भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

 वालिङ:  यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो ।  सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु. ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु. ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु. ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु.४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।” सुन्तला टिप्ने क्रम जारी रहेको र अझै रु. तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो । “गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु. ७ लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ । “हालसम्म सुन्तला बिक्रीबाट रु. ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु. ५५ लाख आसपास पुग्थ्यो ।” विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ  ।“बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ । ” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।  

पोखरा:  तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् ।  ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।   नाटक ‘करेसा कन्सर्ट’ हाम्रा करेसाबारीका तरकारी पात्रहरूले आफ्नो महत्त्व र विशेषतामाथि छलफलमार्फत निष्कर्ष निकालेको कथा हो । नाटक बालबालिकाका लागि मात्र नभएर अहिलेका युवापुस्तालाई पनि केन्द्रित बनाएर बनाइएको छ । नाटकमा हाम्रा सामाजिक–राजनीतिक कथावस्तु दाउपेच र सन्दर्भहरूको छाया भेटिन्छ ।  त्यस्तै तरकारी पात्रमार्फत तरकारीको विशेषता, महत्त्व र अस्तित्वको सन्देश पनि बुनिएको छ भने मानव समाजको प्रवृत्ति र चरित्रको नाटकमा चित्रण गरिएको छ । नाटकमा पात्रहरू तरकारी भए पनि उनीहरूले समाज र देश झल्काएको बताउनुहुन्छ, नाटककी निर्देशक अञ्जु दाहाल । नाटकको स्क्रिप्ट पढ्दै जाँदा यसको विषयवस्तु बिल्कुलै नयाँ लागेकोले पनि यसलाई निर्देशन गर्ने जर्मको गरेको दाहालले बताउनुभयो ।  नाटकमा दिनेश सुनुवार, अनुराधा अर्याल, बिसन सुनुवार, सनिता थापा, विजया पौडेल, निश्चल कार्की, एन्जिला थापा, रोनिक्स गुरुङ, आकृति मल्ल, कामना तिवारी, अनुष्का भुवान्जी, अदिति पौडेल, सुवर्ण पौडेल, अरुशी पौडेलको अभिनय रहेको छ ।  ‘गुलेली मास्टर’ नेपाली समाजमा धेरै अभिभावकले गरिबीका कारणले अध्ययनबाट आफना बालबालिकालाई वञ्चित गरेको हामी पाउँछौँ । ‘गुलेली मास्टर’ले नाटकमार्फत अध्ययनको महत्त्वलाई थप उजागर गर्ने काम गरेको छ । अध्ययनले जोकोहीलाई पनि आफ्नो खुट्टामा आफैँ उभिन अहं भूमिका खेलेको हुन्छ । यसमा हरेक नागरिकले शिक्षा हासिल गर्नु उसको नैसर्गिक अधिकार हो । अशिक्षित हुँदा समाजमा भेदभाव, अन्धविश्वास दुव्र्यसन बढ्ने हुँदा यसलाई कसरी निर्मूल पार्नुपर्छ भन्ने कुरा नाटकमार्फत बताउन खोजिएको छ । ‘शिक्षाको हकबाट अब कोही पनि वञ्चित हुनुपर्दैन, त्यसका लागि पहिले इच्छाशक्ति देखाउन जरुरी हुन्छ’ भन्ने शिक्षा दिनु नै नाटकको प्रमुख उद्देश्य हो ।  एन्जल थापा, लक्ष्मी श्रेष्ठ, समिता आचार्य, अञ्जना गुरुङ, लजिमा थापा, सञ्जिला श्रेष्ठ, आदित्य विक, सुलभ पुलामी, आँचल रसाइली, सखिन थापा, अविनाश कुँवर र पुष्पराज खतिवडाको नाटकमा अभिनय रहेको छ ।  महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले गर्नुभएको थियो भने कार्यक्रममा पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नाटक छनोट समितिका संयोजक कलाकार प्रकाश घिमिरे, पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङ नाटक महोत्सवका निर्देशक परिवर्तनलगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।  

पोखराः    पोखरामा महानगरपालिका १३ काहुँखोला बस्दै आएका एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।  कास्कीको मादी गाउँपालिका ४ घर भएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।  पोखरामा १३ मा संगीता सापकोटाको घरमा बस्दै आएका क्षेत्रीले बाथरुम भित्र पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेका कँडेललाई बचाउने क्रममा घरधनी सापकोटाकाे शरिरका केही भाग जलेकाे छ ।   जलेर घाइते दुबैकाे अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सघन कक्षमा उपचार भइरहेको छ । आत्महादको प्रयास गरेका क्षेत्रीले पोखरामा पुस्तक पसल सञ्चालन गर्दै आएको स्रोतले बताएको छ । 

कास्की:  गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ।  मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ।  ती निर्णयहरूमा हेली उद्धारको कार्यविधिदेखि योजना वर्गीकरणसम्म रहेका छन्। बुधबार पदभार गर्दै चुमानले योजनाको वर्गीकरण गर्ने निर्णय सार्वजनिक गर्नुभएको हो। उहाँले गण्डकी प्रदेशमा विद्युतीय सवारी सञ्चालनसम्बन्धी मापदण्डका लागि एक महिनाभित्र गुरुयोजनामा आधारित योजना प्राथमिकीकरण गर्ने निर्णय गर्नुभएको छ।  त्यस्तै बुद्धसिंह मार्गमा पर्ने तनहुँस्थित बन्दीपुर गाउँपालिका–६ कुचिलाफेद र देवघाट गाउँपालिका–३ तनहुँ जोड्ने सडकअन्तर्गत सेती नदीमा पुल निर्माण आरम्भका लागि प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्री चुमानले गर्नुभएको छ।  आर्थिक मामिलामन्त्री सीता सुन्दासले १० वटा निर्णय गर्नुभएको छ। उहाँले गरेको निर्णयको पहिलो बुँदामा आर्थिक कार्यविधि ऐन नियमको अक्षरशः पालना गरी प्रदेश सरकारको वित्तीय अनुशासन कायम गर्ने रहेको छ।  प्रदेशको आन्तरिक स्रोत वृद्धि गरी सबल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, स्थानीय तहबाट सङ्कलन हुने संविधानबमोजिमका साझा क्षेत्रभित्रका कर र नदीजन्य खनिज पदार्थ उत्खनन तथा बिक्रीबाट प्राप्त हुने राजस्वमा वृद्धि गर्ने निर्णय गर्नुभएको छ।  प्रशासनिक खर्चलाई मितव्ययी बनाउने, पुँजीगत खर्च वृद्धि गर्नेतर्फ प्रभावकारी रूपमा समन्वय तथा सहजीकरण गर्ने मन्त्री सुन्दासको निर्णय छ। सुन्दासले राजस्व सङ्कलन तथा सेवा प्रवाहलाई अनलाइन प्रणालीबाट सञ्चालन हुने व्यवस्था निकास गर्नेतर्फ जोड दिने निर्णय गर्नुभएको छ।   सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले गर्भवती महिलाको उद्धारका निम्ति एयर लिफ्टिङका लागि कार्यविधि तयार गर्ने निर्णय गर्नुभएको छ।  गण्डकी प्रदेश सरकारले जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको निःशुल्क हेलिकोप्टर उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुर्गमका महिलालाई हेलिकोप्टरबाट पोखराका अस्पतालमा ल्याएर आमा र शिशुको ज्यान जोगाउने काम गरेको छ।  आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहामगरले शान्तिसुरक्षा, प्रहरी प्रशासन, विपत् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्युरोलगायत कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा अगाडि बढाउने निर्णय गरेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले राष्ट्रिय वनको व्यवस्थापन तथा वन पैदावार सङ्कलन र बिक्री–वितरणसम्बन्धी छुट्टै रणनीतिक योजना बनाउने निर्णय गर्नुभएको छ। कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले कृषि पुरस्कारबारे कार्यविधि स्वीकृत गर्ने र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको सम्भाव्यता अध्ययन गर्ने निर्णय गर्नुभएको छ।  

बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाबाट पछिल्लो पाँच महिनामा ५८ घरपरिवारका २२१ जना बसाइँ सरेका छन्। गत साउनदेखि पुस मसान्तसम्म गाउँपालिकाका स्थानीय गाउँ छाडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरेका हुन्।  अन्य व्यक्तिगत घटनाभन्दा बसाइँ सर्नेको तथ्याङ्क सर्वाधिक छ। गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नम्बर ५ बिहुँबाट बसाइँ सरेको जानकारी दिनुभयो। बिहुँबाट मात्रै पाँच महिनामा २२ परिवारका ८४ जनाले गाउँ छाडेका छन्। वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार बसाइँ–सराइ गर्नेमा पर्छन्। वडा नं. ६ बिहुँबाट पनि बसाइँ सर्नेको सङ्ख्या उच्च छ। वडा नं. ६ बाट ११ परिवारका ४३ जना बसाइँ–सराइ गरेका छन्। बिहुँका स्थानीय अधिकांश जापान, अस्ट्रेलिया, पोर्चुगललगायत मुलुकमा छन्।   गाउँपालिकाबाट बसाइँ–सराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेको सङ्ख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साबिकको बिहुँ गाविस (हाल वडा नं. ५ र ६) सदरमुकामदेखि छोटो दूरीका वडा हुन्। गाउँपालिकाका प्रवक्ता टीकासङ्गम विकले बिहुँमा दुईवटा सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार रहे पनि गाउँ रित्तिन नछाडेको बताउनुभयो।  अन्य वडाको तुलनामा बिहुँ फलफूल र नगदेबाली बढी उत्पादन हुने क्षेत्र पनि हो। राष्ट्रिय परिचयपत्र बनाउनेक्रममा घटना दर्ता भएका हुन्। काठेखोलामा सबैभन्दा कम बसाइँ–सराइ वडा नं.७ लेखानीमा छ। यो वडाबाट पाँच महिनाको अवधिमा एक परिवारका तीन जना सदस्य मात्रै गाउँ छाडेर अन्यत्र गएका छन्। “हामीले विकास निर्माणका काम गाउँमा केन्द्रित गरेका छौँ तर गाउँलेचाहिँ सहर केन्द्रित भएका छन्,” गाउँपालिका अध्यक्ष राजु थापाले भन्नुभयो, “बसाइँ–सराइको स्थिति हेरेर नीति, कार्यक्रम र बजेट बनाउनुपर्ने अवस्था आउन थालेको छ।”  वडा नं.१ पालाबाट दुई परिवारका आठ, वडा नं. २ भीमापोखराबाट छ परिवारका १८, वडा नं. ३ धम्जाबाट पाँच परिवारका १९, वडा नं. ४ तङ्ग्रामबाट दुई परिवारका १२ र वडा नं.७ रेसबाट नौ परिवारका ३४ जना बसाइँ सरेको गाउँपालिकाको तथ्याङ्क छ। बसाइँ सर्नेमा आर्थिक दृष्टिकोणले मध्यम वर्ग कम रहेका छन्। वैदेशिक रोजगारीबाट छोटो अवधिमा धेरै अर्थोपार्जन गर्ने परिवारका सदस्य बसाइँ–सराइ गरेको काठेखोला गाउँपालिका–२, भीमापोखराका वडाध्यक्ष विद्यापति शर्माको भनाइ छ।  गाउँपालिकाको तथ्याङ्कअनुसार दैनिक ज्याला–मजदुरी गरेर खानेहरू अवसरका खोजीमा सहर–बजारतिर झरेका छन्। आर्थिक रूपले सक्षम देशका ठूला सहर वा तराईमा बसाइँ सरेका छन्। उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेश झर्ने गरेका कारणले पनि बसाइँ–सराइको तथ्याङ्क बढ्दो छ। गाउँपालिकामा पछिल्लो पाँच महिनामा ११ परिवार गाउँ फर्किएका छन्।  बागलुङका १० वटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँ–सराइ धेरै भएका छन्। काठेखोलाको जस्तै तथ्याङ्क अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोलाबाहेकका स्थानीय तहमा पनि बसाइँ–सराइको दर उच्च छ।   

 जनकपुरधाम:  भारत उतर प्रदेशको अयोध्या लगिने देव शीला जनकपुरधाम ल्याइएको छ । अयोध्यामा निर्माणाधीन रामको मन्दिरमा स्थापित गरिने प्रतीमाका लागि नेपालको श्री कृष्णा गण्डकी तटबाट विधिपूर्वक शिला ल्याइएको हो । देव शिला जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चनाको लागि राखिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, एमाले नेतृ तथा संघीय सांसद जुली महतोलगायतले पूजा अर्चना गरेका हुन् । दर्शनको लागि जानकी मन्दिर प्राङ्गणमा भक्तजनको भीड लागेको । पूजाअर्चना गरि देव शिलालाई यहाँबाट अयोध्या लगिने जनाइएको छ।

चितवन:   फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापरका २ प्रजाति रहेका छन् तिते र मिठे फापर । जङ्गली अवस्थामा फल्ने एउटा प्रजाति छ जसलाई वन फापर पनि भनिन्छ ।  यो समय फापर फुल्ने मुख्य समय हो । हिजोआज चितवनका खेतहरूमा फापर र तोरी एकै साथ फुलेको देख्न सकिन्छ । फूलले रङ्गिन जस्तै बनेको छ चितवनका खेतबारीहरू । उच्च पहाडी भेगमा मुख्य गरी उत्पादन हुने गरेता पनि आजभोलि यसको खेती तराईका केही भेगमा पनि खेती गर्न थालिएको छ ।  जसमध्ये चितवन जिल्लाको मेघौली क्षेत्र र दिव्य नगर क्षेत्र यति बेला फापर फुलेर अति नै सुन्दर देखिएको छ । यही सौन्दर्यमा युवायुवतीहरू फापर खेतीमा टिकटक बनाएको पनि देख्न सकिन्छ। मेघौलीका किसान बोलबहादुर चौधरीका अनुसार यस क्षेत्रमा कात्तिक महिनामा फापर खेती गरिन्छ र फापर ६० देखि १५० दिनमा पाक्छ  करिब ७५ प्रतिशत दानाहरू खैरो, कालो वा मलिन खैरो रङ्ग भएपछि फापर काट्ने गरिन्छ। चौधरीका अनुसार बिहानको समयमा फापर काट्दा दाना झर्दैन र तुसारो पर्नु अगाडी नै बाली भित्र्याउनुपर्छ। फापर पोषणयुक्त खाद्यान्न भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ, जसमा कार्बोहाइड्रेट ७० देखि ७३ प्रतिशत, प्रोटिन १६ प्रतिशत र लाइसिन अमिनो एसिड पनि बढी पाइन्छ ।  

काठमाडौं:   पश्चिमी न्यून चापीय प्रणाली सुदूरपश्चिम प्रदेशबाट भित्रने क्रममा रहेकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली हुने अनुमान छ । यो प्रणालीको प्रभावका कारण अबको केही दिन सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा यो  प्रणालीको प्रभाव अलि धेरै पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । हिउँदे वर्षा नहुँदा बाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश १ मा गर्मी हुन थालेको छ । बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी छ । केही दिनअघि पश्चिमी न्यून चापीय प्रणालीकै कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि सामान्य वर्षा र हिमपात भएको थियो । अन्य प्रदेशमा भने अझै पानी पर्न सकेको छैन । पानी नपर्दा सुक्खापन बढेको छ । यसले हिउँदे बालीमा नोक्सानी पुर्याएको छ भने नदी तथा खोलामा पनि पानी सुक्दै जाँदा विद्युत् उत्पादनमा समस्या हुन थालेको छ ।

बागलुङः   बागलुङको ताराखोला गाउँपालिका २ अर्गल सिलेको स्थानीयको खरबारीमा आगलागी हुँदा वस्ती जोखिममा परेको छ ।  स्थानीयले खरबारीमा स्याउला जलाउन लगाएको आगो एक्कासी फैलिदा आगो नियन्त्रण बाहिर गएको स्थानीय भुमिराज विश्वकर्माले जानकारी दिए ।  ‘आगो वस्ती भन्दा तल लागेको छ, आगो भन्दा केही माथि वस्ती छ, अहिले आगो नियन्त्रण बाहिर छ, विश्वकर्माले भने, ‘अप्ठ्यारो भिर भएकाले आगो नियन्त्रण गर्न सकिएको छैन, वस्तीतिर आउँछ कि भनेर सजग भएर बसेका छौं ।’   ताराखोला गाउँपालिका २ का वडाध्यक्ष भद्रबहादुर घर्ति मगरले आगोको जोखिम भएका वस्तीलाई दिउँसो जोगाइएका जानकारी दिए ।  ‘दिउँसो आगलागीबाट वस्ती जोखिममा परेको थियो, स्थानीयको सहयोगमा वस्ती जोगाइएको छ, घर्तिले भने, ‘आगो भिरमा लागेकाले नियन्त्रण गर्न सकिएको छैन, रात परेकाले नियन्त्रण गर्न समस्या भएको छ ।’ स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो खरबारीमा फैलिएकाले नियन्त्रण बाहिर गएको स्थानीयले जानकारी दिएका छन् ।  खईम भन्ने स्थानमा लागेको आगो अहिले ताराखोला गाउँपालिका २ सिलेको कोट र गर्जुरे भन्ने स्थानमा फैलिएको छ । खरबारीमा सल्ला लगायत अन्य रुखको पातहरु र खर सुकेकाले आगो नियन्त्रण गर्न समस्या भएको स्थानीयले जानकारी दिएका छन् ।