सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

स्याङ्जा | माघ १५, २०७९

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी

 वालिङ:  यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ ।


स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । 


सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु. ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु. ८९ मा बिक्री भइरहेको सुन्तला उहाँले बताउनुभयो । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु. ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उहाँले भन्नुभयो, “यसबाट हालसम्म करिब रु.४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।”


सुन्तला टिप्ने क्रम जारी रहेको र अझै रु. तीन लाख जतिको सुन्तला बोटमै रहेको उहाँले बताउनुभयो । गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उहाँले बताउनुभयो ।


“गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उहाँले भन्नुभयो, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उहाँले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु. ७ लाख नोक्सान भएको उहाँ बताउनुहुन्छ ।


“हालसम्म सुन्तला बिक्रीबाट रु. ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उहाँले भन्नुभयो, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु. ५५ लाख आसपास पुग्थ्यो ।”


विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ  ।“बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भन्नुभयो, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।


” चौध वर्ष कोरियामा रोजगारी गर्नुभएका उहाँले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिनुभएको छ । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उहाँको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् ।उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुनुहुन्थ्यो ।  

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्