सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित
काठमाडाैं | माघ ५, २०७९

काठमाडौं: प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो ।
उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ ।
सभामुख घिमिरेको बाल्यकाल
सभामुख घिमिरेको बाल्यकाल ताप्लेजुङ जिल्लामा बितेको थियो । ताप्लेजुङको साविक सिकैँचा गाविस ९हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३ मा बुवा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट भएको हो । १२ जना छोराछोरीमध्ये घिमिरे माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते जन्मनुभएको हो ।
निम्न मध्मम परिवारमा जन्मिनुभएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिनुभयो । उहाँले ताप्लेजुङ सदरमुकाम फुङलिङको भानु पब्लिक हाई स्कुलबाट वि.सं. २०२९ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको हो । उच्च शिक्षाका लागि उहाँ धरान हुँदै काठमाडौं आउनुभएको हो । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमाबाट उहाँले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।
राजनीतिमा प्रवेश
वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहनुभएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी सङ्गठनमार्फत पार्टी काममा होमिनुभएको हो । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटिनुभएका घिमिरेले भूमिगत भएर काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।
राजनीतिक जिम्मेवारी
२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी पाउनुभएको छ । उहाँ बिहीबार प्रतिनिधि सभाको सभामुख भएसँगै पहिलो पटक सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी पाउनुभएको हो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...