बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

पोखरा:  पोखराको बाटुलेचौरमा अतिथी गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ। पोखराकै २ जना महिला उद्यमी पार्वती थापा बस्नेत र अन्जना कार्कीको संयुक्त लगानीमा संचालनमा आएको उद्योगले आईतबार सेवा शुभारम्भ गर्दै आफ्ना उत्पादनलाई उपभोक्ताको माझ ल्याएको हो।  सेवाको गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार, शहरी विकास, तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा बोल्दै खड्काले उद्यमशीलतावाट मात्रै समृद्धि ल्याउन सकिने बताउदै, उद्योगले महिला सशक्तीकरणमा समेत टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभयो।  कार्यक्रममा कृषि विज्ञ वेनी बहादुर बस्नेत, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, वडा सदस्य राजकुमारी बानियाँ, क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, विन्ध्यवासिनी मा विका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, समाजसेवी नरेन्द्र थापा, बलराम तिमिल्सिना लगायतकाले उद्योग सफलताको शुभकामना व्यक्त गरेका थिए।हाल ५ जना महिलाले रोजगारी पाएकोमा अव बजारीकरण र सेवा विस्तारले सयौं महिलालाई रोजगारी दिन सकिने संचालक बस्नेतले बताउनुभयो।लामो समय शिक्षण पेशामा आवद्ध वस्नेतले महिला उद्यमशीलताको विकास गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्नुभएको हो। करिब २५ लाखको लगानीमा संचालनमा आएको उद्योगले प्लास्टिक रहित अभियानलाई सहयोग पुर्याउने गरि सपिङ झोला उत्पादन गरेको छ। त्यस्तै उद्योगले स्कुल र कलेजका डे्स, स्वेटर, झोला, सर्टिङ्ग सुटिङ लगायतका विभिन्न सामग्रीहरू उत्पादन सहित बजारीकरण गरेको बताएको छ।   

सुर्खेत- वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्नराजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।   छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी आज विहान साढे दुई बजे अनियन्त्रित भई सडकदेखि करिव ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।   घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा २७ बर्षिय सागर शाही, दैलेख डुङ्गेश्वर गा.पा.–५ बस्ने बर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गा.पा.–५ बस्ने बर्ष ३१ को बविन शाही, दैलेख गराँस गा.पा.–३ बस्ने बर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाई छ ।   दुर्घटनमा दैलेख भैरवी गा.पा.– ५ बस्ने बर्ष २६ को बिरेन्द्र राज शाहीको छातीमा गम्भिर चोट लागेको हुँदा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ, आदिवासी जनजाति मध्ये बौद्ध धर्मालम्वीले मनाउने सोनाम लोसारको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रिय ल्होसार पर्व –२८५९ ह्योई–तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको कामना गर्नुहुँदै प्रधानमन्त्री दाहालले शुभकामना व्यक्त गर्नुभएको छ ।    शुभकामना सन्देश (पुर्णपाठ) तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरूको राष्ट्रिय ल्होछार पर्व –२८५९ ह्योई/तावर ल्हो (खरायो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेको छ र अहिले हामी धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो आन्दोलनमा नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु ।   नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन् । यहाँ बसोबास गर्ने सबै जाति÷जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो ।   नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको शुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम -किसानहरूको_ ल्होछार पनि भन्दछन् ।   नेपालमा मात्र नभएर चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस, थाईल्याण्ड, ताईवान, मलेसिया, सिंगापुर लगायतका मंगोल—चिनिया सभ्यता पुगेका संसारका सबै महादेश र देशहरूमा मनाइन्छ । आज नै कामको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा रोजगारी वा अन्य कामको सिलसिलामा पुगेका नेपाली तामाङ संघ÷संस्थाहरुले समेत ल्होछार पर्व धुमधामसँग मनाउँदै आएका छन् । तामाङ जीवनमा ल्हो परम्पराको ज्यादै ठूलो महत्व छ । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्दछ ।   ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवद्र्धन गर्नुपर्दछ । अन्तमा, फेरि पनि सोनाम ल्होछारले समस्त नेपालीहरूमा आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकता कायम गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

काठमाडौं:   आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताले पनि सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

पोखरा:  नेपाल व्यवस्थापन संघ गण्डकी प्रदेशको नयाँ समिति गठन गरिएको छ ।  आज (शनिबार) संघका केन्द्रिय अध्यक्ष उपेन्द्रप्रसाद पौडैलको अध्यक्षतामा पोखरामा आयोजित कार्यक्रममा नयाँ समिति गठन गरिएको हो ।   पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.वीरबहादुर कार्कीको अध्यक्षतामा नवगठित प्रदेश समितिका, उपाध्यक्षमा पृथ्वीनारायण क्याम्पसकै प्राध्यपक देवीलाल शर्मा, सचिवमा शंकर पेपर र्वक्स प्रालिका माधव बस्ताकोटी, कोषाध्यक्षमा नबिल बैंकतर्फ गण्डकी प्रदेशका प्रमुख सूर्यबहादुर रोका चयन भएका छन् ।  त्यसैगरी सदस्यहरुमा सफल मिडिया हाउस प्रालिका अध्यक्ष दुर्गाप्रसाद हुमागाइइ, होटल स्नोल्यान्डका प्रबन्धक तथा निर्देशक गणेशबहादुर थापा, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका प्रमुख प्रकाश रेग्मी र हिमश्री फुडका अमिता थापा चयन भएको निर्वाचन समितिका संयोजक दिलीप पौडेलले जानकारी दिए ।  गण्डकी विश्वविद्यालका कुलपति डा.गणशमान गु्रुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, महासचिव मोहन ओझा, पूर्वकोषाध्यक्ष दिलिप पौडेलले संघको हालसम्म गरिएका गतिविधि र आगामी कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।    कार्यक्रममा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज पुल्मी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, नवनियुक्त अध्यक्ष डा. वीरबहादुर कार्की र देविलाल शर्मा अगायतले बोलेका थिए ।     

पोखरा:  चाउथे फुटबल क्लबले प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।  नेपाल उद्योग तथा ब्यवसायी संघले आयोजना गरेको प्रथम महानगर खुल्ला फुटसल प्रतियोगितामा चाउथे फुटबल क्लबले उपाधि जितेको हो ।  फाइनल खेलमा चाउथे फुटबल क्लबले नदीपुर फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको चाउथेले नगद १, उपविजता नदीपुरले ५०  हजारसहित  लाखसहित ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै वेस्ट पेलेर र बेस्ट गोल किपर चाउथे फुटबल क्लबका रोसन नेपाली र सुदिप सुनारले जितेका छन् भने हाई स्कोर भाइवस वुटवल क्लबका रुविन गुरुङ्गले पाए।  

कालीकोट:  कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ ।  जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ । बाढी पहिराले पूर्ण क्षति भएका घरको विवरण स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिलाई नपठाएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । “समितिले पटकपटक विवरण पठाउन ताकेता गर्दै आएको छ, स्थानीय तहले विवरण पठाएका छैनन्”, उनले भने । चार पटक ताकेता गर्दा पनि क्षतिको विवरण नपठाएको उनको आरोप छ ।  कालीकोटका नौवटै स्थानीय तहका छ सय ३२ घर पूर्णरुपमा क्षति, सात सय ३२ घर आंशिक क्षति, सात सय ३८ घर उच्च जोखिममा छन् भने चार सय २९ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढीबाट घर पूर्णरुपमा क्षति भए पनि  अहिलेसम्म राहत नपाएको पीडित नरहरिनाथ गाउँपालिका–९ का रत्नबहादुर शाहीले बताए । “पहिराले घर क्षति भएको चार महिना भयो । अहिलेसम्म राहत पाउन सकेको छैन”, उनले भने । 

नवलपरासीः    भारतीय तिर्थालु सवार बस पश्चिम नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना भएको हो । सब सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक मेघनाथ चापागाईले बताए । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको उनले बताए । बसका चालकसमेत घाइते भई उपचाररत रहेका र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।

काठमाडौंः    नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी विजयी भएका छन् । संघको ७ वटा पदाधिकारीमा मञ्चको ५ वटा उम्मेदवार विजयी भएका छन् । संघको शुक्रबार सम्पन्न २९औं साधारण सभामा भण्डारीले १९९ मत ल्याई विजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी रहेका कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कुमुद खनालले १३१ र लोकतान्त्रिककै भुवनसिंह गुरुङले १५७ र माओवादीनिकट व्यवसायी ईश्वरबहादुर जिसीले १२१ मत प्राप्त गरेका थिए । संघको प्रथम उपाध्यक्ष डिकबहादुर (कुमार) खत्री (२५३), द्वितीय उपाध्यक्ष सञ्जु गुरुङ (२६३), तृतीय उपाध्यक्ष रोशन कटुवाल (१९२), महासचिव मेघनाथ भुर्तेल (२६३), सचिव कर्णराज कटुवाल (२४१) र कोषाध्यक्ष सरिता घले (२२८) निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरूमा राजेन्द्र बस्नेत (२९१), विक्रम श्रेष्ठ (२४६), देवीमाया थापा (२४५), बैकुण्ठप्रसाद पौडेल (२३२), कैलाश पाठक (२३०), देउमान नेम्वाङ (२२४), आनन्द कोइराला (२१८), नारायण भुषाल (२१७), तोरणकुमार कार्की (२१२)र चन्द्रबहादुर लिम्बू (२१०) निर्वाचित भएका हुन् । नवनिर्वाचित भण्डारीले १० हजार सेवा शुल्क निर्णय खारेज गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलबबराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था गर्न आफ्नो कार्यसमितिको पहलकदमी रहने बताए ।