पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।      समारेहको पोखरा महानगरपालिका ...

काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदको शपथ ग्रहण भोलि सोमबार दिउँसो गर्ने तय भएको छ ।    राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा उहाँले प्रधानन्यायाधीशसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्नु हुनेछ ।    राष्ट्रपतिको शपथ ग्रहणको विशेष समारोहमा समाचार सङ्कलन तथा छायाङ्कनका लागि राष्ट्रपति कार्यालयले सञ्चार माध्यमलाई सोमबार दिउँसो १ बजे आउन निमन्त्रणा गरेको छ ।   राष्ट्रपतिले प्रधान न्यायाधीशसँग शपथ लिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।    पौडेलले शपथ ग्रहण गरेसँगै उहाँको औपचारिक पदावधि सुरु हुन्छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि आजबाट सकिँदैछ । राष्ट्रपति पदको जिम्मेवारी प्राप्त गर्ने पौडेल तेस्रो व्यक्ति हुनुहुन्छ ।

सिन्धुली:  मध्यपहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुइभीर डाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।    दुर्घटनामा १९ जना घाइते भएका र उनीहरुको   खुर्कोटस्थित  अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले  जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्।   शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताएका हुन्।   ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। आइतबार संयुक्त अपील गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।’ प्रचण्डले भने, ‘नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ। बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ।’    समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिस्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्ने उनको भनाई छ। प्रचण्डले एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा रहेको आरोप लगाए। ‘एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्।’    उनले माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति आफूहरुले नेतृत्व लिनुपर्ने बताए। उनले भने, ‘तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो। माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ।’    प्रधानमन्त्री प्रचण्डले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढंगले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने स्पष्ट पारे।

दमौली:  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले तीनै तहको सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।   तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बलिदान र सङ्घर्षबाट प्राप्त भएको उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यस्ता षड्यन्त्रलाई असफल बनाइने उल्लेख गर्नुभयो ।   मन्त्री शर्माले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुँदा नै देश विकास सम्भव रहेको बताउनुभयो । संविधानले तीन तहको सरकारको परिकल्पना गरेको उल्लेख गर्दै उहाँले संविधानले नै तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।”   विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । स्थानीय सरकारलाई बलियो बनाउनका लागि कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि गुम्न दिँदैनौँ । स्थानीय तहलाई बलियो बनाएर लैजान सरकार प्रतिबद्ध छ ।” गाउँपालिकाले अगाडि सारेका गौरवका योजनाका लागि बजेट विनियोजन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभयो ।   कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार व्यवस्थामन्त्री हरिबहादुर चुमानले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार सहयोग गर्न सदैव तयार रहेको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय सरकार प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।   कार्यक्रममा गाउँपालिकाको विकासमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ ।

काठमाडौं:  चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रु २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रु ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रु नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।   सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रु ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण रु २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण रु १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण रु नौ खर्ब ५७ अर्ब ६१ करोड बराबर थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा रु ७६ अर्ब ६६ करोड ९९ लाख बाह्य ऋण थपिएको छ । आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा रु १९ अर्ब ४३ करोडले घटेको छ ।   नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अहिले कूल गार्हस्थ्य उत्पादन रु ४८ खर्ब ५१ अर्ब ६२ करोड बराबर छ । जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।   चालु आवको पुस मसान्तसम्म नेपालले रु ४७ अर्ब २७ करोड बराबर ऋण उठाएको छ । जसमध्ये रु ३० अर्ब आन्तरिक र रु १७ अर्ब २७ करोड बाह्य ऋण उठाएको हो । यही अवधिमा रु ४५ अर्ब ६१ करोड बराबर साँवा ब्याज भुक्तानी गरेको छ । पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा रु २८ अर्ब ३० करोड र ब्याज रु १७ अर्ब ३१ करोड बराबर छ ।   यो अवधिमा आन्तरिक ऋणको साँवा रु १९ अर्ब ५९ करोड २५ लाख र ब्याज रु १५ अर्ब ६५ करोड ९६ लाख गरी कूल रु ३५ अर्ब २५ करोड भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा रु आठ अर्ब ७१ करोड र ब्याज रु एक अर्ब ६५ करोड गरी रु १० अर्ब ३६ करोड भुक्तानी भएको छ । कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर छ । 

काठमाडौं:  नेकपा (एमाले) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताउनुभएको छ।    काठमाडौंको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको उहाँको भनाइ छ।    अध्यक्ष ओलीले नेपालीहरू बहादुरमात्रै नभई बुद्धिमानी पनि रहेको बताउनुभयो। उहाँले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गर्नुभयो। उहाँले वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको बताउनुभयो।    ओलीले नेपाल इतिहासमा पनि विद्वानहरूको भूमि भएको र भविष्यमा पनि विद्वानको भूमि हुने बताउनुभयो। उहाँले नेपाल ज्ञानको उत्पत्ति बिन्दु भए पनि पाश्चात्य शिक्षाको प्रभावले ओझेलमा पारिएको बताउनुभयो।     उहाँले भन्नुभयो, ‘‘नेपालीलाई बहादुर मात्रै भनिएको छ। तर बहादुर मात्रै होइन, नेपालीहरू विद्वान पनि छन्। हाम्रा पुर्खाजस्ता विद्वान कोही छैनन्। वेदव्यास तनहुँका थिए, ऋषि विश्वामित्र शिवभन्दा पछाडि दर्शनशास्त्रका प्रणेता विश्वामित्र कोशी किनारमा बस्थे। २६ सय वर्षअघि बुद्ध रुपन्देहीमा थिए। पाणिनी अर्घाखाँचीका थिए। यस्ता अनेक विद्वान यहाँका छन् तर छोप्न खोजिएको छ। यो इतिहासमा पनि विद्वानको भूमि हो। भविष्यमा पनि विद्वानहरूको भूमि हुनेछ।’’   अध्यक्ष ओलीले नेपाल जस्तो पवित्र भूमि र ज्ञानको प्रारम्भ भएकाले नेपाल ऐतिहासिक भूमि भएको बताउनुभयो।   

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा उम्मेदवारी फिर्ता नहुने बताएका छन् । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै राउतले सकभर सहमति हुने नभए मित्रवत् प्रतिष्पर्धा हुने बताएका हुन् ।   उनले भने,‘छलफलकै क्रममा छौं । संविधानको मर्म पनि पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्छ भन्ने हो । त्यहि आधारमा हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएका हौं । गठबन्धनमा कुरा मिल्न सक्छ । उहाँकै पक्षमा निर्णय हुनसक्छ भन्नेमा विश्वास छ । ’   उनले आफ्ना पार्टीका उम्मेदवारको पक्षमा सहमति हुनेमा आफू आशावादी रहेको बताए। 'हामीले गठबन्धनको निर्णय अनुसार नै मनोनयन दर्ता गराएका हौं । साझा उम्मेदवारको विषयमा हामी छलफलकै क्रममा रहेका छौँ । हाम्रै उम्मेदवारको पक्षमा सहमति हुनेमा आसावादी छौँ । सहमति नभए आफूहरूले दर्ता गराएको मनोनयन फिर्ता हुँदैन ।’   जनमत पार्टीका अध्यक्ष राउतले झालाई जनमत,लोसपा,नागरिक उन्मुक्तिलगायत अन्य पार्टीको समर्थन रहेको बताए। अध्यक्ष राउतका अनुसार राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको थियो।   उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झाको प्रस्तावकमा अब्दुल खान,अनिता देवी,गंगाराम चौधरी,अभिराम शर्मा ,रुपाकुमारी यादव रहेका  छन्। यस्तै समर्थकमा गोमालाभ सापकोटा,विनिता कुमारी सिंह,वसन्तकुमार कुसवाह,रामप्रकाश चौधरी र रानीकुमारी तिवारी रहेका छन् । झालाई जनमत,लोसपा र नागरिक उन्मुक्तिको समर्थन छ ।   उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य,जनता समाजवादी पार्टीबाट राम सहाय यादव र प्रमिला यादव र जनमतबाट ममता झाको उम्मेदवारी परेको हो।   आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो।

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन्।    एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताएका हुन्।    उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए।    यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा  उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताइन्। उनले भनिन्, 'लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।'    एमालेले आज बिहान एमाले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।

काठमाडौँ:  जनता समाजवादी पार्टी नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न प्रमिला यादव नयाँ वानेश्वर पुगेकी छन् ।    यादव उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउन वानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेकी हुन् । यादवको बारेमा जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिने कुनै औपचारिक निर्णय भने गरेको छैन ।   जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।