काठमाडौं : सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाल जिततर्फ उन्मुख बनेको छ। नेपालविरुद्ध २९८ रनको लक्ष्य पछ्याइरहेको पीएनजीले ३५औं ओभरमा सात विकेट गुमाएको छ। नेपालका लागि सन्दीपले आठ ओभरमा २६ रन खर्चेर एक मेडनसहित सर्वाधिक तीन विकेट लिएका छन्। यस्तै, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको छ। पीएनजीका टोनी उरा ४४ बलमा ९ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए। यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए। पीएनजीलाई जितका लागि १०.४ ओभरमा एक सय १९ रन आवश्यक छ। आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १० बलमा १२ चोका र दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले। यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा ६ चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८ बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे। पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओले एक विकेट लिएका थिए।
बेनी : म्याग्दीको बेनीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रघुगंगा गाउँपालिका-७ का २८ वर्षीया सोबिता बागदास र बेनपा-९ घतानका ३२ वर्षीय प्रेम सार्की लागूऔषधसहित बेनीबाट बुधबार राती पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बागदास र सार्की म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ मा बस्दै आएका थिए। उनीहरूको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ‘प्रहरीले पछिल्लो तीन वर्षयता उनीहरूबाट ठूलो परिणाममा लागूऔषध बरामद भएको छ,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’ उनीहरूले भारतको सिमानाबाट लागूपदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रनाउ कुँवरले बताए।
काठमाडौं: नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो । आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
महोत्तरी : एपी वान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीमाथि बुधबार साँझ आक्रमण भएको छ। होली पर्वको समाचार संकलन गरी फर्किरहेको समयमा जलेश्वर नगरपालिका-५ मा उनीमाथि आक्रमण भएको हो। मदिरा सेवन गरेर हिँडिरहेका समूहले चौधरीको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। उनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। यता घटना निन्दनीय रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ। पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले समाचार संकलन गरेकै भरमा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई हदसम्मको कारवाहीको माग गरेका छन्। सचिव महतोले महोत्तरी प्रहरी प्रशासनसँग घटनालाई सुक्ष्म रूपमा अनुसन्धान गरी संलग्नलाई कारवाहीको माग गरिएको छ। पत्रकारलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन स्थानीय सरोकारवाला निकायसमक्ष सचिव महतोले आग्रह गरेका छन्। प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलका अनुसार भारत विहार राज्य मधुवापुर थाना ठेगाना भएका १८ वर्षीय संजित कुमार मण्डललाई पक्राउ गरिएको जनाएको छ। अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले आज निर्वाचित हुने राष्ट्रपतिले आफूलाई दलीय संरचनाबाट अलग राख्दै राष्ट्र र जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग उहाँले नयाँ निर्वाचित हुने राष्ट्रपतिले दलबाट अलग भएर मन, वचन र कर्मले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको हो। राष्ट्रपति दलबाट अलग हुन नसके राष्ट्रपति पदलाई नै न्याय नहुने उहाँको भनाइ छ। “लामो समय लोकतान्त्रिक आन्दोलनमा सङ्घर्ष गर्नुभएका रामचन्द्र पौडेल आज राष्ट्रपति पदमा निर्वाचित हुने करिब निश्चित छ”, उहाँले भन्नुभयो,“यसअघिका राष्ट्रपतिबाट भएका कमजोरीबारे उहाँ जानकार हुनुहुन्छ। त्यसैले पनि उहाँ सुरुमा पार्टीबाट मन, वचन र कर्मले अलग हुनुपर्छ।” नयाँ निर्वाचित हुने राष्ट्रपतिलाई आफू अनुकूल संविधानको व्याख्या नगर्न उहाँले आग्रह गर्नुभयो। “लामो समय पार्टीमा काम गर्नुभएका उहाँले नेपाली कांग्रेसलाई मनबाट निकालेर काम गर्न सक्नुभएन भने राष्ट्रपति पदलाई न्याय गर्न सक्नु हुन्न”, उहाँले भन्नुभयो।
बागलुङ: जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो । निसीखोला गाउँपालिकाका वृद्धले गत वर्षको चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आराेपीविरुद्ध गत असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतले असार २३ गते पुर्पक्षका लागि कारागार पठाएको इजालास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।
काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भौगोगोलिक अखण्डता र लोकतन्त्र रक्षाका लागि राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहने बताएका छन् । संसद् भवनमा मतदानपछि ओलीले देशको हितको रक्षा, सार्वभौम सत्ताको रक्षा,भौगोलिक अखण्डताको रक्षा,राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि अभिभावकको भूमिका वहन गर्न सक्ने राष्ट्रपति आवश्यक रहेको बताए । ओलीले भने,‘राष्ट्रपतिले लोकतन्त्रको रक्षा,जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षकको भूमिका निर्वाह गर्नुपर्छ । ’ राष्ट्रपतिप्रति आलोचना भइरहेको छ नि भन्ने प्रश्नमा ओलीले संकीर्ण स्वार्थ भएकाहरू सानो स्वार्थ पूरा नभएपछि उफ्रिनु स्वभाविक रहेको बताए । ओलीले भने,‘राजनीतिमा जे पनि सम्भव छ । कांग्रेस र एमाले एक ठाउँमा नआउने भनेर कसम खाएको छैन ।
काठमाडौं: अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालि गंगबुले एक दिने सीप विकास साक्षरता तालिम सम्पन्न गरेको छ । एक दिने सीप विकास साक्षरता तालिम अन्तर्गत मोफिन तथा डुनुट बनाउने तालिम प्रदान गरिएको थियो । महिलाहरुलाई सीप विकास मार्फत आर्थिक रुपमा सक्रियताका लागि हौसला प्रदानहोस भन्ने उदेश्यले एकदिने मोफिन तथा डुनट बनाउने तालिम प्रदान गरिएको कार्यक्रमका सभापति राजन लोहनीले बताए । सामाजिक उत्तरदायित्व अनुसार सस्थाले यो कार्यक्रमको आयोजना गरि नारीहरुको सशक्तिकरणका लागि ऐक्यवद्धता जनाउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै लैजाने संस्थाको योजना रहेको स्किलअप इन्ष्टिच्युट अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिका निर्देशक लिला बहादुर वि.क.ले बताए । स्टारजोन होटल प्रालि र जिभ करियर इन्ष्टिच्युट प्रालिको सहयोगमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार लगाएत क्षेत्रगत अतिथिहरु, सवाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम नमुना इटानीले संचालन गर्नु भएको थियो । भने संस्थाले उपलब्ध गराउदै आएको कार्यक्रमहरुको बारेमा संस्थाका प्रबन्धक निर्देशक दुर्गा सुनारले जानकारी गराएका थिए । उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनमा संसदीय दलको बैठकमा भएको सहमति अनुसार मतदान गर्ने निर्णय गरेको छ । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आज बसेको पदाधिकारीसहितको संसदीय दलको बैठकले राष्ट्रपति निर्वाचन सम्बन्धमा सो निर्णय गरेको जानकारी दिनुभयो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने व्यवस्था भएकाले यस्ता निर्णयहरु सार्वजनिक गर्नु ऐन र संविधानको मर्म विपरीत भएकाले मतदान गर्ने उम्मेदवारको नाम सार्वजनिक नगरिएको उहाँको भनाइ छ । यद्यपि, रास्ववपाको एक नेताका अनुसार रास्वपाले नौ दलीय गठबन्धनलाई सघाउने भएको छ । यस बीचको राजनीतिक घटनाक्रम र पार्टीको संगठन विस्तारको व्यवस्ताका कारण पार्टीले यो निर्णय आज गरेको उहाँको भनाइ छ । “यसबीचमा जे जस्ता राजनीतिक घटनाक्रम भए । संगठन विस्तरको क्रममा थियो, राजनीतिक पार्टीको हिसाबमा, राजनीतिक संघर्षको रुपमा जुन व्यवस्था छ, हामी राष्ट्रपति निर्वाचनमा भाग लिनेछौं ।,” बैठकपछि रास्वपाका ती नेताले भन्नुभयो, ‘‘निर्वाचन आयोगले आचारसंहिता लगाएको छ । हामीले यो गर्ने वा त्यो गर्ने भन्न पाउँदैनौं । संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिका कस्तो रह्यो भनेर बैठकमा समिक्षा गर्यौं ।” दलीय गठबन्धनलाई सहयोग गर्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले लोकतन्त्र एवम् संविधानको रक्षा गर्ने उद्देश्यले सो निर्णय भएको बताउनुभयो ।

