–मिल्दैन देखाउँन जरुरी छ, त्यस ठाउँमा जान तयार छौं, उनले भने, ‘सरकारपिच्छे आउने कानूनले व्यवसायी मारमा परेका छन्, उद्योग बन्द नै समाधानको बाटो होइन सरकारले छिटो निर्णय गरोस् ।’ सोही प्रसंगमा पत्रकारले प्रश्न गरे ‘क्रसर व्यवसायी डन हुन् ?’, ‘सरकारको मापदण्ड, सडक, वन र वस्तीको मापदण्ड नमान्ने ?’ उक्त प्रश्नको जवाफ दिँदै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिव बहादुर कोइरालाले भने ‘क्रसर व्यवसायी हैन, गृह मन्त्रालयले डनको रुप देखाएको छ ।’ कोइरालाले विधिको शासन मान्ने बताउँदै क्रसर व्यवसायीहरु नियम मापदण्डमा नचलेको भए उद्योग मन्त्रालयले चिठी काट्नु पर्ने धारणा राखे । ‘व्यवसायी नियम र मापदण्डमा नचलेको भए उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई चिठी काट्नु पर्ने हो, कोइरालाले भने, गृह मन्त्रालयले सचिवस्तरीय निर्णय गर्नु भनेको डन बन्न खोज्नु हो ।’ कोइरालाका अनुसार सबैतिर गृहले हात हाल्दा समस्या देखा परेको हो । नेपाल निर्माण व्यवसायी संघ गण्डकीका अध्यक्ष टेकराज बरालले क्रसर उद्योग बन्द हुँदा निर्माण व्यवसायी देखि मजदुरसम्म बेरोजगारी हुन पुगेको बताए । ‘गृह मन्त्रालयले क्रसर उद्योग बन्द गर्दा प्रत्यक्ष रुपमा पूर्वाधार क्षेत्रमा असर पुगेको छ, निर्माण व्यवसायीले काम पाउन छोडे भने मजदुर पनि बेरोजगार नै भए, कोरोनापछि फस्टाउन खोजेको पूर्वाधार क्षेत्र पुनः दुई वर्ष पछि धकिलिने अवस्था आएको छ ।’ बरालले भने । उनले नेपालमा आएर ३० वटा भन्दा बढी ठुला आयोजनामा काम गरिरहेका विदेशी कम्पनीहरुपनि क्रसर बन्द हुँदा ठप्प हुने लागेको बताए । क्रसर व्यवसायीहरुले गृह मन्त्रालयको निर्देशनमा बन्द गरेको व्यवसायमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा सामान दुवानी गर्न पत्र काट्ने गरेको गुनासो गरेका छन् । ‘बन्द गर्न प्रशासनले पत्र काटेको छ, फेरी कुनै ठाउँमा सामान दुवानी गर भनेर पत्र प्रशासनले नै काट्छ, बन्द भएको उद्योगबाट बिल कसरी काट्ने, सामान कसरी पठाउने ।’ व्यवसायीहरु भन्छन् । गण्डकी क्रसर उद्योग व्यवसायी संघले राष्ट्र निर्माणका लागि आवश्यक ढुङ्गा गिट्टी रोडा तथा बालुवा उत्खन गर्न सम्बन्धित २०७० साल अगाडी औद्योगिक ऐनमा रहेर ४९ वटा क्रसर उद्योग दर्ता भएको जनाएको छ । विभिन्न परियोजनाका नाममा अनुमति लिएर वा अनुमति बिनै पहुँचको भरमा विभिन्न बाहना बनाएर राजश्व छलि गर्दै उद्धेश्य विपरित खोलिएको क्रसर उद्योगले राज्यको धज्जी उडाइरहेको व्यवसायी संघले जनाएको छ । राज्यले वर्तमान अवस्थामा क्रसर उद्योग सम्बन्धि रहेको मापदण्ड अव्यवहारिकका कारिण नयाँ उद्योगहरुको दर्ता एर्व संचालन अनुमति प्राप्त हुन नसकेको र २०७३ साल पछि नविकरण नभएको र राज्यलार्य राजश्व बुझाउँँदै आएको गण्डकी क्रसर उद्योगले जनाएको छ ।

