पर्यटनमन्त्री किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट)लाई स्वागत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको छ । काठमाडौँ–दुबई–काठमाडौँ उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो । महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि कुराकानी गर्दै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो । महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “पर्यटनमा मात्रै होइ, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो । यो उडानमार्फत पनि महिलाहरुले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो । निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेका थिए । निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाउनुभएको थियो । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ । निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट हुनुहुन्छ ।
बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ। वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ। जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्। शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।
काठमाडौं : देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ। कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ। बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरूले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए। उनले भने, 'लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन्। आउँछन् र खुरुखुरु जान सक्छन्।' बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ। सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए। सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए। प्रमुख कपालीले भने, 'ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।' कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ। त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए। उनले भने, 'समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ।' कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन्। विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन्। कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए। सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ। उनले भने, '३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।' यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ। पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत गएको छ। कार्यालयहरूले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ।
काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २३४ यूएस आईक्यूआई छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार आईक्युआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । आईक्युआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । आईक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । वातावरण विभागका अनुसार यो समाचार तयार पर्दासम्म बुधवार रत्नपार्कको यूएस आईक्यूआई १७३, भक्तपुरको २०७, कीर्तिपुरको १८१ र नारायणीको २४२ देखिएको छ । आईक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । काठमाडौँको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा ९ गुणा बढी देखिएको छ । डब्लुएचओले पिएम–२।५ को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । तर, काठमाडौँमा यो मात्रा ४६ पुगेको पाइएको हो । यसअघि आइक्यूएयरले आफ्नो वेभसाईटमा प्रकाशित ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार काठमाडौँ सन् २०२१ मा विश्वको छैटौँ प्रदूषित राजधानी बनेको थियो। आइक्यू एयरले नेपाल प्रदूषित मुलुकको १० औँ स्थानमा राखेको थियो। पहिलोमा बंगलादेश छ । दक्षिण एसियामा नेपाल छैटौँ प्रदूषित मुलुकमा परेको छ । वायु गुणस्तरसम्बन्धी मापदण्ड, २०६९ ले पिएम–२.५ को मात्रा २४ घण्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ । हिउँदमा काठमाडौँ र तराईका सहरमा यो मात्रा तीन सयदेखि चार सयसम्म पुग्ने अनुमान वातावरण विभागको छ। वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार काठमाडौँमा यस वर्ष हिउँदमा पानी धेरै नपरेकाले पनि मौसम धमिलो वा तुवाँलो देखिएको हो। उनले भने, ‘यो अझै केही दिन लम्बिने देखिन्छ। गर्मी सुरु भएपछि तराईमा प्रदूषणको तह झन् बढ्ने देखिन्छ ।’
काठमाडौं: मुलुकको नयाँ राष्ट्रपति चयनका लागि भोलि (बिहीबार) हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण गरिसकेको उहाँले बताउनुभयो । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता हुनुहुन्छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको छ । निर्वाचनलाई व्यवस्थित गर्न मतदाता र मिडियाकर्मीका लागि विश्राम गर्ने बेग्लाबेग्लै पालसहितको स्थानको व्यवस्था मिलाइएको छ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वोच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिनुभएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्थाका साथै दुवै मतदान केन्द्रमा सात–सातजनाको कर्मचारीको टोली खटिनेछ । राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । समग्र निर्वाचनका लागि पौडेलका तर्फबाट रमेश लेखक र नेम्वाङका तर्फबाट महेश बर्तौला प्रतिनिधिका रुपमा रहनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । यसैबीच, निर्वाचनमा मतदानका लागि सबै प्रदेशका सांसदहरु काठमाडौं आइपुगिसक्नु भएको छ ।
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रहेको उहाँको भनाइ छ । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सफल कार्यकालको मूल्याङ्कन गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनु भएको उहाँले स्मरण गर्नुभयो । उहाँको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाका लागि गर्वको विषय भएको अध्यक्ष ओलीले बताउनुभयो । भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि भण्डारीजस्तो महिला नेतृले त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्र प्रमुखको हैसियतमा भूमिका निर्वाह गर्नुभयो ।” भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर त्यस्तो ठाउँमा पुग्नु संघर्ष र लगनीशलताको उपज भएको उहाँको भनाइ छ । अघिल्लो कार्यकालको उहाँको सफल र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि निर्वाचित गरिएको उहाँले स्मरण गर्नुभयो । मुलुकले उहाँजस्तो सक्षम महिला राष्ट्रपति पाउनु गौरवको विषय भएको उहाँले चर्चा गर्नुभयो । महिला आन्दोलनकै कारण नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले महिला अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास गर्न उहाँले सुझाव दिनुभयो ।
काठमाडौं: आइसिसी विश्वकप लिग–२ अन्तर्गत सिरिजको अन्तिम खेल बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित सिरिजको पहिलो खेलमा नेपालले बिहीबार पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीमा हालै युएईमा भएको सिरिजमा रहनुभएका सन्दीप जोरा बाहेक सबै खेलाडीलाई निरन्तरता दिइएको छ । नेपालले दोस्रो खेल फागुन २८ गते युएई तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ । यस सिरिज लिग–२ को अन्तिम खेलहरू हो । नेपाललाई विश्वकपमा स्थान बनाउन चारवटै खेल फाइनल सरह रहेको छ । नेपाल अहिले तालिकामा पाँचौँ स्थानमा छ । नेपालले ३२ खेलबाट ३२ अङ्क बनाएको छ । समान खेलबाट ३१ अङ्क बनाएको युएई छैटौँ स्थानमा छ । ३२ खेलबाट नौ अङ्क बनाएको पीएनजी तालिकाको अन्तिममा छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनु पर्नेछ । नेपाली टोली रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र सन्दीप लामिछाने । वैकल्पिक खेलाडीहरूमा सन्दीप जोरा, कमलसिंह ऐरी, श्याम ढकाल र अर्जुन साउद ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभएको छ । मन्त्री शर्माले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिनुहुँदै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितासहित सारभूत समानता कायम गरी लैङ्गिक न्याय, समानतामूलक राष्ट्र निर्माण गर्ने कार्यमा सम्बद्ध सबैको ध्यान पुग्न जरुरी रहेको बताउनुभएको छ । तीव्र गतिमा भएको प्रविधिको विकासले महिलाको जीवनयापन सहज बनाएको भए पनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै उहाँले प्रविधिमा पहुँच विस्तार गरी महिलाको सुरक्षा, सम्मान र रोजगारीमा विशेष व्यवस्थासहित न्याय र समानतामा आधारित समुन्नत राष्ट्र निर्माणको यात्रामा प्रतिबद्ध हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । “राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चितता, मातृ मृत्युदरमा उल्लेखनीय सुधार, कूल साक्षरता दर र औसत आयुमा वृद्धि तथा आर्थिक सशक्तीकरणका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले महिलाको सुधारोन्मुख अवस्था झल्काउँदछ । संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरू व्यवहारतः कार्यान्वयन हुन नसक्नु हाम्रो चुनौती हुन् । नेपालमा सञ्चालित विभिन्न सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्धबाट प्राप्त उपलब्धि र महिलाका पक्षमा भएका अधिकारलाई कार्यान्वयन गर्दै हाम्रो समाजमा रहेको राजनीतिक अधिकार, चेतना तथा विद्यमान विकृतिद्वारा थोपारिएको कुप्रचलनबीचको अन्तर्विरोधको समाधान आजको आवश्यकता हो”, सञ्चारमन्त्री शर्माद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ । महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, र राजनीतिक, अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्नुहुने शहीहरूप्रति श्रद्धान्जलि अर्पण गर्दै सञ्चारमन्त्री शर्माले यस अवसरमा सम्पूर्ण महिला, दिदीबहिनी, तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।
पोखरा: आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका विद्यालयहरु तयारीमा जुटिरहेको बेला पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी समूह भने अदालत जाने तयारी गरिरहेको छ । स्वतन्त्र विद्यार्थी समूह (स्वविस)ले चुनावमा सहभागी हुन नाम दर्ता गरेपछि निर्वाचन समितिले आफुखुशी नाम परिवर्तन गरिदिएको भन्दै अदालतको ढोका ढक्ढक्याउन जान लागेको बताएको छ । समितिले नाम परिवर्तन गरी पृथ्वी विद्यार्थी मन्च राखिदिएको भन्दै स्वविसका सभापति दिप्सन गुरुङ्ले यसमा असहमति रहेको जनाएका छन् । स्ववियु निर्वाचनको लागि १९ गते स्वविसले नाम दर्ता गरेको र क्रम संख्या ‘९’ पाएको गुरुङले बताए । ‘निर्वाचन समितिले आफ्नो मनोमानी गरेको छ, कानुनी प्रक्रिया पुर्याएर दर्ता गरेका हौ’ संयोजक गुरुङ् भन्छन् ‘हामिमाथि अन्याय भएको छ, निर्वाचन समितिले न्याय दिएन भने अदालत जानेछौँ ।’ २५ गतेसम्म निर्वाचन समितिले कानुनी प्रकृयाअनुसार निर्णय नलिएमा रिटको प्रकृयामा जाने गुरुङको चेतावनी छ । ‘यथाशीघ्र उक्त नामावली सूचिलाई सच्याउँदै पुनः संगठनको नाम प्रकाशित गर्न आग्रह गर्दछौँ, अन्यथा अदालत गुहार्न बाध्य हुनेछौं’ गुरुङले भने । नामै परिवर्तन गरेर दर्ता सूची प्रकाशन गर्नु निर्देशिकाको विपरित भएको स्वतन्त्र विद्यार्थी समूहका कोषध्यक्ष अभिषेक विष्टले बताए । ‘सत्यको जित अवश्य हुनेछ,’ विष्टले भने, ‘निर्देशिका विपरितको उक्त कार्यको हामि सशक्त प्रतिकार गर्ने छौं ।’

