ताप्लेजुङ: ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो । स्थानीय व्यापारी तथा तरुल उत्पादक किसानले मकर सङ्क्रान्तिको समयमा आफूखुसी तरुलजन्य वस्तुको मूल्य बढाएका हुन् । पुस महिना यता तरुल बजारमा निस्कन थालेको हो । तरुल निस्कन थाल्दाको मूल्यभन्दा मकर सङ्क्रान्तिमा दोब्बरले मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । सदरमुकाम फुङ्लिङ बजारका तरकारी तथा फलपूmल पसल र यहाँ लाग्ने हाटमा तरुलजन्य वस्तुको मूल्य वृद्धि गरिएको उपभोक्ताले बताएका छन् । मकर सङ्क्रान्तिको एकदिन अघि फुङ्लिङमा लागेको शनिबारे हाटमा महङ्गो मूल्यमा तरुलको कारोबार भएको उपभोक्ताको भनाइ छ । उपभोक्ताका अनुसार शनिबारको हाटबजारमा प्रति किलोग्राम ८० रुपियाँदेखि दुईसय रुपियाँसम्ममा तरुल खरिदबिक्री भएको छ । यसअघि प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँ पर्ने तरुलको मूल्य ८० देखि एक सय रुपियाँसम्ममा खरिद बिक्री भएको छ । त्यस्तै केही राम्रोखालको तरुल दुई सय रुपियाँसम्ममा खरिद गर्नुपरेको फुङ्लिङ नगरपालिक ा–५ स्थानीय उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । विगतको तुलनामा यसवर्ष तरुलको मूल्य अत्यधिक महँगिएको लिम्बूको भनाइ छ । हाट बजारमा बिक्री गर्न राखिएको घर तरुल, पताले तरुल, सिमले, स्कूसलगायत सबैखाले तरुल ब्यापारीले महँगो मूल्यमा बिक्री गरेका लिम्बूले बताउनुभयो । हाटमा वन तरुल प्रतिकिलोग्राम दुईदेखि दुई सय ५० रुपियाँसम्ममा बिक्री छन् । यसवर्ष मकर सङ्क्रान्तिमा तरुलको मूल्यको मूल्य अत्यधिक महँगो भएको उपभोक्ताले बताएका छन् । यता फुङ्लिङका स्थानीय व्यापारीले भने आफूहरुले तरुल खरिद गर्दा नै महँगोमा खरिद गर्नुपरेकाले सोहीअनुसार सीमित नाफा राख्दा मूल्य कही महँगो पर्न गएको बताउँछन् । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरुल महँगो मूल्य लगाएर खरिद गरी बिक्री गर्दैआएको र यसको व्यापारबाट खासै नाफा नहुने स्थानीय व्यापारीको भनाइ छ । हाटबजारमा तरुल बिक्री गर्न आएका किसान तथा ब्यापारीले सोचेजस्तो तरुल नै उत्पादन हुन छोडेको बताउँछन् । परिश्रम गरेअनुसार उत्पादन नभएपछि तरुलजन्य वस्तु महँगो मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ छ । उत्पादन नभएपछि उपभोक्ताको मागअनुसार तरुल उपलब्ध गर्नसक्ने स्थिति नरहेको पनि ब्यापारीले बताएका छन् ।
सुर्खेत: कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले सभामुखमा गुरुङलाई उठाउने निणर्य भएको जानकारी दिनुभयो । सुर्खेतबाट समानुपातिक सांसद एमालेकी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यस्तै, कांग्रेसका पोखरेलले शनिबार प्रदेशसभामा पुगेर सभामुखमा उम्मेदवारी दिनुभएको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको हो । सभामुखको निर्वाचन भोली (आइतबार) हुँदैछ ।
तनहुँ: तनहुँको एक पालिकालाई जिल्लामै पहिलो बालश्रम मुक्त घोषण गरिएको छ । तनहुँको म्याग्दे गाउँपालिका बालश्रम मुक्त घोषणा भएको हो । नेपाल सरकारको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) अनुसार विसं २०७९ सालसम्म निकृष्ट शोषणयुक्त बालश्रम तथा विसं २०८५ सम्म सबै प्रकारका बालश्रम अन्त्य गर्ने अभियानअन्तर्गत पालिका बालश्रम मुक्त घोषणा भएको जनाएको छ । बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमको तथ्याङ्क सङ्कलन तथा सम्भावित जोखिममा रहेका बालबालिकाको पहिचानसहित विभिन्न प्रकारका चेतनामूलक अभियान सञ्चालन गरी जिल्लाकै पहिलो बालश्रम मुक्त बनाउन सफलता मिलेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिवद्धता जनाएर बालश्रममुक्त पालिका घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । ‘‘पालिकाभित्र कुनै प्रकारको बालश्रमिक छैनन् । जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ,’’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो । नेपालको संविधानको धारा ३९९४० मा कुनै पनि बालबालिकालाई कलकारखा, खानी तथा अन्य जोखिम काममा लगाउन नपाइने व्यवस्था गरिएको अभियान सञ्चालन गरिएको अधिकारीले जानकारी दिनुभयो । अभियानको क्रममा निरन्तर अनुगमन, बालश्रममा पर्न सक्ने जोखिममा रहेका बालबालिकाको उद्धार, पुनस्र्थापना तथा पुर्नमिलन कार्यक्रमहरु गरिएको उहाँले जानकारी दिनुभयो । बालबालिका विभिन्न उद्योग, कलकारखाना, होटेललगायत निर्माण कार्यमा अझै पनि श्रमिकको रुपमा राख्ने गरेको पाएकाले अन्त्य गर्न बाल श्रममुक्त बनाउने अभियान गरेर बालश्रम मुक्त बनाइएको पालिकाले जनाएको छ । पालिकाका अनुसार एकीकृत हरित विकास नेपाल अभियानलाई सहयोग गरेको थियो । पूरै पालिका श्रममुक्त बनाउनका लागि उद्योगहरुको पटक पटक अनुगमन गरी बालश्रम मुक्त बनाइको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरी जिसीले जानकारी दिनुभयो । घर–घरमा पुगेर घरायसी कामदार समेत हटाउने काम सम्पन्न गरिएको जिसीले जानकारी दिनुभयो । एकीकृत हरित विकास नेपालका कार्यक्रम अधिकृत सुदिप सेडाईले एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणवाट पालिकालाई बलश्रम मुक्त अभियान घोषणा गरिएको ब्ताउनुभयो । घोषणाको ७ सूचक पालिका भरका पाँच हजार ३ २९ घरधुरीमा संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अवस्थाबारे अध्यनन तथा अनुसन्धान गरेर पालिकालाई पूर्ण बालश्रममुक्त अभियान घोषणा गरेकोगाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । सो अवसरमा श्रेष्ठले नेपालको सन्र्दभमा बालश्रम एउटा ठूलो चुनौती भएको बताउनुभयो । सरकारले नै बालश्रम मुक्त घोषणा संवैधानिक व्यवस्थामा नै गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा अझै पनि देशमा अनाथ, असहाय, गरिब बालबालिका बाँच्नका लागी पूर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुःखको विषय भएको बताउनुभयो । त्यस्तै, कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले अनाथ, असाह्य र गरिबीको रेखामा रहेको बालबालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको बताउनुभयो । पालिका बालबालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा बाल श्रममुक्त बालबालिकाको अवस्थामा ध्यान दिनुपर्ने उपाध्यक्ष घिमिरेले बताउनुभयो । भोलिको सभ्य र सुन्दर समाज निर्माणमा आजको बालबालिकाको काँधमा ठूलो जिम्मेवारी रहेको हुन्छ हुँदा बालबालिकाको संरक्षण, हित र उत्थानका लागि पालिकाले अभिभावकीय भूमिका बहन गर्ने पर्ने वक्ताका जोड छ ।
धनगढी: सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुनः मतदान हुने भएको छ । यसअघि बिहीबार भएको मतादानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुनः मतदान हुन लागेको हो । आज बिहान बसेको सर्बदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । बुधबार सत्ता गठबन्धनबाट एमालेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल मुख्यमन्त्री बने पनि त्यसकै भोलिपल्ट बिहीबार सभामुखमा भने गठबन्धनले बहुमत पुर्याउन सकेको थिएन । सभामुखका लाथगि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर, बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
बारा: तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको समान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो । विवाद पछि सोही ठाउँका ३६ वर्षीय मनोहर पटेल, धर्मेन्द्र पटेललगायतका स्थानीले प्रहरी सहायक निरीक्षक बिकरु मण्डल र प्रहरी हवलदार उमेश पण्डितलाई कुटपिट गर्दा उहाँहरू घाइते हुनुभएको बारा प्रहरीले जनाएका छन् । घाइते प्रहरीको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । सो घटनापछि इलाका प्रहरी कार्यालय, प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट आएका थप प्रहरी टोलीले कुटपिट गर्ने मनोहर पटेल र धर्मेन्द्र पटेललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा ल्याइएको तथा घटनामा संलग्न रहेका अन्य सहयोगीहरूको खोज तलास भइरहेको बारा प्रहरीले जनाएको छ । यसैगरी, प्रहरी चौकी कचोर्बाका प्रहरीमाथि भारतीय तस्करहरूले हातपात गरेका छन् । सिम्रौनगढ नगरपालिका ११ पिठुवास्थित बोर्डर नजिकै ड्युटीमा खटेका प्रहरीले पुस २७ गते साँझ ५ बजे भारतबाट भन्सार छलीगरी नेपालतर्फ ल्याउँदै गरेको समान चेकजाच गर्ने क्रममा सामान्य विवाद भएको थियो । सो घटनामा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वीचम्पारण पुर्णहिया निवासी ४५ वर्षीय सन्दीप यादव र रौतहट जिल्ला बौद्धीमाई नगरपालिका ७ बस्ने ३३ वर्षीय कासिम देवानले समान तस्करी गर्ने नम्बर नखुलेका एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साथै घटनामा संलग्न रहेकाको खोजतालस जारी रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
ढोरपाटन: “अहिले कुवा, पोखरीको पानी खानुपरेको छैन, धारोमा दिनदिनै पानी आउँछ, जति दुःख पाउनु पहिले नै पाइयो, पानीको समस्या हट्यो, अहिले किरा फट्याङ्ग्रा परेको पानी खानुपरेको छैन ।” तमानखोला गाउँपालिका–६ नर्जाखानीकी मनकुमारी छन्त्यालको घरै अगाडि अहिले खानेपानीको धारो बनेको छ । दैनिक धारोमा आउने स्वच्छ पानीले छन्त्यालको वर्षौँदेखिको दुःख भुलाएको छ । गाउँमा खानेपानीको समस्याले गर्दा स्थानीय घण्टौँ समय पानी बोक्नमा बिताउनुपर्थ्यो तर अहिले सबैको घरघरमा धारो बनेको छ । नर्जाखानी बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडमा रहेको नर्जाखानी गाउँ नजिक पानीको मुहान नहुँदा स्थानीयलाई खानेपानीको समस्या भोग्नुपरेको हो । खानेपानीसँगै स्वास्थ्य, शिक्षा, यातायात, विद्युतलगायत विकासका पूर्वाधारसमेत पछि परेको त्यहाँ अहिले त्यस्तो समस्या छैन । पहिले एक गाग्री खानेपानी भर्न घण्टौँ यात्रा गरेको छन्त्यालले स्मरण गर्नुभयो । अहिले घर छेउकै धारोमा पानी भर्न पाउँदा उहाँ दङ्ग हुनुहुन्छ । “खानेपानी नजिक थिएन, टाढा गएर पनि सफा पानी पाइँदैनथ्यो, धमिलो र किरा फट्याङ्ग्रा घुमिर रहेको पानी हुन्थ्यो, त्यो पानीलाई कपडाले छानेर ल्याउँथ्यौँ”, छन्त्यालले भन्नुभयो, “अहिले घरै अगाडि आँगनमा धारो छ, जति बेला पानी भरे पनि हुन्छ, पहिलेको जस्तो फोहर पानी प्रयोग गर्न पर्दैन ।” पानी बोक्न दैनिक पाँच÷सात घण्टा बित्ने गरेको सुनाउँदै अहिले त्यो समय अन्य काममा सदुपयोग भएको उहाँको भनाइ छ । छन्त्यालले नर्जाखानीवासीले वर्षौँदेखि भोग्दै आएको समस्या खानेपानी नै मुख्य भएको भन्दै अहिले सिङ्गो गाउँलेमा खुसी छाएको बताउनुहुन्छ । “बिहान उज्यालो नहुँदै उठेर एक गाग्री बोकेर पानी लिन एक डेढ घण्टा हिँड्नुपर्थ्यो, धारोमा पुग्दा लामो लाइन हुन्थ्यो”, खुसी हुँदै छन्त्यालले भन्नुभयो, “अहिले घरमै धारो छ, लाइन कुर्नु परेन, जति बेला जति भरे पनि भयो, अहिले कति हो कति सजिलो भएको छ ।” स्थानीय सिर्जना छन्त्यालले घरघरमा धारो बनेपछि बारीमा तरकारी उत्पादन गर्न र सरसफाइमा निकै सहज भएको बताउनुभयो । उहाँले घरमा धारो नहुँदा सरसफाइ र तरकारी खेती गर्न निकै समस्या हुने गरेको भन्दै अहिले त्यो समस्या हटेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एक दुई घरले मात्रै होइन, यहाँ त सिङ्गो गाउँले नै दुःख पायो, खानेपानी बोक्दैमा दिन बित्थ्यो, बिहान उज्यालो नहुँदै पँधेरो गएको आउँदा ९र१० बज्थ्यो, सरसफाइ र तरकारी खेती गर्न समस्या थियो, बस्तुभाउलाई पानी खुवाउनका लागि तलै खोलामा पुर्याउनुपर्थ्यो, अहिले बारीमा हरियो सागसब्जी उत्पादन भएका छन्, ट्वाइलेट बाथरुम सफा भए, बस्तुभाउले सहजै पानी पिउन पाएका छन् ।” तमानखोला गाउँपालिकाले अघिल्लो वर्ष रु ३८ लाख लगानी गरेर एक घर एक धारा निर्माण गरेको हो । स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएको हुँदा आफू जनप्रतिनिधि भएर आएपछि खानेपानीमा लगानी गरेको गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो । “गाउँमा स्थानीयले खानेपानी समस्या भोग्दै आए, यसभन्दा अगाडि गाउँमा पानी ल्याउन निकै प्रयास गरियो, बजेट अभावले आउन सकेन, अहिले स्थानीय सरकार बनेपछि सुरुका दिनदेखिनै खानेपानीमा लगानी गर्न थालेको अहिले गाउँका सबै घरमा खानेपानीको व्यवस्थापन भएको छ”, अध्यक्ष बुढामगरले भन्नुभयो । एक घर एक धाराअन्तर्गत नर्जखानीमा एक सय १४ व्यक्तिगत धारा र चार सार्वजनिक धारा निर्माण गरिएको छ । वडा नम्बर ६ कै भित्रीवनमा अहिले एक घर एक धारा कार्यक्रम सञ्चालनमा रहेको अध्यक्ष बुढामगरले बताउनुभयो । गाउँपालिकाभित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्याउन गाउँपालिकाले विभिन्न निकाय र सरकारसँग समन्वय गरेर योजना अगाडि बढाइरहको बुढामगरले बताउनुभयो । गाउँपालिकासहित प्रदेश, सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत खानेपानी योजना निर्माणको काम अगाडि बढेको उहाँको भनाइ छ । अध्यक्ष बुढामगर भन्नुहुन्छ, “केही वर्ष अगाडिसम्म गाउँपालिकाका धेरै नागरिक शुद्ध खानेपानीको पहुँचभन्दा टाढा थिए, अहिले सबै वडाका ६० प्रतिशत घरमा एक घर एक धारा निर्माण भइसकेको छ, केही योजना सम्पन्न हुने क्रममा छन् ।” उहाँले केही वर्षमै गाउँपालिकाका सबै घरमा खानेपानीको सहज पहुँच पुर्याउने बताउनुभयो । भौगोलिक विकटताले सबै गाउँ र बस्तीमा खानेपानी पुर्याउन ढिला भएको भन्दै अहिले धेरै ठाउँमा एक घर एक धारा निर्माण भइसकेको बुढामगरले बताउनुभयो ।
लमजुङ: लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महोत्सव सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशील बनाउन गाउँपालिकाले शैक्षिक महोत्सव आयोजना गरेको हो ।सात दिनसम्म हुने शैक्षिक महोत्सवमा विद्यार्थीहरूको शैक्षिक प्रदर्शनीसँगै राजनीतिक दल, शिक्षक, अभिभावक, विद्यार्थीबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम रहेको छ । सोबाहेक शिक्षक, अभिभावक र विद्यार्थीका लागि उत्प्रेरणा कार्यक्रम, विविध खेलकुद र साँस्कृतिक कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । मंगलबार विशेष समारोहका बीच महोत्सवको उद्घाटन भएको हो । संविधानसभा सदस्य जमिन्द्रमान घलेले महोत्सवको उद्घाटन गरेका हुन् । पहिलो दिन महोत्सव उद्घाटनसँगै शुभकामना मन्तव्य, विविध शैक्षिक प्रदर्शनी र साँस्कृतिक कार्यक्रम भएका छन् । दोस्रो दिन बुधबार गाउँपालिकाअन्तर्गतका विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समिति पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक उत्प्रेरणा कार्यक्रम रहेको छ । त्यसैगरी बिहीबार गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयमा कक्षा ८, ९, १० र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावक र २९ गते विद्यार्थी लक्षित उत्प्रेरणामूलक कार्यक्रम हुने भएको छ । त्यस्तै शैक्षिक महोत्सवको पाँचौ दिन ३० पुसमा मस्र्याङ्दी कप, माविस्तरीय छात्रछात्रा दौड प्रतियोगिता, ज्याब्लिङ थ्रो, सटफुट, हाईजम्प, लङजम्प, प्राविस्तरीय छात्रछात्रा गणित दौड प्रतियोगिता हुने भएको छ । यसैगरी १ माघमा माविस्तरीय छात्रछात्रा भलिबल प्रतियोतियोगिता र भुलभुले खेल मैदानमा आधारभूत विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शैक्षिक महोत्सवको अन्तिम दिन २ माघमा भलिबल, फुटबल प्रतियोगिताको फाइनल खेल, पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने कार्यतालिका रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।
सिन्धुली: एक किलो गाँजासहित धन कुमार वाइबा पक्राउ परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइबा अवैध लागूऔषध गाँजा करिब १ किलोसहित प्रहरीले पक्राउ गरेको हो । सिन्धुली प्रहरीका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

