काठमाडौं: राष्ट्रियसभा बिहीबारको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गरेका हुन् । मन्त्री पौडेलले विधेयक प्रस्तुत गर्दै सूचना र प्रविधिको विकाससँगै मौलिक विषय समेटेर गुणस्तरीय र समयसापेक्ष मुलुकको विकासका लागि उक्त विश्वविद्यालय स्थापना गर्नुपर्ने जरुरी भएको बताए । उनले मुलुकको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए । बैठकमा राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । बैठकमा अध्यक्ष तिमिल्सिनाले जनता समाजवादी पार्टीका मृगेन्द्रकुमार सिंह यादवलाई दिगो विकास तथा सुशासन समितिमा मनोनयनका लागि प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बस्नेछ ।
काठमाडौं: प्रतिनिधिसभाका निर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ ढंगले संसद चलाउने बताएका छन्। सभामुखमा निर्वाचित भएपछि संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने बताए। ‘यो प्रजातन्त्रमा राम्रो सुन्दर अभ्यास भएको छ। यो अभ्यासले म चुनावमा प्रतिस्पर्धा गरेको हुँ। सभाको प्रतिनिधित्व ठीक ढंगले अगाडि बढाउँछु,’ उनले भने। बिहीबारको संसद बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका ईश्वरी न्यौपानेले १०० मत प्राप्त गरिन्। घिमिरे मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित भएका थिए।
काठमाडौं: प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका–६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ । सभामुख घिमिरेको बाल्यकाल सभामुख घिमिरेको बाल्यकाल ताप्लेजुङ जिल्लामा बितेको थियो । ताप्लेजुङको साविक सिकैँचा गाविस ९हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा बुवा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट भएको हो । १२ जना छोराछोरीमध्ये घिमिरे माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते जन्मनुभएको हो । निम्न मध्मम परिवारमा जन्मिनुभएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभयो । उहाँले ताप्लेजुङ सदरमुकाम फुङलिङको भानु पब्लिक हाई स्कुलबाट वि.सं. २०२९ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको हो । उच्च शिक्षाका लागि उहाँ धरान हुँदै काठमाडौं आउनुभएको हो । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमाबाट उहाँले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राजनीतिमा प्रवेश वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहनुभएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी सङ्गठनमार्फत पार्टी काममा होमिनुभएको हो । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटिनुभएका घिमिरेले भूमिगत भएर काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । राजनीतिक जिम्मेवारी २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी पाउनुभएको छ । उहाँ बिहीबार प्रतिनिधि सभाको सभामुख भएसँगै पहिलो पटक सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी पाउनुभएको हो ।
महेन्द्रनगर: पोखरा बस्साकी, काठमाणडौं है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो । सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या । बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग । धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।। चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको वेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ । आफूले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामा श्रद्धाञ्जलि दिएको उहाँले बताउनुभयो । बुधबार राति युट्युबमार्फत भाका सार्वजनिक गर्नुभएका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको बताउनुभयो । सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गर्नुभएको हो । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उहाँका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिनुभएको छ । “यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुँदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।,” उहाँले भन्नुभयो । उहाँले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उहाँले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गर्नुभयो । “शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भन्नुभयो, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।” कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो । रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।। संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए । एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।। यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउने क्रम सकिएको छैन । सोही विमानमा सवार महेन्द्रनगरका आमारछोराको शव अझै आफन्तले पाउन सकेका छैनन् । सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको । बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।। गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ । दिउँसै पडि रात, बाटो कुर्या घरपरिवार दिउँसै पडि रात ।। गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजारभन्दा बढीले युट्युबमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसा गरेका छन् ।
काठमाडौं: सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा घिमिरेले सभामुख पदमा दिएको उम्मेदवारीको समर्थन गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले त्यस पक्षमा मतदान गर्न सबै सांसदलाई आग्रह गर्नुभएको हो । सांसद घिमिरे योग्य र सक्षम रहेको उल्लेख गर्नुहुँदै प्रमुख सचेतक पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन उहाँलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गर्नुभयो । उहाँले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न पनि सभामुख पदमा योग्य व्यक्तित्व आवश्यक भएकाले आफूले घिमिरेलाई उम्मेदवारी दिन समर्थन गरेको पनि दोहोर्याउनुभयो । ‘‘हामी नेपालको सुशासन, समृद्धिका साथ अब सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध बनाएर सदनको माध्यामबाट हामी सबै जनतालाई व्यवस्थित गरेर अब नेपालको समृद्धि, राष्ट्रिय स्वाधीनताको रक्षाका साथ अगाडि बढ्नुपर्ने जो दायित्व छ । त्यसका लागि यो सदनमा अब हामीले व्यवस्थित र प्रभावकारी बनाउनका लागि आज हामी जो निर्वाचन गर्दैछौं ।,’’ प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ । त्यसैले उहाँलाई यस सदनको नेतृत्वको रुपमा सभामुख पदमा यहाँ भएका सबै दलहरु, स्वतन्त्र माननीयज्यूहरु सबैले उहाँको पक्षमा मतदान गरिदिनुहुनेछ । त्यही अपिल सम्माननीय सभामुखज्यूमार्फत सम्पूर्ण माननीयज्यूलाई अनुरोध गर्दछु ।’’ प्रमुख सचेतक पाण्डेले नेपाली जनतालाई एकताबद्ध भएर अघि बढाउन पनि घिमिरेको नेतृत्वमा सङ्घीय संसद् भए सहज हुने दाबी गर्नुभयो ।
पोखराः नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सभामुखका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न नेपाली कांग्रेसलाई आह्वान गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखका उम्मेदवार घिमिरेलाई मत माग्दै कांग्रेसले मुटुदेखि नै प्रधानमन्त्रीलाई समर्थन गरेको कि निधार देखि भन्दै प्रश्न गरेका छन । ‘प्रधानमन्त्रीलाई कांग्रेसले विश्वास मत दिएको छ, बिहान प्रमोद खरेलको गीत सुने, माया गर्ने मुटुले हो निधारले होइन, उनले भने, प्रधानमन्त्रीलाई मुटुबाट नै माया गरेको हो भने सभामुखलाई पनि मतदान गर्न अनुरोध छ ।' उनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।
काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थनमा बोल्नुहुँदै गृहमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो । शिक्षा, स्वास्थ्यका विषयमा सरकारले आवश्यक नीति बनाउन चुकेको धारणा व्यक्त गर्नुहुँदे उहाँले सभामुख जस्तो गरिमामय पदलाई बचाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यति धेरै लामो समयसम्म आम नागरिकलाई प्रतयक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले त्यस्ता ऐन, कानुन ल्याएर छलफल गर्नुपर्ने थियो यसमा विगतमा हामी धेरै चुक्यौ भन्ने लाग्छ, दलबाट चुनिएर आएपनि दलभन्दा माथि उठेर पदको अस्तित्व बचाउन सक्नुहुन्छ भन्ने लाग्छौँ । लाभहानी हेरेर काम नहोस् । जनताका मर्म नभुलि काम गरौँ । त्यो पनि प्राथमिकता छुट्याएर ।’’ गृहमन्त्री लामिछानेले दलगत कुराभन्दा माथि उठेर आगामी दिनमा सभामुखले आफ्नो भूमिका निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्ने बताउनु भयो । गृहमन्त्री लामिछानेले गृह मन्त्रालय आफ्नो विधि र पद्धति भन्दा बाहिर नजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले फरार रहनुभएका व्यक्ति संसदमा भएको र पक्राउको माग गर्न आग्रह गरेको कुरालाई खण्डन गर्दै उहाँले विधि र पद्धतिको पक्षमा गृह मन्त्रालय रहेको बताउनुभयो । गृहमन्त्रीले मन्त्रालयले आफ्नो विधिअनुसार काम गर्दा दवाव र प्रभावमा नपार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम बाहिर निस्किदैन । यो प्रक्रियामा कसैले दवाव र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ, विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवा हुन्छ । गृह मन्त्रालय आफ्नो निर्णयमा टसमस छैन । हामीले विधि र पद्धति स्थापित गर्छौं भनेर देखाइरहनु पर्दैन, यो स्वतःसिद्ध छ ।’’ गृहमन्त्री लामिछानेले नेकपा एमालेबाट सभामुखका उम्मेदवार घिमिरेलाई प्रतिनिधि सभाको सभामुखमा विजयी गराउन सांसदहरुसँग् आग्रह गर्नुभयो ।
म्याग्दी: सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन । नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमाको पहुँच हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्यामा पनि पुग्न नसकेको तथ्याङ्क छ । वि.सं. २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट अहिले पाँच हजार पाँच सय १६ परिवारका २८ हजार तीन सय ४३ जनाले सेवा लिइरहेका छन् । स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख दर्ता अधिकारी उपेन्द्र बरालका अनुसार म्याग्दी जिल्लामा पूर्ण निःशुल्क रूपमा चार हजार नौ सय ३८ जना ज्येष्ठ नागरिकले पूर्ण छुटका साथ बीमा सेवा लिइरहेका छन् । यसै गरी पूर्ण छुट पाउने ‘क’ वर्गका अपाङ्ग परिवारका १ सय १८, ‘ख’ वर्गका अपाङ्ग परिवार ४ सय ४८ रहेका छन् । त्यस्तै प्रदेश सरकारबाट छुट पाउने एचआइभी सङ्क्रमितहरू ३० जनाले पनि स्वास्थ्य बीमाको सुविधा लिने गरेको दर्ता अधिकारी बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रभावकारी तवरले बीमालाई जनस्तरमा पुर्याउने प्रयास भए पनि स्वास्थ्य संस्थाको कमी, स्थानीय तहमा काम गर्ने दर्ता सहयोगीको अभावले गर्दा छुटेकाहरूको पनि बीमा गर्न कठिनाइ भएको छ ।’ सरकारी अस्पतालबाटै जनताले सुविधा लिनुपर्ने भएकोले पनि सदरमुकाममा हुने निजी क्लिनिकमा पुगेर औषधी गर्न जनता बानी परेकाले पनि बीमातर्फ आकर्षित गर्न समस्या भइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । गुणस्तरीय सेवा सरकारी अस्पतालमा पाउने भए पनि छिटो सुविधा खोज्ने बानी परेको कारणले गर्दा बीमातर्फ जनता आउन हिचकिचाउन गरेका छन् । २०७३ साल पुस १३ गतेबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका लागि ४३ जना दर्ता सहयोगी छनौट गरेर गरिएको थियो । हाल ५ हजार ५ सय १६ परिवारका २८ हजार ३ सय ३४ जना जनसङ्ख्या मात्रै बीमाको पहुँचमा पुगेका छन् । तत्कालीन सुरुआती समयमा दुई हजार पाँच सय प्रिमियम तिरेपछि ५ जनाको परिवारले ५० हजार रुपैयाँ बराबरको स्वास्थ्योपचार पाउने गरेकोमा अहिले तीस हजार पाँच सय रुपैयाँ प्रिमियम तिरे एक लाख बराबरको सुविधा पाउन थालिएको छ । सबै नागरिकका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम २०७२ मा कैलालीबाट सुरु भएको थियो । ‘स्वास्थ्य बीमा दूर दराजमा पुग्न सकेकै छैन, अहिले पनि बीमा बजार केन्द्रित मात्रै देखिएकोले यसलाई अरू प्रभावकारी बनाउनका लागि बोर्डले नै पहलकदमी गर्नुपर्ने देखिन्छ’ नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले भन्नुभयो । ‘स्वास्थ्य सबै नागरिकहरूको सरोकार हो र स्वास्थ्य बीमा गर्नुपर्छ पनि । त्यसमा बढी प्रभावकारी स्थानीय तहका जनप्रतिनिधिको हुने भएकाले उनीहरू बढी जिम्मेवार तथा जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूले जनतासम्म यसको बारेमा पुर्याएको खण्डमा प्रभावकारी तवरले अगाडि बढ्छ’ उहाँले थप्नुभयो । उपभोक्ता हित संरक्षण मञ्च म्याग्दीका अध्यक्ष ठहरबहादुर भण्डारीले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बोर्डले प्रभावकारी तवरले काम गर्न नसकेको कारणले गर्दा नै जनस्तरमा बीमाको पहुँच पुग्न सकेको छैन । बीमा गरेकाहरूले आफूले पाउनुपर्ने सुविधा समेत राम्रोसँग उपभोग गर्न पाएका छैनन् । त्यसैले बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।’
कावासोती: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडककै कारण सर्वसाधारण जनताले दुःख पाउने र ज्यान गुमाउने समस्याको अन्त्यमा आफू लागिपर्ने बताउनुभएको छ। बुटवल–नारायणगढ सडक आयोजनाको स्थलगत निरीक्षण गर्न नवलपुर आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले सडककै कारण जनताले सास्ती खेप्नु दुःखद विषय भएको भन्दै निर्माणाधीन सडकको अवस्था बुझी समयमा नै समन्वयात्मक रूपमा कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँले नवलपुरको गैँडाकोट, रजहर, दुम्कौली र डण्डासम्मको निर्माणाधीन सडकको निरीक्षण गर्नुभएको हो। सडक निरीक्षणका क्रममा उहाँले देवचुली नगरपालिका चौधरी उद्योग ग्राम अगाडि निर्माणमा ढिलाइ भएको सडकका बारेमा समेत चासो लिनुभएको थियो। मन्त्री श्रेष्ठले सडकबाट करिब पाँच सय मिटर पैदल हिँडेर सडक आयोजनाले गरेको कामको अनुगमन गर्नुभएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले कामदार र सिफ्ट बढाएर आयोजनाको कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। सडक निर्माण समयमा नै हुन नसकेको अवस्थामा जनताले गर्ने गुनासोलाई यथाशीघ्र सम्बोधन गरी निर्माण कम्पनीलाई तत्काल निर्माणमा तदारुकतामा उहाँले जोड दिनुभयो।

