बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

पोखराः  पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

काठमाडौंः    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।       बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी रहेको बताइएको छ ।       पुस २६ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा हुनुहुन्छ । आइतबार साँझ पनि उहाँहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।      आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।

पोखराः   पोखरामा आइतबार बिहान भएको विमान दुर्घटनाको आज पनि बिहानैदेखि उद्धार तथा बेपत्ताको खोजी कार्य सुरु भएको छगरेको । सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धार कार्यमा लागेको हो ।  आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन–एन एएनसी एटीआर ७२–५०० विमान अवतरणअघि दुर्घटना भएको थियो । विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेकोमा आइतबार साँझसम्म ६८ जनाको मृत्यु  भएको पुष्टि भएको छ भने अन्य बेपत्ता छन् । दुर्घटना स्थलमा केही शव जस्तो देखिए पनि भौगोलिक कठिनाइका कारण निकाल्न नसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए ।  

पोखराः   पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेका पाइलट कमल केसीको निधनले यतिखेर कास्कीको रुपा गाउँपालिका शोकमा डुबेको छ । केसीको निधनले परिवारजन त साह्रै पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उहाँको जन्मस्थान पोल्याङवासी र गाउँपालिकावासी मर्माहत भएका छन् । केसीको रुपाको पोल्याङमा २०१९ सालमा जन्म भएको थियो । कमललाई विद्यालयमा प्राथमिक शिक्षा प्रदान गर्नुभएका उहाँका गुरु अग्रज पत्रकारसमेत रहनुभएका बद्रीविनोद प्रतीक आफूलाई आजको दिनमा कमलको दुःखद निधन सुन्नुपर्दा मर्माहत बनाएको बताउनुभयो । कमलले हालको रुपा गाउँपालिका–१ को जटेश्वर माविमा कक्षा ५ सम्मको अध्ययन गर्नुभएको प्रतीकले बताउनुभयो । उहाँले भन्नुभयो, “कमल कक्षामा जहिले पनि प्रथम हुन्थे । सानैदेखि मेहनती र अनुशासित थिए । आफूले प्राथमिक शिक्षा प्रदान गरेको एकजना शिष्य र देशकै कुशल पाइलट गुमाउँदा असाध्यै पीडा भएको छ ।”  पाइलट बनेपछि समेत केसीसँग पटक पटक भेटघाट हुने गरेको प्रतीकले सुनाउनुभयो । “भेट्दाखेरि जहिले पनि सम्मान र आदर गर्थे । सञ्चो बिसन्चो सोधपुछ गर्ने गर्दथ्यौँ । उनले चलाएको जहाज दुर्घटनामा परेको सुनेदेखि नै दिनभरि कसैसँग बोल्न पनि सकिनँ ।” उमेरले छ दशक पुगेका केसी अनुभवी पाइलटका रूपमा परिचित हुनुहुन्थ्यो । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण गराएका केसीसँगसँगै यात्रा गरेका पोखरेली पर्यटन व्यवसायी एवं सञ्चारकर्मी यतिखेर झलझली सम्झिएका छन् ।  केसी रुपा गाउँपालिकाबाट पहिलो पाइलट बन्नुभएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “उहाँकै प्रेरणाबाट पछि रुपाबाट अरू पनि पाइलट बन्नुभएको छ”, उहाँले भन्नुभयो, “केसीको निधन हाम्रा लागि अपूरणीय क्षति हो ।”  

काठमाडौंः   माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर ९माघे० सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँदै आएका छन् । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको थियो ।  तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।  धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित  पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।  जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । 

काठमाडौं:  सोमबार राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह मनाउन लागिएकामा पोखरामा विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिइएकाले स्थगित गरिएको छ । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा भोलि (सोमबार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृहमन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले  जानकारी दिनुभयो । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउने तयारी भएको थियो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो । सोमबार स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गरिने जनाइएको छ । दिवसका अवसरमा मूल समारोह समितिले सोमबार कमलपोखरी क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गृह मन्त्रालय, विभाग, काठमाडौं महानगरपालिका, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट), नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाको सक्रियतामा जनचेतनामूलक कार्यक्रम गरी मनाउन लागेका थिए ।  यस अवसरमा भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले प्रदर्शनीको समेत आयोजना गरिने जनाइएको छ । प्रदर्शनी भने मङ्गलबारदेखि गरिने जनाइएको छ । दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।   विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पुर्‍यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

पोखराः यति एयसलाइन्सको दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पहिचान गरी भोली परिवारजनलाई बुझाइने भएको छ ।    जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार पहिचान भएका शवहरु पोखराबाटै परिवारजनको जिम्मा लगाइनेछ ।    त्यस्तै, पहिचान हुन नसकेका शव काठमाण्डौं लगेर डीएनए परीक्षण गर्ने कार्यालयबाट जानकारी दिइएको छ । हाल शवहरु पोखरा विज्ञान प्रतिष्ठानमा राखिएकाे छ ।     जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको सूचना अनुसार ६९ शव भेटिएको छ भने बाँकी ३ शवको खोजी कार्य जारी छ । 

कावासोती:  राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् । देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापाको मौरी पालनबाट जिवन फेरिएको बताउनुहुन्छ । कम लगानिबाट पनि मनग्य आम्दानी भएपछि उहाँले मौरी पालनमा लागी परेको बताउनु भयो । खुसि हुँदै उहाँले भन्नुभयो, ‘‘पहिले मौरीपालनबाट के नै आम्दानी होला र जस्तो लागेको थियो तर, मौरीपालन गरेर यसबाट आम्दानी भएपछि मौरीपालन नै गर्ने र ब्लक क्षेत्र बनाउने बताउनु भयो । महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले जाडो मौसममा यसको माग बढ्दै गएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु अध्यक्ष कँडेलले बताउनुहुन्छ । जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरुले कृषि पेशाअन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन् । विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यहाका युवाले देखाएका छन् । चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । कावासोती नगरपालिकाका अनन्त कंडेलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्रनै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाहरुले सामुदायिक वनसँग साझेदारी गरी घार व्यवस्थापन गर्ने गरेका छन् । नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरी युवाहरु मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष कँडेलले बताउनुभयो । जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाको भनाइ छ ।

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले यति एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको बताउनु भएको छ ।  आइतबार एक शोक सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवम् चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’’  उहाँले सो सन्देश ट्वीटमार्फत सार्वजनिक गर्नुभएको हो । यसैबीच, आइतबार पूर्वी नेपालका केही स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पूर्वी नेपाल पुग्नु भएका राष्ट्रपतिले पोखरा घटनाको बारेमा थाहा पाउने बित्तिकै त्यहाँका कार्यक्रम स्थगित गर्नुभएको जानकारी राष्ट्रपतिको निजी सचिवालयले दिएको छ ।